भर्खरै :

वायु प्रदूषण नियन्त्रणमा असफल सरकार

वायु प्रदूषण नियन्त्रणमा असफल सरकार

हावाको गुणस्तर अनुगमन गर्ने स्विट्जरल्यान्डस्थित ‘आईक्यू एअर’ ले ‘विश्व वायु गुणस्तर प्रतिवेदन–२०२४’ सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार अफ्रिकी देश चाड सन् २०२४ को सबैभन्दा बढी प्रदूषित मुलुक बनेको छ भने उक्त सूचीको सातौँ नम्बरमा नेपाल परेको छ । देशको वायु प्रदूषण नियन्त्रणमा आजसम्मका सरकारहरू असफल भएका छन् ।
नेपालमा डढेलो लाग्ने, कृषि अवशेष जलाउने, इँटा भट्टालगायतबाट निस्कने धुवाँ, सवारी साधनका धुवाँलगायतका कारण प्रदूषण बढ्ने गरेको छ । उक्त प्रतिवेदनअनुसार सहरका हिसाबले भारतको राजधानी नयाँ दिल्ली विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको छ । यो सूचीमा नेपालको सङ्घीय राजधानी काठमाडौँ आठौँ स्थानमा छ । काठमाडौँको पीएम–२.५ सरदरमा ४५.१ माइक्रोग्राम प्रतिघनमिटर रहेको प्रतिवेदनमा उल्लेख छ । नेपाललगायत विश्वका दश देशमा वायु गुणस्तर सबैभन्दा बढी खराब भएको सो प्रतिवेदनमा जनाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु स्वस्थकर मानिन्छ । एक्यूआई १०१ देखि १५० सम्मको वायु अस्वस्थ्यकर हुन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थ्यकर’ र त्योभन्दामाथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ । प्रतिवेदनअनुसार सन् २०२४ मा नेपालको औसत एक्यूआई ११९ छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । डब्लूएचओको मापदण्डअनुसार पीएम–२.५ (रौँभन्दा तीन गुणा मसिना धुलो–धुवाँका कण) को मात्रा वार्षिक पाँच माइक्रोग्राम प्रतिघनमिटर नाघ्दा प्रदूषित मानिन्छ । यसले साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यी कण वायुमण्डलमा मिसिएर प्रदूषित हुन्छ । सो प्रतिवेदनमा नेपालको हावामा धुलो–धुवाँकोे कण पीएम–२.५ सरदरमा ४२.८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ  ।
स्वच्छ हावा हुनका लागि हावामा धुलो–धुवाँकोे कण पीएम–२.५ माइक्रोग्राम प्रतिघनमिटर भन्दा कम हुनुपर्छ । तर सो प्रतिवेदनमा विश्वका १३५ मुलुकको हावा धुलो–धुवाँकोे कण पीएम–२.५ माइक्रोग्राम प्रतिघनमिटर भन्दा धेरै रहेको देखाएको छ । त्यसमध्ये पनि नेपालसहित चाड, बङ्गलादेश, पाकिस्तान, कङ्गो, भारत लगायतका १० मुलुकको हावा अति प्रदूषित छ ।
वायु गुणस्तर विज्ञहरू वायु प्रदूषणले स्वास्थ्यमा दीर्घकालीन असर पर्ने बताउँछन् यसले धुलोधुवाँका मसिना कण नाक र मुखबाट सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि हानिकारक मानिन्छ । वायु प्रदूषणले छातीसम्बन्धी रोग मात्र बढेको छैन प्रदूषित वायुकै कारण मुटुको रोगसमेत उल्लेख्य रूपमा वृद्धि भएको चिकित्सकहरू बताउँछन् ।
गुणस्तरीय हावा भएको सहर नेपालमा भेट्न मुस्किल भएको र देशका सबै सहरमा अनियन्त्रित प्रदूषण फैलिएको बताइन्छ । नेपालमा बर्सेनि ६ महिना वायु प्रदूषणको जोखिम हुने गरेको छ । कार्तिकदेखि जेठसम्म नेपालमा वायु प्रदूषणको जोखिम रहन्छ । नेपालमा बर्सेनि करिब ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइने र त्यसले पनि वायु प्रदूषण बढाउने बताइन्छ । भारतसितको सीमावर्ती सहरहरूमा भारतीय सहर ग्रामीण क्षेत्रबाट प्रदूषित हावा नेपाल पस्ने गर्दाले पनि नेपालका सहरहरू वायु प्रदूषणबाट मुक्त हुन सकेका छैनन्
वायु प्रदूषण नियन्त्रण र जनस्वास्थ्यको सुरक्षा सरकारको प्राथमिकता बन्न सकेको छैन । वायु प्रदूषणको गुणस्तरसँग सम्बन्धित कार्ययोजना राजधानी केन्द्रितमात्रै नभई जिल्ला जिल्ला पु¥याउन आवश्यक छ । वायु प्रदूषण नियन्त्रणका योजना सङ्घीय सरकार र प्रदेश सरकारमात्र नभई स्थानीय तहसँगै समन्वय गर्न जरूरी छ । सहरहरूमा मात्रै वायु प्रदूषणको सचेतना वा कार्यक्रम गरेर परिवर्तन हुँदैन, गाउँघरमा पनि बुझाउनुपर्छ, सिकाउनुपर्छ । तराईमा गोठमा लामखुट्टे भगाउनका लागि पराल जलाइन्छन् । कृषि अवशेष जलाउने काम पनि उत्तिकै हुन्छ । यस्ता गतिविधिले प्रदूषण बढाउन मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *