भर्खरै :

चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण

चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण

भक्तपुर, २० वैशाख । प्रगति पुस्तकालयको आयोजनामा तीनमहिने आधारभूत चित्रकला तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम शनिबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कलाकार बन्न सजिलो नहुने तर निरन्तर मेहनत गरेको खण्डमा अवश्य सफलता हासिल गर्न सकिने बताउनुभयो ।
वर्तमान समयमा बालबालिकाहरू मोबाइलमा बढी संलग्न हुँदा मानसिक तथा शारीरिक समस्या आउने गरेकोले पारिवारिक वातावरणमा बालबालिकालाई हुर्काउनुपर्ने र बाहिरी सामाजिक वातावरणमा पनि घुलमिल गराउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । अभिभावकहरूले बालबालिकाले तयार गरेको चित्र डिजिटलाइज गरी फाइलिङ गर्नुपर्ने उहाँले बताउनुभयो ।
मिलन गणेजुले नेमकिपाको घोषणापत्रबमोजिम विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको चर्चा गर्दै भक्तपुरबाट प्रतिभावान कलाकारहरू जन्मिनु भक्तपुरको लागि गौरवको विषय रहेको बताउनुभयो ।
तालिमका प्रशिक्षक विकास तमखुले चित्रकला तालिममा सिकेको कुरालाई निरन्तरता दिनुपर्ने बताउँदै अभिभावकहरूले पनि बालबालिकालाई चित्रलेखनमा हौसला दिनुपर्ने बताउनुभयो ।
प्रगति पुस्तकालयका अध्यक्ष रवीन्द्रप्रसाद कुसीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट रागिनी प्रजापति र शुभम पञ्च तथा अभिभावकको तर्फबाट सुमित्रा त्यात, पुस्तकालय समितिका सदस्य प्रविश प्रजापति र रुवन प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ज्याख्वले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *