भर्खरै :

भक्तपुरलाई अझ राम्रो बनाउन

भक्तपुरलाई अझ राम्रो बनाउन

भक्तपुरवासीको नाताले भक्तपुर नगरपालिकाले गरेका काम कारबाहीहरू घामजतिकै छर्लङ्ग छ । सम्पदा संस्कृतिको संरक्षण, शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर नगरपालिकाले गरिराखेको काम सराहनीय नै छ । सरसफाइको क्षेत्रमा राम्रो गरिरहनु, +२ देखि स्नातकोत्तरसम्मका कलेजहरू खोल्नु, अस्पताल खोल्नु, खुला जिमखाना खोल्नु, सम्पदा संरक्षणमा लागिपर्नु, बढ्दो सहरीकरण र जनसङ्ख्यालाई थेग्न विभिन्न जग्गा एकीकरण आयोजना चलाउनु आदि यसका उदाहरण हुन् । यस हिसाबले देशका अरू नगरपालिकाहरूको दाँजोमा भक्तपुर नगरपालिकाको कार्य उदाहरणीय नै हो ।
यति हुँदाहुँदै आफ्नो कार्य क्षेत्रभन्दा बाहिरको वा अर्थ र प्राविधिक हिसाबले आफूले गर्न नसकेर हनुमन्ते खोलाको वातावरण सहरी क्षेत्रमा खानेपानीको प्रचुरता आदि क्षेत्रमा अहिलेसम्म भक्तपुर नगरपालिकाले जति गर्नुपर्ने हो त्यति काम गर्न सकेको छैन ।
भक्तपुर नगरपालिकाले भक्तपुर नगर क्षेत्र पैदलयात्री मैत्री सहर बनाउने सोच राखेको छ । नगरपालिकाले दरबार क्षेत्रमा यातायात गाडी प्रवेश निषेध धैरै पहिले नै गरिसक्यो । अहिले तौमढी क्षेत्रमा पनि यो व्यवस्था लागु भइसकेको छ । पार्किङको पर्याप्त व्यवस्था नगरी गरिएको यस निषेधले जनतामा एक किसिमले असन्तोष पनि बढेको छ । पानीको ट्याङ्कर, एम्बुलेन्स, दैनिक खाद्य सामग्री तथा घर निर्माण सामग्री ओसार–पसारमा समस्या भएको महसुस जनताले गर्दै छन् । निश्चय नै भक्तपुरजस्तो सानो सहरमा यातायातलाई निर्वाधरूपमा चल्न दिनुभन्दा यसलाई नियन्त्रण गर्नु राम्रो हो । पानीको ट्याङ्कर, एम्बुलेन्स, दैनिक खाद्य सामग्री तथा घर निर्माण सामग्री ओसारपसार आदि व्यवस्थित गर्नुपर्ने आवश्यक महसुस भइसकेको छ । नगरलाई अझ राम्रो बनाउनेबारे अहिलेदेखि नै सोच्दै जानुपर्छ ।
भक्तपुर नगर पूर्व–पश्चिम लाम्चो छ । पूर्व–पश्चिम लम्बाइ लगभग २.५ किमि छ । यसको पश्चिममा चोङा गणेशस्थान सल्लाघारी र पूर्वमा गोंस पुल रहेको छ । चोङा गणेश एरिया अलिकति सुधारोन्मुख छ । रानीपुखुको दक्षिणको चौर सल्लाघारी झारपातले भरिसकेको छ । सरसफाइमा नगरपालिकाको ध्यान नपुगेको हो कि सेनाले छुन नदिएको हो, बुझ्न सकिएको छैन । चोङा गणेशस्थान र सल्लाघारी स्थान घाँस बुट्यानहरू काटेर पहिलेजस्तै राम्रो सन्ध्याकालीन विचरण गर्ने पार्कको रूपमा विकास गर्दा राम्रो हुन्छ । सिद्धपोखरीको वरिपरि पनि घाँस बुट्यानहरू काटेर राम्रो बगैँचा र पार्किङको राम्रो व्यवस्था गर्नुपर्छ । भित्री नगर क्षेत्रमा सरसफाइमा राम्रो व्यवस्था छ । तर, पूर्व र पश्चिमतिर नगरपालिकाको ध्यान नपुगेको जस्तो छ । कमलविनायक प्लानिङ क्षेत्रमा पानी र ढल निकासको हिसाबले पछि नै परेको छ । कमलविनायक सडकको हालत नगरकोटको सडकभन्दा फरक पर्दैन । भक्तपुर नगरले जसरी सफा नगरमा नाम कमाएको छ, त्यसरी नै नगरको बाहिरी भाग पनि सरसफाइ राख्नेमा नगरपालिकाको ध्यान जानेछ ।
पार्किङको व्यवस्था
भक्तपुर नगरभित्र अत्यावश्यकबाहेक अन्य सवारी साधनहरू प्रवेश निषेध गर्ने धेरै पहिलेदेखिको योजना हो । यसमा भक्तपुरवासीहरूको समर्थन पनि जुट्दै गएको देखिएको छ । यसको लागि नपाले दीर्घकालीन योजना तयार गर्नुपर्छ । भक्तपुर नगरभित्र छिर्ने नाकाहरू धेरै छन् । सल्लाघारी, हाकुफो हिटी फल्चा, ब्यासी, महाकालीस्थान, देकोचा, कमलविनायक, च्याम्हासिङ्ग, ख्वप कलेज चोक, हनुमानघाट, जगाती, आदर्श चोक, सूर्यविनायक चोक, बाराहीस्थान चोक आदि यसका उदाहरणहरू हुन् । यी स्थानहरूमध्ये माहेश्वरी खेल मैदान, हनुमानघाटको परोपकारको दक्षिण–पश्चिम क्षेत्र, गय्भिन्द्योको उत्तर (पुरानो फोहर सङ्कलन केन्द्र) तिर व्यवस्थित पार्किङ बनाउन सकिने देखिन्छ ।
त्यस्तै हालको जनज्योति पुस्तकालयको दक्षिणपट्टि खाली रहेको जग्गामा पनि नगर छिर्ने सवारीहरूको लागि पार्किङको व्यवस्था मिलाउन सकिन्छ । सल्लाघारी र लान्चा फल्चातिरको चौडा सडकमै पनि मिलाएर व्यवस्थित पार्किङ गर्न सकिने देखिन्छ । सल्लाघारीको कङ्क्रिट डिभाइडरले सवारी चलाउँदा ज्यादै असजिलो महसुस हुन्छ, त्यसलाई हटाउनु नै जाती हुन्छ । त्यहाँको सडकको सेट ब्याक सडकको बिचबाट १०–१० मिटर कायम गरिएको छ । यसमा पनि घर बनाउँदा १.५ मिटर अर्को सेट ब्याक अनिवार्य छोड्नुपर्ने बाँकी छ । २० मिटरको राइट अफ वेमा ७.५ मिटर ट्राभल लेन, १.६ – १.६ मिटर बाइक वा साइकल लेन, २.४–२.४ मिटर पार्किङ लेन र त्यसपछि बाँकी १.५–१.५ मिटर फुटपाथ मज्जाले राख्न सकिन्छ । फुटपाथ पनि १.५ सेट ब्याक + २.१५ सडकबाट मिलाउँदा ३.६५ मिटरको हुन आउँछ । यसमा पार्किङपट्टि साना साना रुखहरू रोप्न सकिन्छ । यसले सडकको सौन्दर्य बढाउनेछ ।
भक्तपुर अस्पताल अगाडिको अव्यवस्थित पार्किङ समस्या निराकरणको लागि नपुखु पश्चिम र उत्तरतिरको खाली जग्गालाई प्रयोग गर्दा राम्रो होला जस्तो लाग्छ । योबाहेक रानीपोखरीको दक्षिणपट्टिको सल्लाघारी क्षेत्र पनि सेनासँग सल्लाह गरेर उपयोगमा ल्याउन सकिन्छ । पहिले त त्यो सार्वजनिक क्षेत्र नै हो जस्तो लाग्छ । अहिले सेनाको अधीनमा छ । हामी सानो बेलामा साँझपख घुम्ने र आराम गर्ने ठाउँ हो त्यो । सैनिक विद्यालयको खेल मैदानसमेत खुला थियो त्यो बेला । सैनिक विद्यालय भक्तपुरमा सरेपछि अझ सङ्कटकालदेखि त्यो क्षेत्र सर्वसाधारणको आवत–जावतमा रोक लगाइएको हो । त्यो एरियामा भएको चार वटा पोखरीहरू रानीपोखरी (न्हु पुखु), सिद्धपोखरी, भाज्या पुखु र नपुखु भक्तपुरको सौन्दर्य हो । यहाँ आजभोलि हजारौँ आन्तरिक पर्यटकहरू आउने गर्छन् । त्यसैले यी चारवटै पोखरीलाई हेर्न डुल्न मिल्ने गरी नगरपालिकाले ट्राय्क रुटको विकास गर्नुपर्छ । उपयुक्त ठाउँ हेरेर एक दुई ठाउँमा ओभर हेड पुलको व्यवस्था मिलाउन सकिन्छ । यी पोखरी डुल्न अहिले सडकै सडक हिँड्नुपर्छ । अहिले पार्किङको समस्याले भाज्या पुखुको डिलमा मोटरसाइकल पार्किङ राख्नु राम्रो होइन ।
हाम्रोमा घरअगाडि गाडी रोक्न दिन पाएमा व्यापार बढ्ने सोच छ । हाइ वेमै पसल राख्ने जातका हौँ हामी । तर, अन्यतिर यसको ठीक उल्टो छ । गाडीमा आउनेले पसल डुल्दैन । हिँडेर सहर डुल्नेले बढी किनमेल गर्ने गरेको अन्य ठाउँको अनुभव छ । यसबारेमा अहिलेदेखि नै स्थानीय नगरवासीलाई शिक्षित गर्दै लानु वेस हुन्छ ।
माथिका पार्किङ क्षेत्रको विकास सँगसँगै त्यहाँको सौन्दर्यीकरणमा योजना बनाउनुपर्छ । पार्किङ एरिया व्यवस्थित गर्न पार्किङ शुल्कको सिस्टम लागु गर्नुपर्छ । त्यहाँ उठेको शुल्कले त्यहीँको वातावरण सुधार गर्नमा खर्च गर्दा पार्किङ व्यवस्थित र वातावरणमा राम्रो सुधार हुनेछ । नगरपालिकालाई पुँजीगत खर्चबाहेक अन्य भार पर्ने सम्भावना कमैमात्र होला भन्ने लाग्छ । त्यस्तै दरबारस्क्वायर वरपरको अव्यवस्थित पार्किङले कुरूप नै बनेको छ (हाल जगनाथ क्षेत्रमा सारेको) । यसको विकल्पको रूपमा नगरपालिकाअगाडिको श्री पद्म माध्यमिक विद्यालयको खाली जग्गाको स्कूलसँगको सहकार्यमा भूमिगत पार्किङको साथै नयाँ विद्यालय भवनको निर्माण तथा विकास गर्नुपर्छ । भूमिगत पार्किङसहितको नयाँ भवन निर्माणको लागि नगरपालिकाले आर्थिक सहयोग गर्नुपर्छ । भूकम्पले क्षति पु¥याएको यो स्कूल नयाँ भवनको नक्सा नगरपालिकाबाट पास भइसक्दा पनि अहिलेसम्म निर्माण कार्य सुरु गर्न सकेको छैन । नगरपालिकाले दीर्घकालीनरूपमै अत्याधुनिक व्यवस्थित पार्किङको बारेमा अहिलेदेखि नै सोच्दा राम्रो हुन्छ ।
नगरपालिकासँग अहिले करिब २०० जना सफाइ मजदुरहरू कार्यरत छन् । तिनीहरूको कामप्रतिको लगनशीलतालाई सलाम गर्नैपर्छ । तर, ती सबै कामदारहरू भित्री नगरमा मात्र सीमित रह्यो जस्तो छ । नगरभित्र मन्दिरहरूमा घाँस झारपात उखेलिरहेको हामी देख्छौँ । तिनीहरूलाई नगरपालिकाले बनाएको सिद्धपोखरी वरिपरि बनाएको बगैँचाको स्याहार सुसारमा पनि खटाउन पाए नगरपालिकाले गरेको लगानी सदुपयोग हुनेछ । सहरको सौन्दर्यतामा वृद्धि हुनेछ । यसको लागि नगरपालिकाले बगैँचा (Gardener) हरू पनि नियुक्ति गर्दा राम्रो होला । कमलविनायक प्लानिङ क्षेत्रमा रहेको खुला क्षेत्र तःमुंज्या पार्क अलि राम्रो बनाए पनि माटो थुपारेको कारण हेर्न नहुने अवस्थामा पुगेको छ । नगरपालिकाले यी र यस्ता खुला क्षेत्रको सौन्दर्यीकरणमा विशेष ध्यान दिन अब ढिला नगरौँ । सौन्दर्यीकरणमा योजना बनाउँदा हरियो फूलको बोट, घाँस रोप्ने, काँटछाँट नियमित गर्ने, रुख चौतारा बनाउनेदेखि हामीकहाँ घरेलुरूपमै उत्पादन हुने मृत्तिका कला प्रशस्त मात्रामा प्रयोग गरी स्थानीय उत्पादनको प्रमोसन गर्ने काम गर्न सकिन्छ ।
अहिले हामीकहाँ भएका मन्दिर परिसरहरू मनलाग्दो किसिमले बनाउने र बनाउन दिने परिपाटी बसेको छ । यसलाई व्यवस्थित र परम्परागत तरिकाले घर टहराहरू बनाउनेतिर नगरपालिकाको ध्यान जानुपर्छ । मन्दिरमा जथाभावी रङ्गरोगनमा खर्च गर्नु कोषको अपव्यय नै हो । यसले सम्पदालाई क्षणिकरूपमा राम्रो त बनाउला तर दीर्घकालीनरूपमा सम्पदालाई कुरूप र खर्चालु नै बनाएको छ । सुनलाई खोल चाहिन्छ र ? त्यसैले यस्तो कार्य तत्काल रोक्नुपर्छ । सफा सुन्दर भक्तपुर अबको नगरपालिकाको योजनामा परोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *