भर्खरै :

ट्रम्पको व्यापारयुद्ध ‘आफ्नै खुट्टामा बन्चरो’

ट्रम्पको व्यापारयुद्ध ‘आफ्नै खुट्टामा बन्चरो’

डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकारले सन् २०१८ जुलाई ६ मा अमेरिका भित्रिने करिब ३४ अर्ब अमेरिकी डलर बराबरको १३ सय किसिमका चिनियाँ उत्पादनमा सुरुमा १० प्रतिशत र पछि २५ प्रतिशत कर लादेर व्यापार युद्ध छेडेको थियो । चीनले पनि प्रतिकारस्वरूप सोही मूल्य बराबर १०६ अमेरिकी वस्तुहरूमा २५ प्रतिशतले कर वृद्धि गरेर जवाफ दिएको थियो ।
चीनले विज्ञान र प्रविधिमा ठूलो प्रगति गरिरहेको छ । केही विश्लेषकहरूले उत्पादन र औद्योगिक श्रृङ्खलामा अमेरिकाभन्दा चीन अगाडि रहेको दाबी गर्छन् । ‘अमेरिका पहिलो’ (America First) भन्ने ट्रम्पको लागि चीनको यही प्रगति टाउको दुखाइको विषय हो । यसकारण पनि चीनलाई कमजोर पार्न अमेरिकाले व्यापार युद्ध चलाएको हो ।
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा व्यापार युद्ध थप कडाइका साथ लादिएको छ । उनले २०२५ अप्रिल २ मा पुनः चीनलक्षित नयाँ करनीति घोषणा गरे । ट्रम्पले १८५ देशको वस्तुमा १० देखि ५० प्रतिशतसम्म भन्सार कर बढाए । उक्त दिनलाई उनले अमेरिका विदेशी सामानहरूमा निर्भर हुनबाट मुक्त गर्ने ‘लिबरेसन डे’ (मुक्ति दिवस) दाबी गरे । ट्रम्पले अमेरिकालाई पाँच दशकदेखि निकट र टाढाको मित्र र शत्रुहरूले समान रूपमा लुटेको चर्चा गर्दै ‘अब लुट्ने पालो अमेरिकाको’ बताए । उनले धेरै देशले अमेरिकी बजारको फाइदा उठाएको र अमेरिकी सामानको लागि आफ्नो बजार बन्द गरेको दाबी गरे । तर, ट्रम्पको यो भनाइमा सत्यता छैन ।
ट्रम्पको भन्सार कर वृद्धिपछि विश्वभरका सेयर बजारमा तरङ्ग पैदा भयो । एसियाली बजारमध्ये हङकङ ह्याङ सेङ सूचकाङ्क (Hang Seng Index) अनुसार २५ गते सोमबार (अप्रिल ७) का दिन १३ दशमलव २ प्रतिशतले गिरावट आयो । ट्रम्पको घोषणापछि अमेरिका स्वयम्को सेयर बजारमा खर्बौँ डलर नोक्सान भयो । शेयर बजारको नास्ड्याक कम्पोजिट सूचकाङ्क (NASDAQ Composite Index) मा करिब ७ प्रतिशतको गिरावट आयो । एप्पल, एनभिडियालगायतका थुप्रै कम्पनीका सेयरहरू घटेका छन् । ट्रम्पले आम अमेरिकीहरूलाई केही समय कठिनाइका लागि तयार रहन आह्वान गरे । तर, यसले अमेरिकी जनजीवन नै अस्तव्यस्त हुने विश्लेषकहरूको मत छ ।
ट्रम्पले ट्यारिफ नीति ‘अमेरिका पहिलो’ (America First) नीतिअन्तर्गत नै भएको दाबी गरे । यो नीतिले अमेरिकाको व्यापार घाटा घटाउने, अमेरिकी उद्योग र रोजगारी संरक्षण गर्ने ट्रम्प प्रशासनको भनाइ छ । तर, विश्लेषकहरूका अनुसार नयाँ कर नीतिले अमेरिकी उपभोक्तामाथि ठुलो असर पर्ने सम्भावना छ । अमेरिकी उद्योगहरू आयातीत कच्चा पदार्थमा निर्भर छन् । कच्चा पदार्थको मूल्यवृद्धि भएपछि उत्पादन लागत पनि बढ्ने छ । अर्थशास्त्रीहरूले अनुमान गरेअनुसार ट्रम्पको यो नीतिले औसत अमेरिकी परिवारलाई वार्षिक ४२ हजार ७ सय देखि ४३ हजार ४ सय डलर अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ । यसले अमेरिकीहरूको जीवनस्तर नै प्रभावित हुनेछ ।
१ फेब्रअरी २०२५ मा ट्रम्पले चीन, क्यानडा र मेक्सिकोका उत्पादनमा अतिरिक्त कर लागु गर्ने आदेश दिए । ट्रम्पले पहिलोपटक फेब्रुअरी १ मा चिनियाँ सामानमा १० प्रतिशत भन्सार शुल्क लगाएका थिए । चीनले पनि ८० थरी अमेरिकी उत्पादनमा १०–१५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरेर जवाफ दियो । ट्रम्पले अमेरिका भित्रिने चिनियाँ सामानमा मार्च ३ मा २० प्रतिशत, अप्रिल २ मा ५४ प्रतिशत र अप्रिल ९ मा १०४ प्रतिशत कर थपे । चीनले पनि आफ्नो देशमा भित्रिने अमेरिकी सामानमा सोहीअनुसार कर बढायो । अप्रिल १० मा ट्रम्पले चिनियाँ सामानमा कर बढाएर १४५ प्रतिशत पु¥याए । यसरी अमेरिकाले एकतर्फी रूपमा चिनियाँ सामानमा कर वृद्धि गरेपछि चीनले पनि अप्रिल १२ शुक्रबारको दिन अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा ग¥यो ।
ट्रम्पको अव्यावहारिक ट्यारिफ नीतिले विश्व बजार र अमेरिकामै पनि उथलपुथल भएपछि यसको विश्वभर आलोचना हुँदै छ । आफ्नै देशमा यसको विरोध भएपछि बुधबार ट्रम्पले चीनबाहेक बाँकी देशलाई ९० दिनको लागि कर स्थगन गर्ने घोषणा गरे । यसले अमेरिकाले चीनको प्रगतिलाई रोक्न ‘ब्वाँसो नीति’ अपनाएको प्रस्ट हुन्छ ।
ट्रम्पका कट्टर समर्थक अमेरिकी सिनेटर ट्रेड क्रुजले समेत ट्रम्पको भन्सार वृद्धिको कारण विश्वव्यापी व्यापार युद्ध सुरु हुने, बेरोजगारी बढ्ने तथा मूल्यवृद्धिसमेत हुने चेतावनी दिए । उनले अर्को वर्ष हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीका लागि घाटा हुनसक्ने पनि बताए ।
युरोपेली सङ्घले अमेरिकाका अधिकारीहरूसँग वार्ता गर्ने बताउँदै छ भने नयाँ भन्सार शुल्कको विषयमा विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा मुद्दा दायर गर्ने बताइरहेको छ । फ्रान्स र जर्मनीले अमेरिकी प्रविधि कम्पनीहरूमाथि कर लगाएर ईयूले प्रतिक्रिया दिनसक्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय मुद्राकोषका पूर्वप्रमुख तथा अर्थशास्त्री केन रोगोफ (Kenneth Rogoff) ले अमेरिकाको नयाँ कर घोषणा विश्व व्यापार प्रणालीमा ‘परमाणु बम’ जस्तै भएको बताए । दक्षिण कोरियाको कार्यवाहक राष्ट्रपति हान डक–सुले ‘विश्वव्यापी व्यापार युद्ध वास्तविकतामा परिणत भएको’ प्रतिक्रिया दिए ।
चीनले अमेरिकाले छेडेको व्यापार युद्धविरुद्ध अन्तिमसम्म लड्ने बतायो । पेइचिङको वाणिज्य मन्त्रालयका प्रवक्ताले २०२५ अप्रिल ८ मा भने, “यदि अमेरिकाले भन्सार शुल्क बढाउँछ भने चीनले आफ्नो अधिकार र हितहरूको रक्षा गर्न दृढतापूर्वक जवाफी कदम चाल्नेछ । चीनले अमेरिकासँग संवाद चाहेको छ । व्यापार युद्धमा कुनै विजेता हुनेछैन ।”
चीनको संस्कृति, पर्यटन मन्त्रालयले हाल आफ्ना नागरिकलाई एक एडभाइजरी (सुझाव) जारी गर्दै अमेरिका जानुअघि जोखिम आकलन गर्न र सावधानीपूर्वक यात्रा गर्न सुझाव दियो । चिनियाँ शिक्षा मन्त्रालयले पनि आफ्ना विद्यार्थीलाई अमेरिका अध्ययनको निर्णय गर्नुअघि सुरक्षा जोखिम आकलन गर्न चेतावनी दियो ।
चीनका वाणिज्य मन्त्री वाङ वेनताओले शुक्रबार विश्व व्यापार सङ्गठन (WTO) का महानिर्देशक न्गोजी ओकोन्जो (Ngozi Okonjo-Iweala) सँग भिडियो कल गरेर अमेरिकाले अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थामा बाधा पु¥याउनुका साथै विश्व व्यापार सङ्गठनको सिद्धान्तलाई उल्लङ्घन गरेको गुनासो व्यक्त गरे । अमेरिकाको एकतर्फी करले विकासोन्मुख तथा कम विकसित देशहरूलाई हानि पु¥याउनुका साथै मानवीय सङ्कटसमेत आउने चेतावनी दिए । ओकोन्जोले पनि बढ्दो व्यापार तनावले विश्वव्यापी व्यापार र आर्थिक वृद्धिमा चुनौती खडा गरेको बताइन् ।
बिहीबार र शुक्रबार अमेरिकाको भन्सार कर नीतिबाट उत्पन्न व्यापार तनावबारे छलफल गर्न ब्रिक्स सदस्यहरूले एउटा भिडियो कन्फेरेन्स गरेर अमेरिकाको एकपक्षीयता र व्यापार संरक्षणवादको संयुक्तरूपमा विरोध गरे ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज (Pedro Sanchez) सँग पेइचिङमा भएको एक बैठकमा युरोपेली सङ्घलाई अमेरिकाको एकपक्षीय दादागिरीको संयुक्तरूपमा मिलेर प्रतिरोध गर्न आह्वान गरे । उनले ७० वर्षभन्दा लामो समयदेखि चिनियाँ जनताको कडा परिश्रमबाट भएको विकास आत्मनिर्भर रहेको उल्लेख गर्दै कसैको दयामायाबाट नभएको स्पष्ट पारे । चीन कसैको अनावश्यक दमनबाट नडराउने दोहो¥याए । चीन आयातमा कम निर्भर देश हो । अमेरिकामा ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि नै चीनले सम्भावित सङ्कटको आकलन गरी नोभेम्बरदेखि नै तयारी थालिसकेको हो । चिनियाँ कम्युनिस्ट पार्टीले जनगणतन्त्र स्थापना भएदेखि नै जनतासँग मिलेर चीनमा घरेलु उत्पादन बढाउँदै बाह्य निर्भरता घटाउन काम गर्दै आएको छ । यसर्थ, चीन सानोतिना हावाहुरीले विचलित हुनेछैन । चिनियाँ अर्थतन्त्रको जग बलियो छ ।
ट्रम्प कार्यकालमा अमेरिकी कर्मचारी पनि खुसी छैनन् । ट्रम्पको निर्देशनमा एलन मस्कले कर्मचारी कटौती गर्ने र सेवा सुविधाबाट वञ्चित गर्ने योजना ल्याए । अहिले धेरै अमेरिकी नागरिकहरूको रोजगारी खोसिएको छ । निर्वाचनअघि ट्रम्पले सामाजिक क्षेत्रमा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएका थिए । तर, ट्रम्पले आफ्नो वचन पूरा गरेनन् । अप्रिल ५ मा अमेरिकाका ५० वटै राज्यमा ट्रम्पविरुद्ध १२०० भन्दा बढी प्रदर्शन भए । यसले ट्रम्प अमेरिकी जनताका सामु अलोकप्रिय बन्दै छन् । यस्तो अवस्थामा चीनविरुद्ध ट्रम्पले छेडेको व्यापारयुद्ध ‘आफ्नै खुट्टामा बन्चरो’ साबित हुनुका साथै अमेरिका विश्वमा एक्लिँदै जानेछ ।

२०८१ चैत ३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *