भर्खरै :

देश र जनताको पक्षमा भएका सङ्घर्षबाट प्रेरित व्यक्ति शत्रुसामु नझुक्ने

देश र जनताको पक्षमा भएका सङ्घर्षबाट प्रेरित व्यक्ति शत्रुसामु नझुक्ने

भक्तपुर, १ वैशाख । पत्रकार समाज नेपालले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकका स्तम्भकार एवं वरिष्ठ पत्रकार भैरव रिसालको सोमबार एक समारोहबिच स्मृतिसभाको आयोजना ग¥यो ।
विसं १९८५ साउन २९ गते जन्मेका रिसाल २०८१ चैत २५ गते यो संसारबाट बिदा हुनुभएको थियो ।
उक्त सभामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिक कार्यकर्तामा राम्रो भावनामात्र होइन देश र जनताको पक्षमा सङ्घर्ष गर्नुपर्ने, सङ्घर्षबाट प्रेरित व्यक्ति शत्रु सामु झुक्दैन र सङ्घर्षबाट भाग्दैन भन्नुभयो ।
कार्यकर्ता जो जहाँ रहे पनि इमानदारीपूर्वक आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले कामको सिलसिलामा देखिने कमी कमजोरी हटाएर मेहनत गरी अघि बढेमा अन्ततः सही ठाउँमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सुनलाई आगोमा राखेर परीक्षण गरेझैँ कार्यकर्ताहरूलाई चिन्ने आधार उसको सङ्घर्षमय जीवन हो, अध्यक्ष रोहितले भन्नुभयो ।
कुनै लेखक, पत्रकारले कति लेख लेख्यो भन्दा पनि लेखले आन्दोलन र सङ्घर्षलाई कति सघायो भन्ने कुरा महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले कम्युनिस्ट पार्टीको सदस्य भएर पुँजीवादी नेताहरूको जीवनी लेखेर आफ्नो कर्तव्य पूरा नहुने स्पष्ट पार्नुभयो ।
हरेक कामलाई सही ढङ्गले पूरा गर्न कक्षा सञ्चालनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले क्रान्ति र आन्दोलनको कुरा गर्ने तर आन्दोलन र सङ्घर्षमा भाग्ने कार्यकर्ता क्रान्तिकारी नहुने बताउनुभयो ।
हरेक ठुलठुला राजनीतिक पार्टीका ठुलाबडा तथा लेखकहरूलाई दरबारले पैसा दिएर बिगार्ने गरेको विगतको घटनाको स्मरण गर्दै उहाँले राजनीतिक आन्दोलनमा लाग्दा अनेक कठोर जीवन बिताउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिमा लाग्दा भूमिगत बस्नुपर्ने हुन्छ, जेलमा बस्नुपर्ने हुन्छ । तर, शत्रुसामु आत्मसमर्पण गर्नुहुँदैन ।”
पार्टीमा हन्डर नखाएका, सङ्घर्षमय जीवन नबिताएका कार्यकर्ताहरू बिग्रिन सक्नेतर्फ सचेत हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष रोहितले कुनै व्यक्तिको व्यक्तित्व थाहा पाउन विभिन्न कोणबाट हेर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष रोहितले प्रतिक्रियावादीहरू देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नेहरूलाई बिगार्ने काममा सुरूदेखि नै लागेको घटनाहरू भएको उल्लेख गर्दै भन्नुभयो, “२०१३ सालमा नेपाल कम्युनिस्ट पार्टी मातहत अखिल नेपाल किसान सङ्घ सक्रिय थियो । नेपाल कम्युनिस्ट पार्टीबाट निष्काशित शैलेन्द्रकुमार उपाध्यायले सुद्धीकरण किसान आन्दोलन नामको संशोधनवादी सङ्गठन खोले । यसको भक्तपुर जिल्ला अध्यक्षमा पदमबहादुर बुढाथोकीलाई राखियो । डा. केशरजङ्ग रायमाझीले बुढाथोकीलाई नेकपाको भक्तपुर जिल्ला सदस्य बनाउन पत्र पठाएका थिए ।”
उहाँले भन्नुभयो, “भारत प्रवासबाट फर्केपछि हामीले बुढाथोकीलाई भेटेर पार्टीमा काम गर्नेबारे कुराकानी ग¥यौँ । उहाँले २०१७ सालपछि नै सरकारी गुप्तचरबाट पाउने खामको पैसा पाएको हुँदा पार्टीमा काम गर्न असमर्थ भएको बताउनुभयो ।”
उहाँले भन्नुभयो, “भैरव रिसालजीको ‘एसियाली मापदण्ड मागी खाने भाँडो’ नामको लेख प्रकाशित भएपछि उहाँ पञ्चायती सरकारको तारोमा पर्नुभयो । त्यतिबेला रिसालजीलाई हामीले राजनीतिमा आउने भए भूमिगत हुने सुझाव दिएका थियौँ । पछि उहाँ पक्राउमा जानुभयो । उहाँको लेख प्रकाशित भएको पत्रिका नेका समर्थक थियो । एउटै ठाउँका भएकाले रिसालजीको पद्मबहादुर बुढाथोकीसँग भेटघाट थियो । २०३६ सालमा भक्तपुरको गाउँ टोलमा जाँदा रिसालजीसँग भेटघाट हुन्थ्यो । हामीले भेटेकाहरूलाई पञ्चायती सरकारले डर देखाउँथ्यो ।”
उहाँले थप्नुभयो, “बहुदलीय व्यवस्था पुनः स्थापनापछि २०४८ सालको संसदीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले रिसालजीलाई भक्तपुर क्षेत्र नं. २ को उम्मेदवार बनायो । विरोधीहरूले नेमकिपाविरूद्ध नेवार पार्टी, ज्यापु पार्टी भनी प्रचार गरेका थिए । नेमकिपालाई माक्र्सवादी दर्शन र कामदारवर्गको आधारमा स्थापना भएको पार्टीको रूपमा जनतालाई चिनाउन रिसालजीलाई उठाइएको थियो । रिसालजीका परिवार र आफन्तहरू नेका समर्थक बढी थिए । उनीहरूले नै रिसालजीलाई नेमकिपाका नेताहरूले मत नदिने प्रचार गरे । तर, नेमकिपाको मत रिसालजीलाई पूर्णरूपमा परेको थियो । नेकाबाट उम्मेदवार भएका जगन्नाथ आचार्य पराजित हुने निश्चित थियो । नेकाले बालकोट, बायखालगायतमा बुथ कब्जाजस्तै गरे । उहाँले निर्वाचन बुथमा राख्नुभएका मतदान प्रतिनिधिहरू पनि बुथ छाडेर गए । यसरी निर्वाचनमा धाँधली हुँदा रिसाजली दोस्रो स्थानमा पर्नुभयो ।”
“शत्रुको व्यवहारलाई जवाफ दिन सक्ने हाम्रो पार्टीका उम्मेदवार हुनु आवश्यक छ । चिनियाँ कथा ‘नक्कली नागका सौखिन’ जस्ता पार्टीका कार्यकर्ता र उम्मेदवार हुनु हुँदैन । रिसालजीले राजनीतिमा हन्डर खानुभएको थिएन । यसकारण, बुथ क्याप्चर गर्नेहरूलाई सजिलो भयो”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्ट दाबी गर्नेहरू पुँजीवादी नेताहरूको जीवनी लेख्छन् । लेख लेख्दैमा कोही लेखक वा पत्रकार हुँदैन । कम्युनिस्ट पार्टीको बन्दोबस्त संसारको अनुभवबाट बन्छ । शिक्षकहरूले नयाँ पुस्तालाई विज्ञानसम्मत शिक्षा दिनु जरूरी छ, अन्धविश्वासलाई उदाङ्ग्याउनु जरूरी छ । कम्युनिस्ट दाबी गरेका शिक्षकहरूमा कम्युनिस्ट शिक्षा भएन ।”
रिसालजीले आफू जिउँदै शरीर शिक्षण अस्पतालमा अध्ययनको लागि समर्पण गर्नुभएको अध्यक्ष बिजुक्छँेले जानकारी दिनुभयो ।
नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले भन्नुभयो, २०५३ साल असोज ४ गते तत्कालीन संसद्को दुईतिहाइ बहुमतबाट देशघाती महाकाली सन्धि पारित गरेको विरोधमा नेपाल मजदुर किसान पार्टीले भोलिपल्ट भक्तपुर–काठमाडौँ जनप्रदर्शन गरेको थियो । त्यो जनप्रदर्शन माइतीघर पुगेपछि प्रहरीले घेरा हाली लाठी प्रहार गरी दमन गरेको थियो । त्यो दमनमा रिसालजी प्रहरी दमनबाट बच्नुभयो । हामी धेरैको शरीरमा निलदाम भरिएको थियो । त्यसबेला अध्यक्ष बिजुक्छेँको साथमा तत्कालीन प्रम देउवाको कार्यकक्ष सिंहदरबार पुगेर हामीले शरीरको निलदाम देखाउँदै दमनको विरोध गरेका थियौँ ।”
उहाँले थप्नुभयो, “गएको चैत १५ गतेको काठमाडौँ तीनकुनेको जनप्रदर्शनमा पत्रकार सुरेस रजक र चालक सविन महर्जनको हत्या भयो । पत्रकारहरूले जोखिम सामना गरी समाचार सङ्कलन गर्छन् । पत्रकार रजकको समाचार सङ्कलन सुरक्षित ठाउँबाट भइरहेको भिडियो क्लिप सार्वजनिक भएको छ । यसकारण, रजक र महर्जनको हत्याबारे सरकारले सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्नु जरूरी छ ।”
सचिव सुवालले भन्नुभयो, “एउटा पत्रकारले नेपालको राष्ट्रपतिमा आफ्नो मान्छेलाई जिताउन भारतको राष्ट्रपतिसँग पैसा मागेर पार्टी सभापति जिताउन सार्वजनिक गरे । अर्काे पत्रकारले २०५२ सालमा प्रमविरुद्धको अविश्वासको प्रस्तावमा बचाउन सरकारी पार्टीले अर्काे सरकारी पार्टीका सांसद किन्न करोडौँ रूपैयाँ पठाएको र गन्न नभ्याउँदा हजार रूपैयाँको एक करोड नोटको साढे १७ किलो तौल भएको सार्वजनिक गरे ।”
उहाँले भन्नुभयो, “संरा अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको दोस्रो कार्यकाल सुरुसँगै विश्व स्वास्थ्य सङ्गठन, जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता, संयुक्त राष्ट्र सङ्घको मानव अधिकार समितिबाट अमेरिका बाहिरिने घोषणा गरियो । त्यसयता ट्रम्पले बाँकी संसारलाई भन्सार कर बढाएर व्यापार युद्ध सुरू गरेपछि तेस्रो विश्वयुद्धको सम्भावना बढिरहेको पत्रकारहरूले पनि आकलन गर्दै छन् । रिसालजीले पत्रकारिता क्षेत्रमा पूरा गर्न बाँकी रहेका काम नयाँ पुस्ताका पत्रकारहरूले गर्नु जरुरी छ ।”
नेमकिपा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले निर्वाचन एक वर्गसङ्घर्ष भएको हुँदा मुखले सहयोग गर्ने कुरा उठाए पनि व्यवहारमा साथ नदिने दृष्टान्त बताउनुभयो ।
विश्लेषणात्मक र समालोचनात्मक समाचार र लेखले नयाँ लेखक र सञ्चारकर्मीका लागि प्रेरणाको स्रोत मिलेको उल्लेख गर्दै उहाँले रिसालजीको आस्थाको पत्रिकाले देश र जनताको सेवा गर्ने सांसद गोसाईंले बताउनुभयो । आस्थाको पत्रिकामा खडेरी परेकोमा चिन्ता व्यक्त गर्दै उहाँले हामीले नाफामुखी पत्रिका होइन देश र जनताको सेवा हुने विचारमुखी पत्रिका सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पत्रिका बिचौलिया र विदेशीको दानापानीमा चलाउनु उचित होइन । वैचारिक पत्रिका आजको आवश्यकता हो । गणतन्त्र र प्रजातन्त्रको कुरा उठाउने तर त्यसको विरोधमा नलेख्ने, नबोल्ने सञ्चारकर्मीहरूमा इमानदारीको अभाव हुन्छ ।”
फासीवाद र साम्राज्यवादको विरोधमा कलम चलाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले संरा अमेरिकाले कर युद्ध थालेर संसारलाई आतङ्कित पारेको बताउनुभयो । अमेरिकाको सहयोगमा इजरायलले प्यालेस्टिन सिध्याउने र प्यालेस्टिनी जनतालाई जातीय नरसंहार गर्ने कामको उहाँले निन्दा गर्नुभयो ।
वाग्मती प्रदेशसभाका अर्का सदस्य सृजना सैंजूले बाँचुञ्जेल समाचार र लेख लेखेर देशकै एक जेठो पत्रकारको रूपमा चिनाउन सफल भैरव रिसाल मौलिक भाषा शैलीका धनी हुनुहुन्थ्यो भन्नुभयो ।
सीमा जोगाउन कलम चलाउने देशभक्त पत्रकारको रूपमा चिनेको उल्लेख गर्दै सांसद संैजूले भैरव रिसाल परिपक्व र उच्च विचारका वरिष्ठ पत्रकार हुनुहुन्थ्यो भन्नुभयो ।
उहाँले साम्राज्यवाद र फासीवादको विरोधमा र समाजवाद र कम्युनिस्ट आन्दोलनबारे विचार प्रवाह गर्ने अन्तर्राष्ट्रिय पत्रकार अन्ना लुइस स्ट्रङले पु¥याएको देनबारे चर्चा गर्नुभयो ।
पत्रकार समाजका उपाध्यक्ष एवं ‘मजदुर’ दैनिकका प्रकाशक एवं सम्पादक उद्धव सुजखुले वरिष्ठ पत्रकार भैरव रिसालको पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्दै अन्तर्राष्ट्रवादी पत्रकार एडगर स्नो र विल्फ्रेड ग्राहमको योगदानबारे चर्चा गर्नुभयो ।
‘सहिद’ साप्ताहिकका सम्पादक नारायण महर्जनले २०४६ सालको संयुक्त जनआन्दोलनको क्रममा कीर्तिपुरबाट वीरगति प्राप्त गर्ने सहिदहरूप्रति समर्पित भएर ‘सहिद’ साप्ताहिक पत्रिका प्रकाशन गरिरहेको बताउनुभयो ।
वर्गीय समाजमा पत्रिका पनि वर्गमा विभाजित हुने कुरा उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रवादी पत्रकार जोनरिडबारे सङ्क्षिप्त जानकारी दिनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबन्जारले पत्रकार रिसाल सरल भाषामा विचार पोख्ने, जनचेतना जगाउने गुरू र अभिभावक हुनुहुन्थ्यो भन्नुभयो ।
पत्रकार समाज नेपालका अध्यक्ष एवं कार्यक्रमका सभापति अनुराधा थापामगरले जस्तोसुकै परिस्थितिमा पनि सकारात्मक ऊर्जा प्रदान गर्ने अग्रज पत्रकार रिसाल देशभक्त र देश र जनताप्रति समर्पित हुनुहुन्थ्यो भन्नुभयो ।
गलत काममा प्रोत्साहन नगर्ने र आर्थिक अनुशासन पालना गरेकै कारण उहाँ सम्मानित भएको उहाँले स्पष्ट पार्नुभयो ।
‘मजदुर’ दैनिकका सम्पादक विष्णुगोपाल कुसीले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकका स्तम्भकार, लेखक एवं वरिष्ठ पत्रकार भैरव रिसालको सङ्क्षिप्त जीवनीबारे चर्चा गर्नुभयो ।
पत्रकार समाजका सदस्य एवं ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकका सहयोगी प्रकाश थुसाले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *