भर्खरै :

नव वर्षको शुभकामना !

  • चैत्र ३०, २०८२
  • न्हुछेरत्न वुद्धाचार्य
  • कविता
नव वर्षको शुभकामना !

सगरमाथाको देशमा असङ्ख्य नयाँ दिनहरू
घुमिरहेछ भित्ताको नयाँ क्यालेन्डरमा
२०८३ सालको नव वर्ष शुभारम्भ भएको छ
प्रत्येक छानामाथि वैशाख हिँडिरहेछ यो भूमण्डलमा ।

सफलता, शान्ति, दीर्घायुको कामना लिएर
नयाँ उमङ्ग, नयाँ उत्साहका साथ नव वर्ष आएको छ ।

आज यो हिमाल, पहाड र तराईका
प्रत्येक स्वाभिमानी पीडित मानवले
नैतिक आचरणलाई पालन गरी सावधानी अपनाएर
यो शान्ति भूमिमा स्वस्थ र निरोगी भएर लम्कन सकोस् ।

प्रत्येक शिक्षकको सेवा र तपस्या
यो मातृभूमिको लागि अपार महिमाको योगदान छ
सदियौँदेखि अँध्यारो पथमा ज्ञानको प्रज्ञा प्रज्ज्वलन गरेर
कलिलो हँसियो संसारको न्वारन गरेर राष्ट्रको सेवा गर्न सकोस् ।

धर्तीका मुस्कान विद्यार्थीको आवाजमा जीवनको सत्य भाषा हुन्छ
यही सत्यता र लगनशीलताको पथमा लम्केर
सामाजिक सेवा देशभक्तिको पाठ सिकेर
यो राष्ट्रको प्रतिभाशाली कर्णधार बनेर अगाडि बढ्न सकोस् ¤

आफ्नो स्वतन्त्रता र अधिकारको लागि
निमुखा जनता जागरुक भएर कदम चाल्न सकोस्
यो गुञ्जिरहेको नयाँ संवत्को शुभकामना
यो पवित्र भूमिमा सधैँ सम्झिरहने छन्
हामी यही कामना लिएर अघि बढिरहने छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *