भर्खरै :

काठमाडौँ वल्र्ड स्कूलका विद्यार्थीहरू भक्तपुर नगरपालिका अध्ययन अवलोकन भ्रमणमा

काठमाडौँ वल्र्ड स्कूलका विद्यार्थीहरू भक्तपुर नगरपालिका अध्ययन अवलोकन भ्रमणमा

भक्तपुर, २८ फागुन । सूर्यविनायक नगरपालिकाको गुण्डुमा अवस्थित काठमाडौँ वल्र्ड स्कूलको कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरूले बुधबार भक्तपुर नगरपालिकाको स्थलगत अध्ययन अवलोकन भ्रमण गरेका छन् । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग विद्यार्थीहरूले साक्षात्कार गरेका छन् ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाले सञ्चालन गरेका शैक्षिक संस्था र ख्वप अस्पतालको उद्देश्य र त्यहाँबाट प्रवाहित सेवाबारे प्रस्ट पार्दै भक्तपुरलाई शैक्षिकरूपमा अगाडि बढाउन भक्तपुरका विद्यालय र नपाबाट सञ्चालित कलेजहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
भक्तपुर नपाले सम्पदा संरक्षण र पुनःनिर्माणमा विशेष जोड दिँदै आएको बताउँदै उहाँले नगरको शिक्षा विकास, सरसफाइदेखि लिएर समग्र नगरको सन्तुलित विकासमा जोड दिँदै आएको बताउनुभयो ।
भ्रमणका आएका विद्यार्थीहरूले नगर प्रमुख प्रजापतिसँग भक्तपुरको सडक सुरक्षा, ज्येष्ठ नागरिकहरूप्रतिको दायित्व, भक्तपुरको शिक्षा, स्वास्थ्य, वातावरण, सम्पदा संरक्षण, सरसफाइ आदि विषयमा नपाको भूमिकाबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईको पनि उपस्थिति थियो भने नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले विद्यार्थीहरूलाई नगरपालिकाका शाखा उपशाखाहरूको अवलोकन गराउनुका साथै त्यहाँबाट प्रवाहित हुने सेवा सुविधाबारे अवगत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *