नयाँ सरकारसँग भारतको के सहकार्य हुने ?
- जेष्ठ २१, २०८३
राजनीतिक दल देश र जनताप्रति समर्पित भएजस्तै सञ्चारमाध्यम या पत्रकारिता पनि देश र जनताप्रति समर्पित हुनुपर्छ । पत्रकारिता नाफाको निम्ति गरिने होइन । पत्रकारिताले देश र जनताको विषयमा लेख्नुपर्छ । पत्रकारिता आय आर्जन गर्न र पत्रिका बिकाउनको निम्ति अश्लील तस्बिर छाप्ने उच्छृङ्खल गतिविधिलाई फोकस गर्ने, विकृति र विसङ्गतिलाई स्थान दिने हिसाबले समाचार, लेख लेखेर समाजमा गलत सन्देश छर्ने काम उचित होइन । पत्रिकामा गतिविधिका समाचारमात्र छाप्ने होइन दृष्टिकोण र विचार पनि हुनुपर्छ । समाचार र विचार भयो भने समस्यामात्र होइन समाधानको उपाय पनि हुन्छ । यसकारण, आस्थाको पत्रकारिता पनि हुनुपर्छ भनिएको हो ।
कुनै नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कर्मचारीले भ्रष्टाचार वा अनियमितता गरे, घुस खाएको समाचारमात्र होइन त्यस्ता भ्रष्टाचारीलाई कारबाही पनि गर्नुपर्छ भन्ने कुरा लेख्नु आवश्यक छ । भ्रष्टाचार नियन्त्रण गर्ने उपायबारे लेख्नुपर्छ । अनि मात्र समाचार र लेख सन्देशमूलक हुन्छ । ‘पत्रकारिता राजनीतिबाट अलग्ग हुनुपर्छ; पत्रकारिता स्वतन्त्र हुनुपर्छ’ भन्दैमा पत्रकारिता राजनीतिबाट अलग हुनसक्दैन । यो राजनीतिक व्यवस्थामा कुनै पनि पत्रकार राजनीतिबाट अलग हुनसक्दैन । प्रत्यक्ष या अप्रत्यक्ष रूपमा हरेक पत्रिका या पत्रकारले कुनै न कुनै दलको पक्ष लिएर समाचार, लेख छापिरहेकै हुन्छ ।
मे ३ प्रेस स्वतन्त्रता दिवसको दिन हो । सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घको महासभाले यो दिवस मनाउन थालेको हो । यस दिवसले स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिताको महत्व उजागर गर्दै आएको भनिएको छ । पत्रकारमाथि हुने हिंसा, दमन, सेन्सरसिप र दबाबविरुद्ध आवाज बुलन्द गर्ने पत्रकारहरूको सङ्गठित आवाज नै विश्व प्रेस स्वतन्त्रता दिवसको सन्देश हो । हो, पत्रकारिताले सत्य–तथ्य उजागर गर्नुपर्छ । अन्याय, अत्याचार, दमन, असमानता, पक्षपात, भ्रष्टाचार, अनियमितता, आपराधिक गतिविधिको विरोध गर्नुपर्छ । एउटा देशले अर्काे देशमाथि गरेको हस्तक्षेप, अतिक्रमण, आक्रमण र दबाबको विरोध गर्नुपर्छ । बलियाले निर्धालाई जे पनि गर्नसक्छ भन्ने सामन्ती चरित्रको विरोध गर्नुपर्छ ।
पत्रकारिता पेसालाई हतोत्साही पार्ने; कुनै मन्त्री, सांसद, उच्चपदस्थ व्यक्तिले घुस खाएको वा अनियमितता गरेको खबर छापियो भनेर औँलाठड्याउने; मुद्दा राख्ने; पत्रकारलाई हतोत्साही बनाउन लाखौँ जरिवाना गर्ने, दबाब वा धम्की दिने काम के अभिव्यक्तिको स्वतन्त्रताविपरीत पर्दैन ? राजनीतिक आस्थाको आधारमा पत्रकारिता गर्नु आश्चर्यको विषय होइन; यो आवश्यक छ । पत्रकारिता पत्रकारहरूको हकहितको निम्ति मात्रै आवाज उठाउने पेसा होइन । देशको वस्तुस्थिति गाउँ–गाउँ र बस्ती बस्तीका जनतालाई अवगत गराउने, आदर्शोन्मुख समाज निर्माणको निम्ति उत्साहित र उत्प्रेरित गर्ने, देशभक्त नागरिक तयार गराउने, विदेशी थिचोमिचो र आक्रमणको विरोध गरेर देशको स्वाधीनता र सार्वभौमसत्ताको निम्ति लड्ने भावनाको विकास गराउने उद्देश्य पनि पत्रकारिताको हुनुपर्छ ।
राजनीतिले पत्रिका कुण्ठित हुने होइन । पत्रिकाले असत्य, झूट र मिथ्या प्रचार गर्नु मनासिब हुँदैन । पत्रकारिताको काम जो जसको सरकार आउँछ त्यसको अन्धो समर्थन वा पक्षपोषण गर्नु होइन । सरकारको कमीकमजोरी औँल्याएर खबरदारी गरेर सही बाटो नदेखाउने पत्रकारिता आस्थाको हुनसक्दैन । त्यस्तो पत्रिका खालि नाफाको निम्ति सञ्चालन गरिएको हुन्छ । नाफामात्र हेर्ने पत्रिकाले देश र जनताको वास्ता गर्दैन । सामाजिक सञ्जालको प्रयोग बढेसँगै मिथ्या सूचनाले स्थान पाएको छ । कुण्ठाग्रस्त प्रजारबाजीले गर्दा मिथ्या सूचनाको अपजस सञ्चारमाध्यमले भोग्नुपरेको छ । पत्रकारिता सिद्धान्त र समाजप्रति उत्तरदायित्वको कसीमा बाँधिएको हुन्छ ।
गत चैत १५ गते काठमाडौँको तीनकुनेको घटनामा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भयो । सन् २०२४ मा विश्वभरि १२४ जना पत्रकार र मिडियाकर्मीको हत्या भएको खबर प्रकाशमा आएको छ । यसमध्ये ७० प्रतिशत मृत्यु गाजापट्टीका र लेबनानमा इजरायली सेनाको कारण भएको थियो । गाजापट्टीमा मात्र ८२ जना प्यालेस्टिनी पत्रकारको मृत्यु भएको खबर छ । यस अर्थमा गएको वर्ष प्रेस स्वतन्त्रता दुःखद रह्यो । पत्रकारिता पेसा सुनिश्चित छैन । लोककल्याणकारी विज्ञापन छापेबापत पाउने रकम पुरानै छ । सरकारले पत्रिका छाप्नको निम्ति सहुलियत दरमा कागज उपलब्ध गराउनुपर्छ । मेसिन र मेसिनका औजार सस्तोमा बिक्री–वितरण गर्नुपर्छ । तर, यस्तो सेवा सुविधा दिने कुरा सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छैन ।
Leave a Reply