भर्खरै :

देशमा आस्थाको पत्रिका आवश्यक

देशमा आस्थाको पत्रिका आवश्यक

एक्काइसौँ शताब्दीको यो युग विज्ञान र प्रविधिको मात्र होइन सञ्चारको युग पनि हो । देश विदेशमा घटेका घटना क्षणभरमै जनताको घर आँगनमा पु¥याउने माध्यम सञ्चार क्षेत्र हो । विभिन्न देशमा हुने आक्रमण, विकास, भूकम्प, ज्वालामुखी, आविष्कार, अन्तरिक्षयानमा प्रवेश, पृथ्वी वरिपरि घुमिरहने ग्रहका आदि समाचारहरू छिनछिनमा हरेक सञ्चार माध्यममार्फत आइरहन्छन् । सूचना प्रवाह गर्ने एक सशक्त माध्यम बनेको छ सञ्चार क्षेत्र । सञ्चार जगतले पु¥याएको योगदानकै आधारमा सञ्चार क्षेत्र देशको चौथो अङ्ग बनेको हो । संसारलाई संसारको ज्ञान दिने एक भरपर्दाे साधन सञ्चार नै हो । सञ्चारप्रति जनताको विश्वास जगाउन सञ्चार क्षेत्रले सत्य, तथ्य र आधिकारिक समाचार प्रकाशित गर्नुपर्छ । यसले पत्रकारिताप्रति विश्वास बढाउँछ । सस्तो लोकप्रियताको लागि पत्रिका प्रकाशन गर्नु बुद्धिमानी होइन ।
सञ्चार क्षेत्रको विकास, विस्तार र प्रगतिले छापा पत्रकारिता ओझेलमा पर्ने हो कि भन्ने टिप्पणी पनि बेलाबखत नभएको होइन । नेट, इन्टरनेट र अनलाइनले छापा पत्रिका नचल्ने हो कि भन्ने आशङ्का नगरिएको होइन । चले पनि अब छापा पत्रिका कममात्रै बिक्ने हो कि भन्ने बेलाबखत चर्चा परिचर्चा हुन्छ । छापा पत्रिका समय सुहाउँदो भएन, यो पुरानो ढर्राको भयो† अब यसले गति लिँदैन, नयाँ पुस्ता र पढे लेखेको वर्गको निम्ति यो रुचिको विषय होइन भनी दुखेसो पोख्ने पक्ष पनि नभएको होइन । सबैजसो युवा–विद्यार्थी, शिक्षक, कर्मचारी, प्रहरी, सेनासँग हात–हातमा मोबाइल भएको हुँदा अब छापा पत्रिकाको महत्व घट्दै गएको उनीहरूको अभिमत हो । के साँच्चै छापा पत्रिकाको महत्व सकिएको हो ? नेट, इन्टरनेट र अनलाइनको व्यवस्था भयो भनेर के छापा पत्रिकाको स्तर र महत्व घट्छ ? सञ्चार र प्रविधिको विकासले घरमै बसेर मोबाइलमार्फत सूचना प्राप्त गर्नु राम्रो पक्ष हो । तर, पढ्न सजिलो छापा पत्रिका नै हो । क्षणभरमा कुन पत्रिकामा के के खबर छापिएको छ भन्ने थाहा हुन्छ या पत्रिकामा छापिएका सबै कुरा क्षणभरमा थाहा हुन्छ । सबैका सबैले समाचार र लेखको निम्ति मोबाइल नै हेर्छन् भन्ने पनि होइन । नेपालमा छापा पत्रिका हजारौँ छन् । पत्रिकाले आ–आफ्नो क्षमता, योग्यता र लगानीको आधारमा जनतालाई सुसूचित पार्ने काम गरिरहेको हुन्छ ।
पत्रकारिता नाफाको निम्ति मात्र हुनु हुँदैन । हरेक पत्रिका जनताको समस्या उजागर गर्ने, जनताको सांस्कृतिक, वैचारिक र सैद्धान्तिक स्तर उठाउने खालको हुनुपर्छ । पत्रिका नागरिक भावना जगाउने खालको हुनुपर्छ । देश र जनताको पक्षमा नलेख्ने जनताको समस्या उजागर नगर्ने, सरकारी कमी कमजोरी नऔँल्याउने र सत्मार्ग नदेखाउने पत्रिका जनताको पत्रिका हुनेछैन । समाचार र लेख समाजको विकृति, विसङ्गति, अन्याय, अत्याचार, असमानताविरुद्ध लेखिएको हुनुपर्छ । देशको स्वाधीनता, सार्वभौमसत्ता रक्षाको निम्ति कलम चलाइएको पत्रकारिता हुनुपर्छ । भ्रष्टाचार, कमिसन, अनियमितता, हिंसा र आपराधिक कार्यको विरोधमा कलम चलाउनुपर्छ । देशको इज्जत कायम राख्न, विकास गर्न पत्रिकाले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । देश र जनताप्रति समर्पित हुनुपर्छ । यस हिसाबले देशमा आस्थाको पत्रिका अति आवश्यक छ । आस्थाको पत्रिकाको अभाव भएकोले जनतालाई जसरी जति सुसूचित गर्नुपर्ने हो, त्यो भइरहेको छैन ।
पुस्तक, ग्रन्थझैँ छापा पत्रिका दस्ताबेजको रूपमा रहन्छ; आवश्यक भएको बेला आवश्यकताअनुसारको सामग्री हेर्न सहज हुन्छ । अतः छापा पत्रिकाको महत्व घटेको छैन; गरिमा घटेको छैन । छापा पत्रिकालाई गाउँ–गाउँ र बस्ती बस्तीमा पु¥याउनु आवश्यक छ । छापा पत्रिका मोबाइल नभएका, बल्ल साक्षर भएका युवा युवती र पाक्व उमेरका मान्छेले पनि पढ्न पाउँछन् । छापा पत्रिका हेर्दा जति सजिलो र रुचि हुन्छ त्यति नेट, अनलाइनमार्फत हेर्दा हँुदैन । कुनै प्रविधिको विकास भयो भनेर छापा पत्रिकालाई अर्को दृष्टिले हेर्नु मनासिब देखिँदैन । अतः छापा पत्रिकाको पनि आफ्नै महत्व र स्थान छ; यसलाई पनि जीवन्तता दिनुपर्छ र विस्तार गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *