भर्खरै :

माक्र्सवाद–लेनिनवाद कामदारवर्गको आन्दोलनको अनुभवको सँगालो हो

माक्र्सवाद–लेनिनवाद सर्वहारा वर्गीय क्रान्तिको विज्ञान हो । यो सिद्धान्त अन्तर्राष्ट्रिय कामदारवर्गको आन्दोलनको अनुभवको सँगालो हो । माक्र्सवाद–लेनिनवादबारे अध्ययन गर्ने, सङ्ठन गर्ने क्षमता बढाउने, क्रान्तिकारी सङ्ठन विस्तार गर्ने काम हरेक कम्युनिस्ट पार्टीको धर्म हो । क्रान्तिकारी सिद्धान्त नभई क्रान्तिकारी आन्दोलन हुँदैन; समाजवादी पार्टी नभई समाजवादी आन्दोलन अघि बढ्दैन । कम्युनिस्ट पार्टी सिद्धान्तलाई व्यवहारमा लागु गर्छ; लागु गर्न अघि बढ्छ । कम्युनिस्ट पार्टी कामदार जनताको मुक्तिको निम्ति लड्छ; थिचोमिचोमा परेका राष्ट्र र जनताको निम्ति लड्छ । कम्युनिस्ट पार्टीले कहिले पनि देश, समुदाय र समाज छोडेर व्यक्तिगत हितलाई प्राथमिकता दिँदैन ।
कम्युनिस्टहरू सिद्धान्तबाट च्युत हुँदैनन्; देश र जनताको हितबाहेक व्यक्तिगत लाभ हानिमा फस्दैनन् । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूमा वर्गीय भावना हुन्छ; वर्गीय भावना राखी राजनीति गरिएको हुन्छ । उनीहरू व्यक्तिवादी हुँदैनन्; अहङ्कार हुँदैनन्; सिद्धान्तनिष्ठ हुन्छन्† सिद्धान्त र विचारको राजनीति गर्छन् । जस्तोसुकै कठिन परिस्थिति र कठिनाइ आए पनि सिद्धान्त र विचार छोड्दैनन् । कम्युनिस्ट पार्टी स–साना सुधार गरेर जीवन बिताउनुभन्दा आमूल परिवर्तनको निम्ति लड्छन् । कम्युनिस्टहरू आधुनिक इतिहासका अग्रगामी क्रान्तिकारीहरू हुन् । प्रतिक्रान्तिकारीहरूविरुद्ध लडेरै समाजको मुहार फेर्न अघि बढ्छन् । हो, कम्युनिस्टहरूले आफूलाई साँचोमा ढाल्न आफूमा क्रान्तिकारी गुण र क्षमताको विकास गर्नुपर्छ; आत्मविश्वासको निम्ति कठिन परिश्रम गर्नुपर्छ; आफ्नो स्तर बढाउन अध्ययन गर्नुपर्छ ।
कम्युनिस्टहरू पुँजीवादी स्वार्थमा भुल्दैनन् । उनीहरू सत्तामा रहे पनि नरहे पनि सिद्धान्त र विचार छोड्दैनन् या सिद्धान्त र विचार लागु गर्ने प्रयास गर्छन् । सबै खालको शोषण, थिचोमिचो र शोषक, सामन्त, पुँजीपतिवर्गको अन्त्य गरेर समाजवादी व्यवस्था स्थापना गर्नु कम्युनिस्ट पार्टीको ध्येय हो । साम्राज्यवाद, विस्तारवाद र सामन्तवादको विरोध नगर्ने कुनै पनि दल कम्युनिस्ट हुनेछैन । साम्राज्यवादी नीति र विस्तारवादी नीतिको विरोध गर्न कम्युनिस्ट पार्टीले कञ्जुस्याइँ गर्दैन । सत्ता स्वार्थको निम्ति, सत्ता टिकाउनको निम्ति असमान सन्धि सम्झौता गरिएको हुँदैन । तर, विडम्बना ! पुँजीवादी सत्ताको स्वादमा पल्केका नेपालका कम्युनिस्टहरू सरकारको नेतृत्व पाउन, सरकारमा सामेल हुन र सरकारको निरन्तरता पाउन सिद्धान्त र विचारको ख्याल गर्दैनन्; दलगत र व्यक्तिगत स्वार्थमा लागेर देश र जनताको कुरा भुल्छन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्ताबाट च्युत भएपछि मात्रै जनतामाझ जाने विचार व्यक्त गरे । विगतमा पटक–पटक सरकारको नेतृत्व गर्दा देश र जनताको वास्ता नगर्ने नेता दाहाल अहिले पनि नेका र एमालेको नेतृत्वमा रहेको सरकार परिवर्तन भएको हेर्न चाहन्छन् । नेका या एमालेमध्ये कुनै दलले सरकारमा सामेल हुन आग्रह गरेमा माओवादी सरकारमा जान छोड्ने छैन । कहिले नेका र कहिले एमालेसँग घाँटी जोडेर सरकारको नेतृत्व गर्न मरिहत्ते गर्ने दल माओवादी नै हो । तर, अहिले उनी सरकार ढाल्न अघि नसर्ने फुक्छन् । सत्ताबाट फालेपछि मात्रै जनतामाझ भिज्ने र समाजवादी आन्दोलन छेड्ने कुरा के द्वैध चरित्र होइन ?
सरकारमा जान पल्केका कम्युनिस्टहरू उल्टो सच्चा कम्युनिस्ट पार्टीको विरोध गर्छन्; पार्टी फुटाउन गोटी चाल्छन् । कम्युनिस्ट पार्टीको विस्तारमा बाधा हाल्छन् । अरु कम्युनिस्ट पार्टी फुटाउन पाएपछि, नेता कार्यकर्ता भाँड्न पाएपछि कम्युनिस्ट पार्टीको उद्देश्य पूरा भएको गफ छोड्छन्; त्यसैमा गर्व गर्छन् । एमाले र माओवादी कम्युनिस्ट पार्टी बलियो बनाउन होइन सरकारको नेतृत्व गरेर राज्यको सेवा सुविधा लिन अघि सर्छन् । दलगत र व्यक्तिगत स्वार्थ हेर्ने, भागबन्डा गर्ने दलको सरकार परिवर्तन खोज्दैन; परिवर्तन गर्न लाग्दैन । नेकपा माओवादी केन्द्रका अध्यक्षले भने, “विगतमा विभिन्न दलसँग मिल्दा माओवादी बिग्रिएको कारण जनताकै बिचमा गएर सच्याउन अहिले अभियान चलाइएको हो ।” जनताको बिचबाट सच्चिएर अघि बढ्ने दृढता हिजो किन भएन ? हिजो कसको दबाब या इसारामा माओवादी केन्द्र सत्तामा भुल्यो ? क्रान्तिकारी बाटो छोडेर किन शान्तिपूर्ण बाटोमा लाग्यो ? विगतमा एमालेले माओवादीलाई, माओवादीले एमालेलाई कम्युनिस्ट पार्टी नै होइन; कम्युनिस्ट पार्टीको गन्ध नै छैन भनेर के एकले अर्काेलाई हिलो छ्यापेको होइन ? पानी बाराबरको स्थितिमा पुगेका ती नै दलका नेताहरू सरकारको नेतृत्व गर्न पाएपछि घाँटी जोड्न पुगे । एमाले र माओवादीका नेताहरूमा अडान भएन; कम्युनिस्ट पार्टीको स्पष्ट विचार देखिएन । कम्युनिस्ट पार्टीको बदनाम गर्ने, पार्टीको सिद्धान्त भुल्ने दल एमाले र माओवादी नै हुन् । उनीहरूकै कारण देशमा समाजवादी क्रान्ति पछि सर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *