भर्खरै :

नियमित पाक्षिक सरसफाइअन्तर्गत चुपिंघाटमा सरसफाइ

नियमित पाक्षिक सरसफाइअन्तर्गत चुपिंघाटमा सरसफाइ

भक्तपुर, १ चैत । भक्तपुर नगरपालिकाको आयोजना भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्लब, विद्यालयका विद्यार्थीहरू र स्थानीय जनताको उत्साहजनक सहभागितामा भनपा ५ स्थित चुपिंघाटको सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको प्रसिद्ध बिस्का जात्रासँग जोडिएको तथा ऐतिहासिक महत्व बोकेको ल्योसिंख्य र चुपिंघाटको आजको सरसफाइ रचनात्मक र साङ्केतिक कार्यक्रम हो भन्दै भनपाको अयोजनामा धेरै वर्षअगाडि सुरु गरेको सरसफाइ कार्यक्रमले मूर्त रूप लिँदै गएको तथा नगरको सौन्दर्यकरणमा टेवा पु¥याउँदै नगरलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरलाई अझ स्वच्छ र सुन्दर नगरको रूपमा विकास गर्न नगरको उत्तरमा रहेको खस्याङ खुसुङ्ग खोला र दक्षिणमा रहेको हनुमन्ते खोलालाई स्वच्छ बनाउनुपर्ने र त्यसको लागि नगरबाट बग्ने ढलहरूलाई प्रशोधन गर्न उपचार पोखरी बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । सो ढल व्यवस्थापन र उपचार पोखरीको लागि अर्बौँ रूपैयाँ बजेट आवश्यक हुने भएकोले नगरपालिकाले नेपाल सरकार र सम्बन्धित निकायहरूमा निरन्तर समन्वय गरिरहेको बताउनुभयो । उहाँले भनपा–७, हनुमानघाट नजिकैको उपचार पोखरी र सल्लाघारीस्थित २ वटा उपचार पोखरीहरू निर्माणाधीन रहेको बताउँदै ती उपचारपोखरीहरू सञ्चालनमा आएमा खोला प्रदूषणमा कमी हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले ऐतिहासिक पर्यटकीय नगरको रूपमा विकास गर्न २०७४ सालदेखि नै प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरूको पाक्षिक सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको अवगत गराउँदै सांस्कृतिक नगर भक्तपुरलाई जीवन्त राख्न सांस्कृतिक सम्पदाहरू जगेर्ना गर्ने कार्य गर्दै आएको जानकारी दिनुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नपाले गरिरहेको नियमित सरसफाइले भक्तपुर नगर र नगरवासीहरूलाई सफा नगर र नगरवासीको पहिचान दिलाउन सहयोग गरिरहेको चर्चा गर्नुभयो ।
भनपा ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *