भर्खरै :

सरकारी सम्पत्ति व्यक्तिलाई पोस्ने निजीकरणको विरोध गर्नु जरुरी

सरकारी सम्पत्ति व्यक्तिलाई पोस्ने निजीकरणको विरोध गर्नु जरुरी

बहुदलीय व्यवस्था पुनःस्थापनापछिका सरकारहरूले सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरू निजीकरण गर्दै छन् । जनताको सम्पत्ति केही व्यक्तिको हातमा दिनु निजीकरण वा पुँजीवाद हो । नेपालमा आफूलाई कम्युनिस्ट दाबी गरेका दलहरूसमेतले निजीकरणलाई निरन्तरता दिएको जनतालाई विश्वासघात हो ।
नेपालको संविधानमा समाजवादउन्मुख उल्लेख छ । निजीले सञ्चालन गर्दै आएको ठूल्ठूला उद्योगहरू राज्यको स्वामित्वमा ल्याउनु समाजवादउन्मुख हो । यही वैशाख १५ गते बसेको मन्त्रिपरिषदको बैठकले रुग्ण उद्योगको बहानामा ७ ओटा उद्योग र कलकारखाना (जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरियन्ट म्याग्नेसाइट) निजीकरण गर्ने निर्णय ग¥यो । शासक दलहरूको नाम फरक भएपनि सिद्धान्त एउटै हुँदा जनतालाई धोका भयो ।
निजीकरण ऐन, २०५० लाई अध्यादेशमार्फत हालै संशोधन गर्दा ‘निजीकरण’ शब्दलाई ‘सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन’ भनी उल्लेख गरियो । मन्त्रिपरिषद्बाट भएको निर्णयमा ‘निजीकरण’ शब्द नराखी ‘सरकारी लगानी व्यवस्थापन गर्ने’ उल्लेख गरिएको जनताप्रति बेइमानी हो ।
सरकारी उद्योग र कलकारखानालाई शासक दलका कार्यकर्ताहरूको भर्ती केन्द्र बनाइएको हुँदा घाटामा गएको थियो । सरकारी भर्तीमा बसेकाहरूले निःस्वार्थरूपमा सेवा गरेको भए सरकारी उद्योग र कलकारखानाहरू घाटामा जाने थिएनन् । चीनले राज्यको स्वामित्वमा उद्योग र कलकारखाना राखेकै कारण तीव्र आर्थिक विकास भएको हो ।
बन्द भएका उद्योग सञ्चालन गर्ने विषयमा उद्योग मन्त्रालयको प्रतिवेदन सार्वजनिक भयो । उदयपुर सिमेन्ट उद्योगको १० अर्ब रुपियाँभन्दा बढी सम्पत्ति छ । खानी क्षेत्रमा ७ करोड ३० लाख मेट्रिक टन चुनढुङ्गा छ । उद्योग सञ्चालनको २५ वर्षमा पनि मुस्किलले ४२ लाख टन चुनढुङ्गामात्रै खपत भयो । यो सिमेन्ट उद्योगले आगामी पाँच सय वर्षसम्मको लागि माग धान्न सक्दछ । मुलुकको ६५ प्रतिशत माग यो सिमेन्ट उद्योगले मात्रै धान्न सक्ने अनुमान गरिएको छ । सरकारले ४० करोड रुपियाँ ऋण दिए १० अर्ब रुपियाँको सम्पत्ति सुरक्षा हुने थियो । तर, सरकार व्यक्तिलाई पोस्न किन निजीकरणतर्फ लाग्यो ।
बुटवल धागो कारखानाको स्वामित्वमा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिकामा १७३ रोपनी जग्गा र पौने दुई अर्ब रुपियाँ खुद सम्पत्ति छ । नेपाल ओरियन्ट म्याग्नेसाइटको ३६६ रोपनी जग्गा र ५२०० रोपनी खानी छ भने२५० वर्षलाई पुग्ने म्याग्नेसाइट उपलब्ध छ ।
हेटौँडा सिमेन्ट उद्योगसँग एक हजार वर्षका लागि पुग्ने चुनढुङ्गा खानी छ । नेपाल मेटल कम्पनीको १७ करोड ८३ लाखको खुद सम्पत्ति छ । जनकपुर चुरोट कारखानाको ३५ विघा जग्गामध्ये २० विघामा २५ ओटा भवन छ । गोरखकाली रबर उद्योगको ६६२ रोपनी जग्गा र भवनसमेत छन् ।
शासक दलहरू नेपाल वायु सेवा निगमलाई भाडामा दिने बहानामा केही व्यक्तिलाई पोस्दै छन् । शासक दलहरूकोदेश र जनताप्रतिको विश्वासघातलाई सारा जनताले विरोध गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *