भर्खरै :

‘श्रमिक’ साप्ताहिक सम्पादकीय सङ्कलनको अध्ययन गोष्ठी

‘श्रमिक’ साप्ताहिक सम्पादकीय सङ्कलनको अध्ययन गोष्ठी

सुर्खेत, २४ चैत । नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेत जिल्ला समितिको आयोजनामा श्रमिक साप्ताहिकको सम्पादकीय सङ्कलनको अध्ययन गोष्ठी एरिचोक, वीरेन्द्रनगरमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले सरकारमा जाने दल र नेताको बेइमानी, बदमासी तथा नालायकीको कारण निरंकुशताका पक्षपातीहरूले टाउको उठाउन थालेको भनाइ राख्नुभयो । उहाँले समाज धेरै अगाडि बढिसकेको भन्दै पुरानो व्यवस्थाले जनताको समस्या समाधान गर्नसक्दैन भन्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले पुँजीवादी र सामन्तवादी व्यवस्थाले बहुमत जनताको हित गर्न सक्दैन भन्दै समाजवादी व्यवस्थाले मात्र व्यापक जनताको हित गर्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, “पुँजीपतिले मजदुरलाई बाँच्न आवश्यक ज्याला मात्र दिन्छ । वास्तविक मजदुरलाई चिनेर हामीले राजनीतिक चेतना दिएर सङ्गठित गर्नुपर्छ । पुँजीवादी व्यवस्थाका खराबीहरू र समाजवाद किन आवश्यक छ भन्ने कुरा मजदुरलाई प्रस्ट पर्नुपर्छ ।”
अध्ययन गोष्ठीमा प्रकाश गुरूङ, हरिबहादुर बोहरा, लालबहादुर थापा, अम्मर भण्डारी, अक्कलबहादुर राना, इन्द्रप्रसाद न्यौपाने, ऐनबहादुर शाही, टीकाराम शर्मा, कविराम खड्का, सर्वजित बुढा, अड्ढत शाहीलगायतले बोल्नुभएको थियो ।
दुःख र सङ्घर्षको अनुभवले खारिएका महिलाको सम्मान गर्नुपर्ने
त्यस्तै नेपाल क्रान्तिकारी महिला सङ्घ, सुर्खेत जिल्ला समितिको आयोजनामा विश्वका क्रान्तिकारी महिलाहरू पुस्तकको अध्ययन गोष्ठी एरिचोकमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले कर्णाली प्रदेशका महिलाहरू अत्यन्तै सङ्घर्षशील भएको भनाइ राख्नुभयो । पुरूषहरू भारतका काला पहाडमा गएर काम गर्न होस् वा गाईभैँसीलाई लेकबेँसी लिँदा वा हाट गएका बेला महिलाले नै घरपरिवार सम्हालेको उदाहरण राख्दै महिला उत्तिकै सशक्त भएको तर्क गर्नुभयो । शिक्षामा पछाडि परेको भन्दैमा अज्ञानी भन्न नमिल्ने बरू कृषिकर्ममा महिलाको अनुभवबाट नयाँ पुस्ताले सिक्नुपर्ने भनाइ राख्दै उहाँले दुःख र सङ्घर्षको अनुभवले खारिएका महिलाको सम्मान गर्नुपर्ने विचार राख्नुभयो ।
जाँड र रक्सीले समाजका धेरै जिम्मेवार पात्र बिगारेकोमा चिन्ता व्यक्त गर्दै केन्द्रीय सदस्य गोसाईले महिलामाझ राजनीतिक चेतना बढाउने कार्यक्रम र बहस चलाउनुपर्ने कुरामा जोड दिनुभयो ।
अध्ययन गोष्ठीमा नर्माकुमारी गुरूङ, हरिबहादुर बोहोरा, तुल्सी खड्का, प्रकाश गुरूङ, बिजुकला राना, तारा न्यौपाने, जानकी सुनार, चिकित्सक तुल्सी साउद, प्रतिभा शाही लगायतले आ–आफ्नो विषय प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *