ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
काभ्रे, २० वैशाख । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी काभ्रेको आयोजनामा बनेपामा शनिबार विचार गोष्ठी भयो ।
उक्त गोष्ठीमा नेपाल मजदुर किसान पार्टी काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले युवाहरूलाई विदेशमा पठाएर देशको विकास नहुने र स्वदेशमै रोजगारी दिनुपर्ने बताउनुभयो । देशका कलकारखाना बन्द गरेर, जमिन बाँझो राखेर र दैनिक उपभोग्य वस्तुहरू आयात गरेर पुँजीवादी शासकहरूले देशलाई लथालिङ्ग पारेको हुँदा समाजवादी व्यवस्थाको पक्षमा मजदुर आन्दोलन अगाडि बढाउनु आवश्यक भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी व्यवस्थामा मात्रै मजदुरहरूको श्रमको उचित कदर हुन्छ । समाजवादी व्यवस्थामा उत्पादनका मुख्य–मुख्य साधन र सेवा सबै राष्ट्रियकरण हुन्छ भने सबै नागरिकहरूलाई व्यक्तित्व विकासमा समान अवसर हुन्छ । राज्यले योग्यताअनुसारको काम र कामअनुसारको ज्याला दिन्छ ।”
नेमकिपा काभ्रेका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले सरकारले बिदाको दिनमा मजदुरहरूको ज्याला कटौती गर्ने नीति ल्याएर श्रमिकको अहितमा काम गरेको चर्चा गर्नुभयो ।
‘नो वर्क नो पे’ र ‘हायर एन्ड फायर’ श्रमिकहरूको हितमा नभई पुँजीपतिहरूको पक्षमा बनेको नीति भएको उहाँले बताउनुभयो ।
नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुच्छेप्रधानले शासक दलका मजदुर सङ्गठनहरूले मजदुरहरूबिच फाटो ल्याएर आफ्नो दुनो सोझ्याउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मजदुरहरू सचेत र सङ्गठित भएर आन्दोलन अघि नबढाएसम्म मजदुरहरूको जीवनयापन सहज हुनसक्दैन ।”
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ काभ्रेका सचिव तुलाराज शाही ठकुरी र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रेका सहसचिव राजु तामाङले मे दिवसको इतिहासबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply