भर्खरै :

राजनीतिक नेतृत्व सही बाटोमा नहिँडेसम्म देशको विकास नहुने

राजनीतिक नेतृत्व सही बाटोमा नहिँडेसम्म देशको विकास नहुने

ललितपुर, ३ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय स्ववियु निर्वाचन परिचालन समितिको आयोजनामा स्ववियु निर्वाचनबारे छलफल कार्यक्रम ललितपुरको सातदोबाटोमा सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्राविसङ्घ पूर्वअध्यक्ष सरोजराज गोसाईले राजनीतिक नेतृत्व सही बाटोमा नहिँडेसम्म देशको विकास नहुने उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीले राज्य कोष दोहन गरेर सांसदहरूले पजेरो सुविधा लिने निर्णयको विरोध गरेको स्मरण गर्नुभयो ।
वैचारिक बहस र सैद्धान्तिक छलफललाई स्ववियुले निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पुँजीवादी व्यवस्थाले सङ्कट र युद्ध निम्त्याइरहेको छ; पुँजीवादी व्यवस्थाको कारण हामीले धेरै समस्या भाग्दै छौँ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्राविसङ्घका पूर्वअध्यक्ष रवीन्द्र ज्याख्वले सङ्कट वा चुनावका बेला मान्छे चिनिन्छ; अहिले सांसद र मन्त्री बनेका धेरै स्ववियुबाट आएका छन् तर संस्कार नसिकेका कारण अहिले देशले यो दुर्गति भोगेको हो भन्नुभयो ।
हामीले प्रगतिशील विचारलाई व्यवहारमा लागु गर्नुपर्ने उल्लेख गर्दै उहाँले हामी विद्यार्थीमाझ पुग्नुपर्छ; विद्यार्थी र देशको समस्या उत्थान गर्न छोड्न नहुने बताउनुभयो ।
रत्नराज्य क्याम्पसका अध्यक्ष उम्मेदवार रोजित महर्जन, पाटन संयुक्त क्याम्पसका अध्यक्षका उम्मेदवार अनिस महर्जन, त्रिचन्द्र क्याम्पसका अध्यक्षका उम्मेदवार जेनिशा तिमिल्सेना, सानोठिमी क्याम्पसका अध्यक्षका उम्मेदवार राधिका बेकोजूलगायतले स्ववियु निर्वाचनबारे घटेका घटना र अनुभवबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।
सो कार्यक्रम नेक्राविसङ्घका अध्यक्ष प्रकाश गुरुङको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *