भर्खरै :

सुर्खेतमा विद्यार्थी भेला

सुर्खेतमा विद्यार्थी भेला

सुर्खेत, २३ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जिल्ला समिति सुर्खेतको आयोजनामा सुर्खेत बहुमुखी क्याम्पसमा शनिबार विद्यार्थी भेला सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले देशको मुख्य नीति राजनीति हो तर राजनीतिक व्यवस्था ठीक नभएसम्म समाजको समस्या हट्दैन भन्नुभयो ।
देशको नेतृत्व गर्नेहरू भ्रष्ट भएसम्म देशको विकास हुननसक्ने धारणा राख्दै उहाँले सामान्य जनताले जबसम्म शासकवर्ग र सरकारको विरोध गर्नसक्दैन तबसम्म परिवर्तन सम्भव छैन भन्नुभयो।
“राम्रोसँग पढेपछि हामीले जागिरका लागि भिख माग्नु पर्दैन । अध्ययनबिना विद्यार्थी सङ्गठनले विद्यार्थीको समस्या उठान गर्न सक्दैन । नेक्राविसङ्घमा लागेका विद्यार्थीहरूले कम्तीमा दिनमा ५ घण्टा अध्ययन गर्नुपर्छ । हामीले के सिक्ने भन्ने विषयमा जानकार रहनुपर्छ । निश्चित उद्देश्य राखेर अध्ययन गर्नुपर्छ”, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
उहाँले भन्नुभयो, “आफूमात्र राम्रो, आफ्नो विचार मात्र ठीक भन्ने विचार राख्नुहुँदैन । आफू कमजोर छु भन्ने हिनताबोध राख्नुहुँदैन । हामी कुनै पनि कुराका पछाडि लाग्दा वा विरोध गर्दा बुझेर मात्र गर्नुपर्छ । हचुवाको भरमा लाग्नु हुन्न ।”
नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुुर बोहोराले पुँजीवादको विरूद्ध नेक्राविसङ्घले समाजवादी शिक्षाको प्रचार गर्नु जरूरी भएको उल्लेख गर्दै शिक्षामा भएका विकृतिविरूद्ध निरन्तर सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले चुनावलाई विचार प्रचार गर्नको लागि उपयोग गर्नुपर्ने बताउनुभयो ।
स्ववियु खारेज गर्नेतर्फ त्रिवि लागेकोमा नेक्राविसङ्घको आपत्ति रहेको उहाँले बताउनुभयो ।
भेलामा धनेन्द्र विक, तारा न्यौपाने, सुजी ह्यङ्गोजु, रणबहादुर राना, खेमराज कँडेल, अस्मिता सुनार, रमा गिरी, मीना सिजापति, लक्ष्मी थापा, कमल शाही, महेन्द्र सिजापति, सर्मिला विकले पनि बोल्नुभएको थियो ।
भेलाले कमल शाहीको अध्यक्षतामा १५ सदस्यीय नेक्राविसङ्घ सुर्खेत जिल्ला समिति पुनःगठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *