लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
“यो नसोध कि तिम्रो देशले तिम्रो लागि के गर्न सक्छ, आफैलाई सोध कि तिमी आफ्नो देशको लागि के गर्न सक्छौ ?”
– खलिल जिव्रान
खलिल जिव्रानको जन्म सन् १८८३ मा सिरियाको माउन्ट लेवनान प्रान्तमा एक सम्पन्न परिवारमा भएको थियो । सन् १८८३ को वर्ष यस्तो रह्यो जुन वर्ष कार्ल माक्र्सको निधन भयो । प्लेटोपछिका विख्यात दार्शनिक नित्सेले त्यसै वर्ष ईश्वरको मृत्युको घोषणा गरे ।
खलिल जिव्रान अरबी साहित्य जगत्मा मात्रै होइन विश्व साहित्यमा नै चर्चित साहित्यकार हुन् । सम्पन्न परिवारमा जन्मे पनि पछि उनको परिवार घरबारविहीन हुन पुग्यो । कर छलेको अभियोगमा उनका पितालाई सरकारले जेल चलान गरी सबै सम्पत्ति जफत गरियो । उनका आमा कामिलाले स–परिवारलाई अमेरिका लिएर गइन् ।
त्यहाँ उनको परिवारलाई दुःखै दुःखको पहाडले किच्यो । चौध वर्षको उमेरमै बहिनीको मृत्यु हुनु, फेरि दाजु र आमालाई क्यान्सर लागेर मृत्यु हुनुले खलिल टुहुरामात्र भएनन् पिरै पिरले थिचिएर निकै दयनीय स्थितिमा पुगे । त्यसको ६ वर्ष नबित्दै लेवनानमा पिताको मृत्युले उनी झन् दुःख र समस्याको भुमरीमा परे । त्यसको पाँच वर्षपछि फ्रान्स गएर उनले चित्रकला सिके । सन् १९१२ मा अमेरिका फर्की उनी न्युयोर्कमा बस्न थाले ।
अमेरिकामा अङ्ग्रेजी भाषाका साहित्यको अध्ययन र फ्रान्समा चित्रकला सिकेपछि उनको कल्पना शक्ति उचाइमा पुग्यो ।
खलिल जिव्रान चित्रकला र वास्तुकलामा अगस्ट रोँदाबाट र दर्शनमा नित्सेबाट प्रभावित थिए भने साहित्यमा शेक्सपियर र दाँतेबाट प्रभावित थिए । कथन के छ भने वाल्ट हिटम्यानपछि अमेरिकाका सबैभन्दा प्रख्यात कवि खलिल जिव्रान भए ।
अमेरिकी राष्ट्रपति जोन अफ केनेडीसमेत उनका प्रशंसक थिए । खलिल जिव्रान वास्तवमा बहुमुखी प्रतिभा सम्पन्न व्यक्ति थिए । कविताका क्षेत्रमा उनी जसरी सफल कवि भए त्यसरी नै बेजोड निबन्धकार भए । रोचक र उत्सुकतापूर्ण कथाहरूको संयोजनबाट उनले तयार गरेका उपन्यासले उनलाई विशिष्ट उपन्यासकार सिद्ध गरेका छन् ।
उनी कुशल चित्रकारीबाट उत्कृष्ट चित्रकार पनि साबित भएका छन् । चित्र कोर्न खप्पिस विद्वान्ले एकपटक चित्रकला प्रदर्शनी पनि गराएका थिए ।
प्रचुर कल्पना शक्तिका धनी प्रखर सिर्जनशील व्यक्तित्व खलिल जिव्रान सुफी सन्त परम्पराका साहित्यकार हुन् । उनको प्राकृतिक प्रशन्नतामा नै ईश्वर खुसी हुन्छन् भन्ने धारणाले गर्दा उनका चित्रहरू मूर्त र भावुक देखिन्छ । मानसिक उन्मादमा विधाता प्रकट हुन्छन् भन्दै आनन्द र खुसी भनेकै प्रकृतिसँग मिल्नु र मानव शक्तिको उपासक बनेर समुद्रमा होइन हिमालतर्फ उन्मुख हुनुपर्छ । असीम बिन्दु सीमा हित सिन्धुमा बिलाएजस्तै प्रेमका भावनाले जीवनका पीडाहरू हराउँछन् । प्रेम भनेको प्राकृतिक हुनुपर्दछ भन्ने उनको विचार हो ।
खलिल जिव्रान धर्मले इस्लामिक भए पनि इस्लाम धर्मको पाखण्डबारे कडा प्रहार गरी लेख्थे । कुनै पनि धर्मको आडम्बर र ढोङबारे विवेकले जे देख्छ त्यहीँ लेख्थे । ‘स्परिट रिवेलियस’ प्रकाशित भएपछि धर्मको व्याख्याबारे तहल्कै मच्चियो । यस पुस्तकमा उनले धर्मन्धतामाथि निकै प्रहार गरेर लेखेका छन् । पुस्तक प्रकाशित भएपछि पुरोहित आक्रोशित मात्रै भएनन् । ठाउँ–ठाउँमा उनका पुत्लाहरू पनि जलाइयो । सम्पूर्ण चर्चले उनलाई बहिष्कार ग¥यो । तर, जिव्रान आफ्नो विचारबाट कति पनि विचलित भएनन् ।
खलिल जिव्रानका प्रसिद्ध कृतिहरूमा ‘मैडमैन वान्डरर’ र ‘द प्रोफेट’ मुख्य हुन् । उनले लेखेका कृतिहरूमध्ये ‘द प्रोफेट’ अत्यन्त सफल र चर्चित कृति हो । कृतिमा उनले आफ्नो विवेकले देखेका दार्शनिक विचारहरू व्यक्त गरेका छन् । यसै कृतिले उनलाई अन्तर्राष्ट्रिय ख्याति दिलायो । ‘द प्रोफेट’ को विश्वका धेरै भाषामा अनुवादसमेत भइसकेको छ ।
उनका रचनाहरू झन्डै २५ भाषामा अनुदित भइसकेका छन् । उनका दर्शन पक्ष बढ्ता बेजोड देखिन्छ ।
जिव्रान कृतिविहीन संसारको कल्पना गर्दैनन् । उनी स्थिरतालाई क्षणिक मान्दछन् र परिवर्तनलाई शाश्वत मान्दछन् । प्रकृतिको सम्मेलन नै जीवनको आधार हो । श्रमप्रति निष्ठा राख्नुपर्छ भन्दै खलिल भन्छन्, “श्रमको कार्यद्वारा नै तिमीले आफ्नो भाग्य बदल्न सक्छौ, मरेका मान्छेलाई बाँचेका मान्छेले चिहान खन्नुपर्छ ।”
जीवन खुसी र दुःखीको तराजुको तल माथि हुँदै गर्छ । जीवनमा विवेक र वासना सन्तुलित रह्यो भने मात्र मानिसले प्रगति गर्छ । हामी आफ्नो लक्ष्यको लागि कटिबद्ध हुनुपर्छ ।
वयष्क उमेरमा परिवारका सबै सदस्यलाई गुमाएर विरक्तिएको मन सम्हाल्न थुप्रै युवतीसँग प्रेम गरे तर घरबार भने बसाउन सकेनन् । सुत्लाना तावितसँग उनले लेवनानमा रहँदा प्रेम गरेका थिए त्यति सुखद भएन । फेरि उनी जियादे नामक युवतीको प्रेममा परे । त्यो प्रेम पनि लामो समय रहन सकेन ।
प्रेममा असफल हुँदै जिव्रानको मेरी नामक युवतीसँग प्रेम हुन गयो । मेरी उनलाई मायामात्र होइन उनका हरेक कार्यमा सहयोग गर्थिन् । सम्बन्ध गहिरिएपछि मेरीलाई उनले विवाहको प्रस्ताव राखे । उनले पनि उमेरको फरकले गर्दा विवाह गर्न मानिनन् तर जीवनभर साथ दिइरहिन् ।
मन–मस्तिष्कभरि चोटैचोट बोकेका खलिल जिव्रानले फेरि व्यथा बिर्सन रक्सी खाने गर्थे । अत्यधिक रक्सी सेवनले गर्दा जीवनको उत्तराद्र्धमा कलेजोको रोगले पीडा दियो । अत्यधिक रक्सी सेवनले उनको कलेजो बिग्रिसकेको थियो । जति औषधि उपचार गर्दा पनि रोग निको हुनुको साटो गम्भीर हुँदै गयो । विश्व प्रसिद्ध साहित्यकार जिव्रानले ४८ वर्षको उमेरमा १० अप्रिल सन् १९३१ मा यस धर्तीबाट बिदा लिए ।
सन्दर्भ सामग्री
१.The world of encyclopedia, volume 11
२. विश्व विख्यात साहित्यकारहरू – भीम राना ‘जिज्ञासु’
३. विश्व प्रसिद्ध व्यक्तिहरू – मधुसुदन पाण्डे
Leave a Reply