क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
रविनको हत्या : हाम्रा अगाडि नयाँ युगको ढोका खुल्यो
वाइस जवान छँदा स्वेज नहर सङ्कट भयो । त्यसको उनलाई स्पष्ट सम्झना छ । सन् १९६७ मा मध्यपूर्व युद्ध भयो । त्यसमा अरबी देशहरूको गठबन्धन सेना परास्त भयो । इजरायलले गोलन थुम्को, पश्चिम किनार र गाजा कब्जा ग¥यो । यसबाट वाइस साँच्चिकै उत्प्रेरित भइन् ।
युद्धपछि मोशे लेभिन्जरले इजरायलले भर्खर कब्जा गरेको भूभागमा यहुदी बस्ती बसाल्न सहयोग गरे । लेभिन्जर धार्मिक यहुदीवादका कार्यकर्ता थिए । साथमा उनी अर्थोडक्स रब्बाइ थिए, यहुदी पुजारी थिए ।
लेभिन्जरलाई सन् १९८८ मा एक ६ वर्षका प्यालेस्टिनी बालकलाई निर्घात कुटपिट गरेको आरोप लागेको थियो । त्यस्तै, एक प्यालेस्टिनीलाई गोली हानेर मारेको र सोही दिन अर्का एक प्यालेस्टिनीलाई घाइते बताएको पुष्टि भएपछि ९२ दिन कैद सजाय काटेका थिए । यिनै लेभिन्जर थिए वाइसका गुरु । गुरु–चेली दुवैले उग्र–राष्ट्रवादी आन्दोलन ‘गश इमुनिम’ मा मुख्य भूमिका खेले । वाइस पछि यस सङ्गठनकी महासचिव बनिन् । यो आन्दोलनको उद्देश्य नै बसोबासी बस्ती निर्माण गर्नु थियो । यो आन्दोलन दुई चीजले चल्छ । पहिलो, इसा मसिहको पुनर्जन्म हुनेछ भन्ने विचार । दोस्रो, बस्ती विस्तार गर्ने व्यवहारिक राजनीति ।
यो सङ्गठन हिंस्रक पनि थियो ।
सन् १९८७ अप्रिलको घटना हो । प्यालेस्टिनी युवाले पहिलो इन्तिफादा आन्दोलन थालेकै थिएनन् । एकजना इजरायली बसोबासीको हत्या भयो । जवाफमा लेभिन्जर र वाइसले हिंसाको लहरै ल्याए – पश्चिम किनारको उत्तरी भागमा पर्ने कालकिल्यामा । बसोबासीहरूले घरघरमा घुसेर हमला गरे । गाडी तोडफोड गरे । बगैँचाबारी भताभुङ्ग पारे ।
बसोबासीहरूको हिंसा केही दिनसम्म चल्यो । तब मुर्दा शान्तिमा बल्ल पस्यो इजरायली सेना । इजरायली कानुनी अधिकार समूह यश दिनले त्यो बेला भनेकै थियो – वाइसले ‘सजायबाट जोगिने र जरिवाना तिनेर उम्किने चाँजो’ मिलाइन् । “बसोबासी गुन्डाहरूप्रति हाम्रा अदालतहरू सधैँ दयावान रहने परम्परा छ” – यश दिनले भन्यो ।
गेरशोम गोरेनबर्ग एउटा पुस्तक लेखेका छन्, दुर्घटनाजन्य साम्राज्य : इजरायल र बसोबासीहरूको जन्म । उनै गोरेनबर्गले भने, “धार्मिक बसोबासी आन्दोलन धेरै अर्थमा इजरायलको उग्र राष्ट्रवादी र दक्षिणपन्थी हो ।”
वाइस आफूलाई बसोबासी आन्दोलनको परिवर्तनकारी खेमा भन्छिन् । उनी त्यो आन्दोलनको संस्थापन खेमाकी कडा आलोचक हुन् । उनी तिनीहरूलाई ‘अति नरम’ भन्छिन् ।
उनको कठोर शैलीका कारण गश इमुनिमभित्र उनको आलोचना भयो । पछि, सन् १९९६–२००७ बीच वाइस आफ्नो गृह बस्ती केदुमिनकी मेयर बनिन् ।
सन् २०१० मा उनले नाचला बसोबासी आन्दोलन सुरु गरिन् । यो आन्दोलन अब वाइसको औजार बन्यो । उनले पहिलेदेखि गर्दै आएको काम जारी राखिन् । इजरायली भूमि विस्तारमा सक्रिय भइन् ।
आज पनि वाइस त्यही उद्देश्य पूरा गर्न तत्पर रहन्छिन् । त्यो उद्देश्यले अनुप्राणित छिन् । उनका चार छोरी छन् । अहिले उनी हजुरआमा पनि बनिसकेकी छिन् । सन् २००६ मा उनका ज्वाइँ अब्राहम गाभिशलाई एक प्यालेस्टिनी बन्दुकधारीले गोली हाने । गाभिश विशिष्ट सेनामा थिए । बिदामा घर आएका बखत आमाबाबुसहित उनको हत्या भयो । वाइसकी छोरी र नातिनीले टेबलमुनि लुकेर ज्यान जोगाए ।
वाइसाले त्यो दिनको वर्णन गरिन् । त्यो दिन उनी बिहान ५ बजे मात्र सुत्न गइन् । रातभरि उनले गाजाको विषयमा ‘निकै गम्भीर लेख’ लेखेकी थिइन् । लेखमा उनले गाजामा यहुदी बस्ती बसाल्नुपर्ने तीव्र आवश्यकतामा जोड दिएकी थिइन् ।
वाइसले भनिन्, “दुई घण्टा मात्र सुतेँ । त्यसपछि म कामतिर लागेँ । ‘जूम’ मा एउटा राजनीतिक बैठक गरेँ । त्यो बिहान मैले तीन घण्टा राजनीति गर्नमा बिताइसकेकी थिएँ । मेरो आफ्नै आन्दोलन थियो । नाचला आन्दोलन । मैले जूममा विभिन्न समितिका अध्यक्ष र मेरो व्यवस्थापक समितिसँग छलफल गरेँ । त्यति गर्दैगर्दा मैले भाँडा माझेँ, लुगा पट्याएँ, श्रीमान्सँग कुरा गरेँ र उनलाई खाजा पनि दिएँ ।”
यी सबै काम उनी सँगसँगै गर्छिन् रे । उनी र उनका पतिआमनोन वाइस सँगै बस्छन् । आमनोन सफल व्यापारी हुन् । पहिले उनी इजरायली खेलाडी थिए । उनी पोलियोले ग्रस्त छन् । पतिसँगै सन् १९७० को दशकमा वाइस ‘सामारियाका पहाड’ मा बसाइँ सरेकी थिइन् । यो परिवार ‘गजबको पुँजीवादी घर’ मा बस्छ रे । निकै धनी छन् रे वाइसा दम्पती । उनका एक पाहुनाले भनेका थिए ।
वाइसको सङ्गठनले धेरै दानदक्षिणा तान्ने गर्छ । सन् २०२३ मा लिया डाङ्कनरले नाचला आन्दोलनलाई २० लाख डलर चन्दा दिएका थिए । डाङ्कनर इजरायली करोडपति हुन् । चन्दा दिने बेला उनी ९९ वर्ष पुगेका थिए ।
बसोबासी आन्दोलनलाई प्रत्येक इजरायली सरकारले तन–मन–धनले सहयोग गर्दै आएको छ । यसमा यित्जाक रबिन मात्र अपवाद ठहरिए । उनको सरकारले कुनै सहयोग गरेन । सन् १९९५ मा यिगाल अमिरले रविनको हत्या गरे । हत्याचार इजरायली उग्रराष्ट्रवादी खेमाको चरमपन्थी थियो । ऊ शान्ति प्रयासको विरोधी थियो । उसले नयाँ यहुदी बस्ती बसाल्न सहयोगी भूमिका खेलेको थियो ।
एकपल्ट रविनले पश्चिम किनाराको बसोबासी आन्दोलनलाई ‘क्यान्सर’ भनेका थिए । बस्ती बसाल्नका लागि जस्तोसुकै सा¥होगा¥हो खप्ने बसोबासीहरूको क्षमतालाई उनले बेवास्ता गरे । यसले गर्दा उनी सकसमा परे । रविनले उनीहरूलाई कम आँके । जब वाइसले रविनको हत्या भएको सुनिन्, उनी रमाइन् । त्यो क्षण उनले ‘इतिहास बदलिएको’ सोचिन् रे । उनी भन्छिन्, “यहाँ जुडिया र सामाराबाट पछि हट्ने रबिनको योजना बन्द भयो र हाम्रो अगाडि नयाँ युगको ढोका खुल्यो ।”
बसोबासी आन्दोलनले सधैँ विदेशमा इजरायलको टाउको दुखाउँदै आएको छ । एलन पिङ्कास नाम चलेको इजरायली कूटनीतिज्ञ हुन् । उनले चार वर्ष इजरायली विदेश मन्त्रालयमा सेवा गरेका थिए । बसोबासी विस्तारले आफूलाई अन्य देशका सरकारहरूसँग कुरा गर्दा ‘धेरै अप्ठ्यारो’ मा पार्ने गरेको उनले बताए । जेनिभा अभिसन्धि भन्छ – “पश्चिम किनारा अतिक्रमण गरिएको थियो । युद्धमा खोसिएको अतिक्रमित भूभागमा कसैले बस्ती बसाल्न मिल्दैन ।”
“इजरायली कानुनअनुसार पनि बसोबासीहरू अवैध हुन् । कसरी तिनको प्रतिरक्षा गर्ने ? बसोबासी बस्तीलाई बाइबलले सही भनेको छ । आधुनिक राजनीतिले भनेको होइन नि । त्यसैले तर्क गर्नै मिल्दैन ।” पिङ्कासले भने । प्यालेस्टिनीहरूप्रति गरिने दुव्र्यवहारबारे उनले भने, “त्यो ससानो ‘रङ्गभेद’ जस्तै हो भनी मान्यौँ भने पनि त्यसको पैरवी गर्न सम्भव थिएन ।”
वाइसले आमनोन वाइसको बिहानी खाजाबारे बताइन् । उनी खान्छन् – अमलेट, एभोकाडो, टमाटर, घिउ, रोल, कफी, चकलेट केक, सुन्तलाको जुस । मिठो खान, साथीसङ्गी भेट्न र भूमध्य सागरतिर जान हप्ताको दुईपल्ट वाइस दम्पती तेल अभिभ जान्छ रे । यत्ति गरेपछि सहरिया जीवनप्रतिको उनका पतिको रहर मेटिन्छ रे । उनीहरू ‘मुसाका दुलामा नखसौँ भनी होसियार पनि रहन्छन् रे ।
पतिबारे वाइस भन्छिन्, “म मेरा साथीहरूसँग भन्छु – हेर म सिजरको सेवा गर्छु । त्यसैले उनी मप्रति अलि धैर्यवान हुन्छन् । उनी एकैचोटि दुई विपरीत कुरा चाहन्छन् । उनी मलाई काममा सफल भएको देख्न चाहन्छन् किनभने उनी अति आदर्शवादी र यहुदीवादी छन् । तर, उनी मैले उनलाई धेरै समय दिए हुन्थ्यो पनि भन्छन् ।”
वाइस ‘प्रत्येक हप्ता पाँच दिन र पाँच रात इजरायली भूमि विस्तार गर्ने यज्ञमा खर्च गर्छिन् । तर, शुक्रबार साँझदेखि आइतबारसम्म उनी परिवारसँगै शब्बात मनाउँछिन् । त्यो दिन उनको परिवारका सबै सदस्य उनको घरमा आउँछिन्, त्यही सुत्छन् र सँगै अनेक किसिमका खाना खान्छन् ।
उनले भनिन्, “मेरा बालबच्चा र नातिनातिना मलाई देखेर हाँस्छन् । किनभने, रेडियोमा राजनीतिक विश्लेषणको कार्यक्रम आउँदा म उनीहरूलाई बोल्न दिन्न । शब्बात तयार पार्दा र खाना पकाउँदा तिनीहरू कानमा इयरफोन घुसाउँछन्, सङ्गीत सुन्छन् । मेरो आफ्नै राजनीतिक कार्यक्रम छ । त्यो बेला कसैले बिथोल्दैन । खाना खाने बेला मेरो कुरा सुन्दिन भन्ने विकल्प नै हुन्न । त्यहाँ म आफ्नो भाषण र अर्ती उपदेश दिन्छु ।”
पछिल्लोपल्ट वाइस फेरि पनि गाजाको निरीक्षणमा गइन् । उनले त्यहाँ ‘सेनासँगै जनसमुदाय’ राख्ने योजना बुनेकी छिन् ।
‘पिस नाओ’ संस्थाका ओफराले भने, “जब तिनीहरू गाजामा पस्न तयार छौँ भन्छन्, म पत्याउँछु पनि । अहिलेको यो सरकार उनीसँग एकदम जोडिएको छ, उनलाई सहयोग पनि गर्छ । मसिहावादको पक्ष लिनेहरू युद्धलाई अवसरको रूपमा हेर्छन् । मोक्ष त्यसपछि प्राप्त हुन्छ । यही बिन्दुमा छिन् वाइस । यसैमा उनको विश्वास पनि छ ।”

गोरेनबर्ग भन्छन्, “(वाइस) इजरायलको मुख्यधारकी प्रतिनिधि पात्र होइनिन् । स्मोत्रिचले सानो, उग्र बस्तीवादी गुटको नेतृत्व गर्छन् । सरकारमा त्यो गुटको ठुलो प्रभाव छ ।” तर उनी जोड दिन्छन्, “आज विश्वभरि मैले केही गर्न पाउँथेँ भने चरमपन्थी आन्दोलनलाई हटाउने थिएँ । खासगरी दक्षिणपन्थीहरूको नामनिसान मेट्ने थिएँ ।”
वाइसलाई गाजामा यहुदी बस्ती बसाल्ने कुरा नियति जस्तो लाग्छ, ‘धर्मघरमा फर्के’ बराबर लाग्छ । त्यो घर फिर्तीले २५ सय वर्षअघि ईपू. छैटौँ शताब्दीमा बेबिलोनमा निर्वासित भए यता विश्वभरि छरिएर बस्नुपर्ने यहुदीहरूको बाध्यताको अन्त्य हुने वाइसको विश्वास छ ।
इजरायली सेनाले गाजामा परेड खेल्दै गर्दा उनले भनिन्, “यो त हुन्छ–हुन्छ । वर्षदिन लाग्न सक्ला । तीन वर्ष लाग्न सक्ला । तर, यो त भएरै छोड्छ । श्रीगणेश भइसकेको छ ।”
(स्रोत : ‘मिडल इस्ट आइ’ । सम्यक)
Leave a Reply