भर्खरै :

जलवायु सङ्कट समाधानमा अब्बल चीन

  • जेष्ठ ११, २०८२
  • टिना ल्यान्डिस
  • विचार
जलवायु सङ्कट समाधानमा अब्बल चीन

सन् १९४९ मा चीनमा क्रान्ति भयो । त्यो बेला चीन कृषिप्रधान देश थियो । गरिबी र भोकमरीको बिगबिगी थियो । पूर्वाधारको अभाव थियो । कैयन् दशकसम्म तीव्रतर विकास गर्दा चीनमा प्रदूषण बढ्यो ।
अमेरिकी मूलधारे मिडियाले अमेरिकाले चीनमा आफ्ना उद्योगधन्दा खोलेको विषयमा उति बोल्दैन । उद्योग मात्र चीन लगिएन अमेरिकामा हुने प्रदूषण पनि चीनमा सारियो । कार्बन उत्सर्जनको दोष उत्पादन उपभोग हुने ठाउँलाई भन्दा उत्पादन गरिने ठाउँलाई दिइन्छ । अथवा, उत्सर्जनको घनत्वलाई ख्याल गरिन्न । कार्बन उत्सर्जन मात्र हेर्ने तर मालसामानको उपभोग र जनसङ्ख्या नहेर्ने हो भने चीन नै कार्बन उत्सर्जनमा अगाडि देखिन्छ । दोस्रोमा अमेरिका आउँछ । तर, चीनले विश्वको ३० प्रतिशत मालसामान उत्पादन गर्छ भने विश्वका १७.७ प्रतिशत जनता त्यही बस्छन् । जब कि उपभोगमा अमेरिका विश्वमै अगाडि आउँछ तर विश्वको ४.३ प्रतिशत जनसङ्ख्या मात्र त्यहाँ बस्छ ।
विश्वका सबै देशको प्रतिव्यक्ति कार्बन उत्सर्जन एवम् प्रतिव्यक्ति उपभोगआश्रित उत्सर्जनलाई हेरौँ । हेर्ने सही तरिका यही हो । यसरी हेर्दा अमेरिका कार्बन उत्सर्जनमा चीनभन्दा कता हो कता अगाडि छ ।
जनघनत्व हेर्दा अमेरिकाको उत्सर्जन चीनको भन्दा दोब्बर छ । यसका साथै उसको प्रतिव्यक्ति उपभोगआश्रित उत्सर्जन चीनको भन्दा साढे दुई गुणा बढी छ । जतिजति बेला अमेरिकाले जलवायु सङ्कटको लागि चीनलाई दोष दिन्छ, हामीले वस्तु उत्पादन तथा उपभोगको विश्वव्यापी प्रणालीमा ध्यान दिनुपर्छ ।

उत्सर्जन कटौती तथा नवीकरणीय ऊर्जामा विस्तार
चीनलाई कम्युनिस्ट पार्टीले नेतृत्व गरिरहेको छ । अर्थतन्त्र योजनाबद्ध र केन्द्रीकृत छ । उनीहरूले औद्योगीकरणको प्रभावमा ध्यान दिएका छन् । हावा–पानीको गुणस्तर र पर्यावरणीय स्वास्थ्यमा परेको असर केलाएका छन् ।
सन् १९९० को दशकमा चिनियाँ कम्युनिस्ट पार्टीले दिगो विकास अत्यावश्यक भएको बुझ्यो । विकास गर्दागर्दै पनि पर्यावरणलाई टिकाउ बनाउनुपर्ने खाँचो महसुस ग¥यो । सन् २००३ मा तत्कालीन चिनियाँ राष्ट्रपति हु चिन्ताओले एउटा अवधारणा अघि सार्नुभयो – विकासको वैज्ञानिक अवधारणा । त्यसमा दुई कुरामा जोड दिइयो । पहिलो, मानिस र प्रकृतिबिच तादात्म्य ल्याउने । दोस्रो, समतामूलक समाजवादी समाजको निर्माण गर्ने र त्यसलाई सबैबिच साझा गर्ने । सन् २००७ मा चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ अधिवेशन भयो । त्यसले उक्त अवधारणालाई अनुमोदन ग¥यो । त्यसपछि पर्यावरणमा क्षति पु¥याउने १०० भन्दा बढी ठुला परियोजनाहरूलाई बन्द गरियो । वातावरण संरक्षण मन्त्रालयले ल्याएको कार्यक्रमअनुसार त्यो काम भएको थियो । त्यसलाई वातावरणीय क्षति मूल्याङ्कन कार्यक्रम भनियो ।
सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव बन्नुभयो सी चिनफिङ । उहाँको नेतृत्वमा चीनको संविधानमा पर्यावरणीय सभ्यताको निर्माण गर्ने लक्ष्य समावेश गरियो । सन् २०१३ मा सी चिनफिङ राष्ट्रपति बन्नुभयो । त्यसपछि यस दिशामा उहाँले थप काम अगाडि बढाउनुभयो ।
सन् २०१४ मा चीनले ‘प्रदूषणविरुद्ध युद्ध’ घोषणा ग¥यो । सन् २०२१ सम्ममा चीनले निश्चित पदार्थको प्रदूषणमा ४२ प्रतिशत कमी ल्यायो । यति धेरै कटौती गर्दा समेत चीन अझै पनि विश्वको १३ औँ प्रदूषित देश हो । तर, यति छोटो समयमा यति ठुलो कटौती गर्नु निकै ठुलो उपलब्धि हो । पुँजीवादी शासन भएको देशमा यस्तो उपलब्धि कहीँकतै हासिल भएको छैन । उद्योग तथा यातायात क्षेत्र सरकारी नियन्त्रणमा हुने देशमा मात्र हावाको गुणस्तरमा सुधार ल्याउन सकिन्छ ।
चीनको जनसङ्ख्या १ अर्ब ४० करोड छ । यति धेरै जनतालाई ऊर्जा प्रदान गर्न चीन अझै पनि जीवाश्म इन्धनमा निर्भर छ । उसले ६० प्रतिशत ऊर्जा उत्पादन जीवाश्म इन्धनबाट गर्छ । तैपनि, उसले नवीकरणीय ऊर्जामा विश्वको नेतृत्व गर्दै छ । सन् २०२४ को जून महिनामा चीनमा उत्पादन हुने वायु तथा सौर्य ऊर्जाले कोइलाजन्य ऊर्जालाई माथ दियो । सन् २०२५ सम्ममा नवीकरणीय ऊर्जाको हिस्सा ३३ प्रतिशत पु¥याउने १४ औँ पञ्चवर्षीय योजना बन्यो । त्यस्तै, सन् २०२६ सम्ममा कोइलाजन्य ऊर्जालाई सौर्य ऊर्जाले उछिन्ने लक्ष्य चीनको छ ।
चीनले सन् २०६० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य राखेको छ । चीनको अघिलम्काइ हेर्दा यी लक्ष्य पूरा हुने निश्चित छ । सन् २०२० मा चीनले वायु तथा सौर्यको क्षेत्रमा १२ सय गिगावाट ऊर्जा हासिल गर्ने लक्ष्य पूरा ग¥यो । खासमा त्यो लक्ष्य सन् २०३० का लागि तय गरिएको थियो । तर, तोकेको समत्न्दा १० वर्षअगाडि नै उसले त्यो लक्ष्य हासिल ग¥यो । सन् २०२४ मा तिनीहरूको वायु ऊर्जा १८ प्रतिशतले बढ्यो भने सौर्य ऊर्जा ४५.२ प्रतिशतले फड्को मा¥यो । सन् २०२४ मा ऊर्जा उत्पादन १४.६ प्रतिशत बढ्यो । यो वृद्धि नवीकरणीय ऊर्जाबाट गरिएको थियो ।
चीनले आणविक ऊर्जा पनि उत्पादन गर्दै आएको छ । यसले वातावरण तथा स्वास्थ्यमा प्रभाव पार्छ । उनीहरू आफ्नो ऊर्जा क्षमतामा साना मोडुलर रियाक्टर प्रयोग गर्ने योजनामा छन् । यिनमा ठुलो रियाक्टरको भन्दा कम जोखिम हुन्छ । तर, साना मोडुलर रियाक्टरमा पनि रेडियोधर्मी फोहरको समस्या हुन्छ । त्यहाँ काम गर्ने कामदारलाई जोखिम हुन्छ ।
चीन विशालकाय जलविद्युत् परियोजनामा पनि निर्भर छ । यस्ता विद्युत्गृहले जलाधार तथा पर्यावरणमा उल्लेख्य असर पार्छन् । यति भन्दाभन्दै पनि सौर्य तथा वायु ऊर्जा क्षमता बढाएर चीनले विश्वको नेतृत्व गर्दै छ । वातावरणमा यी ऊर्जा स्रोतको प्रभाव अति न्यून हुन्छ । चीनलगायत विश्वका सबै देशसँग आफ्नो विकासको बाटो आफै तय गर्ने अधिकार छ । यसको लागि साम्राज्यवादी हैकम वा चलखेलसामु झुक्नुपर्दैन । अमेरिकी जनताले ध्यान दिनुपर्ने आफ्नै देशमा हो ।
विद्युतीय गाडीको उत्पादनमा चीनले अहिले विश्वकै नेतृत्व गर्दै छ । विश्वको ६० प्रतिशत विद्युतीय गाडी चीनमा उत्पादन हुन्छ । उच्च गुणस्तर र न्यून मूल्यका विद्युतीय गाडीको उत्पादनमा चिनियाँ कम्पनी ‘बीवाइडी’ विश्वमै अगाडि छ । यो कम्पनीको विद्युतीय कार जम्मा १२ हजार डलरमा आउँछ । तर, चिनियाँ सामानमा अमेरिकाले भन्सार कर बढाएपछि अमेरिकामा अहिले यी कारको मूल्य एकाएक बढेको छ । (ट्रम्पले भन्सार कर खास चीनलाई भन्दा अमेरिकी उपभोक्तालाई लगाएका हुन् ।)
आजभोलि ब्याट्रीको उत्पादनमा दुर्लभ खनिजको प्रयोग बढ्दो छ । यी खनिजको उत्खननले वातावरणमा पार्ने प्रभावबारे सोच्न आवश्यक छ । यसकारण, सार्वजनिक यातायातलाई विद्युतीकरण एवम् विस्तार गर्नुपर्छ । निजी कार प्रयोग गर्ने प्रवृत्ति हटाउनुपर्छ । यति गरेमात्र उत्खननको हानिकारक प्रभाव घटाउन सकिन्छ । चीनले अहिले यही काम गर्दै छ । सन् २०२० मा विश्वको विद्युतीय बस बजारमा चिनियाँ उत्पादनले ९० प्रतिशत हिस्सा ओगटेको थियो । त्यस यता पनि विद्युतीय कार र बसको उत्पादनमा चीन अन्य देशभन्दा धेरै अगाडि छ । प्रदूषणकारी डिजलचालित ट्रक तथा बसको प्रयोग घटाउनुका धेरै लाभ छन् । पहिलो, यसले हरितगृह ग्यासको उत्सर्जन कम हुन्छ । साथै, डिजेल उत्सर्जनबाट हुने कार्सिनोजिनको तह घट्छ र जनस्वास्थ्यमा सुधार हुन्छ ।
चीनसँग विश्वकै सबैभन्दा उच्च गतिको रेल प्रणाली छ । रेल सञ्जाल झन्डै ३० हजार माइल लामो छ । सन् २०३० सम्ममा चीनले आफ्नो रेलमार्ग ८ हजार माइल बढाउने लक्ष्य राखेको छ ।
सफा ऊर्जा तथा यातायातका यी परियोजना खडा गर्न राज्यले निकै ठुलो लगानी गर्नुपर्छ । चीनले ठुला परियोजना लागु मात्र गरेको छैन, साथमा ८५ करोड जनतालाई चरम गरिबीबाट मुक्त पनि गरेको छ । सन् २०१३ र २०२० बिच देशभरि चलाइएको कार्यक्रबाट चीनले यो भव्य उपलब्धि हासिल गरेको हो । यसबाट पनि समाजवादले समाज तथा पृथ्वीको आवश्यकता अनुरूप सार्थक कार्य गर्न सक्छ भन्ने प्रमाणित हुन्छ । यस मानेमा पुँजीवाद समाजवादभन्दा अति पछाडि छ ।

ठुलो आकारमा पर्यावरण सुधार
चीन अहिले पर्यावरण ब्युँताउने विशालकाय परियोजनामा छ । सन् १९९४ मा उनीहरूले ४० लाख एकड जग्गामा फैलेको तर पातलिँदै गएको कृषि भूमिलाई पुनर्जीवन दिने परियोजना थाले । उत्तर–मध्य चीनको लोएस पठारमा । हजारौँ वर्षसम्म लगातार जथाभावी पशुपालन र खेतीपाती गर्नाले यो भूमि उजाड भएको थियो । १० वर्षभन्दा पनि कम समयमा जैविक विविधता र पर्यावरणीय स्वास्थ्य पुनर्जागृत भयो । जग्गामात्र तुलना गर्ने हो भने यो बेल्जियम देश बराबर छ । यस परियोजनाका कारण त्यो भेगका २५ लाख जनता गरिबीबाट बाहिर आए । दिगो कृषिले पुनर्जीवन भयो ।
चीनले विशालकाय वृक्षारोपण कार्यक्रम पनि चलाएको छ । ‘विशाल हरित पर्खाल’ एउटै यस्तै कार्यक्रम हो । यसमा ८ करोड ८० लाख एकड जमिनमा खडेरी नपर्ने रुखबिरुवा रोपिएको छ । मरुभूमीकरण रोक्नका लागि बालुवा नियन्त्रण गर्ने संयन्त्र जडान गरिएको छ । यो परियोजनाको एउटा हिस्सा हो ताक्लामाकन मरुभूमि शाखा । यो शाखाको काम सन् २०२२ मा पूरा भएको थियो । यसले ६ लाख कामदारलाई रोजगारी दिएको छ । त्यस्तै गोबी मरुभूमि शाखाको काम सन् २०५० सम्म पूरा हुने लक्ष्य राखिएको छ । ताक्लामाकन शाखामा विश्वकै सबैभन्दा ठुलो सौर्य ऊर्जा केन्द्र छ । त्यसले ४ गिगावाट बिजुली उत्पादन गर्छ ।
चीनले जलप्रदूषणको मुद्दा पनि सम्बोधन गरेको छ । युन्नान प्रान्तको इर्हाइ ताल पुनर्जीवन परियोजना यस्तै परियोजना हो । २५० वर्ग किलोमिटरमा फैलेको यो ताल दशकौँको प्रदूषणले बिग्रेको थियो । वस्तुभाउ चराउने, माछा पाल्ने, कीटनाशक तथा विषादी मिसिने र विकास एवम् पर्यटनको फोहरमैला जम्मा हुने हुनाले ताल बेहाल थियो । यस्ता सामानमा हुने उच्च पोषक तत्वले गर्दा निलो–हरियो लेउको राश लागेको थियो । यसले पानीको अक्सिजन सोस्यो । परिणाम, जलचर प्राणीमा ठुलो कमी आयो । उच्च प्रदूषणले तालको पानी मानव उपभोगका लागि अनुपयुक्त भयो । सरकारको केन्द्रीकृत प्रयासका कारण यस भेगको अर्थतन्त्रलाई ताल, त्यसको मुहान र आसपासको इलाकामा भएको प्रदूषण हटाउनमा केन्द्रित गरियो । अहिले त्यो तालको पानी सफा छ र जैविक विविधता पुनः फस्टाउँदै छ । सन् २०२२ मा इर्हाइ ताल पुनर्जीवन परियोजनाले अन्तर्राष्ट्रिय पुरस्कार जित्यो । डेनमार्कमा ‘विश्व जलसङ्घ’ ले गरेको कार्यक्रममा इर्हाइ परियोजनाले ‘उत्कृष्ट परियोजना कार्यान्वयन’ को पुरस्कार पायो ।
संविधानमै तोकिएको लक्ष्यअनुसार चीनले ३ सत्न्दा बढी पर्यावरणमैत्री सहर बनाएको छ । आफ्ना ३० सहरलाई ‘स्पन्ज सहर’ मा परिणत गरेको छ । यी सहरले जलवायु परिवर्तनबाट पैदा हुने बाढी र खडेरीको मार थेग्न सक्छन् । महँगा पार्क र सँगै जोडिएका सिमसारले सुक्खा याममा पुनर्ताजगी क्षेत्रको काम गर्दै छन् । दर्के झरी पर्दा यी पार्क र सिमसारले बाढी नियन्त्रण क्षेत्रको काम गर्छन् । स्वस्थ जीवमण्डल (बायोस्फियर) ले जलवायुलाई स्थिर राख्न सक्छ । त्यसैले, चीनले सहरी पूर्वाधारलाई जीवमण्डलसँग जोड्न खोज्दै छ । यस कार्यले जलवायु परिवर्तनको असर कम गर्न, जीवमण्डल बढाउन, चरम मौसमसँग जुध्न, हावा–पानीको गुणस्तर सुधार्न तथा स्थानीय बासिन्दाको स्वास्थ्य सुधार्न मद्दत पुग्छ ।
चीनको बेल्ट र रोड अगुवाइले विकासको यो मोडललाई फैलाउँदै छ । यो अगुवाइले दक्षिणी गोलाद्र्धका देशहरूमा पर्यावरणीय हिसाबले दिगो विकासको प्रसार गर्दै छ । अमेरिका र अन्य साम्राज्यवादी देशहरूले चलाएका विकास कार्यक्रमभन्दा विपरीत ‘बीआरआई’ कार्यक्रम पूर्वाधार विकास, व्यापार साझेदारी तथा प्रविधि आदानप्रदानमा केन्द्रित छ । यसले साझेदार देशका जनताको जीवनस्तर पनि उकास्छ । यी विकास परियोजनाहरू परस्पर लाभमा आधारित छन् । अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैङ्कजस्ता पश्चिमा निकाले दिने सहयोगमा कठोर सर्त हुन्छन् । सहयोग लिने देशले सार्वजनिक क्षेत्रमा खर्च कटौती गर्नुपर्ने हुन्छ । अन्त्यमा, ती देश उत्तरी गोलाद्र्धका देशबाट लिइने ऋणको दलदलमा डुब्छन् ।
जलवायु सङ्कटबाट पार पाउने हो भने चीनको जस्तो अन्तर्राष्ट्रवादी दृष्टिकोण अपरिहार्य छ । सहकार्य तथा साझेदारीको आधारमा दिगो विकासलाई अगाडि बढाइनुपर्छ । परिणाम, दक्षिणी गोलाद्र्धका देशहरूको जनजीवन उकासिनुका साथै पर्यावरणीय समस्याको पनि सम्बोधन हुन्छ । चीनमा होस् वा बाहिर, यसप्रकारका ठुला परियोजना तबमात्र सफल हुन्छन् जब अर्थतन्त्र समाजवादी ढङ्गले केन्द्रीकृत तथा योजनाबद्ध हुन्छ । साम्राज्यवादको मुटु अमेरिकामा अहिले चीनविरुद्ध अमेरिकी युद्धको पक्षमा जनमत पैदा गरिँदै छ, चीनलाई दानवीकरण गरिँदै छ । यस्ता प्रचारबाजीबाट हटेर पश्चिमले चीनतर्फ हेर्नुपर्छ । चीनले चलाइरहेको जस्तो पर्यावरणीय हिसाबले दिगो विकास कसरी गर्ने भनी सिक्नुपर्छ ।
(लेखिका ‘पुँजीवादपरि जलवायु समाधान’ पुस्तककी लेखिका हुन् ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *