क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
समाजवादको निर्माण समाजवादी सिद्धान्तको आधारमा हुन्छ; पुँजीवादी व्यवस्थाको सिंहासनमा बसेर हुँदैन । समाजवादी तरिका नअपनाइकन समाजवादी ढोका कसरी खोल्छ ? समाजवादी गणतन्त्रको प्रत्याभूति समाजवादी व्यवस्थाले गर्छ । यो कुरा सबै कम्युनिस्ट पार्टी या पार्टीका नेताहरूलाई ज्ञात छ । तर, नेपालका आफूलाई ठुला दल दाबी गर्ने, पुँजीवादी व्यवस्थाको सञ्चालक बन्ने रहर भएका कम्युनिस्ट नेताहरू पुँजीवादी व्यवस्थाभित्रै रहेर समाजवादी व्यवस्था ल्याउने खोक्छन् । के यो बेइमानी राजनीति होइन ? तर, बहुमत नेपाली जनताले अझै देशको राजनीतिबारे चासो राखेका छैनन्; कुन दलले कुन वर्गको प्रतिनिधित्व गर्छ भन्ने कुरा चाल पाएका छैनन् । जनता राजनीतिक र सैद्धान्तिकरूपले सुसूचित होला भनेरै कम्युनिस्ट भनिने दलका नेताहरू जनतालाई सुसूचित पार्दैनन् । जनता सचेत भएपछि आफ्नै दल र दलका नेताहरूको विरोध गर्छन् भनी उनीहरू राजनीतिक र सैद्धान्तिक कक्षा सञ्चालन गर्दैनन्; प्रशिक्षित गर्दैनन् ।
परिस्थिति जटिल भएको र प्रतिक्रियावादीहरूले धावा बोलिरहेको स्थितिमा पनि समाजवादी गणतन्त्रवादीहरू मौन बस्दैनन् । क्रान्तिकारी जनता क्रान्तिकारी सिद्धान्तमा अडिग रहन्छन्; रहनुपर्छ; यो कुरा कम्युनिस्ट नेता कार्यकर्ताहरूमा पनि लागु हुन्छ । शक्तिको राजनीति गर्ने साम्राज्यवादी र विस्तारवादी पक्षहरू समाजवादलाई कमजोर पार्न हर समय हर पल अनेक षड्यन्त्रहरू गरिरहन्छन्; जाल बुनी अनेक लोभलालच र धाक धम्की दिइरहन्छन् । उनीहरू ‘शान्ति’ को निम्ति भन्दै समाजवादी मुलुकमा, समाजवादी दलमा घुसपैठ गर्छन्; जनताको क्रान्तिकारी चेतलाई शिथिल पार्न, लोभलालच देखाएर हातमा लिन कहिले ‘सहायता’, कहिले ‘आर्थिक सहयोग’ र कहिले ‘विकास’ को कुरा फलाक्छन् । उनीहरू समाजवादविरोधी तत्वलाई उक्साउँछन् र त्यस्तै समूह तयार गरी गोलमाल गर्छन् । यसको नेतृत्व साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले गरिरहेको छ भने उसको पछाडि भारत, जापान, बेलायतजस्ता देशका शासकहरू लागिरहेका छन् ।
साम्राज्यवादीहरू अहिले ‘समाजवादमा सङ्कट’ छ भनी ध्वाङ फुक्दै छन् । साम्राज्यवादीहरू आफै सङ्कटको भुमरीमा फसिरहेको बेला अरु देशको सङ्कट देखाई आफ्नो अपराध र गल्ती छोप्ने अर्काे थप गल्ती गर्दै छन् । विश्वका अधिकांश मुलुकले साम्राज्यवादको विरोध गर्दै छन्† साम्राज्यवाद पतनोन्मुख बाटोमा छ । बरु, साम्राज्यवाद नै सङ्कटको घडीमा छ भनी एकै स्वरमा बताउँदै छन् । संसारका सयौँ मुलुकमध्ये प्रजातान्त्रिक जनगणतन्त्र कोरिया पनि साम्राज्यवादविरोधी एक देश हो । प्रजग कोरियामा लामो समयदेखि आर्थिक नाकाबन्दी गरिए पनि समाजवादी व्यवस्थालाई अझ सुदृढ बनाउन कोरियाली जनता लागिपरेका छन् । प्रजग कोरियाले क्रान्तिकारी भावना कहिल्यै छोडेको छैन; शत्रुसामु झुकेको छैन ।
साम्राज्यवादीहरू ‘स्वतन्त्रता’, ‘मानव अधिकार’, ‘प्रजातन्त्र’, ‘शान्ति’ र ‘स्वतन्त्रता’ को हौवा फैलाएर संसारका स्वाधीन र सार्वभौम मुलुकमा आतङ्क फैलाइरहेका छन्† आतङ्कित पारेर झुक्याउने छल गरिरहेका छन् । साम्राज्यवादीहरू मानिसलाई पैसाको दास बनाउँछन् । उनीहरूको पैसाको दास बनाउने जालमा पुँजीवादी शासकहरू फसिरहेका छन् । नेपालका शासकहरू पनि पैसाको दासी बनेका छन्; आर्थिक सहयोग, सहायता र विकास भनेपछि देश र जनताको ख्याल गर्दैनन् । एमसीसी सम्झौता यसको पछिल्लो दृष्टान्त हो । पुँजीवादी समाज या राज्यमा भ्रष्टाचार, अनियमितता र कमिसनमा व्याप्त हुनुमा साम्राज्यवादीहरूले अवलम्बन गरेको जनविरोधी प्रजातन्त्रविरोधी राजनीतिको परिणाम हो । साम्राज्यवादीहरूले ‘प्रजातन्त्र’, ‘मानव अधिकार’ र ‘शान्ति’ को भजन गाएर गरिरहेको समाजवादविरोधी गतिविधिलाई विफल पार्नुपर्छ; विफल पार्न अघि सर्नुपर्छ; विश्वका जनता एकजुट हुनुपर्छ ।
प्रजग कोरियाको समाजवादी व्यवस्था आम जनतामा केन्द्रित व्यवस्था हो । प्रजग कोरियाको समाजवादी व्यवस्थाले जनतालाई मालिकको स्थान दिएको छ; मालिकको हैसियतले आफ्नो भूमिका पूरा गर्न समर्थ पारेको छ । समाजवादी गणतन्त्रको सरकार जनताको सेवा गर्ने सच्चा राज्यसत्ता हुन्छ । समाजवादी आर्थिक निर्माण भन्नु नै वास्तवमा प्राविधिक क्रान्ति हो । प्रविधि–ज्ञानको विकासलाई प्राथमिकता नदिइकन श्रमिकहरूलाई कठिन र कष्टपूर्ण श्रमबाट मुक्त पार्न सकिँदैन; राष्ट्रिय अर्थतन्त्रको स्वाधीनता अघि बढाउन सकिँदैन; राष्ट्रिय अर्थतन्त्र छिटो छिटो विकास गर्न सकिँदैन । समाजवादी आर्थिक निर्माणको गति तीव्र पारेर उत्पादक शक्तिहरूको द्रुतगतिले विकास गर्न सक्यो भने, भौतिक धनको उत्पादन बढाइयो भने मात्रै समाजवादको बलियो भौतिक र प्राविधिक जग बलियो बनाउन सकिन्छ । कम्युनिस्ट समाजको निम्ति वस्तुगत अवस्था तयार गर्नुपर्छ; समाजका जनतालाई कम्युनिस्ट ढाँचामा बदल्नुपर्छ । सरकारमा गएका नेपालका कम्युनिस्टहरूले समाजवाद स्थापना गर्न, जनतालाई कम्युनिस्ट ढाँचामा बदल्ने के काम गरिरहेका छन् ? तिनीहरूले नै आफूलाई ठुला, क्रान्तिकारी र गौरवशाली पार्टी भनिरहेका छन् ।
प्रजग कोरियाली सरकारले विचारधारात्मक क्रान्ति, प्राविधिक क्रान्ति र सांस्कृतिक क्रान्तिको गति तीव्र पार्ने काम ग¥यो । यही क्रान्तिको सफलताको कारण संसारकै शक्तिशाली र आतङ्कित पार्ने देश संयुक्त राज्य अमेरिकाले प्रजग कोरियामा आक्रमण गर्न नसकेको हो । आक्रमण गरिहालेमा प्रजग कोरिया प्रतिकार गर्न तत्पर छ । के यो उपलब्धि या तागत प्रजग कोरियाको सफलताको सङ्केत होइन ? प्रजग कोरियाले आवश्यक परेमा जाइलाग्ने क्षमताको विकासमात्र होइन हरेक व्यक्तिलाई राज्य र समाजले खान, लाउन र बस्ने व्यवस्था गरेको छ; आ–आफ्ना योग्यताअनुसार कामको व्यवस्था गरेको छ; आ–आफ्नो कामको परिणामअनुसार ज्यालाको व्यवस्था गरेको छ । मजदुर होस् या किसान, सहरमा बस्ने होस् या गाउँ सबैले समानरूपले जीवन उपभोग गर्ने अवसर पाएका छन् । के यो प्रजग कोरियाले गरेको उपलब्धि होइन ?
प्रजग कोरियामा निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ । प्रत्येक व्यक्तिले शिक्षा पाउने पूर्ण अधिकार र स्वतन्त्रता छ । निःशुल्क चिकित्सा पद्धतिको व्यवस्था छ । जनमुखी नीतिको कारण प्रत्येक व्यक्तिले सुस्वास्थ्य र सुखी जीवन उपभोग गर्ने अवसर पाएका छन् । प्रजग कोरियाको मुख्य लक्ष्य नै सच्चा जनमुखी समाज स्थापना गर्ने हो । अहिले प्रजग कोरिया साम्राज्यवादीहरूले फोड्नै नसक्ने एकतामा आधारित बलियो समाजवादी व्यवस्था स्थापना गरिसकेको छ । कोरियाली जनताले त्यस्तैखाले राजनीतिक, सांस्कृतिक र आर्थिक जीवन बिताइरहेका छन् । यो संसारकै लागि एक उदाहरणीय पाइला हो ।
Leave a Reply