भर्खरै :

तरकारीसमेत अर्बौँको आयात ?!

तरकारीसमेत अर्बौँको आयात ?!

कृषि प्रधान देश नेपालमा हरियो तरकारीको आयात बढ्दो छ । विगत ५ वर्षको तुलनामा हरेक वर्ष हरियो तरकारीमा निर्यातभन्दा आयात बढिरहेको तथ्याङ्कले देखाउँछ । करोड हाराहारीमा नेपाली युवाहरू वैदेशिक रोजगारीका नाममा विदेश पठाइएको हुँदा कृषि भूमि बाँझो छ ।
आव २०७६/७७ मा १० अर्ब ७९ करोड रुपैयाँ बराबरको हरियो तरकारी आयात भएकोमा ९ करोड रुपैयाँ बराबरको मात्र निर्यात भयो । आव २०७७/७८ मा १२ अर्ब ३१ करोड रुपैयाँ बराबरको आयात, आव २०७८/७९ मा १७ अर्ब ८ करोड रुपैयाँ बराबरको आयात, आव २०७९/८० मा १७ अर्ब १७ करोड रुपैयाँ बराबरको हरियो तरकारी आयात भयो भने सोही वर्ष २० करोड रुपैयाँ बरावरको निर्यात भयो ।
आव २०८०/८१ मा १२ अर्ब ७० करोड रुपैयाँ बराबरको हरियो तरकारी आयात भएकोमा २० करोड रुपैयाँ बराबरको निर्यात भयो । चालु आव २०८१/८२ को आठ महिनामा १५ अर्ब ९२ करोड रुपैयाँ बराबरको हरियो तरकारी आयात भयो भने १३ करोड रुपैयाँ बराबरको मात्र निर्यात भयो ।
आव २०७८/७९ मा हरियो तरकारी, आलु, प्याज र लसुन मात्र १५ अर्ब रुपैयाँभन्दा बढीको आयात भयो । आव २०७७/७८ मा ८ अर्ब १८ करोड ८९ लाख ९ हजार रुपैयाँ बराबरको ३२ करोड ७६ लाख ७२ हजार २३७ किलो आलु आयात गरेको थियो भने आव २०७६/७७ मा ७ अर्ब ३० करोड ७० लाख रुपैयाँ बराबरको २८ करोड ४१ लाख २५ हजार किलो आलु आयात भयो ।
आव २०७७/७८ मा २ अर्ब ४६ करोड ८२ लाख ३६ हजार रुपैयाँको प्याज मात्रै आयात भएको थियो । २०७८/७९ मा ६ अर्ब १७ करोड ५ लाख ७१ हजार रुपैयाँ बराबरको १६ करोड ८५ लाख ४० हजार किलो प्याज नेपाल आयात भयो ।
नेपालमा धेरै आयात हुने तरकारीमा लसुन पनि पर्दछ । आव २०७७/७८ मा १ अर्ब ५ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख किलो लसुन आयात भएको थियो । आव २०७८/७९ मा १ अर्ब ५ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको ९१ लाख ३० हजार किलो लसुन आयात भयो । सोही वर्ष ६२ करोड २१ लाख रुपैयाँ बराबरको ३ करोड ४७ लाख किलो हरियो साग र तरकारी आयात भयो ।
आव २०७८/७९ मा २ करोड ७९ लाख रुपैयाँको फर्सी, ७ करोड २५ लाख रुपैयाँको भेंडे खुर्सानी (क्याप्सिकम), २२ करोड ४४ लाख रुपैयाँको च्याउ, ५ करोड ८१ लाख रुपैयाँँको घिउसिमी र मटरकोसा, ६३ करोड १२ लाख रुपैयाँँको गोलभेंडा आयात भएको छ । २४ लाख ४२ हजार रुपैयाँँको काउली, १३ लाख २४ हजार रुपैयाँँको बन्दा, ६६ लाख रुपैयाँँको गाँजर र १२ लाख रुपैयाँको काँक्रो र २० लाख रुपैयाँँको मुला आयात भएको थियो ।
चालु आवको आठ महिनामा ६ अर्ब ३३ करोड रुपैयाँको लसुन, ६ अर्ब ३३ करोड रुपैयाँको आलु, ५ अर्ब ७३ करोड रुपैयाँको प्याज र छ्यापी, २ अर्ब ६३ करोड रुपैयाँको गोलभेडा, ४८ करोड रुपैयाँको खुर्सानी, ४३ करोड रुपैयाँको काँक्रो आयात भएको तथ्याङ्क छ ।
चालु वर्षको ८ महिनामा ११ करोड रुपैयाँको बन्दा, काउली, ५१ लाख रुपैयाँको कुरिलो, ३८ लाख रुपैयाँको च्याउ, ३४ लाख रुपैयाँको गोलभेडा, १२ लाख रुपैयाँको फर्सी, कुभिन्डो, लौका निर्यात भयो ।
छिमेकी देश भारत र चीनबाट हरियो तरकारी आयात धेरै हुन्छ भने निर्यात अत्यन्त कमै छ । देशको अर्थतन्त्र बलियो बनाउन आयातभन्दा निर्यात बढाउनेतर्फ सरकारको ध्यान जानु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *