भर्खरै :

कार्ल माक्र्सको समाधिस्थलमा एङ्गेल्सको भाषण

कार्ल माक्र्सको समाधिस्थलमा एङ्गेल्सको भाषण

निरङ्कुशतावादी र जनतन्त्रवादी दुवैतर्फका सरकारहरूबाट उनलाई राज्य निकाला गरियो । रुढिवादी हुन् या घोर जनवादी बुर्जुवाहरू, उनीहरूले माक्र्सलाई बदनाम गर्नमा एक अर्कासित प्रतिष्पर्धा गर्दथे । तर, माक्र्स यी सबैलाई बेवास्ता गर्दै आफू केही छुट्टै गरिदिन्थे । अति आवश्यकता परेको अवस्थामा मात्रै तिनीरूको उत्तर दिन्थे ।
१४ मार्च, १८८३ को दिउँसो पौने तीन बजे, संसारका एक महान् विचारकको चिन्तन–क्रिया रोकियो । उनलाई मुस्किलले २ मिनेटका लागि एक्लै छोडिएको थियो होला । तर जब हामीहरू फर्किएर आयौँ, हामीले देख्यौँ कि उनी आराम गर्ने कुर्सीमा शान्तिले सुतेका थिए, सधैँका लागि । उनको मान्छेको मृत्युले युरोप र अमेरिकाका जुझारु, सर्वहारावर्ग र ऐतिहासिक विज्ञानका लागि अपार क्षति भएको छ । यो ओजस्वी आत्माको महा–प्रस्थानले पैदा भएको अभाव मानिसहरूले छिट्टै नै अनुभव गर्नेछन् ।
जीव प्रकृतिको क्षेत्रमा जसरी डार्विनले ‘विकास अथवा अग्र्यानिक प्रकृतिको सिद्धान्त’ पत्ता लगाएका थिए, उसैगरी मानव इतिहासमा माक्र्सले विकासको नियम पत्ता लगाएका थिए । माक्र्सले सिधा सादा यो सत्य पत्ता लगाएका थिए । त्यतिञ्जेलसम्म, विचारधाराको अतिवृद्धिले यसरी छोपेको थियो कि राजनीति, विज्ञान, कला, धर्म आदिमा लाग्नुपूर्व मानव जातिलाई गाँस, बास र कपास चाहिन्छ भन्ने अवधारणा थियो ।
त्यसैले जीविकाका लागि निर्माण गरिने तत्कालीन भौतिक साधनहरूको उत्पादनकै आधारमा राजकीय संस्था, कानुनी संस्था, कला र यहाँसम्मकि धर्मसम्बन्धी धारणाहरू पनि विकसित हुने गरेका थिए । यसको अर्थ कुनै युगमा अथवा कुनै जातिले हासिल गरेको आर्थिक विकासको मात्राले राजकीय संस्था, धर्म, कला, राजनीतिसम्बन्धी अवधारणा बन्थ्यो । यिनै आधारको प्रकाशमा यी सबैको व्याख्या गर्न सकिन्छ । न कि यसको उल्टो, जस्तो कि अहिलेसम्म भइरहेको थियो । तर, यतिमात्रै होइन, माक्र्सले गतिको त्यस विशेष नियमको खोजी गरे, जसले उत्पादनको वर्तमान पुँजीवादी प्रणाली र यस प्रणालीले उत्पन्न गराएका बुर्जुवा समाज दुवै नै नियन्त्रित छन् । अतिरिक्त मूल्यको आविष्कारले एकपटक त्यो उत्पादनको त्यस समस्याबारे प्रकाश पा¥यो । सो विषयको जटिलता हल गर्ने कोसिसमा यस अघिका अन्वेषणहरू खेर गएका थिए । पुँजीवादी अर्थशास्त्रीहरूले गरेको प्रयास हुन् या समाजवादी समीक्षकहरूले, ती सबै अन्धअन्वेषण सावित भएका थिए ।
केबल दुईवटा आविष्कार मात्रै पनि एउटा जीवन सार्थक हुन्छ । त्यो मानिस भाग्यशाली हो, जसलाई यस प्रकारको एक पनि आविष्कार गर्ने सौभाग्य प्राप्त हुन्छ । तर, जुनजुन क्षेत्रमा माक्र्सले खोजी गरे, ती खोजीमध्ये कुनै पनि क्षेत्रको खोजी सतही थिएन । यहाँसम्म कि माक्र्सले गणितमा समेत स्वतन्त्ररूपमा अध्ययन गरे । त्यस्ता वैज्ञानिक थिए कार्ल माक्र्स । तर, उनको वैज्ञानिक रूप उनको जीवनको आधा अंश पनि थिएन । माक्र्सका लागि विज्ञान ऐतिहासिकरूपले एक गतिशील र क्रान्तिकारी शक्ति थियो ।
वैज्ञानिक सिद्वान्तहरूमा, कुनै नयाँ खोजको व्यवहारिक प्रयोगबारे अनुमान लगाउन तत्कालै सम्भवै नभए पनि उनी नयाँ खोजीहरूमा आनन्द मान्थे । तर, त्यस्ता खोजहरूमा माक्र्स सा¥है खुसी हुन्थे, जसको आविस्कारका कारण समाजमै तत्कालै प्रभावहरू देखिन्थे । खासगरी ऐतिहासिक विकासका कुरामा ¤ त्यस्ता अवस्थामा भने उनलाई बिल्कुलै फरक खालको प्रसन्नताको अनुभव हुन्थ्यो । उदाहरणका लागि बिजुलीका क्षेत्रमा भएका आविष्कारको विकास क्रम र खासगरी त्यतिखेरसम्म मर्सेल देप्रेले गरेको आविष्कारबारे माक्र्सले निकै गहिरोसँग अध्ययन गरिरहेका थिए ।
माक्र्स सर्वोपरि क्रान्तिकारी थिए । जीवनमा उनको खास उद्देश्य कुनै न कुनै किसिमले पुँजीवादी समाज र त्यसबाट पैदा हुने राजकीय संस्थाको ध्वंस गर्नमा नै थियो । आधुनिक सर्वहारावर्गलाई स्वतन्त्र गर्नमा उनको योगदान थियो । सर्वहाराहरूलाई सबैभन्दा पहिले माक्र्सले नै आफ्नो स्थिति र आवश्यकताहरूप्रति सचेत गर्दै बताएका थिए कि, किन र कुन अवस्थामा उनीहरूको मुक्ति हुनसक्छ ? सङ्घर्ष गर्नु माक्र्सको स्वभाविक गुण थियो । उनले त्यस्तो जोश, लगन र यस्तो सफलताका साथ सङ्घर्ष गरे, जसको कुनै प्रतिद्वन्दी नै छैन ।
सबैभन्दा पहिले उनले सन् १८४२ मा पेरिसको राइनिस जाइटुङ, १८४४ मा पेरिसको वोरवाट्र्स, १८४७ मा डायचे ब्रसलेर जाइटुङ, १८४८–१८५१ मा न्यु राइनिस जाइटुङ र १८५२–१८६१ मा न्यूवोर्क डेली ट्रव्युनमा उनले गरेका काम र तीसँगै अनेकौँ जोशिला पुस्तकको रचना तथा पेरिस, ब्रेसेल्स र लण्डनका सङ्गठनहरूमा उनको काम लोभलाग्दो थियो । अन्ततः उनको चरम उपलब्धीका रूपमा ‘महान् अन्तर्राष्ट्रिय मजदुर सङ्घ’ को स्थापना हुनपुग्यो । यो आफैँमा यति ठुलो उपलब्धि थियो कि यस सङ्गठनका संस्थापले अरु केही पनि कामै नगरेको भए पनि यो विषयमा त्यति धेरै गर्व गर्न सकिन्थ्यो । यो सबको फलस्वरूप माक्र्स आफ्नो युगका सबैभन्दा बढी विद्वेष र लाञ्छनाहरूका सिकार पनि भए ।
निरङ्कुशतावादी र जनतन्त्रवादी दुवैतर्फका सरकारहरूबाट उनलाई राज्य निकाला गरियो । रुढिवादी हुन् या घोरजनवादी बुर्जुवाहरू, ती सबैले माक्र्सलाई बदनाम गर्नमा एक अर्कासित प्रतिष्पर्धा गर्दथे । तर, माक्र्स यी सबैलाई बेवास्ता गर्दै आफू आफ्नै कार्य गरिरहन्थे । अति आवश्यकता परेको अवस्थामा मात्रै तिनीहरूलाई उत्तर दिन्थे ।
ती महान् पुरुष अब यस संसारमा रहेनन् । साइबेरियाका खानीदेखि लिएर क्यालिफोर्नियासम्म, युरोप र अमेरिकाका सबै क्षेत्रमा उनका लाखौँ क्रान्तिकारी मजदुर साथीहरू जो माक्र्सलाई माया गर्थे, उनीप्रति श्रद्वा राख्थे, आज उनको निधनमा आँसु बगाइरहेका छन् । म यतिसम्म भन्न सक्छु कि उनका धेरै विरोधीहरू भए पनि व्यक्तिगत शत्रु विरलै थिए होला ।
उनको नाम युगौँयुगसम्म अमर रहनेछ, त्यसरी नै उनको काम पनि अमर रहनेछ ।
(एङ्गेल्सले हाइडगेट समाधिस्थल, लण्डनमा १७ मार्च १८८३ मा अङ्ग्रेजीमा गरेको भाषण ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *