भर्खरै :

चीनको आँखामा ट्रम्पको दोस्रो कार्यकाल

चीनको आँखामा ट्रम्पको दोस्रो कार्यकाल

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सबै देशका लागि खराब नहुन सक्छ, खासगरी चीनका लागि । चीनका धेरै इन्टरनेट प्रयोगकर्ताले ट्रम्पका नीतिहरूले आफ्नो देशलाई बलियो नै पार्ने बताएका छन् । त्यसैले चीनमा ट्रम्पलाई उनकै लयमा ‘छ्वान च्यानक्व’ भन्न थालिएको छ । यसको अर्थ हुन्छ ‘चीनलाई महान् बनाऊ’ ।
ट्रम्पको पहिलो कार्यकालले चीनको उदयमा कम्तीमा तीन उल्लेखनीय योगदान ग¥यो ।
पहिलो, संरा अमेरिका प्रजातन्त्रको संवाहक हो भन्ने धेरै चिनियाँहरूको बुझाइ उनको त्यो कार्यकालले गलत साबित गरिदियो । त्यतिबेला अमेरिकामा राजनीतिक अराजकता र गहिरो सामाजिक विभाजन देखियो । दशकौँदेखि कतिपय चिनियाँहरूले संरा अमेरिकालाई ‘सुन्दर देश’ मान्दै आएका थिए । संरा अमेरिकाको चिनियाँ उल्था नै ‘सुन्दर देश’ हो । तर, ट्रम्पका क्रियाकलापले ‘राजनीतिक पाठ’ पढाएको केही पर्यवेक्षक बताउँछन् । यसले गर्दा कतिपयको दृष्टिकोण ठाउँमा आयो र चीनको स्थिरता तथा सुशासनप्रतिको प्रशंसाभावमा मलजल पुग्यो ।
दोस्रो, ट्रम्पले चीनलाई प्राविधिक स्वाधीनताको बाटोमा जोडतोडले धकेल्न मद्दत गरे । २० वर्षअघि चीन सरकारले विज्ञान र प्रविधिको नवप्रवर्तनमा जोड दिन थाल्यो । यस क्षेत्रमा गरिने प्रगतिमा कसैले सीमा नलगाउने धेरैको बुझाइ थियो ।
यत्तिकैमा सन् २०१८ मा हुवावे कम्पनीका वित्तीय प्रमुख मङ वानचौलाई पक्राउ परे । देशको नवप्रवर्तनमा समर्पित एक चिनियाँ प्रविधि कम्पनीको पतन सुरु भयो । सन् २०२४ सम्ममा चीनले प्राविधिक स्वाधीनताको बाटो ठूल्ठूला फड्का मा¥यो । सेमिकन्डक्टर उत्पादनमा त कायापलट नै ग¥यो । यसैबिच सन् २०२४ मा उसले चीप निर्यातमा कीर्तिमान बनायो । सन् २०१८ को तुलनामा निर्यात दोब्बर भयो । निर्यात गरिएको चीपको मूल्य १५९ अर्ब डलर नाघ्यो ।
तेस्रो, चीनसँगको ट्रम्पको व्यापार युद्धका कारण विश्व व्यापारको पुनःरचना भयो । धेरै चिनियाँहरूले विश्व संरा अमेरिकाभन्दा ठुलो छ भन्ने अनुभूति गरे । बेल्ट र रोड अगुवाइ जस्ता परियोजनामार्फत चीनले दक्षिणी गोलाद्र्धका देशहरूसँगको सम्बन्ध घनिष्ट हुँदै गयो । सन् २०१८ र २०२४ बिच यी देशबिचको आपसी व्यापार ४० प्रतिशतले बढ्यो । व्यापारमा अमेरिकामाथिको चिनियाँ निर्भरता १७ प्रतिशत बाट ११ प्रतिशतमा झ¥यो ।
पछि फर्केर हेर्दा चीनको प्रगतिलाई रोक्ने ट्रम्पको पहिलो कार्यकाल र बाइडेनका नीतिका आठ वर्षको अनुभवले चीनलाई थप सबल बनाएको छ ।
दूरदर्शी आँखाले हेर्दा ट्रम्पको दोस्रो कार्यकालको सामना गर्दा चीनले रणनीतिक महत्वको मनोवैज्ञानिक लाभ पाएको छ ।
चिनियाँ मिडिया र विज्ञ समूहले शान्त भावले ट्रम्प पुनः राष्ट्रपति पदमा फर्किने अनुमान गरेका थिए । युरोप र क्यानडा यो सम्भावना देखेर आत्तिरहेको अवस्था थियो । पहिलो कार्यकालमा ट्रम्पले सुरु गरेको व्यापार युद्ध र प्राविधिक प्रतिबन्धलाई परास्त गरेको हुनाले पेइचिङ भने ढुक्क देखियो ।
चीन ट्रम्पलाई चिढाउन सक्रिय हुने छैन । तर, अमेरिकाले व्यापार युद्ध वा प्राविधिक प्रतिबन्धजस्ता उग्र नीति अपनाइरहे चीनले जवाफ दिनेछ । हिसाब–किताब गरेरै जवाफ दिँदा अन्ततः चीन थप मजबुत बन्नेछ ।
सन् २०२५ जनवरी ७ को दिन चीन र संरा अमेरिकामा प्राकृतिक विपत्ति आयो । तिब्बतको दिङ्ग्री काउन्टीमा ६.८ रेक्टरको भूकम्प गयो भने जल एन्जलसमा ठुलो आगलागी भयो ।
तिब्बतमा चिनियाँ अधिकारीहरूले जनतालाई झ्यापझुप विपत्तिबाट उम्काए । एकै दिनमा ५० हजार बासिन्दालाई अन्त सारियो । यसबिच राजनीतिक हानथाप र गलत बन्दोवस्तीका कारण लस एन्जलसमा १० दिनसम्म आगलागी भइरह्यो ।
भूकम्पमा छरितो कामगराइले गर्दा चीनले जनतालाई उद्दार गरेर पुनर्बासको बन्दोवस्त समेत मिलायो । यसको विपरीत लस एन्जलसमा सङ्कट झन् गहिरिँदै गयो । आगलागीमा परेर मर्नेको सङ्ख्या सन् २००१ सेप्टेम्बर ११ को हमलामा मर्नेको भन्दा बढी पुग्यो । तर, अमेरिकाका नेताहरूले एकअर्कालाई दोष दिएर समय खेर फाले । यी दुई घटनालाई दाँज्दा अमेरिकाको सङ्कट व्यवस्थापन तथा सुशासनका कमजोरीहरू स्पष्ट देखिन्छन् ।
गैरपश्चिमा विश्व यति बेला अलि सहज देखिन्छ । तर, ट्रम्प–शैलीको नवफासिवादले एटलान्टिक वा भनौँ युरोप र क्यानाडामा उत्पात मच्चाएको छ । अन्तर्राष्ट्रिय कूटनीतिका उच्च तहहरूमा प्रश्न उठेका छन् – के डेनमार्कले ग्रिनल्यान्ड गुमाउने हो ? के नेटोले अमेरिकी सैन्य सहयोग गुमाउने हो ? के क्यानडा अमेरिकाको ५१ औँ राज्य बन्ने हो ? कुनै बेला बौलठ्ठीपूर्ण ठानिने यस्ता विचारबारे खुला छलफल हुन थालेको छ ।
धेरै चिनियाँहरू ट्रम्पको दोस्रो कार्यकालको विश्वव्यापी असर पहिलोको भन्दा खराब नहुने ठान्छन् । सन् २०२५ भरि ट्रम्पको दोस्रो कार्यकाल मुख्यतया स्वदेशी मामिलामै केन्द्रित रहने र त्यसले पश्चिमा साझेदारहरूसँग बेलाबेला किचलो झिक्ने धेरै गैरपश्चिमा मुलुकको विश्वास छ । ट्रम्पले रुस–युक्रेन द्वन्द्वलाई एकै दिनमा टुङ्ग्याउने छैनन् भन्ने कुरा गैरपश्चिमा पर्यवेक्षकहरूलाई राम्ररी थाहा छ । त्यस्तै उनले प्यालेस्टिन–इजरायल विवादलाई निकट भविष्यमा सल्टाउने छाँट देखिन्न । ६० प्रतिशत भन्सार कर लगाउँदैमा चीनको दीर्घकालीन व्यापार वृद्धि रोकिने छैन । उनले चीनको उदयलाई छेक्न सक्ने छैनन् ।
दोस्रो कार्यकालमा पनि ट्रम्प अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट पछि हट्ने छन् । उनी जलवायु समझदारी र विश्व व्यापार सङ्गठनबाट पछि हट्दै छन् । यसको परिणाम के होला ? यसले गर्दा अमेरिकाको विश्वव्यापी प्रभुत्व विस्तारै ओइलाउनेछ । यति गति चल्ने हो भने ट्रम्पले अमेरिकालाई क्षेत्रीय शक्तिको स्तरमा सीमित पार्ने छन्, देशलाई अरूबाट टाढा राख्ने छन् ।
ट्रम्पले जेजस्तो नीति लिए पनि (अर्थात् व्यापार युद्ध, प्राविधिक मुठभेड वा सन्धिबाट बहिर्गमन जे गरे पनि) चीन त्यसको सामना गर्न तम्तयार छ । चीन जस्तोसुकै कठोर परिस्थितिका लागि तयार छ । विगतमा पनि चीनले चुनौतीलाई अवसरमा फेर्ने आफ्नो खुबी देखाएकै हो ।
सन् २०२८ सम्ममा चीन अहिलेभन्दा बढी सुदृढ हुनेछ । तब, चिनियाँहरूले निर्धक्क भन्ने छन्, “धन्यवाद ट्रम्प !”
(वाङ वेन चीनको रेनमिन विश्वविद्यालयको वित्तीय छोङ्ग्याङ अध्ययन संस्थानका कार्यकारी डिन हुन् । उनी चीन–अमेरिका समाज विज्ञान आदानप्रदान अनुसन्धान केन्द्रमा कार्यकारी निर्देशक समेत हुन् । उनी वैदेशिक मामिलासम्बन्धी चीनका प्रभावशाली लेखक हुन् ।)

स्रोत : एमआर अनलाइन । सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *