भर्खरै :

सन्दर्भ : अन्तर–नगर जिम्न्यास्टिक प्रतियोगिता – महिला कबड्डी प्रतियोगिता २०८० लाई फर्केर हेर्दा

सन्दर्भ : अन्तर–नगर जिम्न्यास्टिक प्रतियोगिता – महिला कबड्डी प्रतियोगिता २०८० लाई फर्केर हेर्दा

भक्तपुर नगरपालिकाले यही चैत २३ गतेदेखि २५ गतेसम्म जिम्न्यास्टिक प्रतियोगिताको आयोजना गर्दैछ । वि.सं. २०४६ सालको जन–आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरूको सम्झनामा र नगरपालिकाहरूबिच समन्वय बढाउने उद्देश्यले भक्तपुर नगरपालिकाले हरेक वर्ष एक खेलको अन्तर–नगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । भक्तपुर नगरपालिकाले यो वर्ष जिम्न्यास्टिक प्रतियोगिता छनोट गरेका कारण भक्तपुर जिल्लाका जिम्न्यास्टिक खेलाडीमात्र होइन, समग्र नेपालकै जिम्न्यास्टिक खेलाडीहरू खुसी देखिन्छन् । थोरै सङ्ख्यामा राष्ट्रिय प्रतियोगिता हुने खेलहरूमध्ये जिम्न्यास्टिक पनि एक हो । यस प्रतियोगिताले जिम्न्यास्टिक खेलाडीहरूमा उत्साह थप्ने निश्चित छ ।
खेलाडी, प्रशिक्षक, खेल सङ्घ र खेलप्रेमीहरूको लागि यो वर्ष हुने जिम्न्यास्टिक प्रतियोगिताको महत्व कतिको हुनेछ भन्ने कुरा गएको वर्ष सम्पन्न महिला कबड्डी प्रतियोगिताको वातावरणले मूल्याङ्कन गर्न सकिन्छ ।
“कबड्डी प्रतियोगिता हेर्न यति धेरै दर्शक आएको पहिलोपटक देख्दै छु । यति भव्य प्रतियोगिता आयोजना भएकोमा भक्तपुर नगरपालिकालाई मनैदेखि धेरै धेरै धन्यवाद । १९ औँ एसियन खेलमा काँस्य पदक जित्नु अगाडिसम्म कबड्डी खेल नेपालमा हेपिएको खेलको हो जस्तो लागेको थियो । एसियन खेलमा पदक पनि जित्यौँ र नेपालमा पहिलोपटक भक्तपुर नगरपालिकाले राष्ट्रियस्तरकै कबड्डी प्रतियोगिता व्यवस्थित तरिकाले आयोजना ग¥यो । खेलाडीको हिसाबले भक्तपुर नगरपालिकाप्रति म कृतज्ञ रहेको छु ।”
यो भनाइ भक्तपुर नगरपालिकाको आयोजनामा भएको ‘अन्तरनगर महिला कबड्डी प्रतियोगिता २०८०’ मा प्रथम भएको मेलौली नगरपालिका, बैतडीका टीम क्याप्टेन एवं अन्तर्राष्ट्रिय खेलाडी जयन्ती बडुले भनेकी थिइन् । कबड्डी प्रतियोगिता आयोजना गरेकोमा भक्तपुर नगरपालिकाप्रति कृतज्ञता व्यक्त गर्दै गर्दा उनले पटक–पटक आफ्नो हात छातीमा राखेकी थिइन् ।
प्रतियोगितामा तीनपटक प्लेयर अफ द म्याच घोषित भएकी भीमदत्त नगरपालिका, कञ्चनपुरका टीम क्याप्टेन एवं अन्तर्राष्ट्रिय खेलाडी मानवती विष्टले धेरै वर्षदेखि एउटा पनि राष्ट्रिय स्तरको प्रतियोगिता नभएको समयमा कबड्डी प्रतियोगिता आयोजना गरेर नयाँ पुस्ताका खेलाडीहरूमा जोस जाँगर र हौसला बढाउने काम भक्तपुर नगरपालिकाले गरेकोमा उनले पनि आभार व्यक्त गरिन् ।
भक्तपुर नगरपालिकाले अन्तरनगर कबड्डी प्रतियोगिता आयोजना गरेकोमा मुक्तकन्ठले प्रशंसा गर्ने जयन्ती बडु र मानवती विष्ट त प्रतिनिधि पात्र मात्र थिए । खेलाडीहरूको खाने बस्ने व्यवस्थासहित राष्ट्रिय स्तरको प्रतियोगिता भएकोमा सहभागी नगरपालिका खेलाडीहरू, टीम कोच र टीम व्यवस्थापकहरू खुुसी देखिन्थे ।
पूर्वराष्ट्रिय प्रशिक्षक एवम् मेलौली नगरपालिकाका प्रशिक्षक विष्णुदत्त भट्टको भनाइ अझै अर्थपूर्ण थियो । भक्तपुर नगरपालिकाले गरेको अन्तर–नगर महिला कबड्डी प्रतियोगिता राष्ट्रिय प्रतियोगितामध्ये सबैभन्दा राम्रो र व्यवस्थित प्रतियोगिता भएको बताउँदै घाइते खेलाडीको दुई मिनेटमै उपचार हुने र हस्पिटल लग्ने सेवा सुविधा दिने कार्य प्रशंसायोग्य भएको उनको भनाइ थियो । प्रशिक्षक भट्टले साफ गेम र एसियन प्रतियोगितालाई पनि माथ दिने गरी भक्तपुर नगरपालिकाले प्रतियोगिताको उत्कृष्ट व्यवस्थापन गरेको बताए ।
“राम्रो खेलाडी बन्न दैनिक अभ्यास र राम्रो प्रशिक्षणको आवश्यकता हुन्छ साथै प्रतियोगिता नियमित हुनुपर्छ । दैनिक अभ्यास, दैनिक प्रशिक्षण हुने तर प्रतियोगिता भएन भने खेलाडीले आफ्नो खेल कौशलता देखाउन नपाउने हुन्छ । प्रतियोगिता भएन भने खेलाडीहरूमा अल्छीपनसँगै नैरास्यता आउन थाल्छ । त्यसपछि खेलाडीले बिस्तारै खेल क्षेत्र पनि छोड्ने हुन्छ । खेलाडीहरूलाई खेल क्षेत्रमा टिकाइराख्ने उपाय भनेकै नियमित प्रतियोगिताले हो ।” नेपाल कबड्डी सङ्घका पूर्व सदस्य एवं वाग्मती प्रदेश कबड्डी सङ्घका अध्यक्ष पशुपति प्रजापतिले भादगाउँ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताउनुभएको थियो । “नेपालका खेलाडीको दुर्भाग्य नै भन्नुपर्छ । नेपालमा तालिकाअनुसार कहित्यै प्रतियोगिता भएको छैन,” प्रशिक्षक प्रजापतिले सुनाउनुभएको थियो ।
कबड्डी खेलका अन्तर्राष्ट्रिय रेफ्री एवं वाग्मती प्रदेश कबड्डी सङ्घका अध्यक्ष पशुपति प्रजापतिको भनाइलाई नेपाल सरकारले आयोजना गर्ने राष्ट्रिय खेलकुद प्रतियोगितालाई हेर्दा थप प्रमाणित गर्न सकिन्छ ।
नेपाल सरकारले हरेक दुई–दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भन्दै २०३८ सालमा राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु गरेको थियो । यो वर्ष, २०८० सालसम्म आइपुग्दा २१ पटक राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भइसक्नुपर्ने हो तर गएको वर्षमात्र २०७९ सालमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा सम्पन्न भयो । २०३८, २०४० र २०४२ सालका तीन वर्षमात्र दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता भएको देखिन्छ । त्यसपछिका ३८ वर्षमा जम्मा ६ पटकमात्र प्रतियोगिता भए ।
खेलाडीको उमेर कम हुन्छ भनिन्छ । राम्रो खेलाडी जसले नियमित प्रशिक्षण लिएको हुन्छ, उनले पनि मुश्किलले १५ वर्ष राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सक्रियताका साथ खेल खेल्न सक्छ । ३५ वर्ष भएपछि जस्तोसुकै राम्रो खेलाडीलाई पनि खेल क्षेत्रमा सक्रिय भइरहन शारीरिक अवस्थाका कारणले गा¥हो हुन्छ । आफ्नो शरीरले साथ दिने समयमा नै खेल क्षेत्रमा संलग्न भएका खेलाडीहरूले आफ्नो क्षमताअनुसार राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै मेडल जित्ने अवसर पाउने हुन्छ । नेपालमा प्रतियोगिता नै नहुनु नेपाली खेलाडीहरूको लागि ठुलो दुर्भाग्यपूर्ण रहेको नेपाल भलिबल सङ्घका पूर्वमहासचिव विनोदचरण राय बताउनुहुन्छ ।
स्वस्थ नागरिकले मात्र देशको रक्षा गर्न सक्छन् । नियमित शारीरिक व्यायाम गर्ने मानिस मात्र स्वस्थ हुन्छ । सबै नागरिकलाई एक न एक खेलको खेलाडी बनाउनुपर्छ भन्ने नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधि भएको यस भक्तपुर नगरपालिकाले खेलाडीप्रतिको दायित्व, खेलाडीप्रतिको कर्तव्य, खेलाडीप्रतिको माया स्वरूप अन्तर–नगर महिला कबड्डी प्रतियोगिता २०८० को आयोजना गरेको हुनुपर्छ ।
आफ्नो निमन्त्रणा प्रतियोगितामा सहभागी भएका पाहुना नगरपालिकाका खेलाडीसँगसँगै अफिसियललाई हार्दिकताका साथ भक्तपुर नगरपालिकाले स्वागत सत्कार गरेको थियो । नगरपालिकाका खेलाडीको खानपान र बसोबासमा आयोजक समितिको तर्फबाट विशेष ध्यान राखेको थियो । खेलाडीहरूको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको थियो । खेलको दौरानमा कोही खेलाडी घाइते भए चार लाखसम्मको स्वास्थ्य बीमाको व्यवस्था थियो । हरेक खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा जस्तै एक्रिडियसन कार्ड (खेलाडी परिचयपत्र कार्ड) को व्यवस्था थियो । प्रत्येक टीमलाई दुई जना लियाजन अफिसर (सम्पर्क व्यक्ति) आयोजक समितिको तर्फबाट व्यवस्था गरिएको थियो । लियाजन अफिसरहरूले प्रतियोगितामा सहभागी पाहुना टोलीका खेलाडीहरूलाई प्रतियोगिता स्थलमा ल्याउने, खाना नास्ता गर्ने स्थानमा लग्ने र सुत्ने लजमा लग्ने काम गरेका थिए । साँझको फुर्सदको समयमा पाहुना टोलीलाई भक्तपुरका विभिन्न ठाउँमा घुमाउने काम पनि लियाजन अफिसरहरूले गरेका थिए । लियाजन अफिसरको कार्यमा महिला जनप्रतिनिधिहरू र वडामा क्रियाशील महिला सङ्घका प्रतिनिधिहरूले भूमिका निभाएका थिए ।
फागुन २९ गतेदेखि चैत ३ गतेसम्म भएको अन्तरनगर महिला कबड्डी प्रतियोगितामा विभिन्न पालिकाका प्रमुख, उपप्रमुख र जनप्रतिनिधिहरूको उपस्थितले आयोजक र खेलाडीहरूलाई हौसला प्रदान गर्ने कार्य भएको थियो । भीमदत्त नगरपालिका, बैतडीका नगर प्रमुख दमम बोगटी, सिद्धिचरण नगरपालिका, ओखलढुङ्गाका नगर प्रमुख तेजन खनाल, महाकाली नगरपालिका, दार्चुलाका नगर प्रमुख नरसिंह चैसिर, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य, पनौती नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सविन ताम्राकार, भीमदत्त नगरपालिकाका जनप्रतिनिधि एवं कबड्डी रेफ्री गणेशदत्त भट्ट, बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका संयोजक बोनिन पिया कबड्डी प्रतियोगिता भएको सहिद स्मृति खेल मैदान उपस्थित भएका थिए ।
भक्तपुर नगरपालिकाले २०५४ सालमा अन्तर–नगर पुरुष कबड्डी प्रतियोगिता गरेको थियो । २६ वर्षपछि भक्तपुर नगरपालिकाले नै अन्तर–नगर महिला कबड्डी प्रतियोगिता ग¥यो । २०५५ सालमा खेलाडीको रूपमा भक्तपुर आएका केही यसपटक प्रशिक्षकका रूपमा आएका थिए । यसमध्ये फुल मोहमद मन्सुर, कलैया उपनगरपालिकाका प्रशिक्षक एवं पूर्व अन्तर्राष्ट्रिय खेलाडीले आयोजक भक्तपुर नगरपालिकाको प्रशंसा गर्दै नेपालमा कबड्डी खेल बचाइराख्ने काम नै भक्तपुर नगरपालिकाले गरिरहेको बताए । दार्चुला जिल्ला कबड्डी सङ्घका अध्यक्ष, डम्बर सिंह खत्रीले सुदूर पश्चिमको विकट जिल्ला दार्चुलालाई ऐतिहासिक जिल्ला भक्तपुरले गरेको मायाप्रति कृतज्ञ रहेको बताउँदै आयोजक भक्तपुर नगरपालिकाले गरेको प्रेमयुक्त व्यवहारले आफूलगायत सबै खेलाडी खुसी रहेको सुनाए ।
बुटवल उपमहानगरपालिका खेलकुद विकास संयोजक बोनि पियाले भक्तपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताबाट सिकेर छिट्टै बुटवल उपमहानगरपालिकाले पनि खेलकुद प्रतियोगिता गर्ने बताए । त्यसैगरी, सिद्धिचरण नगरपालिकाका प्रशिक्षक भुवन खड्काले खेलाडी, अफिसियलहरूलाई आयोजक समितिले दिएको सेवा सुविधामा कुनै कमी नभएको अभिव्यक्त गरे ।
महाकाली नगरपालिकाका नगर प्रमुख नरसिंह चैसिरले नेपालमा पहिलोपटक राष्ट्रिय स्तरको महिला कबड्डी प्रतियोगिताको आयोजना गर्ने भक्तपुर नगरपालिकालाई धन्यवाद भने ।
सशस्त्र प्रहरी बलका प्रशिक्षक, सम्झना तामाङले प्रतियोगिता नै नहुनु कबड्डी खेलको दुर्भाग्य भएको चर्चा गर्दै प्रतियोगिताको खडेरीको समयमा भक्तपुर नगरपालिकाले प्रतियोगिता गर्नु खेलाडीको आत्मबल बढाउने कार्य गरेको बताइन् । रविना चौधरी, उत्कृष्ट रेडर मेलौली नगरपालिका, भक्तपुर नगरपालिकाले गरेको महिला अन्तर–नगर कबड्डी प्रतियोगिताको मनमा छाप पछिसम्म रहिरहने बताएकी थिइन् ।
प्रतियोगितामा उपविजेता बन्न सफल बुटवल उपमहानगरपालिकाका खेलाडी विष्णु सुनामगरले भक्तपुर नगरपालिका मात्र आयोजक भन्ठानेको पूरै नगरवासी नै आयोजक जस्तो लागेको बताएकी थिइन् । मठ मन्दिरहरूले भरिभराउ भक्तपुरमा प्रतियोगिताको दौरानमा घुम्नेको अनुभव सँगालेर भक्तपुरबाट बिदा लिइन् ।
प्रतियोगिताको आयोजना गर्ने आयोजक नै जित्नुपर्ने मानसिकताबाट भक्तपुर सधँै टाढा नै रहने गरेको देखिन्छ । भक्तपुर नगरपालिकाको निमन्त्रणामा प्रतियोगितामा सहभागी भएका पाहुना टोलीको सत्कारमा नगरपालिका परिवारले राम्रो व्यवहार प्रदर्शन गरेको हुँदा भक्तपुरमा भने पाहुना टोलीले आयोजक भक्तपुर नगरपालिकाको मुक्तकण्ठले प्रशंसा गरेको थियो । नेपालको खेलकुद गतिविधिमा सहभागी टीमबाट आयोजक टीमलाई प्रशंसा गरेको विरलै सुनिने विषय हो । खेल व्यवस्थित नभएको, खेलाडी बस्ने ठाउँ राम्रो नभएको, खाना राम्रो नभएको, आयोजनक आफै जित्न झेली गरेको जस्ता गुनासाहरू प्रायः प्रतियोगितामा सधैँ सुन्ने गरिन्थ्यो । नेपालमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी जनाएका सहभागीहरूको अनुभवमा पनि यस्ता समस्या अधिकांश ठाउँमा हुन्थ्यो । आयोजक भक्तपुर नगरपालिकाको विषयमा माथि उल्लेखित गन्यमान्य व्यक्तिहरूले व्यक्त गरेका अभिव्यक्ति भक्तपुर नगरपालिकाको लागि अमूल्य पुँजीको रूपमा सधैँ रहनेछ । खेलाडीहरूबिच पनि आफ्नो छुट्टै परिचय बनाउन सक्नु भक्तपुर नगरपालिकाको थप एक परिचय बनेको छ । यही चैत २३ गतेदेखि २५ गतेसम्म सहिद स्मृति खेल मैदानमा हुने अन्तर–नगर जिम्न्यास्टिक प्रतियोगितामा यस्तै परिचय भक्तपुर नगरपालिकाले हासिल गर्न सकोस् भन्ने शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *