कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
(जन्म सन् १७६० – मृत्यु सन् १८२५)
क्लाउडे हेनरी कोम्तेडे सेन्ट साइमन फ्रान्सेली काल्पनिक समाजवादका एक संस्थापक हुनुहुन्थ्यो । १७ अक्टोबर १७६० मा उहाँ फ्रान्सको राजधानी पेरिसमा एक रजौटा परिवारमा जन्मनुभयो । उहाँको लालनपालन त्यही हिसाबले भएको थियो ।
त्यसबेला युरोपमा बेलायत सबभन्दा ठुलो उपनिवेशवादी देश थियो । अमेरिकामा बेलायतले आफ्नो उपनिवेशवादी सिक्रीलाई कस्दै गइरहेको थियो । बेलायतले अमेरिकामा कपडा, इस्पात आदि सामान बनाउन नपाउने ऐन बनायो । सबै सामान बेलायतबाटै ल्याउनुपर्ने कानुन बनाइदियो । १७६५ मा बेलायती संसद्ले ‘टिकट कर ऐन’ पास गर्यो । त्यस ऐनअनुसार बेलायतबाट अमेरिका जाने सबै सामानमा टिकट टाँस्नु पर्दथ्यो । टिकट एक प्रकारको कर थियो । त्यसो गर्दा सामानको भाउ बढ्थ्यो र जनताले महँगो सामान किन्नु पर्दथ्यो । यसले बेलायती सरकार धनी हुन्थ्यो भने अमेरिकी जनता गरिब हुन्थे ।
अमेरिकी जनताले त्यस ‘टिकट कर ऐन’ लाई खारेज गर्न बेलायतको सरकारलाई धेरै बिन्तीपत्र र निवेदन दिए । तर, बेलायती सरकारले कानमा तेल हालेर बस्यो । अमेरिकी जनता बेलायती सरकारसँग सा¥है रिसाए । स–साना पुँजीपति, व्यापारी, साहुमहाजन, किसान, मजदुर, खेतीवाल आदि व्यापक अमेरिकी जनता बेलायती सरकारको विरोधी भए । अमेरिकाको बोस्टन भन्ने सहरका जनताले कर उठाउने बेलायती सरकारका कर्मचारीहरूमाथि हमला गर्न थाले । तिनीहरूको घर–डेरामा हमला गरेर जनताले सामान नोक्सान गरिदिन्थे† समातेर कालोमोसो पोतेर टिन ठटाउँदै सहर घुमाउँथे† बेलायती अफिसरहरूको पुतली बनाएर रुखमा झुन्ड्याउँथे वा आगो लगाएर विरोध जनाउँथे ।
यस्तो विरोध देखेर बेलायती सरकारले ‘टिकट कर ऐन’ खारेज गर्यो तर मालसामानमा नयाँ करहरू लगाउन थाल्यो । विरोधीलाई दबाउन बेलायतले आफ्नो थप सेना अमेरिका पठायो । बेलायतबाट सेना आएको थाहा पाएर अमेरिकी जनताले पनि गुप्तरूपले लडाइँका मालसामान जम्मा गर्न थाले । १७७३ मा बेलायती साहुमहाजनहरूको एक चियाको जहाज बोस्टन सहरको बन्दरगाहमा बिसायो । त्यस चियामा कर लगाइएको थियो । त्यहाँका जनता कर तिर्ने पक्षमा थिएनन् । यसकारण, एक समूह अमेरिकी जनता भेष बदलेर जहाजमा घुसेर चियाका बाकस सबै समुद्रमा फालिदिए । बेलायती सरकारले त्यसको जवाफमा बोस्टन बन्दरगाह बन्द गरिदियो ।
अमेरिकामा त्यसबेला १३ वटा बेलायती उपनिवेशहरू थिए । ते¥है उपनिवेशका जनताका प्रतिनिधिहरू बेलायतको विरोध गर्न फिलाडेल्फिया भन्ने सहरमा १७७४ मा भेला भए । त्यस भेलालाई काङ्ग्रेस भन्ने चलन छ । त्यस भेलाले अमेरिकी प्रतिनिधि बेलायती संसद्मा नभएसम्म कर नतिर्ने निधो गर्यो । तर, बेलायती सरकार उपनिवेशको प्रतिनिधि बेलायती संसद्मा राख्ने पक्षमा थिएन । विरोध झन् बढ्न गयो ।
१७७५ मा बेलायती सेनाले अमेरिकी जनताले सङ्घर्ष गर्न लुकाइराखेको हातहतियारको खजाना कब्जा गर्यो । अमेरिकी स्वयंसेवकहरू र बेलायती पल्टनको माझमा गोली हानाहान भयो । यसरी अमेरिकी जनता र बेलायती सरकारको बिचमा लडाइँ सुरु भयो ।
तर, बेलायती सेना तालिम पाएका सेना थिए र अमेरिकी स्वयंसेवकहरू किसान, कालिगड, व्यापारी आदि थिए । तिनीहरूले सैनिक तालिम पाएका थिएनन् । यसकारण, भिडन्तको सुरुमा अमेरिकी जनताको धेरै नोक्सान भयो । पछि अमेरिकी जनताले पनि लड्दा लड्दै लडाइँ गर्न सिके ।
त्यसबेला युरोपमा बेलायत र फ्रान्सको माझमा शत्रुता थियो । बेलायत धनी र बलियो हुँदै गएपछि फ्रान्समाथि थिचोमिचो गथ्र्यो । यसकारण, फ्रान्स बेलायत निर्बलियो भएको हेर्न चाहन्थ्यो । बेलायत अमेरिकी जनतासँग लडाइँमा फसेकोमा फ्रान्स खुसी थियो । यसकारण, अमेरिकी जनताले फ्रान्ससँग सैनिक मद्दत मागे किनभने अमेरिकाका तालिम नपाएका स्वयंसेवकहरूले मात्रै बेलायती सेनालाई हराउन सक्दैनथे । फ्रान्सले अमेरिकी जनतालाई मद्दत गर्यो । अमेरिकी जनताले आफूलाई स्वतन्त्र घोषणा गरे ।
त्यस अमेरिकी स्वतन्त्रता आन्दोलनलाई मद्दत गर्न फ्रान्सबाट एक स्वयंसेवक दलको एक अफिसर भएर सेन्ट साइमन १७७९ मा अमेरिका जानुभयो । त्यसबेला उहाँ भर्खर १९ वर्षका जवान हुनुहुन्थ्यो । त्यस लडाइँमा उहाँ धेरै बहादुरीपूर्वक लड्नुभयो । १७७५ मा सुरु भएको लडाइँ १७८३ मा समाप्त भयो । लडाइँमा बेलायत हार्यो र अमेरिकी जनता स्वतन्त्र भए ।
अमेरिकाबाट उहाँ फ्रान्स फर्कनुभयो । उहाँ फ्रान्सेली सेनाको कर्नेलमा बढुवा हुनुभयो । त्यसबेला उहाँ भर्खर २३ वर्षको हुनुहुन्थ्यो । उहाँ मेट्ज भन्ने फ्रान्सको एक महत्वपूर्ण किलाको कमान्डर बनाइनुभयो । उहाँको छाती तक्माले भरिन थाल्यो । तर, ती तक्माले उहाँको मनको कुरा पूरा नहुने उहाँले देख्नुभयो । उहाँ सानैदेखि ठुलठुला काम गरेर देखाउन चाहनुहुन्थ्यो । सेनामा रहेर त्यो इच्छा पूरा गर्न नसक्ने देखेर उहाँले सेनाबाट राजीनामा दिनुभयो ।
लडाइँको मैदानमा मात्रै लड्ने सैनिक उहाँ हुनुहुन्नथ्यो । उहाँ पुँजीवादी समाजमा भइरहेका अन्याय, अत्याचार र शोषणलाई मन पराउनु हुन्नथ्यो । त्यस्ता खराब कुरालाई मेट्ने एक सिपाहीँ उहाँ बन्न चाहनुहुन्थ्यो । राज्यबाट हुने दमन र शोषण देखेर दिक्क मान्नुहुन्थ्यो । उहाँ समाजमा ‘विवेक’ को राज हेर्न चाहनुहुन्थ्यो । सबै मानिस सुख–शान्तिपूर्वक बाँचेको हेर्न चाहनुहुन्थ्यो । उहाँ लडाइँ, झगडा, अशान्ति, रोग–भोक, दुःख कष्ट, चोरी, बेइमानी, धनी र गरीब जस्ता नराम्रा र भेदभाव हेर्न चाहनु हुन्नथ्यो ।
सन् १७८९ मा फ्रान्समा पुँजीपतिवर्ग, मध्यमवर्ग र गरीब जनताले राजाको मनपरीतन्त्रको विरोध गर्न थाले । चुनावबाट आएको सरकारले मात्रै जनतामाथि कर लगाउन पाइन्छ भनेर जनताले भन्न थाले । त्यसबेला राजाले जनतामाथि भकाभक करको बोझ थप्दै गइरहेको थियो । पुँजीपतिवर्ग पनि राज्य शासनमा आफ्नो हात माथि पार्न चाहन्थ्यो । यसकारण, पुँजीपतिवर्ग र जनतासँगै मिलेर आफैले संविधानसभाको घोषणा गरे । राजा लुई चौधौँ विदेशी सरकारसँग मिलेको थियो । यसकारण, क्रान्तिकारी जनताले देशद्रोही राजालाई ज्यान सजाय दिए । फ्रान्समा पुरानो सामन्ती व्यवस्था उल्टियो । त्यसलाई फ्रान्सको राज्य क्रान्ति भनिन्छ ।
शासन अब पुँजीपतिवर्गको हातमा गयो, पुँजीपतिवर्गले पनि सामन्तवर्गले जस्तै देशमा मनपरीतन्त्र चलाउन थाल्यो । जनताको खाने पिउने र काम–मामको बन्दोबस्त गर्न सकिएन । पुँजीपतिवर्ग आ–आफ्नो स्वार्थको निम्ति तँछाडमछाड गर्न लाग्यो । देशमा शान्ति स्थापना गर्न सकिएन । पुँजीपतिवर्गसँग जनता सन्तुष्ट भएनन् । त्यस्तै, सेन्ट साइमन पनि सन्तुष्ट हुनुहुन्नथ्यो । त्यसबेला उहाँ ३०–३१ वर्षको हुनुहुन्थ्यो ।
“सेन्ट साइमन महान् फ्रान्सेली क्रान्तिका सन्तान हुनुहुन्थ्यो । क्रान्तिको बेला उहाँ ३० वर्षको पनि हुनुहुन्नथ्यो । त्यो क्रान्ति सामन्त र गुरु पुरोहितहरूजस्ता विशेषाधिकार भएका ‘अल्छि’ वर्ग माथि उत्पादन र व्यापारमा ‘काम गर्ने’ राष्ट्रको व्यापक जनताको अथवा तेस्रो वर्गका जनताको विजय थियो । तर, तेस्रो वर्गको विजयको वास्तविक रूप धेरै छिट्टै देखियो । यो विजय त्यस वर्गको सा¥है सानो भागको मात्रै विजय थियो भन्ने कुरो थाहा भयो । त्यसको अर्थ हो– राजनैतिक सत्ता त्यस वर्गको सामाजिक विशेषाधिकार सम्पन्न भाग अर्थात कारखानाका मालिक पुँजीपतिवर्गको अधिकारमा थियो ।”
यसकारण, सेन्ट साइमनको मनमा चुप लागेर बस्ने विशेषाधिकार सम्पन्न वर्गले पनि राज्य शासन राम्रोसँग गर्न सकेन भन्ने कुरो पर्यो । त्यस्तै गोलमाल भइरहेको बेला उहाँले देख्नुभयो कि गरिबवर्गले पनि देशलाई नेतृत्व दिन सक्दैन । यसकारण, पुँजीपतिवर्गलाई केही अधिकार दिनुपर्छ र मजदुरवर्ग भन्दा पुँजीपतिवर्ग अलि माथि रहन्छ भन्ने उहाँको मनमा पर्यो । समाजको उत्पादन र आर्थिक समस्या मिलाउन बैङ्कका मालिकहरूको जिम्मा दिनुपर्छ भन्ने कुरा ठम्याउनुभयो । त्यस वर्गले सबैभन्दा पहिले र सबैभन्दा धेरै सङ्ख्या भएको र सबैभन्दा गरीबवर्गको भाग्यलाई उहाँले विचार गर्नुपर्छ भन्नुभयो ।
