चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२
कथा
संयुक्त राज्य अमेरिकाका स्टीलका राजा, पेट्रोलका राजा र अन्य राजाहरूले सधैँ मेरो कल्पनाशक्तिलाई उच्चतम् विन्दुमा पु¥याएर रोमाञ्चक बनाउने गरेका छन् । मलाई यस्तो लाग्छ कि यी निश्चित व्यक्तिहरू जोसँग अनगिन्ती पैसा छ, ती अरु सामान्य मान्छेजस्ता नाशवान हुन सक्दैनन् ।
मैले आफैंलाई भनेँ कि उनीहरूमध्ये प्रत्येकसँग कम्तीमा ३ वटा पेट र १५० वटा दाँत हुनुपर्छ । मलाई कुनै शङ्का थिएन कि करोडपतिहरू बिहान छ बजेबाट मध्यरातसम्म कुनै मध्यान्तरबिना नै लगातार खाइरहन्छन् । त्यो पनि संसारकै शानदार भोजन ! दिनभरि चपाउँदा–चपाउँदा उनीहरूलाई पट्यार लाग्दो हो र मैले कल्पना गरेको छु कि साँझतिर उनीहरू आफ्नो नोकरहरूलाई आफूले निलेको भोजन सन्तुष्टिपूर्वक पचाइदिन आदेश दिन्छन् । पूर्ण रूपमा लल्याकलुलुक भएर छटपटी र पसिनाले लत्पतिएको उसलाई नोकरहरूले बिछ्यौनामा लगेर निकै सावधानीपूर्वक सुताउँदा हुन्, ताकि भोलिपल्ट उठ्नेबित्तिकै बिहानै छ बजेबाट उसले आफ्नो भोजन कार्य आरम्भ गर्न सकोस् ।
यद्यपि त्यस्ता मान्छेले जतिसुकै कष्ट सहेर खाए पनि आफ्नो अथाह सम्पत्तिबाट आउने ब्याजको आधामात्रै पनि खाएर सक्न असम्भव हुँदो हो ।
निश्चित रूपमा त्यस्तो जीवन नारकीय छ, तर कसले के नै गर्नसक्छ र ? केका लागि कोही करोडपति बन्छ ? उफ्, म के भनिरहेछु ! केका लागि कोही अर्बपति बन्छ जब ऊ एक सामान्य नश्वर मानिसले भन्दा धेरै खान सक्दैन भने ? मैले आफैंमा कल्पना गरेँ कि अर्बपतिहरूले सुनका बुट्टा भएका लुगा लगाउँदा हुन्, सुनका जुत्ता लगाउँदा हुन् र ह्याटको सट्टा टाउकोमा हिरा र मणिजडित मुकुट लगाउँदा हुन् । संसारको सबैभन्दा महँगो मखमलले बनेको उसका सुनका टाँक भएका लुगाहरूको लम्बाइ कम्तीमा पनि ५० फिट हुँदो हो र बिदाको दिनमा ऊ आवश्यताले गर्दा अर्को ६ जोर महँगा ट्राउजरहरू लगाउन बाध्य हुँदो हो । पक्कै पनि त्यस्तो लुगा लगाउँदा अप्ठ्यारो महसुस हुँदो हो, तर त्यतिविधि धनी भएपछि त अरु मान्छेहरूले लगाए जस्तो पहिरन त लगाउन मिलेन नि !
केका लागि कोही अर्बपति बन्छ जब ऊ एक सामान्य नश्वर मानिसले भन्दा धेरै खान सक्दैन भने ?
मैले कल्पना गरें कि अर्बपतिहरूको खल्ती यतिविघ्न ठुलो हुन्छ होला कि त्यहाँ सजिलैसँग चर्च र पूरै संसद अटाउन सक्छ । त्यस्ता महान् व्यक्तिहरूको पेट त यति ठुलो हुन्छ होला कि त्यहाँ समुद्र नै अटाउन सक्ला, कति लम्बाइ र चौडाइ होला भनेर त खै ! मैले कल्पना नै पो गर्न सकिनँ । उसको कोठाको बारेमा सोच्न खोज्दा पनि मेरो दिमागमा कुनै स्पष्ट चित्र नै आउन सकेन, तर मलाई लाग्छ कि त्यो कम्तीमा पनि दुई हजार वर्ग यार्ड त हुन्छ होला । यदि ऊ सुर्ती खान्छ भने निःसन्देह उसले सर्वोत्कृष्ट गुणस्तरको खाँदो हो र एकपल्टमा कम्तीमा पनि एक किलो सुर्ती मुखमा हाल्दो हो । नशा तान्ने बेलामा पनि उसले कम्तीमा एकपल्टमा आधा किलो त सुँघ्दो हो । यसो गर्दा अलिअलि भए पनि पैसा खर्च हुन्छ नि !
उसका हातहरूमा आफूले चाहेअनुसार तन्किने जादुमय इच्छाधारी शक्ति हुँदो हो । मैले कल्पनामा न्युयोर्कको एक अर्बपतिले आफ्नो हात तन्काएर कतै साइबेरियातिर गुँडेको एक डलरको सिक्कालाई आफू एक इन्च पनि नहल्लिकन तानेको देखेको छु ।
उत्सुकतापूर्वक सोच्दै गर्दा मैले यो विशाल जीवको टाउको कत्रो होला भनेर स्पष्ट आकृति कल्पना गर्न सकिनँ । संसारका हरेक कुराबाट पैसा सोस्नका लागि निर्मित भएका राक्षसका जस्ता जब्बर मांसपेशी र हड्डीयुक्त यो जीवको टाउको त पक्कै पनि बडेमानको हुँदो हो ।
कसले नै त्योबेलाको मेरो आश्चर्यलाई बुझ्न सक्ला र ? जतिबेला म यस्तै एउटा धनी मान्छेको अगाडि हुँदा यो निष्कर्षमा आएँ कि एउटा अर्बपति पनि अरु मानवहरूजस्तै पो हुँदो रहेछ ।
मैले त्यहाँ एउटा अग्लो बूढो मान्छे आर्मचेयरमा बसिरहेको देखेँ । उनले आफ्ना खैरा हातहरू बाँधेर बसेका थिए र उनको शरिर सामान्य आयतनको थियो । उनले अनुहारको नरम छाला सावधानीपूर्वक खौरिएका थिए । उनका आँखाहरू रङ्गहीन थिए र आँखीभौँ पनि थिएन । तालु खुइलिएको थियो । उनको कोमल छाला हेर्दा नवजात शिशुको जस्तै लाग्थ्यो । उनी आफ्नो जीवनको सुरुवातमा थिए कि अन्त्यमा आइपुगिसकेका थिए भनेर मलाई छुट्याउनै मुस्किल पर्यो ।
उनको पहिरनमा यस्तो केही पनि थिएन जसले उनलाई एउटा सामान्य मानिसभन्दा भिन्न देखाओस् । उनको शरिरमा भएको सुनमा एउटा औँठी, घडी र उनका दाँतहरू मात्र थिए । सबै जोडेर मुस्किलले एक पाउ जति पनि थिएन होला । वास्तवमा भन्नुपर्दा ती मान्छेको हुलिया हेर्दा त उनी युरोपको कुनै सम्भ्रान्त परिवारमा काम गर्ने बूढो नोकर जस्तो देखिन्थे ।
उनले मलाई भेट दिएको कोठाको साजसज्जा पनि उस्तो केही विशेष थिएन । फर्निचरहरू निकै गहुँगा खालका थिए, त्यति मात्र भन्न सकिन्छ । ती फर्निचरहरू देखेर मलाई सायद यस घरमा हात्ती आउने गर्छन् होलाजस्तो लाग्यो ।
“के तपाईं अर्बपति हुनुहुन्छ ?”, मैले उनलाई सोधेँ किनभने मैले आफ्ना आँखाहरूलाई विश्वास गर्न सकिरहेको थिइनँ ।
‘अवश्य पनि !’, टाउको हल्लाउँदै उनले उत्तर दिए ।
‘तपाईं नास्तामा कति मासु खान सक्नुहुन्छ ?’
‘म बिहान कहिले पनि मासु खाँदिन’, उनले भने । ‘एकचौथाइ सुन्तला, एउटा अण्डा र एक कप चिया मात्र खान्छु…’
बच्चाका जस्ता उनका निर्दोष आँखाहरू दुई थोपा हिलाम्य पानीजस्तै गरी उत्साहरहित तबरले झिम्किरहेका थिए ।
उनको पहिरनमा यस्तो केही पनि थिएन जसले उनलाई एउटा सामान्य मानिसभन्दा भिन्न देखाओस् । उनको शरिरमा भएको सुनमा एउटा औँठी, घडी र उनका दाँतहरू मात्र थिए । सबै जोडेर मुस्किलले एक पाउ जति पनि थिएन होला ।
‘उत्तम’, म फेरि सुरु भएँ, ‘तर मसँग इमानदार भएर कुरा गर्नुस् । मलाई सबै सत्य बताउनुहोस् । दिनमा कतिपल्ट खानुहुन्छ ?’
‘दुईपल्ट’, शान्तिपूर्वक उनले जवाफ दिए, ‘नास्ता र रात्रीभोजन भए मलाई पर्याप्त हुन्छ । दिउँसो भने म अलिकति सुप, थोरै सेतो मासु, तरकारी, फलफूल, एक कप चिया र सिङ्गार पिउँछु ।
म आश्चर्यचकित भएँ । लामो सास लिएँ र फेरि सोधेँ :
“तर यदि यो सत्य हो भने तपाईं आफ्नो पैसाले के गर्नुहुन्छ ?”
“त्यो लगानी गरेर अझै अरु पैसा कमाउँछु”
“के–का लागि ?”
“त्यसबाट अझै धेरै पैसा कमाउनका लागि !”
“के–का लागि त ?”, मैले दोहोर्याएँ ।
उनी आफ्ना हातहरू कुर्सीको बिटमा राख्दै म भएतर्फ झुके र उत्सुकता व्यक्ति गर्दै भने :
“पक्कै पनि तिम्रो दिमाग खुस्केको जस्तो छ ?”
“र तपाईंको नि ?”, मैले प्रतिप्रश्न गरेँ ।
बूढाले आफ्नो सुनका दाँतहरूबाट सुस्केरा हाल्दै आफ्नो टाउको हल्का झुकाए ।
“कस्तो हाँसोलाग्दो होला…तपाईं तपाईंको वर्गको पहिलो व्यक्ति हो जसलाई मैले भेटेँ”
त्यसपछि उनले आफ्नो टाउको उठाए र केहीबेर चुपचाप मलाई हेरे ।
“तपाईं के गर्नुहुन्छ ?”, मैले फेरि सुरु गरेँ ।
“पैसा कमाउँछु”, उनले छोटो उत्तर दिए ।
“ए, त्यसोभए तपाईं नक्कली नोट छाप्नुहुन्छ ?”, रहस्यको पीँधसम्म पुगेकाले म हर्षोल्लासका साथ चिच्याएँ । तर ती अर्बपति भने डराए । उनको सारा शरिर काँप्यो र आँखाहरू यताउता घुमे ।
‘त्यस्तो होइन’, अलि शान्त भएपछि उनले भने । त्यसपछि उनले आफ्नो गाला फुलाए, तर किन भनेर मैले बुझिनँ ।
मैले यसो विचार गरेँ र फेरि उनलाई प्रश्न गरेँ :
‘त्यसो भए तपाईं कसरी पैसा कमाउनुहुन्छ त ?’
‘ए, त्यो त निकै सामान्य कुरा छ । मसँग रेलमार्ग छ । किसानहरूले बिक्रीयोग्य कुराहरू उत्पादन गर्छन्, जसलाई मैले बजारसम्म ढुवानी गर्छु । मैले आफ्नो सुझबुझले हिसाब गर्छु कि मैले कति पैसा किसानहरूलाई दिनुपर्छ ताकि उनीहरू भोकै नरहून् र निरन्तर रूपमा अन्न फलाइरहून् । बाँकी पैसा ढुवानी खर्चको नाममा म आफैँ राख्छु । यो पक्कै पनि सामान्य कुरा छ, हैन त ?’
“र किसानहरू त्यतिमै सन्तुष्ट हुन्छन् ?”
“मलाई लाग्छ, हुँदैनन् होला”, उनले बच्पना झल्काउँदै जवाफ दिए । “तर भनिन्छ नि, मान्छेहरू कहिल्यै सन्तुष्ट हुन सक्दैनन् । संसारमा जहिले पनि त्यस्ता पृथक पात्रहरू हुन्छन् जसले अझै धेरै भन्दा धेरै चाहन्छन् ।”
Leave a Reply