भर्खरै :

वागीश्वरीमा स्वागत तथा पुरस्कार वितरण

वागीश्वरीमा स्वागत तथा पुरस्कार वितरण

भक्तपुर, ९ जेठ । वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत, वार्षिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई पुरस्कार वितरण एवं सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा वागीश्वरी मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले अनुशासन हाम्रो गहना, संस्कार हाम्रो सभ्यता हो भन्नुभयो । वागीश्वरीमा पीजीदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्नसक्ने वातावरण रहेको जानकारी दिँदै वागीश्वरीमा रहेका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई यस विद्यालयमा अध्ययन गराई विद्यालय प्रगतिको निम्ति भएको सामूहिक प्रयास उदाहरणीय भएको बताउनुभयो ।
विद्यालय जीवन स्वर्णिम बनाउन वागीश्वरी मा.वि.ले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणको गन्तव्यका रूपमा विकास गरेको उहाँले बताउनुभयो ।
अभिभावकको विश्वास, विद्यार्थीहरूको अनुशासन, शिक्षकको दक्षता र व्यवस्थापनको कुशल व्यवस्थापनले विद्यालयले सफलता प्राप्त गरेकोमा उहाँले सबैलाई आभार व्यक्त गर्नुभयो ।
शिक्षा विकास निर्देशनालय हेटौँडा, वाग्मती प्रदेश योजना प्रमुख पवित्रा तिमल्सिनाले सरकारी विद्यालयहरूमा विद्यार्थीहरू घटिरहेको अवस्थामा यस वागीश्वरी मा.वि.मा आकर्षक विद्यार्थीहरूको आगमनले आफू प्रभावित भएको बताउनुभयो । नमुना विद्यालयले गर्नुपर्ने विभिन्न अभ्यासहरू वागीश्वरी मा.वि.मा अनुसरण भइरहेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले २०८२ सालमा पीजीदेखि कक्षा ९ सम्म ६४० जना नयाँ भर्ना भएको जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थीहरूले आचारसंहिताको पालना, सबै किसिमको परीक्षाको परिणाम, अभिभावहरूको उचित सुझाव तथा दक्ष शिक्षकशिक्षिकाहरूको सहयोगले वागीश्वरी मा.वि. नमुना विद्यालयको रूपमा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालय परीक्षा संयोजक मीना प्रजापति, विद्यालय इन्चार्ज तथा कार्यक्रम व्यवस्थापन समिति संयोजक विश्वराम प्रजापति, सरस्वती विद्यागृहका प्रधानाध्यापक गनुराज राई, विद्यार्थी प्रतिनिधितर्फ सोनिया शाहीलगायतले शुभकामना मन्तव्य दिनुभएका थियो ।
सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *