भर्खरै :

बासुमा स्वागत तथा छात्रवृत्ति वितरण

बासुमा स्वागत तथा छात्रवृत्ति वितरण

भक्तपुर, ९ जेठ । बासु माविमा नवआगन्तुक विद्यार्थीहरूलाई शुक्रबार स्वागत, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले विद्यार्थीहरूलाई सहजताको लागि शिशुस्याहारदेखि उच्च शिक्षासम्म पठनपाठनको व्यवस्था गरेको बताउँदै विद्यार्थीहरूले उज्ज्वल भविष्यको लागि मेहनत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उपप्रमुख जोशीले देश र जनताको सेवाको लागि सुसंस्कारयुक्त बन्नुपर्ने उल्लेख गर्दै भक्तपुर नगरको सांस्कृतिक अवस्था र वातावरणबारे सुसूचित गर्न ‘ख्वप पहिचान’ विषयक पाठ्यक्रम बनाई पठनपाठन भइरहेको बताउनुभयो ।
स्थानीय एवम् देशकै जनताको स्वास्थ्यलाई ध्यानमा राखी ख्वप अस्पतालले विभिन्न स्वास्थ्य सेवा दिइरहेको स्पष्ट पार्दै उहाँले विद्यार्थीहरूले आफू र अभिभावकहरूको उद्देश्य पूरा गर्न शिक्षकहरूसँग अन्तरक्रिया गरी ज्ञान हासिल गर्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नवआगन्तुक विद्यार्थीहरू जिज्ञासु भए आफ्नो समस्या सजिलै समाधान हुने र विद्यालयमा शैक्षिक गुणस्तरतासँगै भौतिक गुणस्तर पनि कायम गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रअ एवम् कार्यक्रमका सभापति रविलाल प्रधानले विद्यार्थीहरू अनुशासित, अध्ययनशील र आज्ञाकारी भए उद्देश्य पूरा हुने बताउनुभयो ।
कार्यक्रममा जेहेनदार र गरिब विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण चण्डादाता जयन्तकुमार पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा २०८१ सालमा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई उपप्रमुख जोशीले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा सहायक प्रअ राजकुमार ह्यौँमिखा, पुनेन्द्रप्रसाद कुसी, रामकुमार निरौला, विष्णुप्रसाद दुमरु, रामहरि ताम्राकार, सपना कवां, रीजा सुलुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *