भर्खरै :

म्यान्मामा युद्धविरामको म्याद थप गर्न मलेसियाको आग्रह

म्यान्मामा युद्धविरामको म्याद थप गर्न मलेसियाको आग्रह

क्वालालम्पुर, २५ मे (एएफपी) । म्यान्मामा भूकम्पपछिको युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठेको भए तापनि मे महिनाको अन्त्यमा समाप्त हुने गरी युद्धविरामको समयावधि थप र विस्तार गर्न मलेसियाले आइतबार आह्वान गरेको छ ।
गत मार्चको अन्त्यमा गएको विनाशकारी भूकम्पमा परी करिब तीन हजार ८०० जनाको मृत्यु र दसौँ हजार घरबारविहीन भएपछि सत्तारुढ सैन्य जुन्टाले सुरुमा बहुपक्षीय गृहयुद्धमा युद्धविरामको घोषणा गरेको थियो ।
युद्धविराम यसअघि पनि लम्ब्याइएको थियो । यद्यपि, द्वन्द्व अनुगमनकर्ताहरूले जुन्टाको नियमित हवाई आक्रमणसहित लडाइँ जारी रहेको बताएका छन् ।
“आइतबार क्षेत्रीय विदेशमन्त्रीहरूको बैठकमा मलेसियाका विदेशमन्त्री मोहम्मद हसनले ‘हाल प्रभावित क्षेत्रभन्दा बाहिर युद्धविरामको विस्तार गर्ने प्रस्ताव गर्नुभएको छ,” एक विज्ञप्तिमा भनिएको छ ।
“हामी म्यान्माका सरोकारवालाहरूलाई शत्रुता अन्त्य गर्न, युद्धविरामको विस्तार गर्न, पुनरुत्थानको लागि लामो र कठिन मार्गलाई सहज बनाउन र म्यान्माका जनताको पीडा कम गर्न आह्वान गर्दछौँ,” मोहम्मदले आफ्नो प्रारम्भिक भनाइमा उल्लेख गर्नुभयो ।
मलेसियाले हाल १० सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्ठन (आसियान) को आलोपालो अध्यक्षता सम्हाल्दै आएको छ ।
सन् २०२१ को फेब्रुअरीमा म्यान्माले नागरिक नेतृ आङ सान सुकीलाई सत्ताच्युत गरेपछि म्यान्माको द्वन्द्व अन्त्यका लागि यस समूहले अहिलेसम्म निष्फल कूटनीतिक प्रयासको नेतृत्व गर्दै आएको छ ।
आसियानले सन् २०२१ को अप्रिलमा जुन्तालगायत सबै समूहका नेताहरूबिच सहमति भएको पाँचबुँदे शान्ति योजना कार्यान्वयन गर्न सङ्घर्ष गरिरहेको छ ।
शान्ति सम्झौतामा प्रगति हुन नसकेको भन्दै जुन्टाका अधिकारीहरूलाई आसियान शिखर सम्मेलनमा सहभागी हुनबाट रोक लगाइएको छ ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गत अप्रिलमा बैङ्ककमा म्यान्माका जुन्टा नेता मिन आङ ह्लाइङलाई भेटेर युद्धविरामको सम्मान गर्न आग्रह गर्नुभएको थियो ।
संयुक्त राष्ट्रसङ्घ र स्वतन्त्र द्वन्द्व अनुगमनकर्ताहरूले युद्धविरामका बाबजुद जुन्टाले हवाई आक्रमणको अभियान जारी राखेको बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार मे महिनाको मध्यतिर जुन्ताले सागाइङ क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको एक विद्यालयमा गरेको हवाई आक्रमणमा २० बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो । थुप्रै कुविरोधी र जातीय सशस्त्र समूहहरूले शत्रुता रोक्न आ–आफ्नो प्रतिज्ञा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *