भर्खरै :

यसकारण मतदान नेक्राविसङ्घलाई

यसकारण मतदान नेक्राविसङ्घलाई

चैत ५ गते त्रिविका ६५ आङ्गिक क्याम्पससहित सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन हुँदै छ । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले १४ वटा क्याम्पसमा उम्मेदवारी दर्ता गरेको छ । ६ वटा क्याम्पसमा नेक्राविसङ्घले छात्रा साथीहरूलाई अध्यक्षमा उठाएको छ । अन्य क्याम्पसमा विविध कारणवश चुनावी कार्यक्रम रोकिएको छ ।
चितवनको जनआदर्श बहुमुखी क्याम्पसमा शासक दलका विद्यार्थी सङ्गठनहरूले भौतिक बल लगाएर नेक्राविसङ्घको उम्मेदवारी दर्ता गर्न दिएनन् । यो जहानियाँ राणाशासन र निरङ्कुश पञ्चायती व्यवस्थाकै पुनरावृत्ति हो । क्याम्पस राजनीतिमा देखिएको बलमिच्याइँ गणतन्त्र र प्रजातन्त्रवादी दाबी गर्नेहरूको प्रजातन्त्रविरोधी कदम हो । शासक दलका विद्यार्थी सङ्गठनहरूको उक्त बलजफ्ती र एकतर्फी प्यानल दर्ता त्रिविको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले रद्द गर्नुपर्छ ।
केही क्याम्पसमा विभिन्न निहुँमा चुनाव स्थगित गरिएको छ । कतिपय क्याम्पसमा आफूले चुनाव हार्ने भएपछि शासक दलका विद्यार्थी सङ्गठनले तोडफोड र तालाबन्दी गरेका छन् । अन्य सङ्गठनले निर्वाचन जितेको देख्न नसक्नु सामन्ती प्रवृत्ति हो । पञ्चायत कालमा मण्डले विद्यार्थीले गर्ने गुन्डागर्दी, तोडफोेडलगायत अराजक गतिविधि गणतन्त्रवादी र कम्युनिस्ट भनाउँदा विद्यार्थी सङ्गठनले पनि देखाउनु निन्दनीय छ । तिनीहरूको गतिविधि मण्डले विद्यार्थीको नयाँ रूप हो ।
काभ्रे, चितवन, दैलेखलगायत केही जिल्लाका क्याम्पसमा सहमतिको नाममा विद्यार्थी सङ्गठनहरूबिच भागबन्डा गर्ने प्रयास हुँदै छ । पद पाउनु नै ठुलो कुरा हो भन्ने भ्रम विद्यार्थीमा पारिँदै छ । विचार पक्षलाई गौण बनाइएको छ । स्ववियुको स्थापना र विद्यार्थी आन्दोलनको भावनामाथि प्रहार भएको छ । यसले विद्यार्थी आन्दोलनलाई नोक्सानी पुग्ने निश्चित छ । यसरी शासक दलका विद्यार्थी सङ्गठनले विद्यार्थी राजनीति र आन्दोलनलाई समाप्त पार्दै छन् । यद्यपि उनीहरू स्ववियुलाई मिनी संसद्को चुनावको रूपमा प्रचार गर्न छोड्दैनन् । निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर हो । स्ववियु निर्वाचन पनि विद्यार्थीको चेतनास्तर नाप्ने उपयुक्त विधि हो ।
सहमतिको नाममा चुनाव गर्न नदिई मुठीभर विद्यार्थी सङ्गठनका सीमित कार्यकर्तालाई पद बाँडफाँट गर्नु गलत छ । यसले गर्दा आम विद्यार्थीलाई चुनावी प्रक्रिया मात्र थाहा नहुने होइन, सङ्गठन र पदमा पुग्ने व्यक्तिहरूको एजेन्डा पनि थाहा हुँदैन । चुनाव भए पो विद्यार्थीहरूले आफूलाई मन परेको विचार, व्यवहार र एजेन्डाका आधारमा मतदान गर्ने थिए । क्याम्पसका सारा विद्यार्थीको प्रजातान्त्रिक अधिकार कुल्चेर भागबन्डा गर्नु हुन्न । यसरी बनेको स्ववियु कसरी विद्यार्थीको प्रतिनिधि बन्न सक्छ ? यस्तो स्ववियुले कसरी विद्यार्थी हक–हितमा लड्छ ? विश्वासघात गर्दैन भन्ने के आधार ?
नेपालको विद्यार्थी आन्दोलनमा देखापरेको देउसीवादी (आत्मसमर्पणवादी) प्रवृत्तिको विरोधमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ (नेक्राविसङ्घ) २०२६ सालमा स्थापना भयो । स्थापनादेखि देशको सार्वभौमिकता रक्षा, विद्यार्थी हक–हित तथा जनजीविकाको पक्षमा नेक्राविसङ्घ निरन्तर सङ्घर्षरत छ । २०३६ सालको आन्दोलन र स्ववियु स्थापनाका लागि नेक्राविसङ्घको महत्वपूर्ण भूमिका छ । नेक्राविसङ्घ विजयी भएका क्याम्पसमा हाम्रा मित्रहरू निःस्वार्थरूपमा विद्यार्थी हितमा केन्द्रित हुनुहुन्छ ।
यो चुनावमा ‘विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क बनाउन सङ्घर्ष गरौँ, विद्यार्थी हक–हितका निम्ति नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घलाई मतदान गरौँ’ भन्ने नाराका साथ नेक्राविसङ्घ विद्यार्थीहरूमाझ गइरहेको छ । संसदवादी दलहरूका विद्यार्थी सङ्गठनहरूले त्रिविका कलेजहरूमा प्रत्येक वर्ष १० प्रतिशत शुल्क वृद्धि गर्ने सहमति गरे । यसले गर्दा लाखौँ विद्यार्थी अध्ययनबाट वञ्चित छन् । यी युवा सस्तो ज्यामीको रूपमा बिदेसिन बाध्य छन् । सरकारले विद्यार्थीमा देशभक्तिको भावना जगाउने शिक्षा दिन आवश्यक छ । उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षा लागू गर्नु आवश्यक छ ।
संसदवादी दलहरू पालैपालो सरकारमा पुग्छन् । तर, आफ्ना विद्यार्थी सङ्गठनहरूलाई विश्वविद्यालय र क्याम्पसहरूमा तालाबन्दी, हड्ताल, तोडफोड र आगजनी गर्न लगाउँछन् । यो गलत छ । गुणस्तरीय शिक्षा नपाउने र समयमै अध्ययन नसकिने लगायतका विविध समस्याका कारण वर्षको लाखौँ विद्यार्थी अभिभावकलाई घरजग्गा बेच्न लगाएर विदेशमा अध्ययन गर्न जान बाध्य छन् । यसकारण नेपालका ५०० क्याम्पस बन्द हुने अवस्थामा छन् । सरकारले युवाहरूलाई वैदेशिक रोजगारीमा पठाएर देशलाई परनिर्भर बनाउँदै छ ।
नेक्राविसङ्घले देशभक्त एवम् कामदारवर्गका छोराछोरीलाई सङ्गठित गर्दै आइरहेको छ । यस चुनावमा पनि नेक्राविसङ्घले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्न सरकारको ध्यानाकर्षण गर्दै छ । शासक दलका विद्यार्थी सङ्गठनले स्ववियुमा गएर भ्रष्टाचार गर्ने गरेको धेरै विद्यार्थीहरूको गुनासो छ । स्ववियुमा जितेमा नेक्राविसङ्घले तिनीहरूलाई कारबाही गराउन पहल गर्नेछ ।
क्याम्पसमा हुने भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीलाई कारबाहीको आवाज उठाउन पनि शासक दलका विद्यार्थी सङ्गठनलाई हराई नेक्राविसङ्घलाई विजयी गराउन सचेत विद्यार्थीले भूमिका खेल्नुपर्छ । नेपालका विश्वविद्यालयहरू ध्वस्त हुनुको प्रमुख कारण संसदवादी दलहरूबिच पदाधिकारी र प्राध्यापक नियुक्तिमा हुने भागबन्डा हो । त्यसैले भागबन्डा गर्ने परिपाटी खारेज गरी योग्य र सक्षमलाई पदाधिकारी, प्राध्यापक तथा कर्मचारी नियुक्त गराउन सङ्घले जोडदार आवाज उठाउँदै छ ।
स्ववियुमा नेक्राविसङ्घ निर्वाचित भएको खण्डमा स्ववियुलाई शैक्षिक, सांस्कृतिक तथा राजनीतिक दबुको रूपमा अगाडि बढाउने छ । स्ववियुलाई आर्थिक अनुशासनमा राखी पारदर्शी बनाउने छ । योग्य तथा सक्षम प्राध्यापकहरूमार्फत कक्षा सञ्चालन गराउन पहल गर्नेछ । निरन्तर विद्यार्थीलाई प्रगतिशील, साहित्यिक तथा सांस्कृतिक गतिविधि गर्न गराउन लाग्नेछ, क्याम्पसमा व्यवस्थित पुस्तकालय बनाउन सङ्घले पहल गर्नेछ ।
स्ववियुको अगुवाइमा एडभान्स कम्प्युटर तालिम, शोधपत्र, शोधप्रस्ताव, प्राज्ञिक लेखनलगायत शैक्षिक उन्नयनसम्बन्धी तालिम तथा प्रशिक्षण सञ्चालन गर्नगराउन पहल हुनेछ । स्वास्थ्य र अनुशासनका साथसाथै देशको सार्वभौमिकता रक्षा गर्न लागि १८ वर्ष पुगेका युवालाई सैनिक तालिमको व्यवस्था गराउन आवश्यक छ । नेक्राविसङ्घले जितेका क्याम्पसहरूमा खेलकुद प्रशिक्षण तथा प्रतियोगिता आयोजना गर्दै छ । त्यसलाई निरन्तरता दिइनेछ ।
लाखौँ विद्यार्थीका अभिभावकलाई घरखेत बेच्न लगाएर विदेश पठाउने सरकारी नीति खारेज गराउन नेक्राविसङ्घ निरन्तर सङ्घर्षरत छ । नेपालका सार्वजनिक क्याम्पसहरूलाई स्तरीय बनाई स्वदेशमै पठनपाठनको बन्दोबस्त गराउन आवश्यक छ । विद्यार्थीलाई विविध विषयमा प्राज्ञिक छलफल गराई प्रत्येक विद्यार्थीको शैक्षिकस्तर माथि उठाउनुपर्छ । अहिले हाम्रा केही कलेजभित्र छिर्दा कुरूप देखिन्छ । नेक्राविसङ्घ जितेको खण्डमा क्याम्पस परिसर आकर्षक र पठनमैत्री बनाउन पहल गर्नेछ ।
स्ववियुको नाममा कलेज कोषको हिनामिनाका घटना हामीले सुन्दै आएका छौँ । नेक्राविसङ्घ विजयी भएका खण्डमा हिनामिना रोक्न भूमिका खेल्नेछ । जहाँ गुरुको सम्मान हुँदैन त्यहाँ सिकाइ प्रभावकारी हुँदैन । बेलाबेला शासक दलका विद्यार्थी नेताले प्राध्यापकहरूमाथि दुव्र्यवहार गरेको खबर आउँछ । यसलाई रोक्न आवश्यक छ । केही प्राध्यापकहरू क्याम्पसमा अनुपस्थित हुने, आए पनि हाजिर गरेर नपढाउने प्रवृत्ति छ । नियमित उपस्थिति र कक्षा सञ्चालनका लागि नेक्राविसङ्घले घच्घच्याइरहनेछ ।
पछिल्लो समय त्रिविको आङ्गिक क्याम्पस र थप सरकारी कार्यक्रम नथपिएको धेरै भयो । दातृ निकायको निर्देशन र अनुदानको लोभमा सरकारी कार्यक्रम र क्याम्पसहरूलाई निजीकरणतर्फ धकेलिँदै छ । अहिले सरकारी क्याम्पसमा सरकारीभन्दा बढी निजी कार्यक्रम सञ्चालित छन् । निजी कार्यक्रमका विद्यार्थीलाई उच्चस्तरीय सुविधा र सरकारी कार्यक्रमका विद्यार्थीलाई न्यूनस्तरको सुविधा दिने गरिएको छ । यो दुईखाले शिक्षा नीतिको नेक्राविसङ्घले विरोध गर्दै आइरहेको छ । यी कार्यक्रमबाट सरकारी कोटाका प्राध्यापक र कर्मचारीहरूले दोहोरो सुविधा लिइरहेका छन् । बीबीएम, बीबीए, बीसीए, बीएस्सी सीएसआईटीलगायत निजी कार्यक्रमलाई सरकारी कार्यक्रममा परिणत गराउन नेक्राविसङ्घले सङ्घर्ष गर्नेछ । सरकारले उद्योग खोल्नु हुँदैन, व्यापार गर्नु हुँदैन, नियमनमात्र गर्ने भनी उत्पादन र सेवामूलक क्षेत्रसमेत निजीकरणको नाममा विदेशी पुँजीपतिको हातमा सुम्पने उदारवाद र नवउदारवादविरुद्ध सङ्घर्ष गर्न नेक्राविसङ्घलाई मतदान गर्न हार्दिक अनुरोध छ ।
नेक्राविसङ्घले न हिजो सानोतिनो सुधारमा चित्त बुझायो न भोलि नै बुझाउनेछ । अहिले आम नेपाली विद्यार्थी र जनताले समस्या भोग्नुको कारण पुँजीवादी व्यवस्था हो । केही सीमित व्यक्तिको हातमा सारा सम्पत्ति थुप्रिँदा बहुमत जनताले दुःख भोग्दै छन् । त्यसैले उत्पादनका मुख्य–मुख्य साधन राष्ट्रियकरण, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसार काम र कामअनुसार ज्यालाको बन्दोबस्त हुने समाजवादी व्यवस्थाका लागि सङ्घर्ष गर्न आवश्यक छ ।
नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को गोर्खा भर्ती, नेपालको सुरक्षा मामिला भारतीय छातामुनि राख्ने सन् १९५० को सन्धिलगायत कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, एमसिसी, एसपीपी, सार्क विद्युत् ग्रीड, सैन्य गठबन्धन आदि देशघाती सन्धि–सम्झौता खारेज गराउन सङ्घर्ष गर्नेछ । ती विषयमा विद्यार्थीहरूलाई सुसूचित पनि गर्नेछ । युवालाई स्वदेशमै रोजगारी, कृषि र उपभोग्य सामानमा आत्मनिर्भर बनाउन सरकारको ध्यानाकर्षण गर्नेछ ।
सीमामा नेपाली भूमि अतिक्रमण तथा डुबान हुने गरी विदेशीले अन्तर्राष्ट्रिय कानुनविपरीत बनाएका बाँध र तटबन्ध भत्काउन नेक्राविसङ्घले सरकारको ध्यानाकर्षणका साथसाथै विद्यार्थीलाई सङ्गठित गर्नेछ । विद्यार्थीहरूमा देशभक्तिको भावना जगाउने विविध कार्यक्रममा यो सङ्घको जोड हुने छ । विश्वका न्यायपूर्ण आन्दोलनलाई समर्थन गर्न पनि नेक्राविसङ्घ पछि हट्ने छैन । साम्राज्यवादीहरूले हतियारको भरमा रुसविरुद्ध युक्रेन र प्यालेस्टिनविरुद्ध इजरायललाई युद्ध गराएको र संसारका सार्वभौम देशविरुद्ध नाकाबन्दी, युद्धको धम्की, सेना तैनाथी तथा आक्रमणको विरोध एवम् भत्र्सना गर्नेछ ।
आमूल परिवर्तन चाहने सम्पूर्ण देशभक्त विद्यार्थीलाई चैत ५ गते हुने स्ववियु निर्वाचनमा नेक्राविसङ्घका उम्मेदवारहरूलाई मत दिई विजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ । हामीले गलत कदमको विरोध गर्न सकेनौँ भने त्यसको भागीदार हामी पनि हुनेछौँ । विद्यार्थीलाई धोका दिनेहरूलाई चिनौँ । विद्यार्थी र देशको हितमा केन्द्रित नेक्राविसङ्घलाई चुनौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *