भर्खरै :

नर्सिङ दिवसको अवसरमा ख्वप अस्पतालका नर्सहरूबिच प्रवचन

नर्सिङ दिवसको अवसरमा ख्वप अस्पतालका नर्सहरूबिच प्रवचन

भक्तपुर, ३० वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले समाजलाई निरोगी बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सञ्चालन गरेको बताउँदै ख्वप अस्पताल स्तरोन्नति र स्तरवृद्धि गर्ने विषयमा अस्पताल व्यवस्थापन समिति क्रियाशील रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत नर्सहरूबिच १६६ औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस कार्यक्रममा उहाँले चिकित्सक र नर्सहरूमा स्वयम्सेवाको भावना हुनु जरुरी रहेको बताउँदै आफ्नो पेसागत हकहित र व्यक्तित्व विकासको लागि अध्ययनलाई निरन्तर जोड दिनुपर्ने बताउनुभयो ।
अस्पतालमा कार्यरत कर्मचारी र नर्सहरूले व्यापक उद्देश्यका साथ आफ्नो कामलाई अगाडि बढाउन प्रेरित गर्दै प्रमुख प्रजापतिले २१ औँ शताब्दीका चुनौती र समस्या सामना गर्ने दक्ष जनशक्ति आजको आवश्यकता हो भन्नुभयो ।
प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्रमा भएको व्यापारीकरणले गरिब जनता स्वास्थ्य उपचारबाट वञ्चित भएको उदाहरण दिँदै स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण र निजीकरण गरिनु नै स्वास्थ्य क्षेत्रका प्रमुख चुनौतीको रूपमा रहेको बताउनुभयो ।
पञ्चायतमा जस्तै शासक दलले कानुनभन्दा माथि बसेर काम गरिरहेको बताउँदै उहाँले कुनै पनि संस्थाको प्रगति त्यहाँ कार्यरत कर्मचारीहरूबिचको एकतामा निर्भर हुने हुँदा संस्थागत हितको निम्ति चिकित्सक, नर्स एकताबद्ध भई काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सन्तोष अध्ययनको शत्रु हो भन्दै उहाँले सिक्ने विषयमा कहिल्यै पछि पर्न नहुने र नयाँ नयाँ विषयमा अध्ययन अनुसन्धानलाई जोड दिन मार्गनिर्देश गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् ख्वप अस्पताल सञ्चालक समितिका सदस्य रवीन्द्र ज्याख्वले नर्सहरूको विशेष दिनको रूपमा प्रत्येक वर्ष नर्सिङ दिवस मनाउँदै आएको विचार राख्नुभयो ।
उहाँले समाजलाई स्वस्थ र निरोगी बनाउने उद्देश्यले ख्वप अस्पताल स्थापना भएको बताउँदै शिक्षा र स्वास्थ्यमा सरकारले द्वैधचरित्र अपनाउँदा जनतालाई सकस भएको बताउनुभयो ।
वडाध्यक्ष ज्याख्वले नर्स र चिकित्सकहरू जुनसुकै परिस्थितिमा पनि जनताको सेवाको लागि अग्रपङ्क्तिमा बस्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं ख्वप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मजेशप्रताप मल्लले नर्सिङ दिवस नर्सप्रति सम्मान गर्ने दिनको रूपमा स्मरण गर्दै यो पेसा सेवा, अनुशासन र करुणाले भरिएको बताउनुभयो ।
नर्सहरू हरेक क्षेत्रमा अग्रपङ्क्तिमा रहेर काम गर्ने भएकाले ती जनशक्तिलाई दक्ष र सक्षम बनाउन समयसापेक्ष तालिमहरूको आवश्यकता रहेको बताउँदै उहाँले नर्सलाई सबल बनाउन सके मात्र गुणस्तरीय सेवाको सुनिश्चितता हुने बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पताल अन्तरङ्ग विभागका इन्चार्ज रविना कवां र घरदैलो नर्सिङ इन्चार्ज रविना सुवालले नर्सिङ दिवसको मनाउनुको उद्देश्यमाथि प्रकाश पार्दै फ्लोरिन्स नाइटिङ्गेलको जन्मोत्सवको रूपमा विश्वभर प्रत्येक वर्ष मे १२ को दिन नर्सिङ दिवस मनाउँदै आएको प्रस्ट पार्नुभयो ।
नर्सिङ दिवसको अवसरमा ख्वप अस्पतालका कार्यरत नर्सहरूलाई प्रमुख प्रजापतिले मायाको चिनो वितरण गर्नुभएको थियो । नर्सहरूले सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *