भर्खरै :

अन्तर–नगर जिम्नास्टिक प्रतियोगिताको सफलताको कामना

अन्तर–नगर जिम्नास्टिक प्रतियोगिताको सफलताको कामना

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर–नगर खेलकुद प्रतियोगिता गर्दै आएको छ । नेपाल मजदुर किसान पार्टीको घोषणापत्रबमोजिम भनपाले प्रत्येक वर्ष अन्तर–नगर खेलकुद प्रतियोगिता गर्दै आएको हो । यस वर्ष चैत २३ देखि २५ गतेसम्म अन्तर–नगर जिम्नास्टिक खेल प्रतियोगिता हुनेछ । उक्त खेल प्रतियोगिता भक्तपुरको सहिद स्मृति खेल मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले एक विशेष समारोहबिच गर्नुहुनेछ । चैत २१ गते आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएअनुसार काठमाडौँ र ललितपुर महानगरपालिका सहित १८ वटा नगरपालिकाले भाग लिन नाउँ दर्ता गरिसकेका छन् । यसअघि भलिबल, कराँते, एथ्लेटिक्स, बुद्धिचाल, खो खो र महिला कबड्डी खेलको अन्तर–नगर प्रतियोगिता भइसकेको छ ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण र विकासको साथै खेलकुद क्षेत्रमा पनि विशेष ध्यान दिँदै आएको छ । हरेक युवा र विद्यार्थीलाई कुनै न कुनै खेलमा सरिक गराएर राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी तयार गरी भक्तपुर र देशको नाउँ चिनाउने उद्देश्यले भनपाले अन्तर–नगर र अन्तर–विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गर्दै आएको हो । यो वर्ष अन्तर–नगर जिम्नास्टिक खेल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता भव्य र सभ्य हुने आशा सबै खेलाडीहरूको रहेको छ । प्रतियोगिता सफल पार्न जिम्नास्टिकसित आबद्ध कोच (प्रशिक्षक), खेलाडी तथा खेलमा भाग लिन आएका विभिन्न नपाको टोलीको पनि उत्तिकै साथ र सहयोग रहने विश्वास आयोजकको रहेको छ ।
अन्तर–नगर जिम्नास्टिक प्रतियोगिता आयोजक भक्तपुर नगरपालिका रहे पनि यो देशकै राष्ट्रिय खेलकुद प्रतियोगिता भने पनि फरक पर्दैन । यस खेलमा देशका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू सरिक हुन्छन् या प्रतियोगितामा भाग लिएर आ–आफ्नो सीप, कला या प्रतिभा देखाउने छन् र देशलाई चिनाउनेछन् । यो प्रतियोगिताले देशभरिका जिम्नास्टिक खेलाडीहरूलाई परिचालन मात्र होइन क्रियाशील बनाउनेछ । भनपाले जस्तै अन्य नपाले पनि यस्तै खेलकुद प्रतियोगिता गर्न र गराउन प्रेरणा दिनेछ । कति खेलहरू प्रतियोगिता नहुँदा खेलाडीका सीप र कला नै खुम्चिसकेको हुन्छ । भनपाले भलिबल, कराँते, एथ्लेटिक्स, बुद्धिचाल, खो खो र महिला कबड्डीको अन्तर–नगर खेलकुद प्रतियोगिता गरेपछि देशभरिका सम्बन्धित खेलाडीहरू परिचालन भएका थिए; राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू तयार भएका थिए ।
खेलाडीले सिकेको खेलको कला खेलाडीको आफ्नो पहिचान हो । आ–आफ्नो खेलमा प्राप्त गरेका सीप, कला, प्रतिभा र अनुभवको आधारमा खेलाडीहरूलाई पनि विद्यार्थीलाई झैँ योग्यताको प्रमाणपत्र प्रदान गर्नु आवश्यक छ । योग्यताको आधारमा सरकारले उनीहरूको जीवन सुनिश्चित गर्न रोजगारीको व्यवस्था गर्नुपर्छ । खेलाडीको जीवन सुनिश्चित गर्न सरकारले स्थानीय तहमा बजेटको व्यवस्था गर्नुपर्छ । दक्ष, अनुभवी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूलाई परिचालन गरी देशभरिका स्थानीय तहमा खेलकुद प्रतियोगिता भइरहने व्यवस्था गर्नुपर्छ । यस्ता प्रतियोगिताहरू देशको कुना–काप्चा, बस्ती बस्ती र स्कूल–कलेजमा पु¥याउन सके देशभरि नै विभिन्न खेलाडीहरू तयार हुनेछन् । अनि क्युवा ‘बहादुरहरूको देश’, प्रजग कोरिया ‘शिक्षाको देश’ भएझैँ नेपाल योग्य खेलाडीहरूको देश बन्ने छ ।
खेलाडीहरू हर्ताकर्ता र फूर्तिला हुन्छन् । उनीहरूको स्वास्थ्य नै तकडा हुन्छ । भनिन्छ सेना र खेलाडीलाई सितिमिति रोग लाग्दैन । उनीहरू जहिल्यै क्रियाशील भइरहने हुँदा जिउनै बलियो हुन्छ । यस्ता खेलाडीहरू देशको निम्ति आवश्यक छ । आफ्नो जीवनसुरक्षा गर्न र देशको सार्वभौमसत्ता जोगाउन पनि लडाकु खेलाडीको आवश्यकता छ । सेनाको काममा लडाकु खेलाडीले पनि टेवा पु¥याउन सक्छ । यस्ता खेलाडी तयार गर्न खेलकुद आयोजनाहरू भइरहनुपर्छ । खेलकुद आयोजनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी तयार हुन्छ । अनि खेलाडीहरूले पनि काम पाउँछन् । आफ्नो खेलको कला नै जीवनको पेसाजस्तै हुन्छ । विभिन्न विधाका खेलको पनि विकास हुने र काम पनि पाउने हुन्छ । यस हिसाबले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष गर्दै आएको अन्तर–नगर खेलकुद र नगरस्तरीय अन्तर–विद्यालय खेलकुद प्रतियोगिता सबैको लागि अनुकरणीय छ । अन्तर–नगर जिम्नास्टिक प्रतियोगिताको सफलताको कामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *