ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, १० चैत । ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक कार्य योजना निर्माण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सरकारले सहकारी संस्थालाई बचत तथा ऋण कारोबार गर्ने लिमिटेड बनाई सञ्चालन गर्न दिएको हँुदा सर्वसाधारण जनताको ४ खर्ब रूपैयाँभन्दा बढी ठगी गर्ने सञ्चालकहरूलाई मौका हुन गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थाको वार्षिक कार्यतालिकामा संस्थाले नै उत्पादन र सेवाको काम गर्ने योजना राख्नु जरुरी छ । यसको लागि आवश्यक कानुनी व्यवस्था बनाउन सहकारी संस्थाले आवाज उठाउनु जरुरी छ ।”
लेखा परीक्षण नभएका र वार्षिक साधारणसभा नभएका १७ हजारभन्दा बढी सङ्ख्याका सहकारी संस्थाहरू खारेज हुने समाचार सार्वजनिक भएको उल्लेख गर्दै सांसद सुवालले यो अवस्थामा सहकारी महासङ्घले ‘मर्यादित सहकारी समुन्नत समाज’ नारा लगाई ६८ औँ सहकारी स्थापना दिवस मनाउने तयारी गर्नुको कुनै औचित्य नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “सहकारी–सार्वजनिक–निजी नेपालको अर्थतन्त्रको खम्बा भनिए पनि सहकारी र सार्वजनिक अर्थतन्त्रको खम्बा ध्वस्त भइरहेको र निजीको नाममा केही अर्बपति र खर्बपतिहरूले लुटपाटजस्तै गरेको तर्फ नेपाली जनता सचेत हुनु आवश्यक छ ।”
भक्तपुर नपा वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले सिद्धि गणेश साकोसले स्वास्थ्य केन्द्र, भक्तपुर साकोसले आदर निकेतन खोलेर सेवा गरेझँै ख्वप साकोसले घरेलु उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले वार्षिकरूपमा गर्ने कार्यको विवरण र संस्थाको भावी कार्यक्रम हुने भएकोले संस्थाको गतिविधिको समीक्षा आवश्यक छ भन्नुभयो ।
संस्थाका अध्यक्ष राजकुमार लघुले संस्थाको वार्षिक कार्ययोजना निर्माणका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जानकारी दिँदै चैत २४ गतेदेखि धाँ बाजाको प्रशिक्षण सुरु गर्ने भएकोले २२ गतेभित्र नाम दर्ता गर्न अनुरोध गर्नुभयो ।
संस्थाका सल्लाहकार कुमार लघु, संस्थाका कोषाध्यक्ष लक्ष्मीनारायण सुवाल, सञ्चालक विकास ब्यान्जुले पनि बोल्नुभयो । दोस्रो चरणको कार्यक्रममा शिक्षा समितिका कृष्णगोपाल आचार्य, महिला उपसमितिका जगतलक्ष्मी पहिजु, कृषि उपसमितिका कृष्णप्रसाद आचार्य, लेखा समितिका लक्ष्मीदास बासुकला, स्वास्थ्य उपसमितिका लक्ष्मीनारायण सुवाल र अतिरिक्त क्रियाकलाप उपसमितिका विश्वराम सुवालले आ–आफ्नो समितिको वार्षिक कार्ययोजना योजना प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply