भर्खरै :

डेनियला वाइस : इजरायली बसोवासीहरूकी “महामाता” – १

डेनियला वाइस : इजरायली बसोवासीहरूकी “महामाता” – १

बसोवासीहरूकी नेतृ हुन् डेनियला वाइस, महामाता हुन् ।
उमेरले ७९ वर्ष पुगिन् । घर छ केदुमिममा । अतिक्रमित पश्चिम किनारको उत्तरतिर पर्छ केदुमिम । प्यालेस्टिनीहरूलाई हटाएर बनाएको बस्ती । एक सेटलर बस्ती† बसोवासी बस्ती ।
घरबाट फोनमै उनले भनिन्, “यहुदीवाद हाम्रो परिवारको वातावरण थियो । हाम्रो गफगाफको मूल मियो थियो ।” सम्झेसम्म र जानेसम्म उनी जहिल्यै एक प्रतिबद्ध यहुदीवादी थिइन् रे ।
वाइसले भनिन्, “ईश्वरले मलाई गौरव दिनुभयो । मलाई यहुदी बनाउनुभयो । मातृभूमिको माया दिनुभयो । बाइबलको माया दिनुभयो । ईश्वरले मलाई कसैसँग साट्न नमिल्ने अमूल्य आशा दिनुभयो ।”
वाइस बसोवासी आन्दोलनकी नाइके हुन् । झन्डै ५० वर्ष बसोवासी आन्दोलनको सरदारी गरिन् उनले । यसलाई उनी ‘इजरायलको भूमि निर्माण गर्न’ ५० वर्ष ‘अर्पण’ गरेको भन्छिन् ।
पश्चिम किनारको नक्सा पल्टाउनुस् । थोपैथोपा देखिन्छन् त्यहाँ । ती थोपा हुन् अतिक्रमित बसोवासी बस्ती र चौकीहरू । यस्तै १४१ बस्ती र २२४ चौकी स्थापनामा ‘योगदान’ छ उनको । सन् १९६७ मा मध्यपूर्व युद्ध भएको थियो । त्यसपछि बनेका थिए यी बस्ती र चौकी ।
अन्तर्राष्ट्रिय कानुनले यी बस्तीलाई अवैध भन्छ । सन् १९९० को दशकपछि सरकारी अनुमतिबिना बस्ती र चौकी बनाउँन पाइँदैन । त्यसरी बनाइएका बस्ती र चौकीलाई इजरायली कानुन अवैध भन्छ ।
सन् २०२४ को जनवरी १ देखि मार्च ३१ सम्मको आकडा हो । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार शाखा (ओचा) को । पश्चिम किनारमा प्यालेस्टिनीहरूमाथि १८०४ आक्रमण गरे, बसोवासीहरूले । उनीहरू कहिले एक्लै आक्रमणमा निस्किन्थे, कहिले इजरायली सेनासँगै जाइलाग्थे । यी आक्रमणमा ११ प्यालेस्टिनीहरू मारिए ।
घरमा हमला गरियो । गाडी जलाइयो । खानेपानीको पाइप काटियो । खेतबारी ध्वस्त पारियो । बाटोघाटो बन्द गरियो । बसोवासीहरूले सहायता बोकेर गाजा जाने गाडीहरूमा हमला गरे । ‘ओचा’ भन्छ – ८४४ प्यालेस्टिनीहरू थातथलो छोडेर विस्थापित भए† बसोवासीहरूको हिंसा र अचाक्ली पावन्दीले गर्दा ।
गत महिना वाइस चर्चामा आइन् । बीबीसीका लुइ थेरक्सले बनाएको ‘द सेटलर’ नामक वृत्तचित्रमार्फत । वाइसलाई ‘उच्चस्तरकी चरमपन्थी बसोवासी नेता’ भनेको छ वृत्तचित्रले । यो हप्ता बेलायत सरकारले उनलाई प्रतिबन्ध लगाएको छ । आरोप छ – प्यालेस्टिनीहरूविरुद्ध हिंसा र आक्रमणको उद्योग गरेको, धम्क्याएको, उक्साएको र सघाएको । बेलायत अहिले इजरायलप्रति कडा देखिन खोज्दै छ ।
वृत्तचित्रमा थेरोक्सले वाइसलाई ‘बसोवासी बस्ती’ बनाउनु अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराध हो भन्छन् । वाइस हाँस्छिन् । भन्छिन्, “हो, ससानो पाप हो ।”
कुनै बेला वाइसलाई ‘कनेसेट खाजाघरकी रानी’ भनिन्थ्यो । अर्थात्, उनी इजरायली सांसदहरूसँग निरन्तर नजिक रहन्थिन् । अनौपचारिक सम्पर्कमा बस्थिन् । केही वर्षयता उनको चर्चा चुलिएको छ । खासगरी २०२३ अक्टोबर ७ पछि । उनलाई बसोवासी आन्दोलनकी महामाता भनिन्छ । आज यो आन्दोलनका नेता छन् इतमार बेन गभिर र बेजालेल स्मोत्रिच । प्रम बेन्जामिन नेतन्याहुको चरमपन्थी सरकारमा तिनीहरूको ठुलै रोबरवाफ छ ।
थेरोक्स भन्छन् – उनलाई प्यालेस्टिनी जीवनसँग कुनै चासो छैन । वाइस समाजघाती मनोरोगी हुन्, ‘सोसियोप्याथ’ हुन् । उनले बसोवासी हिंसा नामको ‘कुनै जिनिस छैन’ भनिन् ।
वाइसको विषयमा विज्ञहरूको भिन्दाभिन्दै विचार छ । इजरायल स्थापना गर्ने संस्थापक पुस्तामध्ये धेरै जना मरिसके । बाँचेकी केही बसोवासी नेतामा पर्छिन् वाइस । उनमा अझै पुरानो ऊर्जा र आकर्षण छ । यिनै चीजको बलमा उनी आन्दोलनमा सक्रिय छिन् ।
वाइस भन्छिन्, “मैले कहिल्यै नाटक खेलिनँ । कहिल्यै गीत गाइनँ । तर, जब म लेक्चर दिन्छु म अलिकति तयारी गर्छु । मेरो बानी हो यो । जब म बोल्छु मान्छेहरू ध्यान दिएर सुन्छन् किनभने म त्यसलाई दृश्यमय बनाउँछु ।”

उनले भनिन्, “ईश्वरले मलाई दिएका सबै गुणको प्रयोग गर्छु । यहुदीवादी सपना साकार पार्न । सबथोक जानीबुझी गर्छु । एकदम सचेत भएर गर्छु ।”
हेगित ओफरान ‘पिस नाओ’ समूहका निर्देशक हुन् । वाइसबारे उनले रोचक कुरा खोले । उनको विचारमा वाइस जग्गा कब्जा गर्नुलाई असल ठान्छिन् अनि यो काम गरेकोमा आफूलाई गौरवशाली पनि मान्छिन् ।
उनले भने, “एकदम मुखर छिन् । आफूले विश्वास गरेको कुरा सिधा भन्छिन् । मेरो विचारमा यही गुणका कारण उनी प्रसिद्ध भएकी हुन् । किनभने, उनी आफ्नो उद्देश्यमा एकदम स्पष्ट छिन् ।”
गाजा : ‘यो भूमिका मालिक हामी हौँ’
सरकारमा पहुँच छ उनको । पश्चिम किनारमा अहिले बस्ती बिस्तार तीव्र छ । यसबारे वाइस भन्छिन्, “हाम्रो आन्दोलनको लागि लाभदायी क्षण हो अहिले ।” इजरायली यहुदीहरूको बस्ती बिस्तारमा पाँच दशक बिताइसकेपछि अहिले उनको आँखा गाजामा छ ।
उनी भन्छिन्, “योजना चर्चित भइसकेको छ । मान्छेहरू मलाई तेल अभिभ (सहर) मा बाटोमै रोक्छन् । गाजामा आफ्नो लागि ठाउँ राखिदिन भन्छन् । म उनीहरूलाई हाम्रो ९०० परिवारको नामावलीमा नाम दर्ता गराउन भन्छु । नाम लेखाउनुस्, हामी तपाईँको लागि जग्गाको राम्रो कित्ता खोज्छौँ भन्छु ।”

वाइसको सङ्गठन छ ‘नाचाला बसोवासी आन्दोलन’ । त्यसले सन् २०२४ जनवरीमा एउटा सम्मेलनको आयोजना ग¥यो । त्यसमा इजरायलका ११ मन्त्री उपस्थित थिए । साथमा हजारौँ सर्वसाधारण सहभागी भए । उनीहरूले गाजामा नयाँ बस्ती बसाल्न आह्वान गरे । सम्मेलनको नाम थियो – इजरायलको विजयका लागि सम्मेलन ः बसोबासले ल्याउँछ सुरक्षा । सम्मेलनमा प्यालेस्टिनी जनतालाई गाजाबाट खेद्नुपर्ने माग गरियो । नयाँ यहुदी बस्ती कहाँकहाँ बसाल्न मिल्छ भनी स्थान तोकेर नक्सा देखाइयो ।
सन् २०२४ नोभेम्बरमा इजरायली सेनाले वाइसलाई उत्तर गाजा लग्यो । त्यहाँ उनले सम्भावित स्थानको जाँचबुझ गरिन् । उनी पुरानो नेटजारिम बस्तीमा गइन् । त्यहाँ पहिले यहुदी बस्ती थियो । सर्वसाधारणलाई गाजामा पस्न मनाही छ । तर, वाइस गइन् । नेटजारिम वाइस र उनका अनुयायीका लागि निकै महत्वपूर्ण छ । त्यहाँ सन् १९७२ मा यहुदी बस्ती बसालिएको थियो । सन् २००५ अगस्टमा इजरायल गाजाबाट पछि हटेपछि त्यो बस्ती खाली गरिएको थियो ।
पश्चिम किनारमा जस्तै गाजामा बस्ती बसाल्न सुरुमा सेनालाई राख्नुपर्छ । त्यसपछि बसोवासी ‘समुदाय’ लाई सेनासँगै राख्नुपर्छ । तब मात्र टोल–नगर बनाउनुपर्छ । वाइसको अनुभव हो यो । उनी आफ्नो सपना साकार हुनेमा ढुक्क छिन् । तर, उनकै केही साथीहरूको यसमा विमति पनि छ ।

उनी भन्छिन्, “बेजालेल स्मोत्रिच मेरा असल छिमेकी हुन् । उनले जुडिया र सामारियाको विकासमा राम्रो काम गर्दै छन् ।” पश्चिम किनारलाई इजरायलका दक्षिणपन्थीहरू यही नामले बोलाउँछन् । बाइबलमा त्यसको नाम ‘जुडिया र सामारिया’ थियो भन्छन् ।
बाइस भन्छिन्, “गाजामा बस्ती बसाल्ने विषयमा म उनीसँग त्यति खुसी छैन । मैले धेरैचोटि उनलाई भनिसकेँ । कम्तीमा गाजाको उत्तरी भेगमा तत्काल बस्ती बसाल्नुपर्छ भनेर अलि जोड दिनुप¥यो, कुरा राख्नुप¥यो भन्छु उनीसँग ।”

नेतन्याहुको अलि बढी आलोचना गरिन् वाइसले । प्रम नेतन्याहुलाई उनी सिधै फोन गर्न सक्छिन् । प्रमलाई उनले ‘अलि सुस्त छन्’ भनिन् । उनले भनिन्, “उनमाथि विश्वको, वामपन्थीहरूको दबाब छ । मलाई थाहा छ । तर, यो योजना जगजाहेर भइसक्यो त ।”

अब २३ लाख प्यालेस्टिनीहरू बस्ने गाजा नरहने भयो । इजरायली युद्धले गर्दा ५३ हजार प्यालेस्टिनीहरू मारिए ।
वाइस भन्छिन्, “अक्टोबर ७ गते नै तिनीहरूले त्यहाँ बस्ने हक गुमाइसकेका हुन् ।” हमासको प्रतिरोधबारे यस्तो छ उनको बुझाइ । उनी भन्छिन्, “तिनीहरू इन्डोनेसिया, अफ्रिका, पश्चिमा मुलुक जहाँ जानुपर्ने हो गए हुन्छ । अलिकति समय लाग्ला । तर, तिनीहरूले अधिकार गुमाइसकेका छन् । नरसंहारले तिनीहरूको इतिहास बदलिसकेको छ ।” यसअघि पनि उनले भनेकी थिइन्, “गाजामा अब कोही अरबी रहनेछैन ।” उनले भनेकी थिइन्, “हामीले खाना नदिए तिनीहरू छोडेर जानेछन् ।”
गत वर्ष अक्टोबरमा एउटा कार्यक्रम भएको थियो । धुमधाम रमाइलो थियो कार्यक्रम । त्यहाँ वाइसले भनिन् – यो भूभागबाट प्यालेस्टिनीहरू ‘हराउनेछन्’ । त्यो दिन बेन गभिरले भीडलाई भने, “यो भूमिका मालिक हामी हौँ ।”
गाजामा इजरायली बस्ती बसाल्ने विषयमा ओफ्रान भन्छन्, “अक्टोबर ७ भन्दा अगाडि यस्तो कुरा सुन्नै सकिन्थेन ।”
“यहुदीवादको इतिहास निजी डायरी हो”
डेनियला वाइस जन्मेकी थिइन् सन् १९४५ मा । तेल अभिभ नजिकै बनाइब्राक भन्ने गाउँ थियो । उबेला प्यालेस्टिनमा बेलायतको शासन थियो । उनी किसानी परिवारमा हुर्किन् । परिवारमा धार्मिक माहोल थियो । सबैजना अर्थोडक्स यहुदी थिए । उमेर पुगेपछि वाइस धार्मिक पाठशालामा पढ्न गइन् । उनी धार्मिक यहुदीवादी आन्दोलनमा संलग्न भइन् । त्यो बेला धार्मिक यहुदीवादलाई तल्लो नजरले हेरिन्थ्यो । इजरायलको मूलधारे समाजमा, घरानियाँ यहुदीहरूबीच धर्मनिरपेक्ष यहुदीवादको बोलवाला थियो ।

सन् १९४८ को मे महिनामा इजिप्टको सेनाले तेल अभिभ क्षेत्रमा बमबारी ग¥यो । आफ्नै आँखाले युद्ध देखिन् वाइसले । इजरायल स्थापना भएको केही दिनपछिको कुरा थियो त्यो । उनी सम्झिन्छिन्, “मेरा आमाबाले पलङमुनि कार्पेट बिछ्याउनुभयो र त्यही गएर मलाई लुक्न भन्नुभयो । म सानी बहिनीसँग थिएँ । मलाई रमाइलो लाग्यो । बबाल लाग्यो । त्यसअघि जीवनमा कहिल्यै डरको महुसस गरेकी थिइन ।”

वाइसका बुबा अमेरिकामा जन्मेका थिए । आमा पोल्यान्डबाट आएकी थिइन् प्यालेस्टिन । एक वर्षको उमेरमा । दुवैजना ‘असाध्यै तेज थिए’ रे । उनीहरू सुरुमा यहुदीवादी अर्धसैन्य गिरोह लेहीमा सामेल भए । त्यसपछि उनीहरू अर्को गिरोह स्टर्न ग्याङमा गए । इजरायलको स्थापना भएपछि उनीहरूले दक्षिणपन्थी पार्टी लिकुद दलको सदस्यता लिए ।

उनीहरू तीन बहिनी थिए । “सबैलाई स्पार्टामा जस्तै हुर्काउनुभएको थियो,” वाइस भन्छिन् । बुढेसकालमा पनि तीन बहिनी भेला हुँदा बाल्यकाल सम्झेर हाँस्छन् रे । वाइस भन्छिन्, “जिन्दगी धेरै कठोर थियो । एउटा स्वतन्त्र यहुदी राज्यमा बाँच्न पाएकोमा हामीले ईश्वरलाई धन्यवाद भनिरहनुपर्छ भनेर सिकाइन्थ्यो हामीलाई । घरको माहोलै त्यस्तो थियो ।”
अलिकति समय संसारमा र इजरायलमा के भइराखेको छ भनी बुझ्नलाई छुट्याइन्थ्यो । वाइस भन्छिन्, “हामीलाई कतिबेला समाचार आउँछ भन्ने थाहा थियो । घण्टाघण्टामा समाचार आउँथ्यो । समाचार सुन्नु पवित्र काम थियो । त्यही भएर समाचार सुन्ने बेला कोही बोल्थेन । राष्ट्रसँग नजिक हुनु भनेको त्यही हो मेरो लागि । हाम्रो आफ्नै राष्ट्र छ भन्दा गर्व लाग्छ । यो भनेको दैनिक जीवनमा लगातार परेड खोलेजस्तो हो । राष्ट्रको धमनी छामेजस्तै हो ।”

तनाव र नाटक चुलिँदा त यस्तो भावना एकदम सत्य लाग्थ्यो वाइसलाई । सन् १९५६ मा स्वेज सङ्कट भयो । इजरायल र उसका मित्र देश फ्रान्स र बेलायतले इजिप्टको नियन्त्रणमा रहेको गाजा कब्जा गरे । गाजा र साइनाइ प्रायःद्वीपलाई केही समय आफ्नो नियन्त्रणमा राखे । वाइसलाई त्यसको स्पष्ट सम्झना छ । उनी भन्छिन्, “हामी इजरायली सेना अगाडि बढेको पाइला–पाइलाको खबर सुन्थ्यौँ ।”
“हाम्रो शक्ति देखेर हामी एकदम खुसी हुन्थ्यौँ । कोही मर्छ कि भनेर आत्तिन्थ्यौँ । मेरो लागि यहुदीवादको इतिहास निजी डायरी हो । मलाई सबथोक प्रस्ट याद छ । त्यही भएर खुला किताबजस्तो लाग्छ ।”
यहुदीवादी इतिहाससँगै वाइसलाई प्रिय लाग्छ बाइबल । उनी भन्छिन्, “बाइबलका सबै महिलाबारे थाहा छ मलाई । मसिनो गरी पढ्नुभयो भने तपाईँ महिलाले राष्ट्रको भाग्य निर्णय गरेको देख्नुहुन्छ, पुरुषले होइन । त्यही भएर मलाई पुरुष नबनाएर महिला बनाइदिनुभएकोमा म ईश्वरलाई धन्यवाद भन्छु ।”
बाइबलमा आएका इस्थर, साराह र देबोरा वाइसका नायिका हुन् । इस्थर आफ्ना जनताको संहार रोक्ने पर्सियाकी यहुदी रानी थिइन् । साराह अब्राहमकी पत्नी थिइन् । देबोराले ‘जुडिया र सामारियाका समुदायको रक्षा गर्ने आफ्नो अनन्त प्रयासमा आफूलाई दुवै हातले जोगाइरहेको’ वाइसको दाबी छ ।
वाइसले यहुदी राष्ट्रको विचार बाइबलबाटै पाएकी थिइन् रे । उनी भन्छिन्, “यहुदीहरूको मातृभूमिको सीमा पूर्वमा युफ्रेटस नदी र दक्षिणपश्चिममा नाइल नदी हो ।” यसरी उनी ‘अखण्ड इजरायल’ को पक्षमा उभिन्छिन् । अखण्ड इजरायलमा आज पुरानो प्यालेस्टिनका साथै सिरिया, इराक, जोर्डन, लेबनन र इजिप्टका भूभाग पर्छन् ।
स्रोत : ‘मिडल इस्ट आइ’
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *