भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
ज्योतिषशास्त्रले चन्द्रमालाई मन कारक ग्रह मान्दछ । चन्द्रमाको गुरुत्वको प्रभाव हामीले प्रत्यक्ष महसुस गरिरहेका हुन्छौँ । चन्द्रमालाई जल तत्व ग्रहको रूपमा प्रस्तुत गरिएको छ भने मन कारक भएकोले हाम्रो मानसिक स्थितिलाई सन्तुलन गरेको हुन्छ । पूर्णिमा र औँसीको दिन चन्द्रमा पृथ्वीको नजिक रहने भएकोले, यी दिनका आसपासमा समुद्रमा ज्वारभाटा जाने, मानसिक बिमारीहरू बढ्ने, रक्तचापका बिमारीहरू देखिने आदि हुन्छ । आत्महत्याका बढी घटनाहरू औँसी, पूर्णिमा र त्यसको आसपासको तिथिमा हुन्छ । मानसिक सन्तुलन कायम राख्न वा प्रकृतिको प्रभावबाट बच्नको लागि नै हाम्रो विभिन्न चाडपर्वहरू औँसी, पूर्णिमा र त्यसको आसपासको तिथिमा पर्दछन् । पूर्णिमा तिथिमा मनाउने पर्वहरूमध्ये होली पनि एक हो । जसले नेपाली संस्कृतिलाई झल्काउने गर्दछ । फाल्गुण शुक्ल अष्टमीदेखि फागु पूर्णिमाको दिनसम्म यो पर्व मनाउने गरिन्छ । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराणजस्तो प्राचीन हस्तलिपिहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव कविहरूको प्रिय विषय थियो ।
होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूकै एउटा महत्वपूर्ण चाड हो । होली पर्व प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाको दिनमा मनाइन्छ । शिशिर ऋतुको अन्त्य र वसन्त ऋतुको सुरुमा मनाउने यो पर्वले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ भने रूप, रस, गन्ध, स्पर्श र ध्वनि आदिको सन्तुलन र अनुकूलता नै वसन्त ऋतु हो । ऋतुराज वसन्तको पुनरागमनमा प्रकृति नै हराभरा भई सर्वत्र रमणीय देखिन्छ । वसन्त ऋतुमा मन चञ्चल हुन्छ । अर्थात्, यो ऋतुराज वसन्तले मन उद्बिग्ध, चञ्चल बनाउँदछ । तर, चञ्चलतालाई नियन्त्रण र मन एकाग्र गर्न वसन्त राग गाउँछ ।
होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गिन पर्वको रूपमा लिइन्छ । यो लेखमा होली पर्व मनाउनुको कारण र इतिहासबारे चर्चा गर्नेछु ।
रङ्गले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । तिहार पनि सप्तरङ्गीसँग जोडिएको पाइन्छ । ज्योतिषशास्त्रका अनुसार ७ वटा रङ्ग शरीर तथा निधारमा राखियो भने त्यसले शरीर ऊर्जाशील बनाउँदछ । त्यस्तै, जनै खतिराको परम्परागत उपचारमा चित्रकारले नेपाली कागजमा सिंहको एक जोडी चित्रलेखी खटिरा आएको दुई स्थानमा सिंहको मुख फर्काएर टासिन्छ वा जोडी सिंहको चित्र लेखिन्छ । सिंहको चित्र बनाउने रङ्ग विशेष प्रकारको औषधीय गुण भएका जडीबुटी र रसायनबाट बनेको हुन्छ । सिंहको चित्र सेतो, रातो र कालो रङ्गले लेखिन्छ । सेतो रङ्गमा जिङ्क अक्साइड, रातोमा सल्फर मर्करी र कालोमा कार्बन तत्वहरू रहेको हुन्छ । यिनै तत्वहरू शरीरमा टाँसिन गई रासायनिक प्रतिक्रिया भई औषधिको रूपमा काम गर्दछ । औषधीय गुण भएको रङ्गको प्रभावले खटिराको विस्तारलाई रोक्न सकिन्छ । यो रङ्गले एन्टिसेप्टिकको पनि काम गर्छ । (नेवाः लोकोपचार पद्घति)
होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रङ्ग बढी प्रयोग हुन्छ । कुनै पनि रङ्गको प्रयोग गर्नुपूर्व त्यसको फाइदा, बेफाइदा, महत्व र रङ्गको प्रतीक बुझ्नु आवश्यक हुन्छ ।
१) रातो :– रातो रङ्गलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । त्यसैले, देवताहरूले रातो रङ्गको पहिरन लगाएको हुन्छ । रातो भनेको सङ्घर्षमय जीवनलाई एकमुष्ट पारेर सजाई राख्ने प्रतीक हो । अधिकांशलाई मन पर्ने रङ्ग हो, रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रङ्ग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ । रातो रङ्गलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ । रातो रङ्ग मन पराउने मानिसहरू महत्वाकाङ्क्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन् ।
२) हरियो :– हरियो रङ्गलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रङ्ग पनि भनिन्छन् । हरियो रङ्ग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छ । उनीहरू झैझगडा पटकै मन पराउँदैनन् । यो रङ्ग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ ।
३) पहेँलो :– यो रङ्गलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ । यो रङ्ग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन् । पहेँलो रङ्ग श्रीकृष्णको प्रिय रङ्ग हो । होली हिन्दू धर्मावलम्बीहरूको चाड भएकोले यो रङ्गको विशेष प्रयोग हुन्छ । कतिपय समुदायमा त रातो र पहेँलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ । यो रङ्गको सम्बन्ध खुसी र हर्षसँग पनि छ । मनोविज्ञहरूका अनुसार यो रङ्ग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छ ।
४) नीलो :– नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । नीलो रङ्गले मानवता र धैर्यतालाई दर्साउँछ । त्यसैले, नील वर्णका विष्णुले अधर्मको नास गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ । यो रङ्गलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । त्यसैले पनि यो रङ्गको प्रयोग बढी हुन्छ । यो रङ्ग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन् । उनीहरू अलि बढी चिन्तित स्वभावका हुने हुन्छन् ।
५) कालो :– होलीमा कालो रङ्गको पनि व्यापक प्रयोग हुन्छ । यो रङ्ग इष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ । यो रङ्ग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्तरूपमा भन्न चाहँदैनन् । तुरुन्तै रिसाउने खालका हुन्छन् ।
६) सेतो :– यो रङ्गलाई शुद्धताको प्रतीक मानिन्छ । कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रङ्ग मन पराउँछन् । चहकिलो सेतो रङ्गलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ । धेरैलाई मन पर्ने रङ्ग हो ।
७) सिन्दुर :– स्वास्थ्यको हिसाबले भने हिन्दू धर्ममा सिन्दुरको निकै नै महत्व छ । खासगरी महिलाहरूले सिन्दुरलाई आफ्नो सिउँदोमा लगाउने गर्दछन् । विवाहिता महिलाहरूले सिन्दुरलाई श्रृङ्गारको रूपमा लिने गर्दछन् । सिन्दुर बेसार र पारोको सम्मिश्रणबाट बनाइन्छ । यसले पारोमा रक्तचाप नियन्त्रण गर्छ । पारोले मानसिक तनाव पनि कम गर्छ । सिन्दुर पिट्युटरी ग्रन्थिको माथिल्लो भागमा लगाइन्छ । जहाँ महिलाका शरीरका अनुभूतिहरू केन्द्रित हुन्छ । यसैकारण, विधुवा तथा अविवाहित महिलाहरूले सिन्दुर नलगाउने गरेको हो ।
बेल विवाहमा पनि फुस्रो सिन्दुरको प्रयोग गरिन्छ । यो रङ्ग अर्थात् टीका तान्त्रिक पूजामा पनि प्रयोग गरिन्छ । यो टीकालाई लक्ष्मीको प्रतीक मानिन्छ । नेवाः संस्कारको बेल विवाह, सूर्यदर्शन, विवाह र स्वयम्बरको विधिमा सिन्दुरको प्रयोग गरिन्छ । त्यस्तै, देवी देवताको जात्रामा फुस्रो सिन्दुर चाहिन्छ । जस्तैः– ठिमीको बालकुमारी जात्रामा फुस्रो सिन्दुर छर्ने गरिन्छ । यसबाट पुष्टि हुन्छ कि फुस्रो सिन्दुर कुमारीको प्रतीक हो ।
भनिन्छ, जगत्को सृष्टि, स्थिति, प्रकृति, जन्म, मृत्यु आदिका बारेमा धर्म वा सम्प्रदायका आफ्नै धारणाहरू हुन्छन् । पुरुष र प्रकृतिको संयोजनबाट सृष्टि र वियोजनबाट प्रलयका क्रियाकलाप निरन्तर चलिरहन्छन् भनेर धर्म र दर्शनले भनेको छ । यो तथ्यलाई भौतिक विज्ञानले पनि नकार्न सक्दैन । परमाणुमा निहित ऋणात्मक र धनात्मक ऊर्जा कुनै वस्तु सञ्चालनमा रहेको हुन्छ । क्वान्टम फिजिक्सपछि स्ट्रिङ थ्यौरी (जीवा सिद्धान्त) र वेभ थ्यौरी (तरङ्ग सिद्धान्त) ले त हरेक वस्तु पदार्थ वा शक्ति दुईमध्ये एक अवस्थामा मात्र अस्तित्वमा रहन्छ भनेको छ । पदार्थको स्थितिमा रहेको बेला मात्र कुनै वस्तुलाई हाम्रो आँखाले देख्न सक्छ । शक्तिको स्थितिमा रहेको अवस्थामा हाम्रो आँखाले देख्न सक्दैन । किनभने, मानिसको आँखाले त्रिआयामिक स्थितिमात्र देख्न सक्छ । (कायस्थ, वीरेन्द्रप्रसाद, भक्तपुर मासिक, माघ ३४४, मातृसत्तात्मक, तन्त्र परम्परा र यसका रहस्य पेज ३३, ३४, ३५, ३६, ३७ र ३८)
विज्ञानले सृष्टिको मान्यतालाई जसरी व्याख्या गरे पनि सृष्टिको शक्ति भनेको नारीरूप हो भन्ने शाक्त मतको धारणा हो । अर्थात्, शक्तिलाई प्रधान देवता मानेर पूजा गर्ने सम्प्रदायलाई शाक्त भनिएको हो । शक्ति नै जीवन र सत्य हो भन्नु शाक्त सम्प्रदायको मूल सार हो । उनका निराकार र साकार दुई रूप छन् । यीमध्ये निराकाररूपले सृष्टि, स्थिति र प्रलयको व्यवस्थापन गर्छन् भने साकाररूपले तिनलाई कार्यान्वयन गर्छन् । साकाररूपमा एउटा लिङ्ग रूप पर्छन् । यो भनेको चराचर जगत्को आधार हो । आकाशलाई लिङ्ग र लिङ्ग घेर्ने योनी आकारको घेरा अर्थात् गोलाइलाई पृथ्वी भनिएको छ । देवीदेवतालगायत चराचर जगत्को आलय र लय हुने स्थान भएकाले लिङ्ग भनिएको हो । सुरुमा आर्यहरू असुरहरूलाई योनी तथा लिङ्गपूजक भनेर घृणा गर्थे तर बिस्तारै उनीहरू पनि यसै धारमा प्रवाहित हुन पुगेका छन् । असुरहरू प्रकृति पूजक तथा तन्त्रवादी थिए, जो यस क्षेत्रमा आर्यहरूको प्रवेशपूर्व बस्दै आएका आदिवासी रैथाने जाति हुन् । (स्कन्दपुराण अवन्तिका खण्ड)
भक्तपुरमा चीर स्वाय् गरेपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछ । विशेषगरी होलीभरि भीमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाँका गायजु गुठीले भीमसेन मन्दिरको पाटीमा बसेर होलीको गीत गाउने गर्छन् ।
फाल्गुण शुक्ल पूर्णिमाका दिन साँझ भक्तपुर तलेजुभित्रको कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गुलाबको फूल, अत्तरसहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ । त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अबिरको डल्लाले छरी साँझपख दत्तात्रय मन्दिर पु¥याउने प्रचलन रही आएको छ । साँझपख नै दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ । लिङ्ग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि होली समाप्त हुन्छ ।
त्यस्तै, काठमाडौँमा पनि फागुन शुक्ल अष्टमीको दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुने गर्दछ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई विशेष पूजा गरी ठड्याइने गरिन्छ । रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एक आपसमा अविर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ । सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गर्दछ । असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मकरूपमा चीर उठाउने र एकसातापछि फाल्गुण शुक्ल पूर्णिमाको साइतमा चीरलाई ढाली तानेर लगी टुँडिखेलको मध्तगमा पु¥याएर दाह गरेर पर्व समापन गरिन्छ । त्यसको भोलिपल्टदेखि वसन्त ऋतु प्रारम्भ हुन्छ । टुँडिखेलमा दाह गर्नुअघि चीरको अन्तिममा दर्शन र पूजा गर्न मारवाडी समुदायका श्रद्धालुहरूको निकै घुइँचो लाग्ने गर्छ । चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा मानिसहरूले घर–घर लैजाने चलन छ । चीर बिचमै ढलेको खण्डमा पुनः ठड्याई शान्ति स्वस्ति र क्षमा पूजा गरिने चलन छ । त्यसै अवसरमा हनुमानढोका दरबार परिसर तथा हनुमानढोका दरबारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रङ्गीविरङ्गी कपडाका टुक्राहरू झुन्ड्याइएको मयलको रुखको हाँगा गाढेर पूजा गरिने चलन छ । मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका कृष्णको मूर्ति र नौवटा विभिन्न मुद्राका गोपीका मूर्तिहरू सजाई अबिर छर्केर पूजा गरिँदै आएको छ ।
लोककथनअनुसार एकपटक यमुना नदीमा एक समूह गोपिनीहरू निर्वस्त्र नुहाइरहेका थिए । त्यसैबेला कृष्णले ती गोपिनीहरूको सबै लुगा नदीको किनारमा एउटा रुखको हाँगामा झुन्ड्याई आफू अर्का हाँगामा बसी बाँसुरी बजाउन थालेका थिए । गोपिनीहरूले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा झारिदिएनन् । बरु उनले भने, “निवस्त्र नुहाएकोमा प्रायश्चित गरेमात्र लुगाहरू दिनेछु ।” त्यसअनुसार गोपिनीहरूले कृष्णलाई अर्घ जल चढाएर प्रायश्चित गरेका थिए । त्यसपछि कृष्णले रुखको हाँगाबाट लुगाहरू झारिदिएका थिए । कृष्णको त्यसै रास लीलाको स्मरणमा गोपिनीहरूको लुगाको प्रतीकमा रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्ड्याई चीर ठड्याउने प्रचलन भएको भन्ने लोक भनाइ छ ।
हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा प्रह्लाद विष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए । एक योजनाअनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो । दाजुको आदेशअनुसार होलीका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रल्हादलाई केही भएन । होलिका दहनकै खुसीयाली मनाउन आपसमा रङ्ग र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्गअनुसार द्वापर युगमा कृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशको सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । (स्रोत : विकिपिडिया)
होली कृष्णको जन्मभूमि मथुरा, वृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्छ । भारतको गुजरातको अहमदाबादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने, लौरोले प्रहार गर्ने होली निकै लोकप्रिय छ ।
१) किंवदन्तीअनुसार कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीहरूलाई जिस्क्याएका थिए । प्रतिकारमा बर्सनाका महिलाहरूले उनलाई लखेटेका थिए । त्यतिबेलादेखि नै यो परम्परा कायम थियो ।
२) किंवदन्तीअनुसार काठमाडौँका व्यापारीहरूको नेतृत्व गर्दै ल्हासामा व्यापार गर्न गएका सिंहसार्थ स्वदेश फर्कने क्रममा सँगै आएका सबै व्यापारीहरू मारिएका र उनीमात्र बाँचेर सकुशल आफ्नो घर फर्केको खुसियालीमा सिन्दुर जात्रा गरी होली खेलेदेखि चकँ द्य जात्रा गर्ने परम्परा चलेको लोककथन पनि छ । (स्रोत : विकिपिडिया)
अन्तमा, हाम्रो चाडपर्वहरू वैज्ञानिक तथा मानवीय जीवनमा व्यवहारिक देखिन्छ । यस पर्वले धार्मिक र सामाजिकरूपले महिलालाई जिस्क्याउने र दुव्र्यवहार गर्न नहुने सन्देश दिनु यो परम्पराको उद्देश्य हो ।
समाप्त
Leave a Reply