उहाँको यो अनुमान फ्रान्समा नयाँ उद्योग र त्यसको साथसाथै पुँजीपतिवर्ग र सर्वहारावर्गको विरोध सुरु भइरहेको बेलामा ठिक्कै थियो ।
उहाँ आन्ध्र महासागर र प्रशान्त महासागरलाई एक नहरले जोड्ने विचार गर्नुहुन्थ्यो । आफ्नो विचारलाई उहाँ प्रयोग गरेर हेर्न चाहनुहुन्थ्यो । यसकारण, उहाँ यसबारे गहिरो अध्ययन गर्न चाहनुहुन्थ्यो ।
उहाँले आफ्नो अध्ययन नपुग देख्नुभयो । यसकारण, ४० वर्षको उमेरमा उहाँले अध्ययनको निम्ति इन्जिनियरिङ कलेजमा भर्ना हुनुभयो । उहाँले आफ्नो सारा समय अध्ययन र अनुसन्धान (खोजबिन) मा लगाउनुभयो । आफ्नो भएभरको पैसा त्यसैमा लगाउनुभयो ।
सन् १८०२ मा सेन्ट साइमनले ‘जेनेवाको चिठी’ भन्ने एक लेख प्रकाशित गर्नुभयो । त्यस पत्रमा उहाँले आफ्नो सिद्धान्त प्रस्ट पारिदिनुभयो, “हरेक मानिसले काम गर्नुपर्दछ ।”
फ्रान्सेली क्रान्तिपछि देशको शासन सत्ता पुँजीपतिवर्गको हातमा गयो । पुँजीपतिवर्गले पहिले त मजदुर र किसानवर्गको पनि समर्थन पाएको थियो । तर, पुँजीपतिवर्गले शासन सत्तालाई राम्रोसँग चलाउन सकेन । देशमा भ्रष्टाचार, कालोबजारी, बेइमानी, शोषण र दमनको राज भयो । गरीब जनताले आशा गरेको भन्दा उल्टो फल पाए । सामन्तवर्गको अन्याय, अत्याचारको ठाउँमा अब पुँजीपतिवर्गको अन्याय–अत्याचार र शोषण चल्न थाल्यो । यसकारण, सेन्ट साइमनले आफ्नो चिठीमार्फत गरीब जनतालाई भन्नुभयो, “तपाईँका साथीहरूको शासनकालमा फ्रान्स के भयो, हेर्नुस् । तिनीहरूले अनिकालको परिस्थिति ल्याइदिए ।”
सेन्ट साइमनले फ्रान्सेली क्रान्तिलाई एक वर्गसङ्घर्षको रूपमा स्वीकार गर्नुभयो । त्यो वर्गसङ्घर्ष सामन्त र पुँजीपतिवर्गको बिचमा मात्रै नसम्झी सामन्त, पुँजीपति र सम्पत्ति नभएकाहरूको माझको वर्गसङ्घर्षको रूपमा हेर्नुभयो । १८०२ तिर यो ठम्याइ सा¥है सारले भरिएको आविष्कार थियो ।
सेन्ट साइमनले आफ्ना सबै सुख सुविधाहरू संसारको सेवाको निम्ति अर्पिरहनुभएको थियो । आफ्नो सारा समय र सम्पत्ति अध्ययन र अनुसन्धानमा लगाउँदै हुनुहुन्थ्यो । तर, उहाँको त्यो महान् विचार र भावना उहाँकी जहानलाई मन परेन । त्यसैले उनले सेन्ट साइमनलाई छोड्ने निश्चय गरिन् र पारपाचुके भयो । सेन्ट साइमनको महान्तालाई बुझ्न नसकेर उहाँकी जहानले छोडेर गइन् । सारा सम्पत्ति र सुविधा पनि सुक्दै गयो । तर, उहाँ आफ्नो महान् भावनाबाट अलिकति पनि पछि हट्नु भएन । उहाँले एक पछि अर्को त्याग गर्दै जानुभयो ।
फ्रान्सका पुँजीपति, बैङ्कपति र कारखानाका मालिकहरू फ्रान्समा एक बलियो र स्थिर पुँजीवादी सरकार स्थापना गर्न चाहन्थे । उद्योग र व्यापारलाई बढाएर उपनिवेशहरू कब्जा गर्ने हानथापमा आफ्नो विरोधी देश बेलायतलाई हराउन चाहन्थे । त्यसकारण, १८०४ मा तिनीहरूले नेपोलियन नाउँको एक सैनिक कमान्डरलाई फ्रान्सेली सरकारको अध्यक्ष र सम्राट (राजा) बनाए । नेपोलियन अब पूरै आक्रमक या साम्राज्यवादी बन्यो । यसले पल्टन बलियो पार्यो । इटाली, स्पेन, पोर्चुगल, पर्सिया, (जर्मनी), अस्ट्रिया र रुस आदि देशहरूमाथि धावा बोल्दै गयो । पछि ऊ बेलायतमा समेत धावा बोल्न पुग्यो । सम्पूर्ण युरोप नेपोलियनबाट आक्रान्त भयो ।
हरेक कुराको उल्टो परिणाम पनि निस्कन्छ । अन्तमा, बेलायत, पर्सिया (जर्मनी), अस्ट्रिया, रुस आदि देशहरू एक भएर नेपोलियनसँग लडे । १८१४ मा नेपोलियन हारे । नेपोलियनलाई फ्रान्सको गद्दी छोड्न लगाइयो र इल्वा टापूमा निकाला गरियो । इल्वा टापु भूमध्य सागरको कोर्सिका टापु र एपिनाइन प्रायः द्वीप (इटालीको मध्य दक्षिणी भाग) को बिचमा पर्दछ । इल्वा टापुको क्षेत्रफल २२३ वर्ग किलोमिटर छ । त्यहाँ नेपोलियनलाई एक हजार सिपाही दिएर इल्वाको शासक बनाइदियो । मित्र शक्ति (बेलायत, पर्सिया, अस्ट्रिया र रुस) को बन्दुकको बलले फ्रान्समा उल्टिसकेको बुर्वोवंशलाई फेरि सत्तामा ल्यायो । क्रान्तिले ज्यान सजाय दिएर मारेको लुई चौधौँका भाइ लुई पन्ध्रौँलाई गद्दीमा राख्यो ।
२० मार्च १८१५ मा इल्वामा निकालिएको नेपोलियन भागेर फेरि पेरिस पुगे । सेनाले उसको साथ दियो । लुई अठाह्रौँ गद्दी छोडेर भागे । नेपोलियन फेरि गद्दीमा बसे । नेपोलियन गद्दीमा बसेको देखेर मित्र शक्ति डरायो । मित्र शक्तिले सेना पठायो । फेरि लडाइँ भयो । १९ जून १८१५ मा ब्रुसेल्सको नजिकै वाटरलू भन्ने ठाउँमा ठुलो लडाइँ भयो । त्यस लडाइँमा बेलायत र पर्सिया (जर्मनी) को सेनाले नेपोलियनलाई हरायो र बन्दी बनायो । लडाइँंमा फ्रान्स हार्यो ।
त्यसैबेला सेन्ट साइमनले भविष्यवाणी गर्नुभएको थियो, “फ्रान्स र बेलायतको एकता र यी दुई देशको जर्मनीसँगको एकता नै युरोपको सम्पन्नता, विकास र शान्तिको एकमात्र ग्यारेन्टी हुनसक्छ ।” उहाँका सुरुका रचनाहरू वैज्ञानिक र राजनैतिक हुन्थे ।
जति जति सेन्ट साइमन अध्ययन र अनुसन्धानमा लाग्नुहुन्थ्यो, त्यति त्यति उहाँको आर्थिक अवस्था तल खस्दै गयो । गरिबीले गर्दा उहाँले एक ऋण दिने संस्थामा काम गर्नुभयो । एकदिन उहाँले आफ्नो एक पुरानो नोकर भेट्नुभयो । त्यस नोकरले उहाँलाई बस्न एक सानो घर दिए । उनी (नोकर) धनी भइसकेका थिए । उहाँलाई उनले मद्दत दिन थाले । यसकारण, उहाँले त्यस ऋण संस्थामा काम गर्न छोड्नुभयो । उहाँले रात–दिन मानव समाजको पुनः निर्माणको निम्ति काम गर्न थाल्नुभयो ।
स्रोत : काल्पनिक समाजवादी र अराजकतावादीहरू
Leave a Reply