“धेरै पटकको जेल जीवनको कारण व्यक्तिगत चिन्ताभन्दा पनि हाम्रो समय खेर नजाओस् भन्ने चिन्ता मनमा रहिरहन्थ्यो”
- श्रावण ३, २०८३
देशमा बेथिति बढेर जनतामा असन्तोष बढेको यथार्थ हो । सरकारले जनताको भावना र मर्म बुझेन । देशको अर्थतन्त्र कमजोर हुँदै गयो भनेर देश प्रतिगमनतर्फ लाने होइन । कुनै समूह या पक्षले जुलुस प्रदर्शन गर्दैमा देशमा राजतन्त्र फर्किने होइन । गणतन्त्रका शासकहरू सच्चिनुपर्छ, यसमा सन्देह छैन । तर, राजावादीहरूको चाहना पूरा हुन्छ भन्ने होइन । देशमा बेथिति र विकृति बढ्दै गएको हो; बेथिति अन्त्य गर्नेतर्फ सरकारले ध्यान नदिएको पनि हो । राजावादीहरूले सङ्घीयता र गणतन्त्रविरूद्ध नारा लगाउनु र प्रदर्शन गर्नु स्वाभाविक हो । यसतर्फ गणतन्त्रवादीहरू सचेत हुनुपर्छ । गणतन्त्रवादी सञ्चालकहरू सच्चिने कि सक्किने भनेर निरास हुने, पछि हट्ने मनस्थिति ठीक होइन । पैसाबिना कुनै काम नै नहुने, विकास योजनाको पैसा खानैपर्ने परिस्थिति सिर्जना हुनु देशको चिन्ताको विषय हो ।
देशमा विदेशी ऋण बढेको बढ्यै छ । विदेशी ऋण बढे पनि विकास खासै भएको देखिँदैन । विकासको नाउँमा विदेशी ऋण दातृ राष्ट्रहरूको सहयोग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भइरहेको सहयोगमा व्यापक चुहावट र अनियमितताका निकास सरकारले खोजेको देखिँदैन । फागुन २८ गतेको ‘नयाँ पत्रिकामा ‘१० वर्षमा चार गुणाले बढ्यो वैदेशिक ऋण’ शीर्षकको समाचार छापियो । समाचारमा देशको ऋण बढिरहे पनि विकास खस्किरहेको उल्लेख छ । विकास निर्माणमा ऋणको उपयोग हुन सकेको छैन । समाचारमा वैदेशिक ऋण दायित्व १३ खर्ब २८ अर्ब पुगेको उल्लेख छ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा बोर्डले वर्षाैँदेखिको भुक्तानी दिन सकेको छैन । स्वास्थ्य बीमा बोर्डले तिर्नुपर्ने रकम १७ अर्ब ४२ करोड रहेको छ । तर खातामा ३ अर्ब ७० करोडमात्रै छ । भुक्तानी दिन नसकेकै कारण कति अस्पतालहरू समस्यामा परेका छन् । स्वास्थ्य बीमा भएको खर्च पूर्ति नभएपछि अस्पताल सञ्चालन गर्न कठिन भइरहेको कुरा अस्पताल व्यवस्थापकहरूले बताइरहेका छन् । कति अस्पतालले त स्वास्थ्य बीमा सेवा नै हटाइसकेको छ । ख्वप अस्पतालको मात्रै २६ करोड पुगिसकेको छ । स्वास्थ्य बीमा सदस्य बढाउने, स्वास्थ्य सेवा खर्च पनि बढाउने तर दिनुपर्ने रकम नदिने सरकारी कदम कसरी सही हुन्छ ?
फागुन २८ गतेको कान्तिपुरमा लेखिएको ‘अमेरिका यात्राको भुलभुलैया’ शीर्षकको समाचारमा ३३ लाख दलाललाई बुझाएका युवा १५ पटक उडानमा फनफनी घुमेर २६ महिनामा नेपाल नै आइपुगेको खबर छापियो । सरकार खालि युवालाई विदेश पठाउनेमा व्यस्त छ । रोजगारीको बन्दोबस्त गर्न नसकेर सरकारले विदेश पठाउने काममा जोड दिँदै छ । सरकार देश पछाडि फर्कन सक्दैन भनी शासकहरू बखान गर्दै छन् । सार्वभौम जनता फेरि रैती बन्दैनन् भन्दै छ । तर, देशमा दुर्गति घटेको छैन ।
‘अन्नपूर्ण पोस्ट’ पत्रिकामा लेखियो, “तस्करबाट यसरी ठगिन्छन् सोझा प्रगासहरू ।’ विदेश जाने बेलामा लिइएको ऋण बढेर प्रगासहरू छटपटिएका छन् । पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका प्रगास महरा गार्मेन्ट कम्पनीमा काम लगाइदिने भनिए पनि उनलाई कम्पनीका मजदुर बस्ने कोठामा पु¥याइयो । बन्धक बनाइयो । राहदानी खोसियो । उनले न काम पाए न ज्याला पाए । उनी पराइको देशमा अलपत्र गरे ।
‘अन्नपूर्ण पोस्ट’ मा लेखियो, ‘यूएईमा दूतावासको अलमलले करोडौँको ब्लडमनी अलपत्र ।’ वैदेशिक रोजगारीको लागि यूएई पुगेका ख्यामराज प्रधान मृत्यु भएको ५ वर्षभन्दा बढी भए पनि उसको परिवारले पाउनुपर्ने ब्लडमनी अझैसम्म पाएको छैन । ख्यामराजको परिवारले ब्लडमनीबापत ७५ लाख रूपैयाँ अर्थात् २ लाख दिराम पाइन्छ भनिएको थियो । यसरी रोजगारीको निम्ति विदेश पसेकाहरूको कथा व्यथाको वेदना कति छ कति ! यी त घटनाका केही दृष्टान्त मात्र हुन् । यी यावत समस्या सरकारकै कारण सिर्जिएको हो । यसमा अझै पनि सरकार संवेदनशील भएको देखिँदैन । यी घटनाले सरकार कहाँ छ, सरकारले के गरिरहेको छ भन्ने प्रश्न जो कोहीले गर्नु स्वाभाविक हो ।
फागुन २८ गतेको ‘राजधानी’ दैनिकमा ‘दक्षिणपूर्वी एसियामा नेपाली बन्धक बनाउने क्रम तीव्र’ शीर्षकको समाचार छापियो । विदेशी मुलुकमा कार्यरत नेपालीलाई राम्रो पारिश्रमिकको लोभमा सूचना प्रविधिसम्बन्धी काममा लगाउने भनी थाइल्यान्ड, म्यान्माजस्ता देशमा लगेर बन्धक बनाउन थालेपछि बैङ्ककस्थित नेपाली राजदूतावासलाई उद्धार गर्न समस्या परेको समाचार सो पत्रिकामा छापिएको थियो । सरकारले नेपाली युवालाई काम दिन नसक्दा, काम दिने वातावरण तयार गर्न नसक्दा नेपाली युवाले स्वदेश बसे पनि विदेश गए पनि दुःखको आँसु पिएर जीवन बिताइरहेका छन् । शासकहरूले जनतालाई लोभ्याउने, आश्वासन बाँड्ने र झूटको खेती गर्ने काम अझै छोडेका छैनन् । युवाहरू विदेश पसेकोमा शासकहरू आनन्दको अनुभव गर्छन् । सरकारको गलत नीति र अदूरदर्शिताको कारण युवाहरू विदेश पलायन हुनेको सङ्ख्या बढ्दै छ । युवाहरू कामको निम्ति विदेश जाने र विद्यार्थीहरू विदेशमा पढ्ने लहरले देश भताभुङ्ग भइरहेको हो । सरकारको यस्तै यस्तै कार्यले नेपालप्रति अन्य देशका शासकहरूको पनि विश्वास गुम्दै छ । शासकहरूको घैँटोमा कहिले घाम लाग्ने हो ? नेपाली जनता चिन्तित छन् ।
Leave a Reply