भर्खरै :

केही राजनैतिक शब्द परिचय

केही राजनैतिक शब्द परिचय

समाजमा आफ्नो प्रतिभाको चमत्कार देखाउन नेता, लेखक, साहित्यकार, पत्रकार, वकिल, विद्वान् आदिले साहित्य, लेख र भाषणमा प्राविधिक शब्दहरू प्रयोग गरिएका हुन्छन् । शब्द प्रयोगले लेख या भाषणलाई मिठासजस्तो बनाए तापनि सर्वसाधारण जनतालाई शब्दको अर्थ बुझ्न गा¥हो हुन्छ । राजनीतिप्रति चाख राख्ने जनताको लागि केही सघाउ होस् भने उद्देश्यले केही राजनैतिक शब्दहरूको परिचय दिन खोजिएको छ ।
पलायनवाद
यसको अर्थ भाग्ने प्रवृत्ति हो । डराएर वा परिस्थितिसँग हारेर भाग्ने काम नै पलायन हो । यसकारण, यसलाई भगुवावाद पनि भनिन्छ । गा¥होफा¥होदेखि तर्सेर आफ्नो सिद्धान्तमा स्थिर नरही छोड्ने बानी हो पलायनवाद । वास्तविक समस्यासित द्वन्द्व गरी तिनलाई जित्ने साहस नदेखाएर सुखको कल्पना गर्ने प्रवृत्ति पनि यहाँ नभएको होइन । कम्युनिस्टको अन्तिम लक्ष्य एउटै भएर पनि कार्यशैलीमा अन्तर आउनु यसकै कारण हो । कोही राजतन्त्र रहुञ्जेल चुनावमा भाग नलिने, कोही गणतन्त्रवादीले पनि राजतन्त्रलाई स्वीकार्ने, कोही सिद्धान्त बन्धक राख्नुपरे पनि आफ्नो पद छोड्न नचाहने दल र नेताहरू छन् । सेवाको नाउँमा बहुमत जनतादेखि तर्सने पार्टीहरू पनि छन् । यी प्रवृत्तिहरू पलायनवादका लक्षणहरू हुन् ।
दुःसाहसवाद
सम्भव र साध्य नै नभएको काम गर्ने आँट नै दुःसाहसवाद हो । कुनै दुष्कर वा असम्भव काम गर्न देखाइएको साहस दुःसाहस हो । यसको आफ्नो औकात नै छैन तर उत्तिकै धक्कू लगाउनु यसको चरित्र हो । आफ्नो प्रभावमा ल्याउन जनताको वचन पूरा गर्ने एउटै मात्र उपाय प्रजातान्त्रिक पार्टी भनी ध्वाङ फुक्ने, जनताको मत लिन पूरा गर्नै नसक्ने मिठा आकर्षक कुरा फलाक्ने, समय र परिस्थिति नहुँदै क्रान्ति फलाक्ने पनि दुःसाहसभित्रै पर्छ । यी नै दुःसाहसवादका चर्तिकलाहरू हुन् ।
सङ्कीर्णवाद
सीमित घेरामा बसेर थोरैमात्र उपलब्धि खोज्ने विचार सङ्कीर्णवाद हो । खुला वा फुक्का हृदय नहुनु, चित्त सानो हुनु नै सङ्कीर्ण हो । यसले अल्पमत जनताको साथमा जातीय र क्षेत्रीय नारा दिन्छ । यसले व्यापक जनताको समर्थन र साथलाई बिर्सेर आफ्नो इलाकामा मात्र सुधार गर्ने विचार राख्छ । यसले अज्ञानता र जातिवादको विकास गराई एक अर्काबिच जुधाउने काम गर्छ । नेपालमा पनि सङ्कीर्ण विचार बोकेका दलहरू छन् ।
उदारवाद
सङ्कुचित विचार र दुराग्रहदेखि पर रही विचार राख्ने प्रवृति उदारवाद हो । उदारवादलाई फितलोपना वा गम्भीर नभएको पनि भनिन्छ । साथीले गरेको, भनेको भनी गल्तीलाई पनि सही थप्ने काम र गल्ती देखाउनुभन्दा छोप्ने र मौन भएर बस्ने बानीले काम बिग्रार्छ । यसले नातावाद र क्रिपावादको विकास गराउँछ† वैचारिक मतभेदलाई चर्काउने काममा मद्दत गर्छ । आखिर मिलीजुली गर्ने काममा बाधा पर्छ र अनेकता ल्याउँछ । अनि एक आपसमा झगडा हुन्छ र यस्तो फाइदा शत्रुले लिन्छ । यसैलाई भनिन्छ, हात्तीको जुधाइ, बाच्छाको मिचाइ । सबै जनतामा समान सुविधा तथा स्वतन्त्रताको अधिकार मिल्नुपर्छ भन्ने विचार उदारवाद हो ।
अनुदारवाद
कति पनि उदार नभएको या कञ्जुस्याइँ गर्ने बानी अनुदारवाद हो । अरुका उपर दयाको भावना नराख्ने र अरुको भलो होस् भन्ने नचिताउने अनुदार हो । अनुदारवादीहरूले केबल सिद्धान्तलाई खुब श्रृङ्गार गर्छन् । नराम्रो चिजलाई खोल लगाई राम्रो बनाउने कामले जनतालाई धोका हुन्छ । प्रचलित सामाजिक मान्यतामा सुधार वा परिवर्तन नचाहने वा परिवर्तन वा सुधारको प्रतिरोध गर्ने विचार अनुदारवाद हो । यसैले यिनीहरू बहुमत जनताको पक्षलाई वकालत गर्दैनन् न त परिवर्तन नै गर्न चाहन्छन् । अनुदारवादीहरू छाडा व्यवहार र जनतालाई उच्छृङ्खल बनाउने र राजनैतिकरूपमा विरोधी दल भनेपछि एकछिन पनि बाँकी नराख्ने सोचाइ राख्छन् । उनीहरू देश, काल, परिवेशलाई वास्ता नगरी चर्का चर्का नारा र अव्यवहारिक गतिविधिहरू अगाडि बढाउँछन् । यसैले अनुदारवादीहरूलाई उग्रवादी पनि भन्ने गरिन्छ ।
अहङ्कारवाद
आफूलाई सर्वेसर्वा सम्झने काम अहङ्कार हो । बल या बुद्धिको आधारमा सेखी गर्ने या अरूको कुरालाई गन्दै–नगन्ने प्रवृत्तिलाई अहङ्कारवाद भनिन्छ । घमण्डीको आधारमा अरूलाई गलहत्याउने काम तानाशाही प्रवृत्ति हो । सबै तैँ रानी मैँ रानी भयो भने कसले भर्छ कुवाको पानी भनेझैँ काम अधुरो हुन्छ । अरुको विचारलाई स्थान नदिनु या आफ्नो विचारले मात्रै ढाकछोप गर्ने बानी बसाल्नु जनचाहनाभन्दा विपरीतको कुरा हो ।
आत्मसमर्पणवाद
पूरै अर्काको अधीन वा वशमा रहने काम आत्मसमर्पण हो । युद्धको क्रममा विजेता पक्षको धनीता स्वीकार्ने काम आत्मसमर्पण हो । आफ्नो विचार या नीति त्यागेर बलियो या विरोधीको अगाडि झुक्ने प्रवृत्ति नै आत्मसमर्पणवाद हो । आत्मसमर्पणवादले आफू कमजोर रहेको प्रमाणित गर्छ । कुनै पनि राजनैतिक दलको आ–आफ्नो अस्तित्व हुन्छ – सानो होस् या ठुलो । हरेक विषयमा सम्झौता हुनु नै आत्मसमर्पण होइन । सच्चा राजनीतिमा लाग्ने व्यक्तिहरू त्यति आत्मसमर्पणमा लाग्दैनन् । पैसालाई सबथोक सम्झने, पद र पैसाको प्रलोभनमा फस्ने साथीहरू प्रायः गरी आत्मसमर्पणवादी हुन्छन् ।
अवसरवाद
मौका छोपाइबाट लाभ उठाउने वा स्वार्थ पूर्ति गर्ने सिद्धान्त अवसरवाद हो । मौकाअनुसार चल्ने प्रवृत्ति अवसरवाद हो । बहुजनको पक्ष र अपार हितलाई बिर्सेर अल्पजनको हितको लागि काम गर्ने र लाग्ने साथीहरू अवसरवादीहरू हुन् । परिवेश तयार नहुँदै त्यस काममा लाग्नु वामपन्थी अवसरवाद हो भने परिवेश तयार भएर पनि मौन भएर बस्ने या पछि हट्नु दक्षिणपन्थी अवसरवाद हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *