राजनीतिक रूपमा सचेत हुन पार्टी प्रकाशनहरू अध्ययन गर्न आवश्यक
- जेष्ठ २०, २०८३
अमेरिकी साम्राज्यवादले अझै साम्राज्यवादको नाइकेको भूमिका निर्वाह गर्दै छ । उसको आक्रमणकारी चरित्रमा अलिकति पनि हेरफेर भएको छैन । जब जब साम्राज्यवादीहरू अप्ठ्यारो स्थितिमा पर्छन् तब तब प्रजातन्त्र, सुरक्षा र शान्तिको ध्वाङ फुक्छन् । अमेरिकी साम्राज्यवादीहरू आन्तरिक र बाह्यरूपमा गम्भीर सङ्कटको सामना गर्दै छन्† विश्वमा उनीहरू बदनामसँगै पतन हुँदै छन् । अमेरिकामै जनताको युद्धविरोधी आन्दोलन हुँदै छ । अमेरिकी साम्राज्यवादले हिन्द–चीन र संसारका अरु देशहरूमा पनि हार खाइरहेको छ । संसारका स्वाभिमानी, स्वाधीनताप्रेमी, शान्तिकामी जनताले अमेरिकी साम्राज्यवादको खुलमखुला विरोध गरिरहेका छन्; साम्राज्यवादको विरोधमा हरेक दिनझैँ जुलुस प्रदर्शन तथा सभा गरिरहेका छन् । यो अमेरिकी साम्राज्यवादको संसारमा बदनाम मात्र होइन पतनको सङ्केत पनि हो । शान्ति, सुरक्षा, विकास चाहने देशभक्त, क्रान्तिकारी र प्रगतिशील तथा सङ्घर्षशील जनताले ‘शान्ति’ र ‘प्रजातन्त्र’ को पर्दाभित्र लुकेका अमेरिकी साम्राज्यवादीहरूले बढाएका आक्रमण, युद्ध गर्ने, गराउने र युद्ध गराउन उक्साउने कार्यको एकै स्वरमा विरोध गरिरहेका छन् । उनीहरूले अमेरिकाले गरेको ज्यादती, दमन, हस्तक्षेप र आक्रमणलाई एक एक गरी हेरिरहेका छन् र समीक्षा गरिरहेका छन् ।
अमेरिकी साम्राज्यवादले एसियाली आक्रमणमा जापानी सैन्यवादलाई ‘धावा बोल्ने शक्ति’ को रूपमा उपयोग गर्ने नीति लिएको थियो । अमेरिकी र जापानी आक्रमणकारी शक्तिमाझ कुनै पनि बेला एक ठाउँमा उभेर ‘शान्ति’ र ‘स्थिरता’ को नाउँमा कतै हस्तक्षेप या आक्रमण गर्न सकिन्छ । अमेरिकी साम्राज्यवादको रेखदेखमा जापानमा सैन्यवादको पुनरुत्थान भएको इतिहास संसारका स्वाभिमानी जनताले भुलेका छैनन् । अमेरिकामा झैँ जापानी सैन्यवादीहरूको आक्रमणकारी योजनाको विरोधमा जापानी जनता उभेका छन् । जापानी सैन्यवादीहरूले युद्ध छेड्ने कोसिस गरेमा जापानका जनता चुप लागेर बस्ने छैनन् । जापानी शासकहरूमाझ नै युद्धको विरोध गर्ने पक्ष पनि नभएको होइन । अमेरिकी साम्राज्यवादीहरूले एक समय चीनलाई अलग राख्ने र नाकाबन्दी गर्ने नीति नलिएको होइन । तर, चीन डराएन, झुकेन । बरु चीन शक्तिशाली समाजवादी राज्य बनेको छ । समयको परिवर्तनसँगै अहिले त संसारका मुलुकमा साम्राज्यवादविरोधी शक्तिको विकास र विस्तार भइरहेको छ । जनवादी गणतन्त्र चीनको अन्तर्राष्ट्रिय प्रतिष्ठा दिन प्रतिदिन बढ्दै छ । सबै देशले विकास गर्न एकले अर्काेलाई सहयोग गर्नुपर्छ; विश्वमा शान्ति छर्नुपर्छ; विश्व सुरक्षित हुनुपर्छ; विश्वमा आतङ्क मच्चाएर हतियार बेचेर देश धनी हुने होइन भन्ने जनवादी गणतन्त्र चीनको विचार, कार्यशैली र गतिविधिले चिनियाँ सरकार र चिनियाँ जनताको समर्थन बढ्दै छ । यो चिनियाँ सरकार, चिनियाँ पार्टी र चिनियाँ जनताको विजयको सङ्केत हो ।
अमेरिकी साम्राज्यवादको विरोधमा भियतनामी जनताले वीरतापूर्ण लडेको इतिहास पनि स्मरण गर्नु समीचीन नै हुनेछ । साम्राज्यवादविरुद्ध कम्बोडिया र लाओसका जनताले लडेको पनि इतिहास छ । कोरिया, चीन, भियतनाम, कम्बोडिया, लाओस र अरु एसियाली देशका जनताले साम्राज्यवादी नीति र त्यसको चलखेलविरुद्ध अझै न्यायपूर्ण सङ्घर्ष गरिरहनुपर्ने आवश्यकता छ । अमेरिकी साम्राज्यवादले संयुक्त राष्ट्र सङ्घको मूल्य र मान्यताको खिल्ली उडाइरहेको छ । यसमा संयुक्त राष्ट्र सङ्घ सचेत र चनाखो हुनु आवश्यक छ । संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली बन्नु हुँदैन । संयुक्त राष्ट्र सङ्घको बदनाम गर्ने, संयुक्त राष्ट्र सङ्घलाई उपयोग गरेर संसारका मुलुकलाई आफ्नो प्रभाव जमाउने, उपनिवेश बनाइरहेको तर्फ सङ्घ सचेत हुनुपर्छ । इतिहास पल्टाउँदा कोरियामा आक्रमण गर्ने एक देश जापान हो । प्रजग कोरियामा हमला गर्ने जापानी जनता होइन साम्राज्यवादी जापान हो । जापानी सरकारले पनि गलत नीति छोड्नुपर्छ, जापानी सरकारले प्रजग कोरियालाई हेर्ने पहिलेको शत्रुतापूर्ण नीतिमा हेरफेर गर्नुपर्छ ।
प्रजग कोरियाका महान् नेता किम इल सङले विभाजित उत्तर र दक्षिण कोरियालाई एकीकरण गर्ने धेरै यत्न गरेका थिए । दुई देशका जनताबिच शान्तिपूर्ण पुनः एकीकरणको आवश्यक महसुस भएको थियो । तर, साम्राज्यवादी शासकहरूले एकता हुन नदिन अनेक षड्यन्त्र गरे, भ्रम फैलाए । दक्षिण कोरियाली सरकार साम्राज्यवादी देश अमेरिकाको कठपुतली बन्यो । कोरियाको पुनः एकीकरण देशको आन्तरिक मामिला भएकोले यसको समाधान बाहिरी शक्तिहरूको हस्तक्षेपबाट होइन कोरियाली जनताकै प्रयासबाट, युद्धबाट होइन शान्तिपूर्ण ढङ्गले हुनुपर्छ भन्ने विचार किम इल सङको हो । तर, अमेरिकाजस्ता साम्राज्यवादी देशहरू उत्तर र दक्षिण देशबिचको एकीकरण चाहँदैनन् । एकीकरणको बाधक अमेरिका बनेको छ ।
प्रजग कोरियाले समाजवादी देशलाई स्वाधीन, आत्मनिर्भर, आत्म सुरक्षा, समृद्ध र बलियो देश बनाउन किम इल सङकै पालामा ६ वर्षे योजना बनाइएको थियो । ६ वर्षे योजनाको मुख्य उद्देश्य प्राविधिक क्रान्ति पनि हो । प्राविधिक क्रान्तिका तीन अभिभारामध्ये भारी र हल्का श्रमबिचको भेदलाई कम गर्न औद्योगिक शाखामा प्राविधिक क्रान्ति, कृषि र औद्योगिक श्रमबिचको भेदलाई कम गर्न ग्रामीण इलाकामा प्राविधिक क्रान्ति र महिलालाई घरेलु कामको ग¥हौँ बोझबाट मुक्त गर्न प्राविधिक क्रान्ति गर्नु रहेको छ । यी अभिभारा पूरा गर्न औजारहरूको उत्पादन जरुरी हुन्छ । औजार उत्पादन गर्न यन्त्र औजार कारखानाहरू खोलिए । ट्याक्टर र मोटरको उत्पादन बढाइयो । मजदुर किसानको जीवनस्तरबिचको भेद र सहरी र ग्रामीण जनताका जीवन अवस्थाको भेदलाई अन्त्य गर्ने पाइला चालियो । प्राविधिक क्रान्तिसँगै सांस्कृतिक क्रान्तिको निम्ति बाटो तयार गरियो । श्रमिक जनताको ज्ञानको स्तर बढाउन प्रविधि र विज्ञानको स्तरलाई उँचो पार्ने काम गरियो । सन् १९६७ मै अनिवार्य नौवर्षे प्राविधिक शिक्षा लागु गरेर ८ देखि १७ वर्षभित्रका सबै केटाकेटी र नौजवानहरूले निःशुल्क शिक्षा पाए । अनिवार्य नौवर्षे प्राविधिक शिक्षामा प्राप्त भएको सफलता र अनुभवको आधारमा पछि अनिवार्य दसवर्षे शिक्षा लागु ग¥यो । पछि ११ वर्षे शिक्षा लागु गरियो ।
प्रजग कोरियामा पहिले नै मानिसले मानिसलाई गर्ने शोषण उन्मूलन भएको थियो । समाजवादी व्यवस्था स्थापना हुँदैमा जनताको एकता र जनतामा सैद्धान्तिक स्तर आफसेआफ बढ्छ भन्ने कुरा होइन । यसको लागि विचारधारात्मक क्रान्तिको जरुरत पर्छ । समाजवादी व्यवस्था प्राप्तपछि पनि पहिलेका वैरी तत्वहरू रहेका हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ । वैरीविरुद्ध सतर्क र सचेत भएन र सिद्धान्त र विचारमा जोड दिइएन भने वैरीहरू सक्रिय भई पेल्न पछि पर्दैनन् । समाजलाई क्रान्तिकारीकरण र मजदुर वर्गकृत गर्ने काम सामाजिक जीवनको हरेक क्षेत्रबाट सबै पुराना या प्रतिक्रियावादी विचार हटाउने उपाय भनेको वर्गसङ्घर्ष हो । यसकारण, जनतालाई विचारधारात्मक शिक्षा दिइनुपर्छ । यसले मजदुर र किसानबिचको वर्ग भेद अन्त्य गर्न सघाउँछ; समाजवादी विचारप्रति विश्वास बढाउँछ ।
किम इल सङले अघि बढाएको अर्काे महत्वपूर्ण पक्ष जुच्छे विचारधारा हो । जुच्छे विचारधारा प्रजगको कोरियाली पार्टीको निर्देशक विचारधारा हो । क्रान्ति निर्यात वा आयात गर्न सकिँदैन । क्रान्ति विदेशीहरूले गर्ने होइनन् । क्रान्ति गर्ने जनता त्यस देशका जनता नै हुन् । क्रान्तिमा विजयको तत्व त्यस देशको तागत नै हो । अरु देशले त साथ, समर्थन र सहयोग गर्ने हो । क्रान्ति र निर्माणलाई सम्पन्न गर्ने जनता नै हुन् । राजनीतिक अर्थतन्त्र, संस्कृति र सैनिक मामलाका सबै क्षेत्रहरूमा तय गरिने कार्यदिशा र नीतिको आधार जुच्छे विचारधारा हो । माक्र्सवाद–लेनिनवादको सिद्धान्तलाई जुच्छे विचारद्वारा प्रेरित अडानबाट देशको वास्तविक स्थितिसित मिल्ने गरी सृजनात्मक ढङ्गले लागु गरिएको छ – प्रजग कोरियामा । जुच्छे विचारधारा माक्र्सवादद्वारा अघि सारिएको ‘सबै देशका मजदुरहरू एक होऔँ’ सिद्धान्तमा आधारित छ । जुच्छे विचारधाराको आधारमा स्वाधीनतालाई कायम राख्ने, समर्थन गर्ने र अन्तर्राष्ट्रवादी एकता र सहयोगलाई बलियो पार्ने काम गरिएको छ । साम्राज्यवादको विरोध गर्नु, उपनिवेशहरूमा राष्ट्रिय मुक्ति आन्दोलन र विभिन्न देशमा भइरहेको मजदुर आन्दोलन या शोषित पीडित जनताको आन्दोलनलाई समर्थन गर्नु, समाजवाद र साम्यवादतर्फ निरन्तर अघि बढ्नु र एकले अर्काको घरायसी मामिलामा हस्तक्षेप नगर्ने, पारस्परिक सम्मान, समानता र पारस्परिक लाभको सिद्धान्त पालना गर्नु नै प्रजग कोरियाको मान्यता हो ।
नेपाल कोरिया मैत्री सङ्घ, नेपालले जन–गणतन्त्र कोरियाका तात्कालिक राजनीतिक र आर्थिक नीतिहरू तथा केही अन्तर्राष्ट्रिय समस्याहरूबारेको पुस्तक सन् १९७२ मै प्रकाशित गरेको थियो । यो पुस्तक जापानी अखबार र योम्युरी शिम्बुनका पत्रकारहरूले सोधेका प्रश्नहरूको प्रजग कोरियाका महान् नेता किम इल सङले दिएको जवाफको सँगालो हो । कोरियाली पत्रकार सङ्घको केन्द्रीय समितिमार्फत पाएको प्रश्नलाई विषयवस्तुअनुसार किम इल सङले दिएको जवाफलाई नै पुस्तकको आकार बनाइएको हो ।
Leave a Reply