भर्खरै :

लक्ष्मीनरसिंह मन्दिर उद्घाटनको तयारी

लक्ष्मीनरसिंह मन्दिर उद्घाटनको तयारी

भक्तपुर, २५ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा वडा नं. ४ गःहिटीस्थित प्राचीन सम्पदा लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण निर्देशन समितिको बैठक बस्यो ।
बैठकमा अध्यक्ष प्रजापतिले सम्पदाहरूको संरक्षण जनताको साथ र सहयोगमा गर्दै आएको बताउँदै नयाँ पुस्तालाई उत्साहित गर्न मन्दिर पुनःनिर्माणमा प्राप्त ऐतिहासिक, सांस्कृतिक एवम् खोजमूलक विषयवस्तु तथा सहयोग गर्ने सम्पूर्ण पक्ष समेटेर पुस्तक प्रकाशित गर्न लागेको र भविष्यमा अनुसन्धानकर्ताहरूका लागि त्यो पुस्तक अत्यन्त उपयोगी हुने बताउनुभयो ।
“हामी हरेक कामको दस्ताबेजीकरण गर्दै जानेछौँ,” उहाँले भन्नुभयो ।
निर्देशन समितिको बैठकमा लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणसम्बन्धी सम्पूर्ण विवरण समावेश ‘लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण २०८२’ पुस्तकबारे जानकारी गराइयो भने पुनःनिर्माण कार्यको लागि निर्देशन समितिमा बसी सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, उपभोक्ता समिति, स्थानीय बासिन्दा र सहयोग गर्ने सम्पूर्णमा समितिको तर्फबाट धन्यवादज्ञापन गर्ने निर्णय
गरियो ।
बैठकमा भक्तपुर नगरपालिका सम्पदा उपशाखा प्रमुख रामगोविन्द श्रेष्ठले लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण कार्यसम्बन्धी विवरण जानकारी गराउनुभयो ।
लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष शिवराम किजूले मन्दिर पुनःनिर्माणको खर्च विवरण प्रस्तुत गर्दै स्वेच्छाले सहयोग गर्नेहरूबाट रु. २२ लाखभन्दा बढी सहयोग प्राप्त भएको, ७५० जनाभन्दा बढी जनताले श्रमदान गरेको र लाखौँ रुपैयाँ बराबरको जिन्सी सामान सहयोगस्वरूप प्राप्त भएको विवरण प्रस्तुत गर्नुभयो ।
भक्तपुर नगरपालिकाले २०७९ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जेठ ६ गते बहाली भएको दिनलाई ‘भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहालीको तीन वर्ष’ को अवसर मानी उक्त मन्दिर उद्घाटन गर्ने तयारी गरिरहेको छ ।
उक्त मन्दिरको शिलान्यास २०७८ मङ्सिर २८ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *