भर्खरै :

जनताबाट चुनिएका जनप्रतिनिधिहरू शिष्ट हुनु जरुरी

जनताबाट चुनिएका जनप्रतिनिधिहरू शिष्ट हुनु जरुरी

प्रिय सम्पादकज्यू,
मजदुर दैनिक, भक्तपुर ।

तपाईँको लोकप्रिय पत्रिकामा छापिएका अन्तर्राष्ट्रिय समाचार र लेखहरूबारे केही गुनासो छैन । तर, विदेशी समाचार र लेखहरूमा नेपाली अनुवाद जस्ताका तस्तै राख्दा आदर गर्नुपर्ने नेताहरू वा बुद्धिजीवीहरूलाई ‘ऊ, उसले, भन्यो, ग¥यो’ भन्नेजस्ता शब्दहरू र वाक्यांश प्रयोग भएको पढ्दा ‘भात खानेबेला ढुङ्गा चपाएको’ जस्तै अनुभव हुन्छ । साथै नकारात्मक पात्र र नेताहरूका लागि आदरार्थी शब्दहरू प्रयोग भएका हुन्छन् । के त्यस्ता अशोभनीय लेखाइ वा बोलीलाई राम्रो र सुन्दर बनाउन सकिन्न र ?
मासु पसल सधैँ सफा हुनुपर्छ । पसलमा झिङ्गा भन्केको मासु बिक्री भइरहेको जनताको गुनासो नयाँ होइन । त्यस्ता विषयमा सम्बन्धित वडाध्यक्ष र जाँचकीहरूलाई सचेत गराउन फोन गर्दा उहाँहरू फोन उठाउनुहुन्न । कुनै जरुरी बैठक वा यात्रामा हुँदा फोन नउठाउनु स्वाभाविक मानिएला, तर फुर्सदको बेला आफैले फोन सम्पर्क गर्नु शिष्टाचार (Etiquette) हो । तर, केही वडाध्यक्ष र जाँचकीहरूले आफ्नै मेयर र नेताहरूको समेत फोन नउठाएको गुनासो छ ।
सभ्य समाजका मानिसहरूले सामान्य शिष्टाचारका चलन वा रीतिलाई पालना नगरेमा त्यसलाई नम्रता, सदाचार र शिष्टाचार नभएको मानिन्छ । साधारण समाजमा हुने नम्रतालाई पालन नगर्नेहरूलाई शिष्ट भनिँदैन । जनताबाट चुनिएका जनप्रतिनिधिहरू शिष्ट हुनु जरुरी छ ।
सत्य यही हो भने नेमकिपाको स्थानीय समितिहरूको बैठक राखेर यसबारे सम्बन्धित जनप्रतिनिधिहरूलाई जानकारी दिनु उपयुक्त हुनेछ । अन्यथा अटेरी जनप्रतिनिधिहरूको सदाचार र शिष्टाचारविपरीतका प्रवृत्तिले सभ्य समाजलाई खल्बल्याउने निश्चित छ ।
म ‘मजदुर’ दैनिकको नियमित पाठक भएको हुँदा तपाईँसँग सकारात्मक सहयोगको अपेक्षा गर्दछु । आशा छ, सभ्य समाज निर्माणको निम्ति यहाँले निर्वाह गर्ने भूमिकाबाट म निराश हुनुपर्ने छैन । धन्यवाद !

– तपाईँको पाठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *