लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
देशैभरि एसईई परीक्षा चल्दै छ । एसईई दिने विद्यार्थीहरू परीक्षा र पढाइमा व्यस्त छन् । मिहिनेत गर्ने भाइबहिनीलाई सफलताको शुभकामना !
एसईई परीक्षालाई दश–बाह्र वर्षको विद्यार्थी जीवन टुङ्ग्याउने परीक्षा मानिन्छ । यसमा विद्यार्थीको शैक्षिक क्षमता र योग्यता मापन हुन्छ । जुम्लामा स्थिति भने बेग्लै हुन्छ । यसको ठीकविपरीत एसईई परीक्षामा चिट चोराउने प्रतिस्पर्धा हुन्छ । परीक्षामा जुम्लाका अधिकांश शिक्षक, दिदीबहिनी र आफन्तहरू अनलाइनमा फोटो पठाएर, चिर्कटा कक्षामा घुसाएर चिट चोराउँछन् ।
देशैभर पढाइ र परीक्षाको झिलिमिली चलिरहँदा अधिकांश जुम्ली विद्यार्थीलाई भने पढाइको चिन्ता छैन । उनीहरूको सोच यस्तो हुन्छ – भोलि कसरी परीक्षा केन्द्रमा चिट घुसाउने ? कसरी मोबाइल लुकाएर भित्र लाने ? कुन कपडा लगाउँदा मोइबाल र चिट घुसाउन सजिलो होला ? यही चिन्तन र चिन्तामा हुन्छन् जुम्ली विद्यार्थी । कोहीकोही त टाढा पढ्न गएका दाइदिदीलाई फोन गर्नमा व्यस्त हुन्छन् । फोनमा उनीहरू भन्छन् – भोलि मेरो हातमा प्रश्नपत्र पर्नेबित्तिकै तपार्इँलाई हालिदिन्छु, त्यसको उत्तर लेखेर तुरुन्तै पठाइदिनु है । यही हो अधिकांश जुम्ली विद्यार्थीको एसईई परीक्षा, एसईईको जुम्ली जात्रा ।
परीक्षा सुरु हुनुभन्दा अगाडि नै हुनेखाने आमाबाले आफ्ना छोराछोरी भर्ना भएका विद्यालयका प्रधानाध्यापककहाँ च्याखुरा र रातो भाले पु¥याइसक्छन् । त्यसबापत आफ्ना छोराछोरीको एसईई उत्तरपुस्तिका राम्रो बनाइदिनु भनी बिन्ती बिसाउँछन् । यसको अर्थ तिनका छोराछोरीले कक्षाभित्र हाकाहाकी चिट चोर्ने छुट पाउँछन् । च्याखुरा र रातो भाले खुवाउन नसक्नेका छोराछोरी अथवा असल र मिहिनेती विद्यार्थी भने अलमलमा पर्छन् । परीक्षा निष्पक्ष र स्वच्छ हुनुपर्ने हो । तर, जुम्लामा च्याखुरा र रातो भालेकै चल्छ । यसलाई घुसखोरी नभनेर के भन्ने ?
जुम्लामा एसईई परीक्षाको बेला परीक्षा केन्द्र किन्ने कुरीति छ । एसईई नजिकिँदै जाँदा विभिन्न विद्यालयका हेडमास्टर र शिक्षकबिच बैठक चल्छ । व्यापारीले जस्तै परीक्षा केन्द्र किनिन्छ । परीक्षार्थीको विद्यालय र परीक्षा केन्द्र राखिने विद्यालयबिच राम्रो सम्बन्ध भए विद्यार्थीलाई चिट चोर्ने सहज वातावरण बन्छ । तर, ती विद्यालयबिच नराम्रो सम्बन्ध भए अरु विद्यालयका परीक्षार्थीमाथि कडिकडाउ गरिन्छ, तानाशाही प्रवृत्ति देखाइन्छ । यो हो जुम्लाका अधिकांश हेडमास्टर, शिक्षक र परीक्षा गार्डको हविगत ।
विद्यालयमा राम्रा विद्यार्थीलाई अक्षरको क्रमअनुसार नराखी चिट चोर्न सजिलो पार्ने गरी धनीमानी, नेता–कार्यकर्ताका छोराछोरीसँग राखिन्छ । आफ्नो विद्यालयका परीक्षार्थीलाई चिट चोर्न वा मोबाइल हेर्न नदिने गार्डलाई हेडमास्टर र शिक्षकले थर्काउँछन् । ‘तिम्रो विद्यालयका विद्यार्थीहरू अर्को साल हाम्रोमा आए, राम्रो हुनेछैन’ भनेर धम्की दिन्छन् । यो हो एक हेडमास्टर, शिक्षक र धनीमानीको मनोमानी ।
जुम्लामा फागुनदेखि मङ्सिरसम्म कक्षा सञ्चालन हुन्छ । शिक्षकले यी नौ महिनामा पाठ्यक्रम पढाएर सक्दैनन् । यही निहुँमा मङ्सिरदेखि चैतसम्मका चार महिनामा शिक्षकहरू ट्युसन पढाउँछन् । चार महिनामा पाठ्यपुस्तक पढाएर सक्छन् । चार महिनामा सक्नेले नौ महिनामा किन पढाएर भ्याउँदैनन् ? उत्तर सजिलो छ – पैसा कमाउन । फेरि ट्युसन शिक्षकहरू ‘पढ्दै नपढी ४ जीपीए र ए–प्लस दिलाउँछौँ’ भन्छन् । चार महिनाभरि विद्यार्थीलाई प्रत्येक दिन ‘नपढेरै ४ जीपीए र ए–प्लस ल्याउँछाँै, ढुक्क बसे हुन्छ’ भनिरहन्छन् । कसरी ? नपढिकन कसरी आउँछ ४ जीपीए र ए–प्लस ?
ट्युसन शिक्षकले भनेझैँ ती विद्यार्थीले ए, ए–प्लस र ४ जीपीए ल्याउँछन् पनि । कसरी ? परीक्षाका बेला ट्युसन शिक्षक नै चिट चोराउने होडबाजीमा लाग्छन् । उनीहरू चिटका चिर्कटा लेखेर र परीक्षा पत्र हल गरेर सामाजिक सञ्जालबाट पठाइदिन्छन् । गजब छ जुम्लामा । यसैलाई भनिन्छ, आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नु । आफ्ना छोराछोरीको शैक्षिक स्तर खस्काएर जुम्ली अभिभावकले तिनको भविष्य नै अन्धकारपूर्ण बनाइदिन्छन् । परीक्षामा त धेरै नम्बर आउला तर ज्ञानले उनीहरू लङ्गडो बन्न पुग्छन् ।
जुम्लामा एसईई परीक्षाको लिला यस्तै छ । चिट र मोबाइलको जात्रा यसैगरी वर्षैपिच्छे चल्छ । जुम्लामा बर्सेनि परीक्षा अनुसन्धान अधिकृतले दर्जनौँ चिट र मोबाइल बरामद गरेका समाचार छापिन्छन् । तर, सुनुवाइ हुन्न ।
देशको सरकार जुम्लीहरूको शैक्षिक स्तर खस्केर विदेश भागेको र रेमिट्यान्स पठाएकैमा रमाउँछन् । जुम्लीहरू आफ्ना छोराछोरीको भविष्य बिगारेर मक्ख पर्छन् । सक्नेले उच्च शिक्षा पढाउन छोराछोरीलाई नजिकको सहर सुर्खेत, नेपालगन्ज वा राजधानी काठमाडौँ पठाउँछन् । त्यहाँ पुगेपछि आफ्नो ज्ञान खोक्रो पाएर धेरै विद्यार्थी निराशाको खाडलमा निसासिन्छन् । वर्षौँसम्म लोकसेवाको तयारी गर्दा पनि नाम ननिस्केपछि उनीहरू भारतको भारी बोक्न कालापत्थरतिर लाग्छन् ।
(लेखक जुम्लाका विद्यार्थी हुन् । हाल उनी भक्तपुरमा उच्च शिक्षा अध्ययन गर्दै छन् ।)
Leave a Reply