भर्खरै :

खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी राख्नुपर्ने

खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी राख्नुपर्ने

भक्तपुर, ३० चैत । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा भएको १६ औँ सहिद स्मृति कप ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भयो ।
काठमाडौँको क्षेत्र नं. १० स्तरीय तीन नगरपालिका कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली नगरका खेलाडीबिच भएको उक्त प्रतियोगितामा अमित महर्जन र दिप्रेशमुनि बज्राचार्यको जोडीले चन्द्रागिरी नगरपालिकाका प्रमोद महर्जन र सुमन महर्जनको जोडीलाई पराजित गरी पहिलो हुन सफल भयो भने प्रमोद र सुमन महर्जनको जोडी दोस्रो हुन सफल भयो ।
प्रतियोगितामा विष्णु महर्जन र सुदीप महर्जनको जोडी (कीर्तिपुर नगरपालिका) र आयुष श्रेष्ठ र रमेश महर्जनको जोडी तृतीय भए ।
प्रतियोगितामा प्रदीप महर्जनलाई सहिद स्मृति कप – २०८१ को वर्ष खेलाडी उपाधि प्रदान गरियो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले खेलकुद स्वास्थ्य, अनुशासन र मित्रताको लागि हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्वस्थ राम्रो भए देश रक्षा गर्न सकिने छ । खेलकुदमा सिकेको अनुशासन समाज र देशको सेवामा लगाउनु जरुरी छ । खेलकुदबाट कायम हुने मित्रतालाई दिगो बनाउनुपर्छ ।”
खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी राख्नुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले राष्ट्रिय परिस्थिति जटिल भएजस्तै अन्तर्राष्ट्रिय विषय पनि सकसपूर्ण रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएका नेताहरूले देश र जनताको निःस्वार्थरूपमा सेवा गरेका छैनन् । अमेरिकी साम्राज्यवादले बङ्गलादेशलाई चीनसँग सम्बन्ध बनाएको र सेन्ट मार्टिन टापु नदिएको आरोप लगाई सत्ता उल्टायो र आफ्ना भनाइ मान्ने मोहम्मद युनुसलाई सरकारको नेतृत्वमा राख्यो । अमेरिकाले सिरियामा पनि असर अल असदको सत्ता पल्टाई आफ्नो भनाइ मान्ने मोहम्मद अल बसिरलाई सत्तामा ल्यायो ।”
नेपाली जनताले सरकारमा पुगेका नेताहरू कुन कुन साम्राज्यवाद र विस्तारवादका पिछलग्गू हुन् ठम्याउनु जरूरी भएको उल्लेख गर्दै सांसद सुवालले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे सचेत भई अगाडि बढ्न सकेमात्र देशलाई सुरक्षित राख्न सकिने बताउनुभयो ।
कार्यक्रममा शिक्षक सेवा आयोगका सदस्य नन्दकुमारी महर्जन, राजेन्द्र श्रेष्ठ, राजेन्द्र महर्जन, आयोजक समितिका अध्यक्ष नारायण महर्जनलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि सुवाल, शिक्षक सेवा आयोगका सदस्य नन्दकुमारी महर्जन, कीर्तिपुर ब्याडमिन्टन क्लवका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, चन्द्रागिरी नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्र महर्जन, प्रतियोगिता संयोजक मधुकर श्रेष्ठले विजयी खेलाडीहरूलाई ट्रफी, नगद पुरस्कार प्रमाणपत्र, मेडल प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *