भर्खरै :

युरी गागरिनको पहिलो अन्तरिक्ष यात्रा कति खतरनाक थियो ?

युरी गागरिनको पहिलो अन्तरिक्ष यात्रा कति खतरनाक थियो ?

केही समययता अन्तरिक्ष पर्यटनको हल्ला व्यापकरूपमा बढिरहेको छ । यसको श्रेय लिन जेफ बेजोस, रिचार्ड ब्रान्सन तथा इलन मस्कजस्ता अर्बपतिहरूबिच हानाथाप चलिरहेको छ । तर पहिलोपटक अन्तरिक्षमा पुगेर फर्किएका युरी गागरिनको नजरमा त्यो बेलाको यात्रा कस्तो थियो होला ? त्यो यात्रा कति खतरनाक थियो ? अहिलेका वैज्ञानिकहरू त्यही पुरानो विमानमा चढेर अन्तरिक्षमा जान रूचाउलान् ? यस्ता अनेकन् प्रश्नहरू तपाईँको मनमा उठ्न सक्छ ।
आउनोस्, आज हामी तिनै प्रश्नलाई ऐतिहासिक कोणबाट नियालौँः
“पृथ्वीभन्दा टाढा, धेरै टाढा म एउटा टिनको बाकसमा बसेको छु । पृथ्वीको रङ नीलो छ । मैले गर्न सक्ने यहाँ केही पनि छैन ।”
डेभिड बोईको स्पेस ओडिसी गीति एल्बमका यी पङ्क्तिमा ती सबै कुरा छन्, जुन अन्तरिक्षमा जाने पहिलो व्यक्ति युरी गागरिनले महसुस गरेको हुनुपर्छ । दुई मिटर ब्यासको सानो अन्तरिक्षयानमा युरी गागरिनले अन्तरिक्ष यात्रीको जस्तो भव्य यात्रा गर्न पाएनन् । एउटा कुचुक्क परेको सानो टिनको भाँडोमा कुँजिएर यात्रा गरे ।
युरी गागरिन यस्तो यानमा थिए, जसको नियन्त्रण उनले गर्न सक्तैन थिए । नियन्त्रण कक्षसँग भएका उनका संवादका अनुसार अन्तरिक्ष यानको ‘क्याप्सुल’ को झ्यालबाट उनले पृथ्वी ज्यादै सुन्दर देखेका थिए । पृथ्वीमा बादलको ढकमक्क छटाले मनमोहक दृश्य बनाएको थियो ।
१२ अप्रिल १९६१ मा युरी गागरिनले अन्तरिक्षमा जाने पहिलो व्यक्तिको कीर्तिमान बनाए । अन्तरिक्षको यो लडाइँमा अमेरिकामाथि सोभियत सङ्घले जीत हासिल गरेको थियो । उनी सकुशल धर्तीमा फर्किएर यस जीतलाई उनले निर्विवाद बनाइदिए ।
युरी गागरिनले इतिहास बनाउनकै लागि भनेर अदम्य साहस देखाउँदै खतरनाक चुनौती स्वीकार गरेका थिए । उनलाई यस्तो ठाउँमा पठाइँदैथ्यो, जसका बारेमा पृथ्वीवासीलाई धेरै कम जानकारी थियो । उनी यस्तो यानबाट त्यहाँ जाँदै थिए, जसमा आपत्कालीन स्थितिमा बचाउने कुनै व्यवस्था थिएन ।
उनी त्यहाँ पुग्नु र फर्कनुले धेरै वर्षअघिदेखि वैज्ञानिकहरूको दिमाग खियाएको धेरै प्रश्नहरूको उत्तर दिन्थ्यो । के मानिस अन्तरिक्षमा बाँच्न सक्छ ? अन्तरिक्षमा यानमार्फत जान सकिन्छ ? अन्तरिक्षयान र पृथ्वीमा भएको नियन्त्रण कक्षबिच निरन्तर सम्पर्क साँध्न सकिन्छ ? के त्यो सम्पर्क प्रभावशाली हुनसक्छ ? अन्तरिक्षयानलाई सुरक्षित फर्काउन सकिन्छ ? यस यात्राले ती सबै उत्तर दिन सक्थ्यो ।
त्यो बेलाका रकेट, अन्तरिक्षयान, संवाद उपकरण ज्यादै विश्वास गर्न सकिने किसिमका थिएनन् । अन्तरिक्षमा मानिस बाँच्छ नै भन्ने पनि कुनै निश्चित थिएन ।
यो अभियानको ५० वर्षपछि रकेट्स एन्ड पिपुल्स नामक पुस्तकमा बोरिस चेरटोकले लेखेका छन्, “वोस्तोक अन्तरिक्ष यानका सारा कमजोरी जान्ने अचेलका वैज्ञानिकले यसमा चढेर अन्तरिक्ष मिसनमा जान्छु भनेर कसैले पनि आँट गर्न सक्दैनन् । त्यो बेला मैले नै मिसन सुरक्षित छ र यो यान अन्तरिक्षमा पुग्न सबै किसिमले ठीक छ, म यसको ग्यारेन्टी दिन्छु भनेर हस्ताक्षर गरेको थिएँ । अहिले हो भने म त्यस्तो लेख्ने हिम्मत गर्ने थिइनँ । हामीले कति ठुलो जोखिम उठाएका थियौँ भन्ने कुरा त यसपछि गरिएका अनुभवले पाठ सिकाएका थिए ।”
वोस्तोक अन्तरिक्ष यानलाई अन्तरिक्षमा पठाउने जिम्मेवारी दुई चरणमा थियो । यसका लागि अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल आर ७ रकेट प्रयोग गरिएको थियो । यसमार्फत अगस्त १९५७ मा पहिलो पटक अन्तरिक्ष यान अन्तरिक्षमा पठाइएको थियो । सोही वर्ष पहिलो कृत्रिम उपग्रह स्पुतनिक–१ पठाइयो र त्यसलाई आर ७ रकेटले प्रक्षेपित गरिएको थियो ।
आर ७ को डिजाइन निकै सफल रह्यो । अहिले पनि रुसले अन्तरिक्षमा केही पठाउनु पर्यो भने यही डिजाइनको परिष्कृत रुपलाई पठाउने गर्छ । हुन त यो निकै पुरानो भइसकेको छ तर यानलाई अन्तरिक्षको कक्षमा स्थापित गर्नका लागि यो निकै भरपर्दो छ ।
सन् १९६१ ताका यो त्यति विश्वसनीय थिएन । चेरटोकले आफ्नो पुस्तकमा लेखेका छन्, “अहिलेको सुरक्षा मानकलाई हेर्ने हो भने सन् १९६१ भन्दा पहिले हामीसँग आशा गर्ने कुनै ठाउँ थिएन । सन् १९६० ताका गरिएका प्रक्षेपणमा पाँचमध्ये चार वटा प्रक्षेपण असफल भएका थिए । ती चारमध्ये तीन अन्तरिक्षमा त पुगे, तीनमध्ये दुई वटा यान मात्र पृथ्वीमा फर्कन सके । पछिल्लो एउटा मात्र सामान्य र वास्तविकरूपमा नै अवतरण गर्न सफल भएको थियो । १९६१ मा गएर बल्ल प्रक्षेपणमा आठ पटक सफलता हात पर्यो ।”
जब वोस्तोक अभियानको पहिलो प्रक्षेपण १५ मे, १९६० मा सफल भयो, एक वर्षभित्र नै युरी गागरिनलाई अन्तरिक्ष पठाउनुपर्ने समयसीमा आइहाल्यो । १५ मेको यात्रा मानिस जत्रै आकारप्रकार र वजनको पुत्लालाई यानमा पठाइएको थियो । सो पुत्लाको नाम तन इवानोविच राखिएको थियो ।
यो यान अन्तरिक्षमा पृथ्वीको कक्षभन्दा बाहिर गएको थियो र कहिल्यै फर्किएर आएन । यसको ओरिएन्टेसन सिस्टम अर्थात् दिशानिर्देश दिने प्रणालीले काम गर्न नसकेपछि यो हराएको थियो । १९ अगस्त १९६० मा भने बेल्का र स्ट्रेल्का नामक दुई कुकुर अन्तरिक्षको यात्रामा निस्किए र सकुशल फर्किएर आए ।
सन् १९६० को यो अभियान नै पूर्णरूपमा सफल अभियान थियो । यसपछिका अन्य अभियान पनि असफल भए । सन् १९६० डिसेम्बर १ मा मुस्का र पेचेल्का नामक दुई वटा कुकुरलाई अन्तरिक्षमा पठाइएको थियो । फर्कंदा भने यसले आफ्नो बाटो बिरायो र सोभियत सङ्घको सीमाबाहिर जान थाल्यो । यस्तोमा यो यानलाई नष्ट गर्नुपर्यो । त्यस्तो नगरेको भए सोभियत सङ्घले के र कस्तो प्रविधि प्रयोग गरिरहेको छ भन्ने उसका शत्रु राष्ट्रलाई थाहा हुन्थ्यो ।
सन् १९६१ अप्रिल १२ मा युरी गागरिनको अन्तरिक्ष उडान ठीकअघि रकेट पूर्णरूपमा ठीक थियो । अन्तरिक्षमा यसअघि मानव उडान नभएका कारण यसका बारेमा केही पनि थाहा थिएन र युरीले आफ्नो ज्यानको माया मारेरै यो यात्रा तय गर्नुपर्ने थियो ।
तर उडानको केही समयमै यानको खराबीका बारेमा थाहा भयो । यो यान निश्चित उचात्न्दा धेरै माथि कक्षमा स्थापित भयो । गागरिनले अझ माथि जानबाट रोक्नका लागि ब्रेक लगाउन सक्थे तर यदि ब्रेक लागेन भने ? त्यसपछि त उनले यान आफैँ तल झर्ने प्रक्रियाको प्रतीक्षा गर्नुपर्ने हुन्थ्यो । यसका लागि हप्तौँको समय लाग्थ्यो ।
यस्तो अवस्थामा यानभित्र रहेको खानाले एक साताका लागि मात्र पुग्थ्यो । त्यहाँ अक्सिन, खाना र पानीको व्यवस्था त थियो तर ती सबै कुरा एक हप्ताका लागि मात्र पुग्थ्यो । एक हप्ताभन्दा बढी समय लागेको खण्डमा युरीले के गर्थे ? उनको मृत्यु हुने सम्भावना बढी थियो तर उनी भाग्यमानी निस्किए । यानको ब्रेकले काम गर्यो ।
फर्किने बेला पनि उनका लागि खतरा टरिसकेको थिएन । उनको यानको क्याप्सुलमा आवश्यक सामान भएको सर्भिस मोड्युलसँग जोड्ने तार निकाल्न सकिएन । त्यसैले फर्कने क्रममा क्याप्सुलमा चाहिँदोभन्दा बढी भार थियो । यसले क्याप्सुलको तापक्रम चाहिँदोभन्दा बढी भयो र गागरिन त्यो तापका कारण असिनपसिन मात्र भएनन्, झन्डैझन्डै बेहोस हुने अवस्थामा पुगेका थिए ।
उनले पछि भनेका थिए, “म आगोको लपेटाले घेरिएको थिएँ । तापक्रमले म झन्डै बेहोस हुन थालेको थिएँ तर क्याप्सुलको झ्यालबाट मैले मेरो सुन्दर पृथ्वीमा फर्किरहेको देख्न सक्थेँ ।”
पृथ्वीमा झर्नुभन्दा १० मिनेट पहिले सर्भिस मोड्युलसँग जोड्ने तार आगोले डढेर खरानी भयो । क्याप्सुल त्यसबाट मुक्त भयो र जमिनमा खस्नुभन्दा पहिले गागरिन सुरक्षितरूपमा झर्ने प्यारासुटबाट हाम्फालेर भोल्गा नदीको किनारामा उत्रिए । यो फेडरेसन एरोनेटिक इन्टरनेसनलको प्रावधानको उल्लङ्घन थियो । खासमा नियमअनुसार अन्तरिक्ष यात्रीले अन्तरिक्षयानबाट नै तल झर्नुपर्छ नत्र उसको यात्रालाई अन्तरिक्षयात्राको गणनामा राखिने थिएन ।
रुसी अधिकारीले यो कुरालाई लुकाए । युरीले पृथ्वीको अन्तिम किलोमिटरको यात्रा अन्तरिक्षयानमा गरेनन् भन्ने कुरा कसैलाई थाहा दिएनन् । त्यही भएर एफएआई (फेडरेसन एरोनटिक इन्टरनेसनल) ले थाहा नपाएका कारण यो यात्राले अन्तरिक्ष यात्राको मान्यता पाएको थियो । पछि यसका बारेमा जब एफएआईले थाहा भयो, यसपछि गागरिनको यात्रालाई मध्यनजर राख्दै केही प्रावधानहरू परिवर्तन गर्दै सुरक्षित प्रक्षेपण, कक्षमा स्थापित हुने र अन्तरिक्ष यात्रीको सुरक्षित फिर्तीलाई महत्वपूर्ण कदम मान्दै उनको यात्रालाई मान्यता दियो ।
सन् १९६१ मा जसरी अन्तरिक्षमा गइन्थ्यो, ठीक त्यसैगरी तपाईँ जान चाहनुहुन्छ त ? भनी बीबीसी रुसले तीन अन्तरिक्षयात्रीहरूलाई सोधेको थियो ।
सन् १९९७, २००६ र २०१६ मा तीन पटक यात्रा गरिसकेका पावेल विनोग्रेदेभ भन्छन्, “खतरा मोल्ने स्वाभावका कारण त्यस्तो यात्रा गरिन्थ्यो होला तर त्यो बेलाको अवस्था र अहिले धेरै फरक छ । त्यो बेला खतरा कति छ भन्ने थाहा नभएर यात्रामा गइन्थ्यो र अहिले त्यस्तो खतरा अलि छैन ।”
“जब म पहिलोपटक अन्तरिक्ष यात्रा गर्दै थिएँ, त्यो बेला म एरोनटिक इन्जिनियरका हिसाबले मलाई धेरै कुरा थाहा थियो । गागरिनलाई त्यो बेला म जत्तिको जानकारी थिएन । हुने कुरा पनि भएन । उनकै अनुभवका आधारमा हामीले नयाँ नयाँ कुरा सिक्ने अवसर पायौँ ।”
अर्का अन्तरिक्षयात्री मिखाइल कोर्निकोले सन् २०१० र २०१५ मा अन्तरिक्षयात्रा गरेका थिए । उनले पनि आफू पहिलो अन्तरिक्षयात्रीका रूपमा यात्रा गर्ने बताए पनि यतिबेला त्यही क्याप्सुलमा यात्रा गर्न भने नचाहेको बताए । “कोही पनि त्यो क्याप्सुलमा चढेर अन्तरिक्ष यात्रामा जान चाहँदैन,” उनको भनाइ थियो ।
सर्जेई रयाजनस्की पनि दुई पटक अन्तरिक्षमा पुगिसकेका छन् । उनको भनाइमा युरी गागरिन सेनाको फाइटर पाइलट थिए । सेनाका अनुशासित मानिस देशका लागि ज्यान दिन पनि पछि पर्थेनन् । उनीहरूका लागि ज्यानभन्दा देश ठुलो हुन्थ्यो । त्यसैले एक आदेशमा ज्यानको बाजी थाप्ने युरीका लागि डर वा मृत्यु ठुलो कुरा थिएन ।
उनी थप्छन्, “युरीको समयमा म हुन्थेँ भने कलिलो उमेर भएका कारण जोखिम त मोल्थेँ नै तर अहिले त्यही प्रणाली, त्यसैगरी र त्यस्तै यानमा जान भने निकै कठिन हुन्छ । त्यसमा जानुअघि म मेरा चार सन्तान र तिनको जिम्मेवारीका बारेमा पनि सोच्छु ।”
किसानका छोरा युरी अन्तरिक्षमा नपुगुञ्जेलसम्म उनलाई कसैले पनि चिन्दैन थिए । फर्कँदा संसारका प्रख्यात व्यक्ति भए । उनी रुसका राष्ट्रिय नायक बने ।
संसारका लागि पनि उनी कुनै हस्तीभन्दा कम थिएनन् । अन्तरिक्ष यात्राबाट फर्किएपछि उनी कयौँ देशको भ्रमणमा आफ्ना अनुभव सुनाउन निस्किएका थिए ।
युरीकी छोरी ऐलेना गागरिनले सन् २०११ मा बीबीसीसँग भनेकी थिइन्, “बुबाको अन्तरिक्ष यात्रापछि हाम्रो जीवन सधैँका लागि बद्लियो । बाआमाका लागि निजी जीवन नै रहेन । यसपछि दुवैले कहिल्यै एकान्तिक जीवन बाँच्न पाउनु भएन । कहिले सुटुक्क निस्कँदा पनि उहाँहरूलाई एक झलकका लागि भए पनि भिडले घेरिहाल्थ्यो । पछि उहाँहरू यसमा अभ्यस्त हुन थाल्नुभयो ।”
युरीले पछि फेरि अन्तरिक्षमा जाने इच्छा व्यक्त गरेका थिए तर राष्ट्रिय नायक रहेका उनलाई भविष्यमा अन्तरिक्ष यात्राका लागि प्रतिबन्ध लगाइयो । बरु उनले अन्य नयाँ यात्रीहरूलाई जोकोवेस्की इन्स्टिच्युट अफ एरोनटिकल इन्जिनियरिङमा प्रशिक्षण दिन थाले ।
सन् १९६८ मा उनी एमआइजी १५ विमानको परिक्षण उडानका क्रममा विमान दुर्घटना भयो । सो दुर्घटनामा उनी र उनका सहचालकको मृत्यु भयो । त्यो बेला उनको उमेर जम्मा ३४ वर्षको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *