ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
के साँझपखको केही घण्टा रमाइलो सङ्गतमा नाच्दै बिताउनु स्वास्थ्यका लागि चमत्कारिक हुन सक्छ ? चीनमा मेरो अनुभवले यस प्रश्नको उत्तर ‘हो’ भन्ने प्रस्ट सङ्केत दिएको छ । केही समयअघि मैले सिचुवान प्रान्तको चेङ्दु र पान्जिहुवा सहरहरूको भ्रमण गरेको थिएँ । साँझको समय सार्वजनिक स्थानहरूमा पुग्दा मैले देखेको दृश्य साँच्चिकै रोचक र प्रेरणादायक थियो– वृद्धदेखि युवासम्म, पुरुषदेखि महिला सबैजना सङ्गीतको तालमा खुला ठाउँमा रमाउँदै, एकआपसमा मिलेर नाचिरहेका थिए । त्यो दृश्य मनोरञ्जन मात्र होइन, स्वास्थ्य, सामाजिक सम्बन्ध र मानसिक शान्तिको अभ्यासजस्तो लाग्यो ।
इतिहास : कसरी सुरु भयो सार्वजनिक नाचगान ?
‘Guangchang Wu’ (???), जसको अर्थ हो ‘पब्लिक स्क्वायर डान्स’, चीनमा सार्वजनिक नाचगानको अभ्यास सन् १९९० को दशकदेखि सुरु भएको हो । ग्रामीण क्षेत्रबाट सहरतिर स्थानान्तरण भएका वृद्धवृद्धाहरू, विशेषगरी महिलाहरू एक्लोपन र खाली समयलाई सकारात्मक दिशामा प्रयोग गर्न एक–अर्कासँग भेला भएर नाच्ने अभ्यासमा लागे ।
सुरुवातमा यो अभ्यास केबल थोरै मानिसहरूद्वारा साना पार्क वा खुला चौकहरूमा गरिन्थ्यो । बिस्तारै यसले व्यापक रूप लियो । अहिले त यो चीनको सहर–सहरमा सामान्य दृश्य बनेको छ – पार्कहरू, मल अगाडि र आवासीय क्षेत्रहरूमा दैनिकरूपमा सयौँ मानिसहरू सङ्गीतमा रमाइरहेका हुन्छन् ।
शारीरिक फाइदा – वैज्ञानिक प्रमाणसहित
नियमितरूपमा सार्वजनिक स्थानमा नाचगानमा संलग्न हुने मानिसहरूमा शारीरिक स्वास्थ्य उल्लेखनीयरूपमा सुधारिएको पाइन्छ ।
– पेइचिङ स्पोर्ट युनिभर्सिटीले गरेको एक अध्ययन (सन् २०२०) अनुसार, स्क्वायर डान्समा दैनिक ३०–६० मिनेट संलग्न हुने महिलाहरूको रक्तचाप, कोलेस्ट्रोल र शरीरको बोसोको मात्रा उल्लेखनीयरूपमा घटेको पाइयो ।
– जर्नल अफ एजिइङ एन्ड फिजिकल एक्टिभिटीमा प्रकाशित एक अध्ययनले स्क्वायर डान्सले ५० वर्षभन्दा माथिका महिलामा कार्डियो भास्कुलर स्वास्थ्य सुधार गरेको देखाएको छ ।
यसले निम्नलिखित शारीरिक फाइदाहरू पु¥याउँछ :
१. हृदयको क्षमता सुधार हुन्छ ।
२. तौल घटाउँछ, बोसो कम गर्छ ।
३. उमेरअनुसार उपयुक्त गतिशीलता कायम राख्न सहयोग गर्छ ।
मानसिक फाइदा – मन र मस्तिष्कको ऊर्जा
– चीनको साङ्घाई युनिभर्सिटीद्वारा २०१८ मा गरिएको अध्ययनमा सहभागी वृद्धवृद्धामा स्क्वायर डान्सले डिप्रेसनका लक्षण ३० प्रतिशतले घटाएको देखिएको थियो ।
– फ्रन्टायर्स इन साइकोलोजी पत्रिकामा प्रकाशित अनुसन्धानअनुसार यस्तो नृत्य अभ्यासले स्मृति सुधार र आत्म–सन्तुष्टि बढाउने प्रमाण पाइएको छ ।
सारांशमा,
नाचगानले – तनाव घटाउँछ,
– मूड अपलिफ्ट गर्छ,
– आत्मविश्वास बढाउँछ ।
सामाजिक फाइदा – सम्बन्धमा मिठास
स्क्वायर डान्स केबल शारीरिक अभ्यास नभई सामाजिक सहभागिताको सशक्त रूप हो ।
– चाइनिज जर्नल अफ सोसियोलोजीमा प्रकाशित एक अध्ययनमा सहभागीहरूद्वारा नाचगानमार्फत आफू समुदायसँग जोडिएको महसुस भएको, एक्लोपन कम भएको र सामाजिक जीवन समृद्ध भएको बताइएको छ ।
कम लागतमा अधिक लाभ
यो अभ्यासको सबैभन्दा राम्रो पक्ष भनेको – यसका लागि धेरै खर्च लाग्दैन । खुला ठाउँ, एउटा सानो स्पिकर र केही उत्साही मानिस चाहिन्छ ।
न त जिमको महँगो सदस्यता आवश्यक पर्छ, न विशेष पोशाक वा उपकरण । सबै उमेर समूहका मानिसहरूले सजिलै भाग लिन सक्छन् । चीनमा कतिपय ठाउँमा स्थानीय सरकारले पनि यस्तो नृत्य अभ्यासलाई प्रोत्साहन गर्न स्पिकर, लाइटिङ र नृत्य प्रशिक्षकको व्यवस्था समेत गरेको छ ।
नेपालमा यसको सम्भाव्यता
नेपालजस्तो समाजमा जहाँ साँझपख चिया खाने, टोलका चोकमा गफ गर्ने चलन छ, त्यही समयलाई नाचगानजस्तो फाइदाजनक अभ्यासमा रूपान्तरण गर्न सकिन्छ ।
– स्थानीय निकायले सामुदायिक ठाउँहरूलाई यस्तो गतिविधिका लागि उपयोग गर्न सक्ने व्यवस्था गर्नसक्छन् ।
– टोल सुधार समिति वा युवा क्लवहरूले नेतृत्व लिन सक्छन् ।
– स्वास्थ्य संस्थाहरूले प्रचारप्रसार र प्रारम्भिक तालिम दिन सक्छन् ।
धेरैजसो नेपाली सहरहरूमा खुला स्थान, चोक, पार्क तथा सामुदायिक भवनहरू छन्, जुन यस कार्यको लागि प्रयोग गर्न सकिन्छ ।
मेरो अनुभव
मैले चेङ्दु र पान्जिहुवा भ्रमणको क्रममा देखेको जनजीवनले मलाई एकदमै छोयो । साँझपख काम सकिएको थकाइपछि मानिसहरू खुला ठाउँमा निस्केर साथीभाइसँग रमाउँदै नाचिरहेका थिए । त्यो नाचमात्र थिएन – स्वास्थ्यप्रति जिम्मेवार व्यवहार, समाजसँग जोडिने प्रक्रिया र सकारात्मक जीवनशैलीको अभिव्यक्ति थियो ।
निष्कर्ष
हामीले सधैँ भनिरहन्छौँ, “चीनजस्तो विकास भएको देशको कुरा हो, नेपालमा सम्भव छैन ।” तर, साँचो चाहना, थोरै योजना र थोरै स्रोतले पनि हामी यस्तो अभ्यास सुरु गर्न सक्छौँ । स्वास्थ्य, मानसिक शान्ति र सामाजिक सम्बन्ध – यी सबै एकैचोटि सुधार गर्न सक्ने अभ्यास नेपालमा पनि प्रारम्भ गरिनुपर्छ । सुरुवात सानो टोलबाट गरौँ र विस्तार समुदायसम्म पु¥याऔँ । आजको मोबाइल चलाउने समयलाई भोलिको स्वस्थ जीवनशैलीमा रूपान्तरण गरौँ ।
हामी पनि साँझपख रमाउँदै, तालमा नाच्दै, स्वास्थ्य र मित्रता सँगसँगै अगाडि बढ्न सक्नेछौँ ।
(डा. पार्थ गुरागाईं विराट मेडिकल कलेजमा सामुदायिक चिकित्सा विभागमा कार्यरत छन् ।)
Leave a Reply