भर्खरै :

समाज परिवर्तनमा सांस्कृतिककर्मीहरूको ठुलो योगदान

समाज परिवर्तनमा सांस्कृतिककर्मीहरूको ठुलो योगदान

भक्तपुर, ३ चैत । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनमा आठौँ महाअधिवेशन भव्यरूपमा सफल पार्न सहयोग गर्ने सांस्कृतिककर्मीहरूको भेला भयो ।
उक्त भेलामा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले समाज परिवर्तनमा सांस्कृतिककर्मीहरू ठुलो योगदान रहेको बताउनुभयो । उहाँले नाटक, ख्याल तथा विभिन्न गीत जनताले सजिलै बुझ्ने हुँदा समाज परिवर्तनमा सांस्कृतिककर्मीहरूको योगदान महत्वपूर्ण हुन्छ भन्नुभयो ।
शासक पार्टीहरूले भ्रष्टाचार गरेकै कारण देश दुर्गतितर्फ गइरहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य बीमाको पैसा तिर्न नसक्ने कुरा स्वास्थ्य मन्त्रीले गर्नु नालायकपन हो भन्नुभयो । उहाँले भन्नुभयो, “वर्गसङ्घर्ष नगरी आमूल परिवर्तन सम्भव छैन । जनतालाई देश र जनताको विषयमा सिद्धान्त र विचार दिइरहनुपर्छ ।”
उहाँले शासक पार्टीहरूले एनजीओ र आईएनजीओ सञ्चालन गरेर विदेशी पैसा खाएर काम गरिरहेको हुँदा शासक दलका नेता तथा कार्यकर्ताहरू भ्रष्टाचारमा फस्दै गएका छन् भन्नुभयो ।
अमेरिकाले विदेशमा सहयोग रोक्ने घोषणा गर्दा शासक पार्टीका नेता तथा कार्यकर्ताहरू बिचलित भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले अन्धविश्वासलाई विश्वास गर्नुहुँदैन । आफूले देखेको भोगेकोलाई मात्र विश्वास गर्नुपर्छ । नेमकिपाको उद्देश्य देश र जनताको हितमा निःस्वार्थरूपले सेवा गर्नु हो । समाज परिवर्तन गर्न पार्टीको नीति निर्देशनअनुसार लागिपर्नुपर्छ ।”
भेलाका सभापति लक्ष्मी लासिवाले समाजवादी देशमा भए हरेक सांस्कृतिक गुरुहरूलाई मास्टर डिग्री बराबर समान हुन्थ्यो तर पुँजीवादी व्यवस्थामा सांस्कृतिक गुरुलाई टेरपुच्छर गरेको पाइँदैन; नेमकिपाको गतिविधि, अग्रजहरूले गरेको योगदानबारे नयाँ पुस्तालाई बताइराख्नुपर्छ भन्नुभयो ।
उक्त कार्यक्रममा पार्टी नगर समितिका सदस्यद्वय गंगाराम ज्याख्व र पुरुषोतम तमखुले महाधिवेशनबारे आ–आफ्नो विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *