भर्खरै :

काल्पनिक समाजवादी सेन्ट साइमन – २

काल्पनिक समाजवादी सेन्ट साइमन – २

सेन्ट साइमन
(जन्म सन् १७६० – मृत्यु सन् १८२५)

सेन्ट साइमन समाजलाई नयाँ ढङ्गले सङ्गठित गर्न चाहनुहुन्थ्यो । १८१७ तिर उहाँले ‘उद्योग’ भन्ने रचना लेख्नुभयो । उहाँको विचारमा समाजलाई औद्योगिक प्रमुखहरू र बैङ्कपतिहरूले बन्दोबस्त गर्नुपर्दछ । उहाँ पुरानो र कट्टरवादी चर्चहरूको धार्मिक दृष्टिकोणको सट्टा समाजमा विज्ञानले निर्देशन दिएको हेर्न चाहनुहुन्थ्यो ।
सेन्ट साइमनको विचारमा विज्ञान र उद्योग एक नयाँ धार्मिक गाँठोले जोडिने छ । उहाँको विचारमा विज्ञानको मतलब थियो विद्वान्हरू, उद्योगको मतलब सबभन्दा पहिले काम गर्ने पुँजीपतिहरू, कारखानाका मालिकहरू, व्यापारीहरू र बैङ्कपतिहरूसँग थियो । १८–१९ तिर उहाँले ‘सङ्गठनकर्ता’ भन्ने रचनामा आफ्ना विचारहरूको व्याख्या गर्नुभयो ।
उहाँको सामाजिक जीवनको मुख्य उद्देश्य मानव जीवनको निम्ति उपयोगी वस्तुहरूको उत्पादन गर्नु थियो । उहाँको अन्तिम सामाजिक गतिविधिको उद्देश्य ‘समाजले संसारको उपयोग गर्नु’ थियो ।
सन् १८२१ तिर उहाँले ‘औद्योगिक व्यवस्था’ भन्ने रचना निकाल्नुभयो । १८२३ तिर ‘उद्योगपतिहरूको आलोचना’ भन्ने रचना लेख्नुभयो । ती लेखमा उहाँले उद्योगपतिहरूकै हातमा उत्पादनका मुख्य साधनहरू भएको हुनाले तिनीहरूले समाजको भलाइको निम्ति शासन गर्नुपर्छ भन्ने विचार अघि सार्नुभएको थियो ।
सार रूपमा, सेन्ट साइमन पुँजीपतिवर्गलाई जनताका अधिकारी र न्यायाधिश बनाउन चाहनुहुन्थ्यो । आर्थिक क्षेत्रमा पनि तिनीहरूलाई मजदुरहरूलाई भन्दा माथि राख्न चाहनुहुन्थ्यो । साथै बैङ्कपतिहरूलाई लेनदेनको बन्दोबस्त गर्ने मुख्य जिम्मेवारी दिन चाहनुहुन्थ्यो ।
आज सेन्ट साइमनका यी विचारहरू हेर्दा हामीलाई अप्ठ्यारो लाग्छ र नमिलेको अनुभव हुन्छ । तर, “यो धारणा फ्रान्समा आधुनिक उद्योग र यसको सँगसँगै पुँजीपतिवर्ग र सर्वहारावर्गको विरोध भर्खरै अस्तित्वमा आइरहेको युगको एकदम अनुरूप (उपयुक्त) थियो ।” किनभने, “सर्वहारावर्ग पनि पहिलोचोटि ‘केही नभएका’ जनताबाट बीउको रूपमा बढ्दै थियो । यो वर्ग उहिले स्वतन्त्र राजनैतिक सङ्घर्षको निम्ति सबल थिएन । त्यो एक यस्तो थिचिएको र पिसिएको अवस्थामा देखापरेको थियो, जसले आफूलाई समेत सघाउ पु¥याउन सक्दैनथ्यो । सघाउ पु¥याउनै सकिन्थ्यो भने बाहिरबाट अथवा माथिबाटै सकिन्थ्यो ।” भनाइको अर्थ त्यसबेला सर्वहारा हुकुमको निम्ति परिस्थिति परिपक्व थिएन ।
दुर्भाग्यवश, उहाँलाई मद्दत गर्ने नोकर मरे । अब सेन्ट साइमन आफैले आफ्ना लेखहरू साफी गर्न लाग्नुभयो ।
उहाँका ती लेखहरू प्रकाशित गरिदिन कोही पनि मान्दैनथे । लेखहरू प्रकाशित गर्न उहाँले चिट्ठीहरू लेख्नुभयो । चिट्ठीमा लेख्नुभयो, “प्रिय महाशय, म तपाईँसँग मलाई सहयोग गर्न बिन्ती गर्छु । म समाजको सेवामा पूर्णरूपले संलग्न छु । मैले आफ्नो व्यक्तिगत जीवनलाई त्यागिसकेको छु र अहिले मसँग खानेकुरा छैन । न त काम गर्न मसँग बत्ती नै छ । मेरा रचनाहरू साफी गर्न मैले आफ्ना सबै लुगाफाटा बेचिसकेको छु । ज्ञान प्राप्ति र समाजको भलाइ गर्ने इच्छाले गर्दा म आफै यस्तो निराशाजनक अवस्थामा पुगेँ । डुब्दै गएको युरोपेली समाजको सङ्कटलाई शान्तिपूर्ण समाधान गर्ने खोजको आशाले म यस अवस्थामा पुगेँ ।” तर, धनीहरूले उहाँको निवेदन या अनुरोध पत्र पढ्ने कष्ट गरेनन् ।
हो, मानव समाजको निम्ति उहाँले आफ्नो पारिवारिक जीवनलाई चौपट पार्नुभयो अथवा त्यागिदिनुभयो । तर, भनिन्छ, १८२३ तिर उहाँ निराश भएर आत्महत्या गर्न खोज्नुभएको थियो । यो कहाँसम्म सत्य कुरा हो थाहा छैन । हरेक रातपछि मिरमिरे उज्यालो आउँछ । आफ्नो उद्देश्यमा उहाँ लगातार लागिरहनुभयो । आखिर उहाँलाई उहाँका केही समर्थकहरूले साथ दिए । आफ्ना समर्थकहरूका सहयोगले उहाँले काम गर्दै जानुभयो । तैपनि, उहाँले अन्तिम दिनसम्म गरिबी र अभावको जीवन बिताउनुभयो । भनिन्छ, जीवनको आखिरतिर उहाँले वर्षको ४० पाउन्डसम्म भत्ता पाउनुभयो र त्यसैको आधारमा उहाँले काम गर्दै जानुभयो ।
सन् १८२५ मा उहाँले ‘नयाँ किस्तानवाद’ भन्ने रचना लेख्नुभयो । यो नै उहाँको अन्तिम रचना थियो । त्यस रचनालाई उहाँको सिद्धान्तको सार सम्झिइन्छ । “सम्पूर्ण समाजले सबभन्दा गरीबवर्गको नैतिक र भौतिक अस्तित्वको उन्नतिको निमित्त प्रयत्न गर्दै जानुपर्छ । यस उद्देश्यलाई सबभन्दा राम्रोसँग पूरा गर्न नै समाजले आफूलाई सङ्गठित गर्नुपर्छ ।” सेन्ट साइमनको शिक्षा र विचारको सार नै यही रूपमा लिइन्छ ।
आफ्नो जीवनमा उहाँले अनेक तीता–पिरा कुरा अनुभव गर्नुभयो । मर्ने बेलामा नयाँ नयाँ परिस्थिति फेर्दै आएको कुरा पनि देख्नुभयो । मर्नुभन्दा अगाडि उहाँले आफ्ना समर्थकहरूलाई भन्नुभयो “नबिर्स, ठुलठुला कामको निम्ति भावना (जोश) चाहिन्छ† मेरो सम्पूर्ण जीवन मानव जातिको बुद्धिलाई विकास गर्न सकेसम्म बढी सहुलियत सुरक्षित गर्ने कोसिसमा बितेको छ ।”
उहाँ एकदिन विचारमा डुब्नुभयो । अनि मृत्यु शøयाबाट भविष्यवाणी गर्नुभयो, “छिट्टै मजदुर पार्टी बन्नेछ र भविष्य त्यही पार्टीको हुनेछ ।”
गरिबी र भयानक अभावको जीवनमा १९ मई १८२५ को दिन पेरिसमा उहाँको मृत्यु भयो । धेरै पछि एङ्गेल्सले भन्नुभयो कि सेन्ट साइमनको विचारमा व्यापकता थियो । पछि आउने सबै समाजवादीहरूको विचार शुद्ध आर्थिक विषय छोडेर सेन्ट साइमनको विचारमा बीउको रूपमा विद्यमान थियो ।
राम्रो समाज व्यवस्था शोषणमुक्त हुनेछ भन्ने उहाँको विश्वास थियो । उहाँ सबैले काम गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । राजा रजौटा र गुरु पुरोहितहरूलाई उहाँले ‘अरुको पसिनामा बाँच्ने’ भनेर नाक खुम्च्याउनुभयो । तिनीहरू नभए पनि देशलाई केही नोक्सान छैन भनेर भन्नुभयो । उहाँले ‘सबभन्दा गरीब र सबभन्दा बढी भएको वर्ग’ को उन्नति र राम्रो भविष्यको निम्ति आह्वान गर्नुभयो । पिल्सिएका जनताको आवश्यकता पूरा गर्नको निम्ति योजनाबद्ध, सङ्गठित र वैज्ञानिक ढङ्गले उत्पादन गर्नुपर्छ भनेर भन्नुभयो । तर, उहाँले वर्गसङ्घर्षको अनिवार्यता र महत्वलाई देख्न सक्नुभएको थिएन । पुँजीवाद कसरी खत्तम हुन्छ र मानव जातिलाई त्यस नर्कबाट मुक्त गर्ने बाटो देखाउनुभएको थिएन । उहाँले खालि ‘शोषणमुक्त’ समाजको कल्पना मात्रै गर्न सक्नुभयो । पुँजीवादको सार तत्व र त्यसको नियम पत्ता लागिसकेको थिएन । उहाँको परिस्थितिमा त्यो पत्ता लाग्न पनि सक्ने थिएन किनभने पुँजीवाद त विकासकै अवस्थामा थियो ।
सेन्ट साइमनका समर्थकहरू र विचारको प्रयोग
आफ्नो जीवनमा सेन्ट साइमनले आफ्नो विचार फैलिएको हेर्न पाउनुभएन । तर, उहाँका केही समर्थकहरू थिए । उहाँका समर्थकहरूमध्ये बाजारेल मुख्य थिए । १८२८ मा बाजारेलले ‘सेन्ट साइमनको विश्वासको व्याख्या’ गरे । १८३० सम्ममा बाजारेल र इन्फाइन्टाइन त्यस विचारका प्रमुखहरूका रूपमा देखापरे ।
सन् १८१५ मा नेपोलियनलाई हराइसकेपछि बेलायत, पर्सिया, अस्ट्रिया, रुस आदि मिलेर नेपोलियनको ठाउँमा फेरि पुरानै फ्रान्सेली राजवंशबाट लुई १८ औँ गद्दीमा ल्याएको थियो । नेपोलियनलाई अफ्रिकाको पश्चिमतिर रहेको सेन्ट हेलेना भन्ने एक बेलायती उपनिवेश टापुमा बन्दी बनाइएको थियो । १८२४ मा लुई १८ औँ बिते र त्यसको ठाउँमा चाल्र्स १० औँ गद्दीमा राखिए । चाल्र्स १० औँ एक प्रतिक्रियावादी व्यक्ति थिए । उनले गद्दीमा आउनासाथै सामन्तहरूको फाइदातिर ध्यान दिए । फ्रान्सको राज्य क्रान्तिमा सामन्तहरूको लुटिएको सम्पत्तिको हर्जाना तिराउने ऐन बनाइयो । सामन्त र जमिनदारवर्गको निम्ति मुआब्जाको रूपमा १० लाख फ्राय्ड राज्यबाट दिने निधो गरियो । १८३० जुलाई महिनामा उनले प्रतिनिधिसभा भङ् गरे । पुँजीपतिवर्गको भोट दिने अधिकारमाथि रोक लगाइदियो । प्रेसको विरोधमा नयाँ ऐन लागु गरेर प्रेस स्वतन्त्रताको घाँटी रेट्यो । छोटोमा चाल्र्स दसौँले फ्रान्समा फेरि एकतन्त्री शासन लागु गरे । पुँजीपतिवर्ग परिस्थिति हेरेर बस्न थाल्यो ।
तर, २७ जुलाई १८३० को दिन पेरिसको सडकहरूमा जनताले विद्रोहको झन्डालाई उचाले । जनताले सडकको ठाउँ–ठाउँमा सरकारी पल्टनलाई रोक्न छेकवार (मोर्चा) राख्न थाले । जनता र सरकारको बिचमा सशस्त्र सङ्घर्ष सुरु भयो । राजा चाल्र्स दसौँ गद्दी छोडेर बेलायत भागे ।
त्यसैबेला बाजारेल र इन्फाइन्टाइनले आफ्नो विचार खुलारूपले पोख्न र प्रचार गर्न थाले । त्यस प्रचार आन्दोलनमा पैरेरोलेक्सजस्ता सबल फ्रान्सेली युवकहरू पनि सामेल भए ।
‘समान राजनीति’ बाट प्रेरित भएर तिनीहरू एक संयुक्त सङ्गठनमा सामेल भए । त्यो एक परिवारको रूपमा थियो । त्यसमा तीन तहको व्यवस्था थियो । बाजारेल एक तर्कशील र बडो स्थिर स्वभावका मानिस थिए । इन्फाइन्टाइन घमण्डी, अस्थिर र यौन नैतिकतामा कमजोर मानिस थिए । त्यसकारण, तिनीहरूको मतमा एकता आउन सकेन । बहुमत समर्थकहरू बाजारेलतिर थिए । सन् १८३२ को जाडोमा त्यस सङ्गठनले एक खर्चालु काम सुरु गर्यो । त्यसले गर्दा सङ्गठनको आर्थिक स्रोतहरूमा धक्का लाग्यो ।
सन् १८३२ मा तिनीहरू मेनिलमोन्टेन्ट भन्ने ठाउँमा सरे । त्यो ठाउँ इन्फाइन्टाइनको इलाका थियो । त्यहाँ तिनीहरू एक ‘साम्यवादी ढङ्गको समाज’ बनाएर बस्न थाले । तिनीहरू त्यस समाजमा एउटै पोशाक लगाउँथे । केही समयभित्रै त्यहाँ पनि तिनीहरूमा मत–भिन्नता देखाप¥यो । त्यसका प्रमुखहरू दिक्क माने । आखिर त्यो समाज भङ्ग भयो ।
तर, त्यस सङ्गठनका सदस्यहरू पछि ठुलठुला इन्जिनियर, अर्थशास्त्री र व्यापारी भए । लेसेटस यसै सङ्गठनका एक सदस्य थिए । उनले स्वेज क्यानल (मिश्रको स्वेज नहर) बनाउने योजना बनाएका थिए । स्वेज नहर १८६९ मा बनाइयो । यो नहर बेलायती साम्राज्यवादले भारतसम्म सेना पु¥याउन बनाएको थियो ।
बाजारेलले सेन्ट साइमनको विचारलाई प्रस्ट रूपले व्याख्या गर्न थाले र त्यस विचारलाई अगाडि बढाए । ऐतिहासिक दर्शनलाई उनले दुई हाँगामा विभाजित गरे–आत्मआलोचक र रचनात्मक, अर्को भाषामा नकारात्मक र सकारात्मक । दर्शनको पहिलो पक्षमा उनले लडाइँ, अहङ्कार र आतङ्क देखे । दोस्रोमा उनले आज्ञाकारिता, तपस्या (ध्यान–चिन्तन) र सहयोग (सहवास) देखे । त्यस सहवासको भावनाले परिवार, परिवारबाट सहर, सहरबाट राष्ट्र (देश) र राष्ट्रबाट सङ्घ राज्यहरू बने । सहवासको सिद्धान्त नै भविष्यको सामाजिक विकासको चुकुल हो भनेर माने ।
‘मानवताको न्यायमा’ उनले मानिसले मानिसलाई शोषण गर्ने कुरालाई देखाइदिए । त्यसमा दास प्रथा, भू–दास प्रथा र सर्वहारावर्ग भनेर तीन रूप देखाइदिए । उनले त्यसको ठाउँमा ‘संसार (प्रकृति) को शोषण मानव समुदायले मानिसको निम्ति’ गर्नुपर्छ भनेर पछिको उद्देश्यलाई बताइदिए ।
सेन्ट साइमनका समर्थकहरूले भने कि यस व्यवस्थामा औद्योगिक मालिकहरू सर्वहारावर्गलाई झन् चुस्छन् । सर्वहारावर्ग नाउँ मात्रको स्वतन्त्र छ । तिनीहरू भोकमरीको अवस्थामा छन् । यस पुँजीवादी व्यवस्थाले सम्पत्तिमा पुस्तैनी हकदाबीलाई अझ बलियो बनाइदिएको छ । त्यो सम्पत्ति उत्पादनका साधनहरू हुन्, जो व्यक्तिगत छन् । त्यसलाई समाजको निम्ति व्यक्तिगत स्वार्थबाट टाढा राख्नुपर्छ । सामाजिक खराबीले निश्चितरूपले व्यक्तिगत फाइदामा असर पर्न जान्छ । खराबीपछि पुस्तेवारी खराबी हुन जानेछ । त्यस खराबी हटाउने एउटै मात्र उपाय छ, त्यो हो – सम्पत्तिको अधिकारको ऐनलाई खत्तम गर्नु, उत्पादनका सबै साधनलाई समाजको कोषमा दाखिला गर्नु । त्यो कोष समाजकै निम्ति उपयोग गरिने छ । अनि समाज आफै प्रबन्धक, निर्माणकर्ता र सामाजिक कर्मचारीहरूको रूपमा काम गर्न थाल्नेछ । सम्पत्तिको हक मानिसको नभई राज्यको हुनेछ ।
सेन्ट साइमनका समर्थकहरू समाजको अधिकारलाई प्रमुखता दिन्छन् जहाँ हरेक व्यक्तिलाई उसको योग्यता वा क्षमताअनुसार काम दिनेछ । व्यक्तिलाई कामअनुसार इनाम (ज्याला) दिइने छ । त्यसैलाई सेन्ट साइमनको समाजवादी सिद्धान्त भनिन्छ । त्यस समाजमा सरकार एक प्रकारको भावनामा आधारित रहनेछ या सरकार एक वैज्ञानिक एकतन्त्री शासनमा बदलिने छ । परिवारको सम्बन्धमा सेन्ट साइमनको विचार एकदम अगाडि बढेको थियो ।
उहाँ स्वास्नीमानिसको पूर्ण स्वतन्त्रता र लोग्नेमानिससँग पूर्ण समानता हुनुपर्छ भन्ने विचार राख्नुहुन्थ्यो । ‘सामाजिक व्यक्ति’ भन्नाले लोग्ने र स्वास्नीमानिस दुवै हुन् ।
इन्फाइन्टाइनले लगभग यौन स्वतन्त्रताको पक्षमा मत खडा गरे । तर, बाजारेलले त्यसको विरोध गरे । सन् १८६५ तिर मात्रै पेरिसमा सेन्ट साइमनका रचनाहरूको सबै भाग निस्के ।
सेन्ट साइमनको व्यक्तित्व
सेन्ट साइमनका विचारमा धार्मिक र भावुक भावना बाँकी थिए । तर, उहाँले उत्पादनका साधनलाई सामाजिकीकरण गर्ने, आइमाईलाई लोग्नेमानिस सरह स्वतन्त्रता दिने, योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको सिद्धान्त पत्ता लगाउनुभयो । समाजको प्रभाव व्यक्तिमा हुने, सर्वहारावर्ग अहिले पनि शोषित छ, सर्वहारा स्वतन्त्र छैन भन्ने कुरालाई उहाँले सिद्ध गर्नुभयो ।
घोर दुःख कष्ट सहेर, अनेक मानसिक पीडा पिएर पनि उहाँले समाजलाई यी कुरा प्रदान गर्नुभयो । तर, त्यसबेला पुँजीवादको परिस्थिति परिपक्व नहुँदा उहाँका कति विचारहरू व्यावहारिक भएनन् अथवा त्यसबारे उहाँले राम्रो ठम्याउन सक्नुभएन । वर्गसङ्घर्ष र सर्वहारा क्रान्तिको सम्भावना र अनिवार्यताबारे उहाँलाई थाहा भएन । तर, उहाँले जति कुरा पत्ता लगाउनुभयो त्यो कम कुरा होइन ।
यसकारण, सर्वहारावर्गका महान् नेता तथा गुरु फ्रेडरिक एङ्गेल्सले उहाँलाई काल्पनिक समाजवादका तीन ‘महान् प्रवर्तक’ मध्ये एक मान्नुभयो । हामीले उहाँबाट राम्रो कुरा लिनुपर्छ र उहाँको असफलताबाट सिक्नुपर्छ ।
प्रशान्त महासागर र आन्ध्र महासागरलाई एक नहरबाट जोड्ने उहाँको कल्पना उहाँको मृत्युपछि पूरा भयो । संयुक्त राज्य अमेरिकाले आफ्नो आर्थिक र सैनिक प्रभुत्वको निम्ति १९०३ तिर कोलोम्बियासँग प्रशान्त र आन्ध्र महासागरको बिचको एक साँगुरो जग्गा किन्न खोज्यो । कोलोम्बियाले संरा अमेरिकाको त्यो प्रस्ताव अस्वीकार गर्यो । यसकारण, संरा अमेरिकाले पनामाका स्थानीय विद्रोहीहरूलाई मद्दत गर्यो र पनामा इलाका कोलोम्बियाबाट अलग्ग हुन विद्रोह गरायो । अस्थाई सरकारलाई संरा अमेरिकाले समर्थन गर्यो र त्यस अस्थाइ सरकारलाई मद्दत गर्न आफ्नो जल सेना पठाइदियो । पनामाको नयाँ सरकारलाइ संरा अमेरिकाले पनामा नहर खन्ने र आफ्नो सेना राख्ने सन्धिमा हस्ताक्षर गरायो । १९०३ देखि नहर बनाउन थालियो र १९१४ मा नहर तयार भयो ।
सेन्ट साइमनको मृत्यु भएको १७५ वर्ष नाघिसकेको छ । तर, आज हामी देख्दै छौँ, सर्वहारावर्ग शोषित छन् र स्वतन्त्र नभएको कुरा सबैले स्वीकार गर्छन् ।
उत्पादनका साधनहरू सामाजिकीकरण गर्न या राज्यको गर्न, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको सिद्धान्त लागु गर्न र लोग्नेमानिस र स्वास्नीमानिसको स्वतन्त्रता र समानताको निम्ति करोडौँ जनता सङ्घर्ष गर्दै छन् र समाजवादी देशहरूमा उहाँका विचारहरूलाई अगाडि बढाउँदै लागु गर्दै छन् ।
समाप्त
स्रोत : काल्पनिक समाजवादी र अराजकतावादी

Leave a Reply

Your email address will not be published. Required fields are marked *