भर्खरै :

नेपालमा माक्र्सवादसम्बन्धी अध्ययन : केही समस्याहरू

नेपालमा माक्र्सवादसम्बन्धी अध्ययन : केही समस्याहरू

हाम्रो प्रगतिशील फाँटमा माक्र्सवाद अध्ययनको आवश्यकता सामान्य रूपमा अनुभव गरिएको छ । आवश्यकताको अनुभवमात्र होइन, अध्ययन गर्ने काम पनि झन्झन् व्यापक हुँदै गइरहेको अनेकौँ तथ्याङ्कहरूबाट देखिन्छ । यो एक राम्रो र स्वस्थकर प्रवृत्ति हो ।
माक्र्सवादको अध्ययनको आवश्यकता किन ? हामीलाई माक्र्सवाद किन चाहियो ? यसबारे हाम्रा प्रगतिशील पाठकहरूका माझमा अस्पष्टता रहेको छैन । वस्तुस्थिति बुझ्ने साधन र परिवर्तनको विज्ञानको रूपमा त्यसको अध्ययन गर्नुपर्ने आवश्यकतालाई सबैले मान्छन् । त्यसैले, यहाँ हामी त्यसबारे चर्चा गर्न गइरहेका छैनौंँ । बरू हाम्रो सन्दर्भमा यस सम्बन्धमा देखिएका अन्य केही महत्वपूर्ण सवालहरूबारे यहाँ चर्चा गरिनेछ ।
पहिलो सवाल हो माक्र्सवादको अध्ययन गर्दा अपनाइने दृष्टिकोण
माक्र्सवादको अध्ययन कुन दृष्टिकोणबाट गर्ने ? अध्ययन विभिन्न दृष्टिकोणहरूबाट गर्न सकिने र गर्ने गरिएको सन्दर्भमा उक्त सवाल महत्वपूर्ण हुन्छ । त्यसको केही महत्वपूर्ण सूत्र तथा प्रस्थापनाहरू जान्ने दृष्टिकोणबाट गर्न सकिन्छ, आफ्नो विद्वताको प्रदर्शन गर्ने दृष्टिकोणबाट गर्न सकिन्छ वा आफूलाई कम्युनिस्ट भनाउने दृष्टिकोणबाट गर्न सकिन्छ वा विश्वविद्यालयको डिग्री लिने प्रयोजनको दृष्टिकोणबाट गर्न सकिन्छ । वास्तवमा हाम्रो मुलुकमा त्यसको अध्ययनमा उपरोक्त दृष्टिकोणहरू एक वा अर्को रूपमा देखापरेका छन् ।
स्वतः स्पष्ट कुरो के भने माथि उल्लेखित दृष्टिकोणहरू सही होइनन् र ती माक्र्सवादी भावनाका बिलकुलविपरीत छन् ।
माक्र्सवाद एक विशाल ज्ञान–भण्डार हो, यसलाई ज्ञानको खानी भन्नु एकदमै ठीक ठहर्छ । प्रत्येक वैज्ञानिक ज्ञानझैं यो पनि एउटा बीउ हो, यसको रोपाइँ गर्नुपर्छ, जसको हेरचाह तथा अभिवृद्धिको लागि उपयुक्त माटो, हावापानी र वातावरणको खाँचो पर्छ । ज्यादै पछ्यौटे वा ज्यादै निम्न–पुँजीवादी वातावरणमा यसलाई हुर्काउन तथा बढाउन निकै गा¥हो पर्छ । यसको एउटा ज्वलन्त प्रमाण हाम्रो आफ्नै मुलुक छ, जसको वातावरणमा यसलाई हुर्काउन कति कठिन छ भन्ने कुराको हामी आफैँ अनुभव गरिरहेका छौँ । यस सम्बन्धमा एउटा निर्णायक महत्वको कुरो त्यसलाई रोप्ने, हुर्काउने तत्वहरूको सामथ्र्य तथा खुबीको सवाल हो । भन्नै नपर्ने कुरो के भने बीउ आफैमा केही होइन र बीउको सार उम्रनु, बढ्नु र फल दिनुमा रहेको हुन्छ । बीउलाई रोप्नुपर्छ, त्यसलाई मलजल गर्नुपर्छ, त्यसको वृद्धिमा बाधक रहेका झारहरूलाई उखेलेर फाल्नुपर्छ । रोपाइँको सन्दर्भमा नै अवसरवाद र अवसरवादी तौरतरिकाको कुरो उठ्ने गर्दछ । अवसरवादी नेता तथा सङ्गठनहरूको हातबाट त्यसको रोपण, हुर्काउने काम ठीकसित पूरा हुन नसक्ने तथ्यलाई हामीले आफ्नै अनुभवबाट सिकिरहेका छौँ ।
तसर्थ, त्यसलाई ठीकसित रोप्न, मलजल गर्न, स्याहार्न जान्नेहरू अर्थात् योग्य, सक्षम तथा दक्ष माक्र्सवादीहरू हुनु अति जरूरी छ । लेनिनले एक ठाउँमा के भन्नुभएको थियो भने माक्र्सवादी सङ्गठनको अभावमा माक्र्सवादको कुनै प्रयोजन रहँदैन र त्यो बिलकुल ठीक छ, किनभने योग्य नेतृत्व र सङ्गठनहरूको अभावमा माक्र्सवादले सम्बन्धित मुलुकको माटोमा गहिरो जरा गाड्न सक्नेछैन ।
यथार्थमा, माक्र्सवादको अध्ययनले योग्य माक्र्सवादीहरू जन्माउन सक्नुपर्दछ र त्यसमा नै अध्ययनको सार्थकता रहन्छ । हामी मुलुकमा त्यसको अध्ययनमा मूल कमजोरी रहेको पाउँछौं । अध्ययन गर्नेहरूको सङ्ख्या अझसम्म कमै देखिएको छ । अध्येताहरूले सामान्य सत्यहरूको समष्टि रहेको माक्र्सवादलाई आफ्नो मुलुकको परिस्थितिको सन्दर्भमा लागु गर्न र त्यसलाई मुलुकको माटो र हावापानीअनुकूल बनाउन सकून्, त्यसलाई परिस्थितिसित मिल्दो गरेर ढाल्न सकून् अर्थात् स्पष्ट शब्दमा भन्ने हो भने, त्यसलाई सिर्जनात्मक तथा प्रभावकारी ढङ्गबाट लागु गर्न सकून् । तर यसो गर्नुपर्छ भन्न जति सजिलो छ, गर्न चाहिं त्यत्तिकै गा¥हो छ । माक्र्सवादको सिर्जनात्मक कार्यान्वयनले सक्षम, अनुभवी, सुझबुझयुक्त तथा परिपक्व नेतृत्वसहितको सक्षम सङ्गठनको अपेक्षा गर्छ । यो सर्त पूरा नभएमा माक्र्सवाद किताबी पानाहरूमा मात्र सीमित रहन जान्छ र त्यसले मुलुकको जनमुक्ति आन्दोलनको मस्तिष्कमा, लाखौँ जनताका विचार तथा कारबाहीहरूमा आफूलाई रूपान्तरण गर्न सक्नेछैन । फलस्वरूप, यो शोषित–पीडित जनताको हातमा क्रान्तिकारी रूपान्तरणको अस्त्र बन्नुको सट्टामा बुद्धिजीवीहरूको हातमा बौद्धिक कसरतको साधनमात्र बन्न जानेछ ।
यसरी, सिर्जनात्मक कार्यान्वयनमा नै माक्र्सवादको जीवन्तता, प्रभावकारिता तथा उपादेयता प्रस्फुटित हुने भएकोले, कार्यान्वयनकै दृष्टिकोणबाट त्यसको अध्ययन गरिनुपर्छ र मुलुकमा त्यस दृष्टिकोणबाट अध्ययन गर्नेहरूको सङ्ख्या बढाउनु ज्यादै जरूरी रहेको छ ।
दोस्रो हो – पाठ्यसामग्रीहरूको सवाल
सुविदित तथ्य के छ भने पाठ्यसामग्रीहरूको सम्बन्धमा पनि हाम्रो स्थिति राम्रो र सन्तोषजनक छैन । नेपाली र नेपालका अन्य भाषाहरूमा माक्र्सवादी कृतिहरूको अभाव खट्किरहेको छ र खास गरेर उपयुक्त पाठ्यसामग्रीहरू हुनु एकदमै आवश्यक छ । कुनै पनि विषयमा सही तथा वैज्ञानिक समझदारी हासिल गर्नका लागि उपयुक्त पाठ्यसामग्रीहरू हुनु एकदमै आवश्यक छ । माक्र्सवादको अध्ययन सम्बन्धमा नेपालीमा यस्ता सामग्रीहरू कम मात्रामा हुनु हाम्रोसामु एउटा ठुलो समस्या बनेको छ ।
माक्र्सवादसम्बन्धी पाठ्यसामग्रीहरूका दुइटा स्रोत रहेका छन्, विदेशी स्रोत र आन्तरिक स्रोत । केही विदेशी पुस्तकहरूका नेपाली अनुवादहरू प्राप्त छन् र त्यसमा माक्र्सवादको व्याख्या गरिएका सोभियत पुस्तकहरूको सङ्ख्या बढी छ । हाल यता नेपालीमा अनुदित त्यस्ता पुस्तकहरू बढी सङ्ख्यामा भित्रिन थालेका छन् । नेपालीमा लेखिएका माक्र्सवादी किताबहरूको अनुभवको परिप्रेक्ष्यमा उक्त कुरालाई स्वागतयोग्य मान्नुपर्छ, तर त्यसमा गरिएका गलत व्याख्या तथा विकृतिहरूबाट पाठकहरू निकै सजग हुनुपर्छ । त्यहाँ नेतृ–डफ्फाको धारणा र नीतिहरूसित मिल्दो गरी माक्र्सवादको व्याख्या गरिने भएकोले सो व्याख्या अक्सर विकृत रूपमा रहने गरेको हुन्छ । नेपालीमा अनुदित त्यस्ता गलत व्याख्याहरू जब नेपाली पाठकहरू पढ्छन् तब माक्र्सवादबारे गलत समझदारी हुन जाने खतरा रहन्छ ।
सुविदित तथ्य के छ भने सोभियत सङ्घ एक विश्व–प्रभुत्ववादी महाशक्तिमा फेरिएपछि, माक्र्सवादसम्बन्धी सोभियत पुस्तक तथा पत्रपत्रिकाहरूमा त्यसका प्रभुत्ववादी नीतिहरू न्यायोचित ठह¥याउन गलत धारणाहरूको व्यापक प्रचार हुँदै आएको छ । सोभियत नेतृ–डफ्फाको निर्देशन र त्यसको प्रभुत्ववादी नीतिअनुरूप त्यहाँ माक्र्सवाद–लेनिनवादलाई निकै विकृत पारिएको छ । हस्तक्षेप, आक्रमण तथा प्रभुत्ववादी नीतिहरूको न्यायोचितता प्रमाणित गर्ने उद्देश्यबाट त्यहाँ विवेचित माक्र्सवादमा यस्ता अनेकौँ धारणाहरू घुसाइएका छन्, जुन पूरै मात्रामा माक्र्सवादसित नमिल्दा छन् । खु्रश्चेभदेखि गोर्वाचोभसम्मको अवधिमा यस्तो विकृतीकरण निरन्तर रूपबाट हुँदै आएको छ । ‘सीमित सार्वभौमसत्तासम्बन्धी धारणा’, तथाकथित ‘प्रगतिशील सत्ता अपहरण’ (Progressive coup de–tat) सम्बन्धी सिद्धान्तजस्ता अवधारणाहरू, जसको प्रतिपादन सोभियत आक्रामक कार्यहरूलाई सैद्धान्तिक रूपले उचित ठह¥याउन गरिएको थियो र त्यस्तै ‘सम्पूर्ण जनताको राज्य’, ‘सर्तहीन प्रजातन्त्र’ (Unconditional Democracy) सम्बन्धी गोर्वाचोभको अवधारणा आदि सबै माक्र्सवादी होइनन्, बरू त्यसको विकृतीकरणमात्र हुन् । यस्ता थुप्रै गलत धारणाबाट विकृत पारिएको माक्र्सवाद अनुदित भएर हाम्रो मुलुकभित्र प्रवेश गराइँदै छ ।
उपरोक्त तथ्यले हामीलाई कुन निष्कर्ष निकाल्न बाध्य पार्छ भने ख्रुश्चेभ, बे्रझनेभ, गोर्वाचोभ र तिनका भरौटे सिद्धान्तविद्हरूका रचनाहरू पढेर माक्र्सवादसम्बन्धी सही समझदारी हासिल गर्न सकिँदैन । अहिले त त्यस्तो विकृतीकरण र इतिहास तथा ऐतिहासिक तथ्यहरूका फट्याइँ व्यापक रूपमा चल्दै छ र ती विकृति तथा फट्याइँहरू अनुदित भई हामीकहाँ पैठारी हुँदो छ ।
यस स्थितिमा, माक्र्सवादसम्बन्धी समझदारी निर्माण गर्न त्यसका उत्कृष्ट रचनाहरू अर्थात् माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङका महत्वपूर्ण कृतिहरूको अध्ययन एक अपरिहार्य आवश्यकता बन्दछ । खास गरेर, सोभियत नेतृ–डफ्फाको तर्फबाट बौद्धिक प्रभुत्व जमाउने उद्देश्यले र त्यसको निहित स्वार्थअनुरूप माक्र्सवादको अपव्याख्या गरिएका पुस्तकहरू सापेक्ष रूपले ठुलो सङ्ख्यामा पुस्तक बजारमा आइरहेको सन्दर्भमा, उपरोक्त उत्कृष्ट कृतिहरूको अध्ययन गर्नु झन् बढी जरूरी र अपरिहार्य बन्न गएको छ । तिनको गहन अध्ययन–मननले खु्रश्चेभदेखि गोर्वाचोभसम्मको सोभियत नेतृ–डफ्फाको चिन्तनधारा कति माक्र्सवादविरोधी छ भन्ने तथ्यलाई स्पष्ट पार्नेछ । तिनको अध्ययन गर्नुपर्ने अर्को पनि एउटा महत्वपूर्ण कारण छ । त्यो के भने उपरोक्त महान् कृतिहरूको अध्ययनले माक्र्सवादसम्बन्धी समझदारीलाई परिपूर्ण पार्नेछ, अध्येताको चिन्तन क्षमतालाई निकै बढाउनेछ र उसको ज्ञानको क्षितिजलाई विस्तारित गर्नेछ । त्यसैले, त्यस्ता कृतिहरूको नेपालीमा ठीक सरल तथा बोधगम्य ढङ्गबाट अनुवाद हुनु निकै महत्वपूर्ण हुन्छ ।
जेहोस्, एउटा कुन महत्वपूर्ण कुरा बुझ्नु जरूरी छ भने हामीले माक्र्सवादको व्याख्याका नाउँमा विदेशी पुस्तकहरूमा भएका कुराहरूलाई निश्चित सत्य मानेर बिनाविश्लेषण ग्रहण ग¥यौं भने त्यो बेठीक हुनेछ । माथि देखाइएझैं तिनमा अनेकौं विकृतिहरू घुसाइएका छन् र ती विकृतिहरू कदापि माक्र्सवाद होइनन् । त्यस्तै, माक्र्सवादी साहित्यको नाउँबाट अनेकौँ नेपाली पुस्तकहरू पनि निस्किरहेका छन् र भविष्यमा झन्झन् अधिक सङ्ख्यामा अवश्य नै निस्कनेछन् । तिनमा माक्र्सवाद सिक्ने दृष्टिकोणबाट ज्यादै कमसल, बेकम्मा र अनेकौँ गल्ती हुनसक्छन् र हामी त्यस्ता पुस्तकहरू निस्कने कुरालाई इच्छा गरेरमात्र हटाउन सक्दैनौँ ।
उपरोक्त स्थितिको सन्दर्भमा एउटा महत्वपूर्ण सवाल उठ्दछ र त्यो हो–छनौटको सवाल । कस्ता किताबहरू ग्रहण गर्ने र कस्तालाई फाल्ने ? कुनलाई लिने, कुनलाई हटाउने ? प्रश्नको जवाफ साधारण र स्पष्ट छ । सबैले (तावेदारी र चाप्लुसीहरूलाई छाडेर) यसको जवाफमा के भन्नेछन् भने हामीले असल र सही जति लिनुपर्छ र बेकम्मा र खराब कुराहरूलाई पन्छाउनुपर्छ । तिनमा भएका राम्रा कुराहरूलाई ग्रहण गर्नु, विषालु, झूटा र आधारहीन कुरालाई फाल्नु– यो नै सर्वोत्तम उपाय हो । यहाँ हामीले त्यस्तै गर्नुपर्छ, जसरी दूध पिउँदा हाँसले दूधको भाग जति पिएर पानीलाई छोडिदिन्छ । यसो गर्नु ज्यादै आवश्यक छ । यस आवश्यकताले कुन कुराको अपेक्षा गर्छ भने हामीले आफूमा आलोचनात्मक ढङ्गले ग्रहण गर्ने शक्तिको विकास गर्नुपर्छ, कुन ठीक कुन बेठीक (व्यक्तिगत मनपर्ने वा नपर्ने आधारमा होइन) छुट्याउने क्षमता बढाउनुपर्छ, सच्चा माक्र्सवाद र विषालु घाँसमा भेद छुट्याउने सामथ्र्यको विकास गर्नुपर्छ ।
अर्को सवाल हो– बोधशक्तिको सवाल
माक्र्सवादसम्बन्धी हाम्रो अध्ययन कदापि अध्ययनको लागि होइन । अध्ययनको लागि अध्ययन बिलकुल निरर्थक प्रयास हो । अध्ययन गर्दा हाम्रो प्रमुख उद्देश्य हो सिक्नु, सम्बन्धित विषयमा गहन ज्ञान प्राप्त गर्नु । माक्र्सवादसम्बन्धी हाम्रो अध्ययनको उद्देश्य उक्त क्रान्तिकारी सिद्धान्तको बारेमा गहन तथा परिपूर्ण ज्ञान हासिल गर्नु, त्यसको सारत्वलाई मनन गर्नुपर्छ, जसले गर्दा त्यसलाई क्रान्तिकारी व्यवहारमा ठीक ढङ्गबाट निर्देशक सिद्धान्तको रूपमा प्रयोग गर्न सकियोस् । माक्र्सवादलाई साँच्चिकै कार्यमा पथप्रदर्शक सिद्धान्तको रूपमा प्रयोग गर्ने हो भने त्यसमा पूर्णरूपले पोख्त हुनैपर्छ । सफल, दक्षतापूर्ण तथा प्रभावकारी प्रयोगले त्यसबारे पूर्ण ज्ञान प्राप्तिको अपेक्षा राख्दछ । त्यसैले, अध्ययन गर्दा हाम्रो सम्पूर्ण ध्यान तथा प्रयत्न माक्र्सवादी दृष्टिकोण, अडान तथा भावनाको सम्पूर्णतः मनन गर्नमा, त्यसलाई पचाउनमा केन्द्रित हुनुपर्छ ।
माक्र्सवादी सिद्धान्तको अध्ययनमा हाम्रो प्रमुख अभिप्राय आफ्नो सैद्धान्तिक समझदारी र स्तरलाई माथि उठाउनुपर्छ । यसको लागि हामीले अध्ययनबाट सिक्नुपर्दछ । जुन अध्ययन, जुन पठन–पाठनबाट त्यस विषयमा हाम्रो ज्ञान तथा समझदारी वृद्धि हँुदैन, त्यसबाट हाम्रो बोधको विस्तार हुँदैन । त्यस्तो अध्ययन, पठन–पाठनको के अर्थ रहन्छ र ?
तसर्थ, कुनै पनि विज्ञानको अध्ययन, छलफल तथा तर्क–वितर्क गर्दा बोधको सवाल निकै महत्वपूर्ण रहन्छ । अध्ययनबाट हामी कति सिक्नसक्छौँ; त्यसमा नै त्यसको अर्थ, महत्व तथा उद्देश्यनिहित रहन्छ । अनि हामीले लिनसक्ने कुरो कुन कुन कुरामा निर्भर रहेको हुन्छ त ? त्यो हाम्रो बोधशक्तिमा निर्भर गर्दछ । अध्ययन गर्नु नै प्रमुख कुरा होइन, लिनसक्नु, सिक्नु सबैभन्दा प्रमुख कुरो हो । हाम्रो मुलुकमा माक्र्सवादको अध्ययन गर्नेहरूका माझ यस्ता मामिलाहरू कम सङ्ख्यामा अवश्य पनि छैनन्, जस्तो कि अध्येताहरूले आफ्नो सैद्धान्तिक स्तरलाई त्यति माथि उठाउन सकेका छैनन् । यहाँ माक्र्सवादका अध्येताहरूको सङ्ख्या बढ्दै गइरहेको छ, इमानदारी तथा गम्भीरताका साथ अध्ययन गर्नेहरू पनि निकै नै छन् । तर अहिले माक्र्सवादी दृष्टिकोण तथा अडानबाट समस्या तथा तथ्यहरूको विश्लेषण गर्नसक्ने सच्चा माक्र्सवादीहरू कम सङ्ख्यामा छन् । त्यसको एउटा प्रमुख कारण अध्येताहरूमा बोधशक्ति, मनन–शक्तिको कमी छ भन्न सकिन्छ । सिकाइ बोधशक्तिमा पूरै निर्भर रहने भएकोले, हामीले आफूमा बोधशक्ति, बुझ्नसक्ने सामथ्र्यको विकास गर्नु अति जरूरी छ । माक्र्सवाद ज्ञान–सागरबाट हामी कति सक्छौँ भन्ने कुरा हाम्रो भाँडो कत्रो र कस्तो आकारको छ भन्नेमा भरपर्दछ । माक्र्सवादी विज्ञानको विशाल भण्डारबाट बोधशक्तिको अभावमा त्यति लिन सकिंदैन ।
यहाँ सैद्धान्तिक स्तर र सांस्कृतिक स्तरमाझको सम्बन्धबारे केही शब्द लेख्नु अप्रासाङ्गिक हुनेछैन । सिद्धान्त र संस्कृतिका माझ निकै घनिष्ठ सम्बन्ध रहेको छ । जो मानिसहरू सांस्कृतिक दृष्टिबाट पिछडिएका हुन्छन्, जसको शैक्षिक स्तर निम्न छ, उनीहरूमा सामान्यतः सैद्धान्तिक समझदारीको स्तर पनि निम्न पाइएको छ । स्पष्ट कुरो के छ भने जो पढ्न–लेख्न सक्दैनन्, उनीहरूका लागि माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङका उत्कृष्ट सैद्धान्तिक कृतिहरू ‘कालो अक्षर भैंसी बराबर’ हुनु स्वाभाविक नै हुन्छ । त्यस्तै, जसको सांस्कृतिक तथा शैक्षिक स्तर ज्यादै निम्न छ, उनीहरूको लागि महान् तथा गम्भीर माक्र्सवादी विचारहरू कालो अक्षर भैंसी बराबर नै हुन्छन् । उहाँहरूका उत्कृष्ट रचनाहरूमा थुप्रै अमूल्य तथा लाभदायी शिक्षाहरू छन्, जसलाई हामीले सिक्नु परेको छ । तर साँच्चिकै सिक्ने हो भने हाम्रो सांस्कृतिक स्तर पनि समान स्तरसम्म उठ्नुपर्छ । यसैले, हामीले आफ्नो सांस्कृतिक स्तर उठाउन पनि प्रयत्न भरथेग गर्नुपर्छ ।
हाम्रो प्रगतिशील फाँटमा हामी एउटा कस्तो कुरो देखिरहेका छौँ भने माक्र्सवादमा राम्ररी पोख्त भएका मानिसहरू असाध्य कम छन् । माक्र्सवादको नाउँमा र माक्र्सवादप्रति निष्ठा जनाएर काम गर्नेहरू धेरै सङ्ख्यामा छन् र त्यस्तै माक्र्सवाद अध्ययन गर्ने र गर्न खोज्नेहरूको सङख्या पनि अधिकाधिक रूपमा बढिरहेको पाइन्छ, तर माक्र्सवादलाई साँच्चिकै राम्ररी बुझेकाहरू भने धेरै सङ्ख्यामा पाइँदैनन् । यस्तो स्थिति अन्य मुलुकहरूमा पनि आजपर्यन्त पाइन्छ । यसको एउटा प्रमुख कारणको रूपमा प्लेखानोभले आफ्नो ‘चुनिएका दार्शनिक रचनाहरू’ को तेस्रो भागको पृष्ठ १८५ को फूटनोटमा भनेका कुरा निकै सारगर्भित छ । सो कुरा हाम्रो यहाँको स्थितिमा पनि सो¥है आना लागु हुन्छ भन्नु अत्युक्ति हुनेछैन । उनले भनेका छन् :
“माक्र्सवाद भनेको एक सिङ्गो सैद्धान्तिक प्रणाली हो र यस कुरालाई ‘डयुरिङ्ग–विरोध’को अध्ययन गरेर थाहा पाउन सकिन्छ । उक्त प्रणालीका प्रत्येक पक्ष अन्य सबै पक्षहरूसित घनिष्ठ रूपले गाँसिएको छ । प्रत्येक पक्षले अन्य पक्षहरूमाथि प्रकाश पारिरहेको हुन्छ । यसले बुझ्नमा मद्दत गरिरहेको हुन्छ । अन्य पक्षहरूलाई हटाएर वा बेवास्ता गरेर एउटा पक्षलाई सकार्ने र आफूलाई त्यसको मान्यतासम्ममा सीमित राख्ने भन्ने कुरा हुनसक्दैन । यस्तो गर्नु माक्र्सवादलाई अपाङ्ग बनाउनु सरह हुनेछ, त्यसको मुटु निकाल्नुजस्तो हुनेछ, उक्त सजीव सिद्धान्तलाई निर्जीव वस्तुमा फेर्नुजस्तो हुनेछ र त्योभन्दा पनि बढी, सो निर्जीव वस्तुको एक वा अर्को अङ्गमा मात्र सारा ध्यान केन्द्रित गर्नु बराबर हुनेछ । उपरोक्त कुरामा नै माक्र्सवादको भव्यता रहेको छ । उक्त कुरामा नै किन त्यसलाई इमानदारीपूर्वक बुझ्न कोसिस गरिरहेकाहरूमाझ धेरैजनाले त्यसलाई गलत किसिमबाट बुझ्ने गर्छन् भन्ने कारण पनि रहेको छ । माक्र्सवादलाई सही ढङ्गले बुझ्नका लागि ज्यादै विस्तृत शिक्षा हुनु जरूरी छ र हिजोआज माक्र्सवादको आलोचना गर्न खोज्ने कुनै पनि लेखकमा त्यस्तो शिक्षा छैन ।”

स्रोत : कृष्णदास श्रेष्ठका सङ्कलित रचना भाग १

Leave a Reply

Your email address will not be published. Required fields are marked *