भर्खरै :

घाउ घाउबाट उठेको वेदनाको सङ्कल्प !

घाउ घाउबाट उठेको वेदनाको सङ्कल्प !

आफू आफूभित्र
मैले आफैलाई चिनँे
अनि थाहा पाएँ
म त मेरो आँखालाई
घाउ घाउबाट उठेको वेदनाको
सङ्कल्प लिएर अगाडि बढिरहेका ।

द्वन्द्व अन्तद्र्वन्द्वको मनमा
मलाई भूत वर्तमान भविष्यको
आकाङ्क्षाले आह्वान गरिरहन्छ
हिजोसम्मको मेरो इतिहासमा
विवसता र बाध्यताले सताइरहन्छ
ज्वालामुखीझैँ गुनगुनभित्र जलिरहे पनि
मेरो व्यक्तिलाई बाध्यताले मौन गराइदिन्छ ।

तर, यो वर्तमानमा
आफूलाई एक पटक घुमाइदिन्छ
च्याम्पति घुमाएजस्तै यो धरातलमा
अनि आफैले रोकेर हेर्छ
त्यही बेला मेरो कानमुनि
भोकको वेदनाको आवाज गुञ्जिरहन्छ
यो अत्यासलाग्दो पथमा
यो भोकमा डुबेको व्यथाको रोदन
कान कानभित्र कहिले सुनिने
आजको यो विकराल समस्या
कहिले समाधान हुने
आफूलाई उकुसमुकुस भएर ।

अनि पाखा पर्वत चढेर डुलिरहन्छु
फेरि मेरो भेट हुन्छ प्रत्येक बस्तीमा
आँसु आँसु बगाएर कष्ट भोगिरहेकाहरू
भोका नाङ भएर हाहाकार परिरहेकाहरू ।

मेरो वर्तमानको गौरवमय अनुभवलाई
प्रत्येक घाउ घाउबाट उठेको विलापले
पीडित मानवको आँखामा
परिवर्तनको ज्वाला देखा पर्छ ।

अनि यो विरोधले पाइला टेकेको बस्तीमा
आफ्नो सङ्कल्प पूरा गर्न अघि बढिरहेका
रगत पसिना बगाएर मरी मरी बाँचिरहेकाहरूको
मुक्तिको आवाजले उन्मुक्त भएर निस्केको शक्तिले ।

यो कुहिरोले ढाकिएको
अँध्यारो आकासमा उज्यालो देखापर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *