भर्खरै :

सन्तति आविको ३७ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण सम्पन्न

सन्तति आविको ३७ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण सम्पन्न

भक्तपुर, ८ चैत । सृजनानगर नपलीस्थित सन्तति आधारभूत विद्यालयको ३७ औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सरकारले संविधानमा उल्लेख भएको समाजवादउन्मुखको भावनाविपरीत कार्य गरिरहेको उल्लेख गर्दै भक्तपुर नगरपालिका आफ्नो क्षेत्रका जनतालाई शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सेवा तथा सुविधा सहजरूपमा दिइरहेको बताउनुभयो ।
उहाँले विगतमा भक्तपुरका अग्रजहरूको सङ्घर्षको परिणाम भक्तपुर नगरपालिका नमुना नगरपालिकाको रूपमा रहेको उल्लेख गर्दै सरकारले ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति नदिएर जनभावनाको अवमूल्यन गरेको बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक स्तर उकास्न भक्तपुर नगरपालिका लागिपरेको बताउँदै २१ औँ शताब्दी सुहाउँदो विद्यार्थी उत्पादनमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले शिक्षा क्षेत्रलाई राम्रो बनाउन अग्रजको परिश्रम तथा योगदान महत्वपूर्ण रहेको र भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउन भक्तपुर नगरपालिका लागिरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले विद्यालयको विकासका लागि स्थानीय जनताको साथ र सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यालय स्थानीय जनतासँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।
नपली समाज सेवा समितिका उपाध्यक्ष शमशेरबहादुर न्हुछेँ प्रधानले विद्यार्थीलाई साहित्य क्षेत्रमा पनि संलग्न गराउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक दीपक माकले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विद्यालयका गतिविधिहरू गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयमा थप कक्षाकोठा, शिक्षक, फर्निचर र सूचना तथा सञ्चार प्रविधि आवश्यक भएको उल्लेख गर्नुभयो ।
विव्यसका अध्यक्ष श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक मधुमैयाँ प्रधान, शिक्षक लक्ष्मी काफ्लेले पनि बोल्नुभएको थियो ।
कक्षागतरूपमा उत्कृष्टता शैक्षिक उपलब्धि हासिल गर्नेे विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा गरिब तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको उक्त कार्यक्रमको बिचबिचमा विद्यार्थीहरूले आआफ्नो सांस्कृतिक कार्यक्रम देखाएका थिए ।
कार्यक्रममा नवनियुक्त शिक्षकहरू दीपक माक, सत्यराम कासिछ्वा, कृष्णमाया ढुकुछु तथा कृष्णमाया बस्नेतलाई स्वागत तथा निवर्तमान प्रअ प्रेमनाथ सुवाललाई बिदाइ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *