भर्खरै :

माक्र्सवाद जीवनमा लागु हुने दर्शन र सिद्धान्त हो

माक्र्सवाद जीवनमा लागु हुने दर्शन र सिद्धान्त हो । यो दर्शन र सिद्धान्त नेपालमा पनि लागु गर्न सकिन्छ । तर, यो दर्शन देशको परिस्थितिअनुसार लागु हुन्छ । सच्चा कम्युनिस्ट पार्टीले माक्र्सवादी लेनिनवादी मान्यताअनुसार नै देशमा परिवर्तन गर्न लागेको हुन्छ या सैद्धान्तिक बहस गर्छ । सिद्धान्त र विचारको ख्याल नगर्ने पार्टीले पैसाको राजनीति गर्छ; धाक धम्कीको राजनीति गर्छ; झूटो आश्वासन दिन्छ† अनेक लोभलालच देखाउँछ । एउटा पार्टीका नेताले अर्को पार्टीका नेतालाई असैद्धान्तिक गाली गर्छ, होच्याउँछ । कम्युनिस्टको खोल ओढेर माक्र्सवादको नाउँमा पुँजीवादी सरकारमा जाने र पुँजीवादी सरकारभित्र रहेरै समाजवाद ल्याउने फुक्छ । यो कम्युनिस्टविरोधी विचार हो ।
कम्युनिस्ट पार्टी देशमा आमूल परिवर्तन गर्ने उद्देश्यले स्थापना गरेको हुन्छ । कम्युनिस्ट पार्टी स–साना सुधार गरेर देशमा परिवर्तन हुन्छ भन्ने पक्षमा लाग्दैन । पुँजीवादी व्यवस्थाभित्र पसेर आमूल परिवर्तन हुन्छ या कम्युनिस्टहरूको मूल्य र मान्यताअनुसार सरकार चल्छ भन्ने कुरा झूट हो । यस्तो झूटो कुरा कम्युनिस्ट पार्टीले फलाक्नु हुँदैन; यदि कसैले फलाक्छ भने त्यो भ्रम हो; भ्रमको खेतीमा जनता फस्नु हुँदैन । नेमकिपा पुँजीवादी विचार र व्यवस्थाको विरोधमा कामदारवर्गको शासन व्यवस्था स्थापना गर्न सङ्घर्षरत राजनीतिक दल हो । नेमकिपाको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा हो । यसै उद्देश्यअनुरूप नेमकिपाले राजनीति गरिरहेको हो ।
पुँजीवादी राजनीतिक पार्टीले देशको शासन सत्ता, संसद् र देशलाई शोषक, सामन्त, पुँजीपति, जालीफटाहाको हितको निम्ति काम गर्छ । सर्वसाधारणलाई जसोतसो जीवन बिताउने अवसर दिएर लामो समयसम्म शासक गर्ने पुँजीवादी पार्टीको उद्देश्य रहेको हुन्छ । आफ्नो शासन लम्ब्याउन देशभित्रका अन्य शक्ति या दललाई फुटाउने, झगडा गराउने र सत्ताको लोभ देखाउने काम गरिरहेको हुन्छ । जनतालाई शोषण गर्दै साधारण जनतालाई साना–तिना आशा देखाउन उनीहरू पछि पर्दैनन् । पुँजीवादी निर्वाचनमा सत्तासीन दल या पुँजीवादी पार्टीले यस्ता सबै हर्कत प्रयोग गरेको हुन्छ । त्यसको निम्ति गुण्डा परिचालन गरिएको हुन्छ; जनताको मत लिन, अर्को दलका नेता तथा कार्यकर्ता हातमा लिन पैसाको खोलो बगाइएको हुन्छ; लोभलालच दिएको हुन्छ या आशाका पोकाहरू फालिएको हुन्छ । ठेकेदार, कालाबजारिया, करचोर, तस्कर, भ्रष्टाचारी, घर जग्गा दलाल, म्यानपावर कम्पनी विदेशी पुँजीका दलाललाई हातमा लिइएको हुन्छ । हालसम्मको निर्वाचनमा भइरहेको यस्तै हो ।
पुँजीवादी पार्टीका नेता तथा कार्यकर्ताले आ–आफ्नो जिल्लामा रहेका कार्यकर्ता या जनतालाई पैसा दिएरै पालिरहेका हुन्छन् । नेता तथा कार्यकर्ता पाल्न ठेकेदार, भ्रष्टाचारी, कालाबजारिया, कमिसनरखोर, अपराधी, घर जग्गाका दलालीहरूसँग चन्दा असुलिरहेको हुन्छ । तर, सच्चा कम्युनिस्ट पार्टीले जनतामाझ सिद्धान्तको राजनीति गरेको हुन्छ; सिद्धान्त र विचारबाट सुसूचित गरेको हुन्छ । समाजवादको पक्षमा पत्रपत्रिका सञ्चालन गरेको हुन्छ; पुस्तक प्रकाशन गरेको हुन्छ । यो काम नेमकिपाले गरिरहेको छ । जनतालाई राजनीतिक, वैचारिक, सांस्कृतिक र सैद्धान्तिक रूपले सुसूचित पारिएको हुन्छ । यो नेमकिपाको मात्र होइन हरेक कम्युनिस्टको जिम्मेवारी हो; त्यो जिम्मेवारी सबै कम्युनस्ट पार्टीले निर्वाह गर्नुपर्छ ।
कम्युनिस्ट पार्टीले पैसाको खोलो बगाएर जसरी भए पनि जनताको मत लिने काम गर्दैन; लोभलालच देखाएर आफ्नो तर्फ ल्याउने काम गर्दैन; सिद्धान्त र विचार छोडेर पुँजीवादी व्यवस्थाभित्र पस्दैन† सत्तामा पुग्नकै निम्ति विचार र सिद्धान्त नमिल्ने दलसँग साँठगाँठ गर्दैन । तर, देशका शासकहरूले यस्तै गतिविधि गरिरहेका छन् । यो पुँजीवादी राजनीति हो । पुँजीवादी राजनीति गर्न कम्युनिस्ट पार्टीलाई सुहाउँदैन । एमाले, माओवादीले गरिरहेको राजनीति यस्तै छ । यसकारण, देशमा कम्युनिस्ट पार्टीको प्रभाव बढी भए पनि, कम्युनिस्ट पार्टी सरकारमा गए पनि कम्युनिस्ट पार्टीको आचरणअनुसार देशमा केही काम नभएको हो; गर्न नसकेको हो । पार्टीको दृष्टिकोण गलत भएपछि त्यसले गर्ने काम पनि गलत नै हुन्छ । देशमा रहेका कम्युनिस्ट पार्टीहरूले नेमकिपाले झैँ असल राजनीति गरेका भए, सिद्धान्त र विचारको आधारमा राजनीति गरेका भए; निःस्वार्थ र इमानदारीपूर्वक देश र जनताको सेवा गरेका भए देशमा धेरै हदसम्म विकास हुन्थ्यो, भ्रष्टाचार हट्थ्यो; अनियमितता हट्थ्यो; देशमा सुशासन हुन्थ्यो; भ्रष्टाचारी, कालाबजारी, कमिसनखोर, अपराधीहरू कारबाहीमा पथ्र्यो र कानुनी शासन हुन्थ्यो । जनताका आधारभूत आवश्यकता पूर्ति गर्न सहज हुन्थ्यो ।
देशमा अहिले दुई ठुला दल एमाले र नेकाको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार छ । नेका पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । एमाले आफूलाई कम्युनिस्ट पार्टी दाबी गर्छ । तर, एमालेमा व्यवहारतः कम्युनिस्ट आचरण र मान्यता देखिँदैन । त्यही भएर प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने एमाले नेकासँग मिलेर सत्तामा गयो । पुँजीवादी पार्टीसँग साँठगाँठ गरेर शोषितपीडित या श्रमजीवी जनताको सेवा कसरी हुन्छ ? देशमा कम्युनिस्टहरू नै बहुमत छन् भनेर गर्व गर्नुभन्दा, प्रचारमा आउनुभन्दा कम्युनिस्टको सिद्धान्त र विचारअनुसार व्यवहारमा लागु गर्नु नै महत्वपूर्ण पक्ष हुन्छ । तर, एमालेले यस्तो काम गरेन । सत्तामा पुगेको माओवादीले पनि त्यो काम गरेन । के कम्युनिस्ट पार्टीको उद्देश्य भनेको हल्ला गरेर जनमत बटुल्नु हो† सिद्धान्तअनुसार काम नगरी पुँजीपति वर्गको सेवा गर्न हो ? होइन भने देशका सबै कम्युनिस्ट पार्टीले सिद्धान्तको राजनीति गर्नुपर्छ; जनतालाई सङ्ठित पार्नुपर्छ । अनि मात्रै परिवर्तनको आधार तयार हुन्छ र भएको परिवर्तन टिकाउ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *